सौरभको 'असहमति' पढेपछि मलाई हाम्रा इतिहासकारहरुले कतिपय गलत कुरा लेखेका र हामीले पनि बर्षौदेखि यही गलत कुरा पढी आएका भान भयो। पढ्दाखेरी कहिलेकाहीं अलि बाक्लै खालको च्यूरा चपाए झैं भाषा भएको यो किताब चपाउँदै जाँदा कहिले चसक्क बिझ्ने, कहिले हाँसो उठ्ने, कहिले ओहो सत्य त यो रहेछ भन्ने लाग्यो। नेपालका कहिलेकाहीं किन र कसरी विद्धान इतिहासकारहरुले पनि सत्यलाई अर्कै रुपले लेखेका होलान् भन्ने पनि लाग्यो। यो किताबको अर्को रमाइलो पक्ष पत्रपत्रिकामा छापिएका लेखप्रति असहमति राख्दै सम्पादकलाई लेखेका चिठीलाई पनि स्थान दिइएको छ। लेखकले यो किताबको नाम असहमति यसै कारण राखेका हुन कि? आफ्नो अहसमति जनाएर लेखेका विचारलाई पनि उनले स्थान दिएका छन्। यस्तै विचार र विश्लेषणले सामाजिक रुपान्तरणमा ठूलो भूमिका खेल्छ।
बुद्ध धर्मको पुनरुत्थानबारे 'समय' पत्रिकामा छापिएको लेख (२०६३ चैत १५) को उनले जसरी चिरफार गरेका छन् र पाठक प्रतिक्रिया लेखेका छन् त्यसले बौद्ध धर्म मान्नेहरुलाई सोच्न विवश नै गरायो होला। पाठक प्रतिक्रिया नै एक लेख बन्न पुगेको छ।
प्रायः हामीले पनि बुझेको तथ्य के थियो भने चीनमा सांस्कृतिक क्रन्ति हुँदा बुद्ध धर्मका धेरै पुस्तकहरु नष्ट भए। तर सौरभले यसमा पूर्ण सत्यता नभएको बताएका छन्। उनले सांस्कृतिक क्रान्ति भइरहेका बेला चीनका प्रधान मन्त्री चाउ एनले दुर्लभ धार्मिक सम्पदा भनिएका ६८ हजार बालकलाई चियाङ चिङका आपन्तहरुका हातमा नपरुन भनेर जोगाए भनेर दर्शाएका छन्।
आनन्द अरुणको लेखमा नेपाल बुद्ध धर्मप्रति असहिष्णु थियो भने लेखिएको हुनुपर्छ र सौरभले विभिन्न उदाहरण दिएर यो गलत कुरा हो भनेर सिद्ध गरिदिएका छन्।
लेखकको पुछारमा 'समयमा' छापिएको यो पाठक प्रतिक्रियापछि समयमा आनन्द अरुणको लेख प्रकाशित हुन छोड्यो भनेर लेखिएको छ। आनन्द अरुणले कि सौरभसँग असहमति जनाएर अर्को पनि लेख लेखेको भए वा आफ्ना गल्ती भयो भनेर पनि लेखेका र लेखको श्रृंखला जारी राखेको भए हुन्थ्यो कि पाठकको मनमा आउँछ। 'समाज विज्ञान भित्रको अवैज्ञानिकता' अर्को रमाइलो लागेको लेख हो। यो लेखको सुरुवात बलबहादुर राई कार्यवाहक प्रधानमन्त्री हुँदा दिएको भाषणबाट गरिएको छ, उनले भनेका थिए, 'अहिले मदिराको प्रयोगले हामी म्लेच्छ भयौं हामीले अब यो छोडनु पर्छ,' उनको यो लेखमा बलबहादुर राईले ब्राम्हण जातहरु ज्ञानी भएको कुरा गैरब्राह्मण समाजले पनि स्वीकारेको र त्यसको पछि ज्ञान प्रति दशौं हजार बर्षदेखि उनले राखदै आएको रुचि र मदिराको प्रयोग नगर्नु हो भनेर दर्शाएका छन्।
