खुसीसँग डराइरहेको छु। बेखुस छ खुसीसँग मेरो मस्तिष्क। यद्यपि मैले खुसी पढेको छैनँ।
पढ्नेहरुका लागि वास्तवमै आनन्द हुन्छ किताब पढ्न। किताब सबैभन्दा प्रिय साथी हुन सक्छन्। प्रेमी वा प्रेमिकाभन्दा पनि प्रिय! देवकोटाका लागि लेखन प्रिय भएजस्तै।
चाहनेले आफ्नो प्रेमीभन्दा बढी कितावसँग हाँस्न, खेल्न, रुन, रमाउन सक्छन्। शंकोचको सीमा रहँदैन किताबसँग। तर पनि धेरैजसो हामी किताबबाट प्राप्त हुने त्यो चरमआनन्द लिदैनौं। धेरै मध्येका धेरैले लिनै चाहदैनौँ। बाँकी धेरैले चाहेर पनि लिन सक्दैनौं।
मार्कस् टुलियस सिसरोले त्यसै भनेका हैनन्– किताबविनाको कोठा आत्म बिनाको शरीर सरह हुन्छ। फ्रान्सका बौद्धिक जागरणका अभियन्ता भोल्टेयर (फ्राँक्वा मेरी अरेट) त्यसै थपेका हैनन्– असभ्य राष्ट्रलाई छोडेर शेष सम्पूर्ण संसारमा किताबकै शासन छ।
किताबको आनन्द हामी किन लिन सक्दैनौँ ? कारण धेरै छन्, तर मुख्य कारण हो– पाठकीय पूर्वाग्रह।
म आफैंबाट सुरु गर्छु–
पछिल्लो समयमा नेपालबाट प्रकाशित भएर चर्चामा आएका प्राय किताब पढेको छु। चिनेजानेका मान्छेसँग किताब मगाउँछु। भ्याएसम्म पढ्छु। तर सधैं मलाई एउटा पूर्वाग्रही भूतले मनोवैज्ञानिक दवाव दिइरहेको हुन्छ। लेखकको नाउँसँग मेरो पाठक मस्तिष्क निस्पक्ष हुँदैन। केहीसँग उग्र अनुग्रही र कोहीसँग उग्र पूर्वाग्रही हुन्छ।
पढ्नु अगाडि नै लेखकको चित्रले मस्तिष्क हुँडल्छ। त्यो चित्र सरदर हुँदैन। कि अति सुन्दर ! कि ज्यादै कुरुप ! वास्तवमा त्यो कस्तो हुन्छ ? मलाई थाह हुँदैन तर, जस्तो हो त्यस्तो हुँदैन। म सामान्य र निस्पक्ष पाठक बन्न सक्दिनँ। पूर्वाग्रहले भरिन्छु म। भरिएको मस्तिष्कले पढ्दा कितावको सक्कली पानीफोटोसँग साक्षात्कार हुन सक्दिनँ।
किताबमा ठूलो शक्ति हुन्छ। जसलाई प्रेरणा पनि भनिन्छ। किताबभित्रको यही शक्तिलाई म किताबको पानीफोटो भन्छु।
म उनलाई चिन्छु तर उनी मलाई चिन्दैनन्। मेरो गाउँको बन्झडु मुसहरले हिजो चिनेको राजा र मैले चिनेको विजयकुमार पाण्डे उस्तै हो। मैले खुसी देखेको छैन तर, देख्नु अघि नै एउटा डरलाग्दो छायाँले मलाई हेरिरहको छ।
खुसी मेरा लागि डरलाग्दो किताब भएको छ। अहिले मलाई जस्तो भएको छ सायद सुधीर शर्माको प्रयोगशाला र कटवालको रुक्माङ्गत कटुवाल पढ्दा कतिलाई त्यस्तै भायो होला ! कतिलाई दुःखी बनाए होला, कतिलाई खुसी बनाए होला ती किताबले ! मेरो लागि खुसीजस्तै कतिका लागि डरलाग्दो थिये होला ती किताब पनि! हुन पनि गैर आख्यानमा डरलाग्दो किताब हुन् ती।
