जीन्दगीले आजसम्म जत्तिलाई भेट्यो
सप्पैलाई मारेरै छोड्यो
कस्तो ज्यानमारा जीन्दगी !
सुरुको सम्झना छैन, अन्त्यको पत्तो छैन,
न फेद, न टुप्पोको यो जीन्दगी
भेटेपछि नमारी नछोड्ने
रोगको पनि बाउ भोग यो जीन्दगी
कस्तो ज्यानमारा जीन्दगी !
“आहा ! जीन्दगी” देखि “थुक्क जीन्दगी” सम्म
“यो के जीन्दगी ?” देखि “यही हो जीन्दगी” सम्म
जहाँ जसरी जसलाई भेटे पनि जीन्दगी
नमारी नछोड्ने कस्तो ज्यानमारा जीन्दगी !
रोउ कि रमाऊ, बिगार कि बनाऊ, माया गर कि घिनाऊ,
जे गरे पनि नमारी छोड्दैन जीन्दगी
कस्तो ज्यानमारा जीन्दगी !
सोध्छन् जिउँदाहरू,– “के हो जीन्दगी ?”
जीन्दगी जिउनेसँग नै परिचित छैन जीन्दगी
न अर्थ, न व्यर्थ, सिङ न पुच्छर,
फेद न टुप्पो, साथी न शत्रु,
खोई, के हो के हो यो जीन्दगी ?
नमारी छोड्दैन जीन्दगी,
कस्तो ज्यानमारा जीन्दगी !
के छैन यो जीन्दगीमा ? के छ यो जीन्दगीमा ?
यी दुवै प्रश्नको उत्तर मानिसले खोज्न थालेको युगौँ युग भयो
खोजी जारी छ, टुङ्गिएको छैन
आहा, ओहो, यो हो, त्यो हो, के हो जीन्दगी ?
खोइ, के हो के हो यो जीन्दगी ?
नमारी छोड्दैन जीन्दगी,
यस्तो ज्यानमारा जीन्दगी !