तर यो पढदा एउटा कुरा चाहिँ चसक्क मेरो मनमा आयो कतै ब्राम्हणहरुले नै अरु जातकालाई ज्ञान नहोस् भन्ने प्रपञ्च गरेर मदिरा पिउन लगाएका र पढन नदिएका त होइनन्? यो लेखमा लेखकले हामीले विभिन्न जाति र जनजातिबारे जे बौल्दैछौं त्यसमा बैज्ञानिक तरिकाले नहेरेर बोल्दै लेख्छौ र विचार गर्छौं भनेर अहिलेको नेपालमा चलिरहेका अनेक वादविवादलाई उठाएका छन्। यो लेख पूरा पढिसकेपछि मष्तिष्क मन्थन गर्न अझ ४–५ चोटी पढनु पर्यो
'राष्ट्रिय झण्डा र धर्म गोरु बेचेको साइनो मात्र' पनि श्री कृष्ण आचार्यको लेख माथिको टिप्पणी हो तर यो आफैमा पनि पूर्ण लेख हो र यसलाई पढेपछि एउटा ज्ञान भयो– नेपालको झण्डा मात्र तीनकुने होइन, विभिन्न समयमा विभिन्न राज्यका झण्डा पनि तीनकुने छन र तीनकुने झण्डाको महत्व हिन्दु धर्मसँग कुनै लेनदेन नभएको स्पष्ट भएको छ। यो टिप्पणीको पुछारमा लेखिएको छ– यो लेख प्रकाशित भएको ३ दिनपछि पहिलो संविधान सभाले वर्तमान राष्ट्रिय झण्डालाई नै पारित गर्यो। यो लेखले पनि राष्ट्रिय झण्डा तीनकुेन राख्न एउटा ढुंगा थप्यो।
'आदि धर्म संक्षेप संविधानमा' लेखकले त्रिशूल केबल र अक्षर ष एक उदाहरणमा उनले नेपालमा विदेशीहरुको चलखेल गर्दा धर्म निरपेक्षता हुन गयो भनेर र यसमा वामपन्थी र बुद्धिजीवीहरुलाई डलर उपहार दिएर नेपालमा समस्या ल्याउन खोजिएको छ, भनेर स्पष्ट दर्शाएका छन्। यो लेखको अन्तिम वाक्य छ– 'माओवादीको इसाइधार त्यसै स्वार्थको पहरेदार मात्र हो र हाम्रो निम्ति धर्म सापेक्ष संविधान बन्दैन भने संविधान नबनोस् पनि। गृहपृष्ठ र राष्ट्र विखण्डन भन्दा संविधान नबनेको धेरै राम्रो हो, नबनोस्।' यो वाक्य पढेपछि माओवादीले केही भने कि भनेर लेखकसँग प्रश्न गर्दा कसैले केही भनेका छैन भन्ने उत्तर आयो।
'वाजको सान' पढ्दा कुनै वैज्ञानिक लेख पढेझैं लाग्छ वा यसलाई एकोहोरो पढी फर्कीफर्की पढनु पर्छ।
'फिरङ्गी मिथक नकटापुर' पढेपछि धेरै बर्षदेखि एउटै इतिहास भौग्दै आइरहेका हामी जस्तालाई ओहो तथ्य यस्तो पो रहेछ भन्ने लाग्छ। राष्ट्र निर्माता पृथ्वीनारायण शाहले हजारौं कीर्तिपुरेहरुको नाक काटिदिएको इतिहासमा लेखिएको भ्रम त एउटा फिरङ्गीले बनाएको घटना रहेछ। सौरभको यो लेख ठीक हो भनेर इतिहासकारहरुले मान्ने हो भने इतिहासकै पुनरावलोक गरेर लेखिनुपर्ने हो कि? 'आदिवासी खस' पढ्दा चाहिँ रनथनिन कर लाग्छ जसलाई आज खस भनिदै छ ती यथार्थमा खस होइनन्, बरु खस संस्कृति इलाकाका बासिन्दा मात्र हुन्। यो त्यस इलाकाबाट र जो खास खस हुन ती लिम्बु, राई विभिन्न जातजातिका गोत्रभित्र पर्ने मानिसहरु हुन् भनेर दर्शाइएको छ। त्यो पढेपछि मैले विचार गरेँ म आफू चाहिँ खाट्टी खस हो कि होइन त?