कटुवाल पढ्न बाँकी छ। सुधीरलाई पढेँ मैले। तर म डराइँन। शान्त र शालिन भावले पढेँ। म सुधीरलाई एक पत्रकारका रुपमा मात्र चिन्थेँ, चिन्छु। उनको बहिरङ्ग स्वभाव मलाई थाह थिएन, छैन।
म खुसी पढ्न खोज्छु तर त्यो खुसी अगाडि दम्भ, बडप्पन र अभिमान भरिएको एउटा सुपरम्यान आउँछ। जसले समाजका आँखामा आफैंले आफैंलाई सुपरम्यान घोषणा गरेको हुन्छ। त्यो सुपरम्यानले त्यही हिजोको टेलिभिजन कार्यक्रम प्रस्तोता बिजयकुमार पाण्डेको विम्ब ओढेको छ।
सुरुमै ‘दर्शकहरु’ जस्ता दीर्घ सम्बोधनका रुखा र घमण्डी बोली बोले जस्तो लाग्छ त्यो खुसीले। सत्य खोतल्ने बहानामा सधैं होच्याउने अभिप्राय अझैँ बोके जस्तो लाग्छ त्यो खुसीले। बोल्दा बोल्दै अर्कालाई रोकेर सधैं आफ्नै कुरा लाद्न खोजेजस्तो लाग्छ त्यो खुसीले। किशुनजीको भक्त हुँ भने पनि किशुनजी ठूला जड्याहा हुन् भनेर चिनाउन खोजे जस्तो लाग्छ त्यो खुसीले!
स्वाभिमानी होलान् खुसीका लेखक। तर, स्वाभिमानलाई अभिमान देख्ने समाजका आँखा जस्तै होलान् मेरा पनि। भए क्षमा गरिदिनु होला !
सत्यहरु पनि समय अनुसार प्रतिस्थापित हुन्छन्। सत्यले पनि नयाँ सत्य खोजिरहेको हुन्छ। विज्ञानका जनक पन्ध्रौं शताब्दीका गेलिलियो गेलिलीले पृथ्वी गोलो छ भन्दा उनलाई आजीवन काराबासको सजाय सुनाइयो। ईश्वरीय सत्ता र सत्यका विरुद्ध वितण्डा थियो त्यो इटालियन धर्मान्धहरुका लागि। तर आज गेलिलियोको सत्य स्थापित भै सेकेको छ।
विजयकुमारको स्वघोषित सुपरम्यान शैलीको सत्यले अहिले नयाँ सत्य र स्वरुप धारण गरिसक्यो होला! काँचको पर्दामा देखिने हिजोको विजयकुमार कागजका पानामा फरक होला ! तर खुसीका लेखकप्रति अझै पुर्वाग्रही छ मेरो मस्तिष्क ! मेरो पुरानो पूर्वाग्रही सत्यलाई नयाँ सत्यले प्रतिस्थापित गर्न पाएको छैन।
खुसीका लेखकभन्दा अघिको सँस्करण हो पत्रकार विजयकुमार पाण्डे। त्यसैको एउटा डरलाग्दो विम्बले मेरो मस्तिष्क अचेटेको छ। हो, म डराइरहेछु!
खुसीभित्रका पात्र, चरित्र र कथाका पानीफोटो हेर्नु अघि नै मेरा आँखामा चित्रविचित्रका तस्वीरहरु नाच्न थाल्छन्। सायद पूर्वाग्रही आँखाले हेरिने विम्बचित्रहरु हुन् ती। म सोँच्छु– एउटा लेखकप्रति किन यति धेरै पूर्वाग्रही छु? किन डराउँछु एउटा लेखकसँग म, पाठक ? यो समस्या मलाईमात्र हो की?
