गोर्खा।
यो शब्द मैले जान्ने भएदेखि नै सुनेको हुँ।
गाउँका सबै लोग्नेमान्छे जीवनमा एकचोटी न एकचोटी गोर्खा बनेकै हुन्थे। भारतका दिल्ली, मूम्बई, कालापहाड र रत्नागिरी जहाँ पुगे। त्यहाँ गोर्खा कै नामले बोलाइन्थे। फरक नाम थर भएका ती सबैको साझा पहिचान थियो-गोर्खा। गाउँमा गर्वले छाति फुलाउँदै उनीहरु गोर्खाका कथा सुनाउँथे। गोर्खा बनेर जन्मेकोमा आफूलाई पनि गर्व लाग्थ्यो।
तर, भारतका मूम्बई र दिल्ली पुगेपछि गोर्खाको वास्ताविकता थाहा भयो। गोर्खा कुनै 'सान'को चिनारी होइन रैछ। गरिवी र अभावमा पिल्सिएर रोजीरोटीका लागि गल्ली गल्ली चाहार्नु गोर्खाहरुको काम रैछ। चौकीदारी र मजदुरीमा जीवन धान्ने गोर्खाको गाउँघरमा देखाउने सान देखेर मलाई दिक्दार लाग्थ्यो।
काठमाडौं आएपछि बेलाबेलामा गोर्खा शब्द चर्चामा आउँथ्यो। बेलायती सेनामा काम गर्ने नेपालीका दुःख र समस्याले राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खुब चर्चा पाउँछ र सेलाउँछ। गोर्खा सैनिक नाम पाएका नेपाली दाजुभाइ जिउज्यान बाजी राखेर लडेपनि बेलायतले उनीहरुलाई पेन्सन लगायतका सुविधामा अन्याय गर्छ, गरिरहेको छ। लाग्छ, त्यहाँपनि गोर्खाको अर्थ अपमान र हेला नै बुझ्न थालिएछ।
सन् २०१२ मा गोर्खा शब्द फरक कारणले चर्चित बन्यो। बजारमा एक 'तालुखुइले' लेखकले बाक्लो कभर भएको किताब बेलायतबाट प्रकाशन गरेको खबरले साहित्यमा रुचि राख्ने धेरैलाई तरंगीत बनायो। ३० वर्षे
प्रज्वल पराजुली रातारात सेलिब्रेटी बने। गोर्खा शब्दकै इज्जत बढाए।
उनलाई सेलिब्रेटी बनाउने त्यहि किताब 'द गोर्खाज डटर' अहिले 'गोर्खाकी छोरी' बनेर
नेपाली भाषामा बजारमा आएको छ। नेपाली भाषामा छापिएपछि मैले उनका कथा पढन पाएँ। कथा ३५ पृष्ठसम्म लामा छन्। तर, आठ वटा कथालाई उनले टुंग्याएका छैनन्। पात्रको चरित्र र परिवेश पाठकको दिमागमा भरेर उनले बाँकी कथा पाठककै जिम्मामा छोडीदिएका छन्। खुडो ओठ भएकी काली भाग्न सकी वा सकिन। अनामिकाको दोस्रो पतिले अमेरिका जान पायो कि पाएन। म पात्रले सावित्रीसँग विहे गरे की गरेनन्। सबै जिम्मा पाठकलाई सुम्पिदिएका छन, पराजुलीले।
गोर्खाकी छोरी कथा संग्रहका आठै कथामा महिलाको चरित्रलाई प्रमुख बनाइएको छ, पुरुषपात्र गौण नै छन्। खुडो ओठ भएकी काली होस् या अमेरिका जाने सुरसारमा रहेकी भुटानी शरणार्थी अनामिका वा म्यानहटनमा म पात्रलाई सुखदुखमा साथ दिने डिभी परेकी सावित्री। कथामा महिला पात्रको भूमिका पूरुषको दाँजोमा बेसी नै छ। मानसिकता, विवशता र बाध्यता पनि महिलाका नै बढी छन्। शीर्ष कथा गोर्खाकी छोरीमा बेलायती सेनामा काम गर्ने बावुको यथार्थ तस्विर उनकी छोरीले नाटकमा उतारीदिन्छ।
नेपालको सीमामा अटाएका धेरै नेपालीले कथामा आफूलाई नपाउन सक्छन्। तर, अवसरको खोजीमा विश्वभर छरिएका नेपाली जातिले भने पक्कै आफूलाई पाउनेछन्। भुटानी सरकारको ज्यादतिले देश छोडन बाध्य भएका शरणार्थी हुन या कालेबुङमा बसेर बाहुनले बाहुननैसँग बिहे गर्नुपर्छ भन्ने मान्यता राख्ने नेपाली भाषी हुन्। वा डिभी परेर अमेरिकापुगी खैरे हजुरआमाका नातिको हेरचाह गर्ने वा म्यानहटनमा अपार्टमेन्ट किन्ने दार्जलिङका पात्रनै किन नहुन। ती सबै नेपाली जाति हुन्। राष्ट्रियता तिनको फरक फरक छ, त के फरक भो। तिनले आफूलाई नेपाली जाति भएकोमा गर्व गरेका छन।
अनुवाद विशेष काम हो। एक भाषालाई ठ्याक्कै अर्को भाषामा अनुवाद गर्नु चूनौतिपूर्ण हुन्छ नै। भाषा अक्षरमात्र नभई समाज, संस्कार र शैलीसँग जोडिन्छ। अंग्रेजीमा छापिएको यो किताब नेपालीमा अनुवाद हुँदा केही समस्या पक्कै छन। पात्रहरुले बोल्ने संवाद एकदमै औपचारिक लाग्छन। कतिपय ठाउँमा त अस्वभाविक पनि। अंग्रेजीलाई ठ्याक्कै नेपाली बनाउन खोजिएकाले होला बोलीचालीका संवादमा पनि औपचाकिरता थुपारिएको छ। प्रत्येक कथामा प्रयोग भएको 'धरी' शब्द धेरै ठाउँमा अनावश्यक छ।
किताबको भाषालाई नेपाली शैलीमा अझ मिहिन बनाउन सकिन्थ्यो।
बहादुरी र वीरताले विश्वभरी गोर्खा नामले चिनिएका नेपाली जाति आजभोली बेरोजगारी र अभावको सिकार बनेर जापानदेखि अमेरिकासम्म गोर्खा बनिरहेका छन्। हामीले पूर्खाले वीरतामा आर्जेको प्रतीकलाई अभाव र बेरोजगारीसँग साटिरहेका छौं। तर, प्रज्वल भने कलमको सहाराले गोर्खाको छोरो बनेर सानले विश्व घुमिरहेका छन्। र, नेपाली जातिका कथा दुनियाँलाई सुनाइरहेका छन्। लाग्छ, उनी गोर्खा शब्दको सान अझैं बढाउनेछन्।
कथा पढ्दा लाग्छ राष्ट्रियता र जातियता फरक कुरा हुन। लेखकले पात्र मार्फत् पनि भनेका छन्। उनी राष्ट्रियताका हिसाबले भारतीय हुन तर जातियताका हिसाबले नेपाली।उनलाई नेपाली मूलको भारतीय नागरिक हुनमा कुनै हिचकिचाहट छैन। तर, अचेल हामी जातियता र राष्ट्रियता एकै बाकसमा हालेर गोलमाल गरिहेका छौं। त्यसैले देशभित्रै नेपाली जातिमा तिक्तता बढ्दो छ।