सरकार,
कात्तिक महिनामा कुकुरहरू सडकमा उद्देलित हुन्छन् रे
विवेकशील मनुष्यको विवेकशील परिषद हैन!
सरकार,
देशका हामी मंसिरे पूर्णिमामा
साकेला, धान-नाच नाच्छौ, देवीका रथ तान्छौं
नयाँ बालीसँगै सह भित्राउँछौ
तर यसपाली किन यस्तो विद्रुप नाच सम्माननियहरूको जसले
सहको कामना गर्दै थापेका दाना-दाना सबै रित्याउँदैछ?
सरकार,
भित्ता त रंगाउँछन् विद्रोहीले बढो रोष र जोशका साथ
उनीहरू सरह नै उभ्याउँदै आफूलाई
किन रंगहीन सेता रंग पोतिए वरपरका ति सबमा?
चुनौति मान्लान् प्रभू, र
रातभरि दलीदेलान् तिनमाथि अनेक रंग गर्दै अवज्ञा सुरक्षाका
सरकार,
जात्रा हेर्दा सबैलाई रमाइलो होस्
भिड स्वत: जम्मा होस्
हर्षका साथ शुभकामना सबैका लिएर
तर यो कस्तो जात्रा श्रीमान्?
जहाँ म जस्ता हिंड्न सक्दैनौं
जहाँ म जस्ता बोल्न सक्दैनौं?
माफ पाउँ श्रीमान् - एउटा निवेदन गरेँ
यो ३-दिने जात्राभरि म
नेपालमा नेपाली भइ निर्धक्क बाँच्न पाउँ!
मंसिरेहुडहुड
कार्त्तिकमा उद्दिग्न कुकुरका छाउराहरू
मंसिरे पूर्णे अगाडी नै
सडक र भित्ता मैल्याउँदैछन्
तीन-दिने हुडहुड भित्रिंदैछ मंसिरमा
छिमेकीका असारे झरी झर्नेछ
र हामी घरैमा निर्वासन भोग्दै भिज्नेछौं
किनकि,
चुहिएको छाना टाल्न आउने मिश्त्रीका औजार
अनुमतिपत्र साथ नहुँदा सूरक्षा घेरामा बन्धक हुनेछ!