अहिले सत्तरी/असी वर्ष हाराहारी पुगेको पुस्ता नेपालको आफ्नो क्षेत्रका पहिलो पुस्ता हुन्, जसले तत्कालीन नेपालको विविध पाटोमा योगदान पुर्याए । राजाहरूसँग नजिक रहे । पञ्चायती व्यवस्थामा काम गरे।
‘आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको’ भनेझैं पाका व्यक्तिहरूको संस्मरण तत्कालीन समय र समाजका विविध पाटा बुझ्ने गतिला आधार हुन् । त्यस्तै एक कर्मचारी प्रयागदत्त तेवारीका अनुभव ‘एक घर एक रोजगार’ पुस्तकले नेपालबारे कथाजस्ता लाग्ने विविध रमाइला घटनाका साथै महत्वपूर्ण सूचनाहरू पस्केको छ । पुस्तकमा तेवारीले काम गरेको कृषि क्षेत्रसँग सम्बन्धित स्विस सरकारले सहयोग गरेको जिरी कृषि बुहुउद्देश्यीय फार्म, जर्मन सरकारले सहयोग गरेको गण्डकी कृषि विकास परियोजनाका रमाइला र प्रेरक प्रसंग समेटिएका छन्।
पुस्तकलाई पूर्वार्ध, मध्याह्न, अपराह्न र उत्तरार्द्ध गरी चार खण्डमा विभाजित गरिएको छ । पूर्वार्धमा तेवारीले आफ्नो बाल्यकाल सम्झेका छन् भने उत्तरार्द्धमा अवकास जीवनमा समावसेवाका लागि गरेका केही प्रयासको वर्णन छ । पुस्तकको मुख्य विषयवस्तु मध्याह्न र अपराह्न खण्डमा छन्, जसमा तेवारीले जिरी र खैरेनीटारको कृषि आयोजनामा काम गर्दाको नालीबेली छ । ती आयोजना स्थापना गर्न तेवारीले गरेका दुःख र उनको हक्की व्यावहार प्रेरणादायी लाग्छन्।
खैरेनीटार हुँदा पोखरा र आसपास क्षेत्रमा तरकारी आपूर्ति गर्न उनले स्थानीय उत्पादन सुरु गरेर आयातलाई प्रतिस्थापन गरिदिएको प्रसंग अहिले पनि सान्दर्भिक लाग्छ । तेवारीले एक प्रसंगमा लैनचौरको दुग्ध विकास संस्थानको कारखानामा स्विस सहकर्मीले लाज नमानी दूधको क्यान बोकेर काम गर्ने गरेको बताएका छन् । तेवारीलाई सम्झनेहरू भने उनी हाकिम भइकन दूधको क्यानै बोकेर आफैं काममा भिडेको स्मरण गर्छन्, जसले ‘सरकारी काम कहिले जाला घाम’ सबैमा लागू हुँदैन रहेछ भन्ने पुष्टिन्छ।
त्यस्तो कर्तव्यपरायण व्यवहारले उनलाई स्विट्जरल्यान्ड पढ्न जान सहज भएछ । पढेर आएपछि जेटी, जेटिए लगायत तल्लो तहका कृषि कर्मचारीलाई पनि विदेशमा तालिम गराउने प्रयास गर्दा भने उच्चपदस्थ कर्मचारीलाई सम्झाउन गाह्रो परेको प्रसंग सुनाएका छन्, जसबाट नेपालका उच्च पदस्थहरूको दरिद्र मानसिकता छर्लंग पारेको छ । अनि, विदेश भ्रमण जाने अवसर पाउँदा लस्कर लाग्ने मन्त्रीहरूको लुच्चा व्यवहारले दिक्क भएको कुरा सुनाएका छन् । नेपाललाई स्विट्जरल्यान्ड जस्तो बनाइदिन्छु भन्ने गफसँग टिठ उत्पन्न हुने अुनभव तेवारीको छ । उनको बुझाइमा, ‘नेपाललाई स्विट्जरल्यान्ड जस्तो बनाइदिन्छु भन्ने अधिकांश नेताजीले त्यो कसरी समृद्ध भयो भनेर जान्ने प्रयाससमेत गरेजस्तो लाग्दैन ।’ (पृ ५२)
कृषि सामग्री संस्थानको संस्थापक महाप्रबन्धक भएका बेला एक हजार ट्रयाक्टर किनेर किसानलाई दिने क्रममा कृषि सचिव सुरेन्द्रराज शर्माले गोलमाल गर्न खोजेको र अर्कोपटक चार सय ट्रक किन्दा त्यस्तै बखेडा गर्न खोज्ने सचिव र व्यापारीलाई हिस्स पारिदिएको कुरा तेवारीले बताएका छन् । अहिले दलगत राजनीतिले कामभन्दा कुरा हुने वातावरण बढ्दै गएको र काम गर्नेहरूका लागि पहिल्यै राम्रो वातावरण भएको कुरा उनले सुनाएका छन्।
‘राजनीतिको वास्ता नगरी काममै घोटिने मजस्ता प्राणीलाई पञ्चायती व्यवस्थामा हाइसन्चो नै थियो । काम गर्ने वातावरण अहिलेभन्दा धेरै राम्रो थियो ।’ (पृ ५५) तर उनले पनि राम्रोसँग लामो समय काम गर्न पाएनछन् । चुपो लागेर बस्न नसक्ने, काम गरिरहनुपर्ने र दायाँबायाँ चोरी चकारी केही नगर्ने भएपछि उनलाई सहने कल्ले ? अनि १७ वर्ष पुगिसकेको सरकारी जागिर छाडेर अन्तराष्ट्रिय कृषि नियोगमा काम गर्न हिँडेछन्।
२०१७ सालदेखि सत्रै वर्ष सरकारी जागिर खाएर २० वर्ष राष्ट्रसंघीय कृषि निकायमा काम गरेका हक्की तेवारीको अनुभव सबै नेपालीको लागि प्रेरणादायी छ । विशेषगरी उनले प्रतिपादन गरेको एक घर एक रोजगारको अवधारणाले अहिले पनि उत्तिकै महत्व राख्छ र टाठाबाठा भनाउँदाहरूले ‘खाद्य संकटको राग अलापेर कसरी कर्णालीलाई ठगी खाने भाँडो बनाएका’ छन् भन्ने बुझ्न पनि मद्दत गर्छ। अधिकांश नेपालीको झैं गोठालो जीवनबाट सुरु भएको तेवारीको संघर्षमय पढाइ र सरकारी जागिर हुँदै उच्चपदस्थ राष्ट्रसंघीय जागिरबाट अवकाश पाउँदासम्मको वृत्तान्त एउटा साधारण नेपालीको असाधारण कर्मगाथा हो, जसले नेपाल र नेपालीबारे धेरै कुरा बताएको छ।