“अनुचित बालाजु विक्रीबारे” हिसिला यमीको दबाबमा मुख्य सचिव लीलामणि पाैडेलले बालाजु बाइसधारा उद्यानको जग्गा सुकुम्बासीलाई दिने निर्णय भएको समाचार (२०६९ पुस ०९, कान्तिपुर) पढेपछि लेखिएको यो लेखमा लेखकले बालाजु एक उद्यान मात्र हैन विभिन्न जात र धर्मको लागि पनि साधना गर्ने, पुजापाठ गर्ने र सास्कृतिक महत्व बोकेको ठाउँ भनेर ऐतिहासिक दस्तावेजमा टिपोट भएको कुरा छर्लङ्ग पारेका छन्। यही बालाजुलाई सस्तो लोकप्रियता प्राप्त गर्न हिसिला यमीले दबाब हाल्दा कसरी एउटा विशाल संस्कृतिनै मासिन पुग्ने सम्भावना भएको लेखक दर्शाउछन् र अझ अचम्म केमा मान्छन् भने आफ्नै सजातीय पुर्खाले आर्जेको सम्पदा ध्वस्त गर्न हिसिलाहरु अघि सर्छन भने अरुलाई पनि टाउको दुखाई के? तर धेरै सौरभहरुलाई टाउको दुखाइ भएको हुनाले नै सौरभले बालाजु उद्यान सुकुम्वासीलाई दिने कुराको विरोध गर्दै लेखिएको लेख हो र यो विरोध काम पनि लागेछ। हिसिलाले दबाब दिएर जबरजस्ती सुकुम्वासीले दिन खोजेको उद्यान सुकुम्बासीको हातमा जान पाएन। तर यो लेख पढेपछि मनमा अनायासै विचार आयो हिसिलामा त्यस्तो बुद्धि कहाँबाट आयो होला?
'तीज बहिष्कार' पढेपछि यो त राई र नेवारहरुले पनि मनाउने चाड रहेछ बाहुन क्षेत्रीको मात्र हैन भन्ने बुझियो। व्यक्तिगत रुपमा तीजमा म ब्रत बस्दिनँ किनभने व्रत बसेपछि श्रीमानको आयु बढ्छ भन्ने गलत बुझाइप्रति मेरो असहमति छ। त्यसैगरी ऋषि पञ्चिमीमा महिलाहरु महिनावारी हुँदाको पाप पखाल्न लागि ब्रत बस्नु र पुजा गर्नुपर्ने भनाइको पूर्ण विरोधी छु। तर तीजमा रमाइलो गर्न पछि परिँदैन। सौरभको यो लेख पछि धेरै मानिसहरुको मनमा यो तीज त विभिन्न जातजातिका महिला र पुरुषहरुले मिलेर मनाउने व्रत बनाउन सकिन्छ भनेर पनि आए होलान्। अर्को बर्षको तीजमा सौरभले पुरुषहरुले पनि व्रत लिए हुन्छ भनेर अन्वेषणात्मक लेख लेखिदिए कसो होला? सारांशमा असहमति पढेपछि के लाग्यो भने सौरभका कतिपय कुराहरुसँग असहमत भए पनि यो किताबले हामीलाई नयाँ किसिमले सोच्न बाध्य पारेका छन्। यस्ता लेख बारम्बार आइरहनु पर्छ।