मैले सूचना सञ्जालको प्रयोग निक्कै गरेँ। निक्कै समय त्यसमा खर्च गरेँ। त्यसमा म जस्ता पाठकहरु खोजे। मैले भेट्टाएँ। आफूजस्तै अरु कोही पाउँदा म खुसी भएँ। स्वार्थमा समानता भएपछि हामी खुसी हुन्छौँ।
आम पाठकहरुमध्ये दुई प्रतिशतसम्म पुर्वाग्रहपीडित पाठक पाएँ मैले। तर यो प्रतिशत सायद नेपालमा निक्कै बढी होला ! यो दुई प्रतिशत भित्रका पूर्वाग्रही पाठकमा लेखकका अन्तरङ्ग साथी, शत्रु–मित्रु, समकालीन, परिवार, नातागोता र लेखक–समीक्षकहरु पाएँ। यसभित्र लेखकका बहिरङ्ग स्वभावहरु दम्भ, वडप्पन, अहंकारलाई टाढा बसेर नजिकबाट नियालीरहनेहरु पनि पाएँ। अन्ततः मैले आफूलाई पनि यहीँभित्र भेट्टाएँ।
किताब किन पढिन्छ ? कारण कति हो कति छन्। सबै उल्लेख गर्न सम्भव छैन तर ती दुई प्रतिशत पाठक किन पढ्छन् ?
साहित्यमा शीतयुद्ध सधैँ छ। हरेक लेखक हरेक लेखकसँग लडिरेहको हुन्छ। एउटा लेखक अर्कोलाई जित्न लेख्छ। अर्को हराउन पढ्छ। लेखक पनि पाठक हुन्छ। पाठक पनि लेखक हुन्छ।
यस्ता पाठकको पठन मनोविज्ञान विश्लेषणले भन्छ– कारण एउटै छ तर चिन्तन फरक छ। के लेखेछ ? कस्तो लेखेछ ? जसमा दुई धारणा हुन्छन्। साकारत्मक र नकारात्मक।
दूरभाव राख्नेले रिस, डाहा र इर्ष्याले पढ्छन्। तर सबैभन्दा पहिलो पाठक पनि प्राय यिनै हुन्छन्। स्वजनता राख्नेले खुसी, उमङ्ग र उत्साहले पढ्छन्। तर यी प्रायः आरामले विस्तारै पढ्छन्।
के नै लेख्यो होला र, त्यो नाथेले ? हेय दृष्टिले पढ्ने पनि धेरै हुन्छन्। जो आफूलाई त्यो लेखकभन्दा ठूलो मान्छन्। कस्तो लेखेछ त ? सम्मानित दृष्टिले पढ्ने पनि धेरै हुन्छन्। जो आफूलाई त्यो लेखकभन्दा सानो ठान्छन्।
किताबले यी पाठकलाई खुसी र पीडा दुबै दिन्छ। क्रुर तथा अनुग्रही दृष्टिलाई राम्रा किताबाले झन् बढी पीडा दिन्छ। अक्रुर तर आग्रही दृष्टिलाई असाधरण खुसीमाथि खुसीको फोसा पनि दिन्छ। किताब असल हुन् कि कमसल दुबैले पराकाष्ठ नाघ्छन्। परजनता नराख्ने भेगका सामान्य पाठक दृष्टिलाई सामान्यतया असल किताबले साधरण खुसी मात्र दिन्छ।
कृतिको उज्यालो पाठकसम्म पुर्याउने ढोकाको साँचो पनि यिनै क्रुर र अक्रुर, पूर्वाग्रही र अनुग्रहीहरु पाठक–लेखकसँग हुन्छ। ती ढोका पनि प्रायशः पूर्वाग्रही र अनुग्रहीह साँचोले नै खोल्ने र बन्द गर्ने गरिन्छ।
बाँकी अन्ठानब्बे प्रतिशतभित्रका पचहत्तर प्रतिशत पाठक पनि पूर्वाग्रही हुन्छन् भनेर पाठक मनोविज्ञान विश्लेषणले देखाएको छ। यी पाठकले कृतिको उज्यालो खोज्दैनन् प्रोपोगाण्डाको आधारमा धारणा बनाउँछन् र किताब पढ्छन्। प्रोपोगाण्डाको पर्खाइमा बसेका पूर्वाग्रही पाठक !
अझ शिक्षित र वौदिक पाठक कम भएको हाम्रो जस्तो किताबको बजारमा ९० प्रतिशत साक्षर र समान्य पाठक हुन्छन्। यी नब्बे प्रतिशतले प्रोपोगाण्डाकै भरमा किताबलाई पछ्याउँछन्।
नेपालको सन्दर्भमा मदन पुरस्कार एउटा प्रोपोगाण्डा पनि हो। अपवादलाई छोडेर पापाराजी पत्रकारिताले जस्तै हलचल ल्याउँदै आएको छ, मदन पुरस्कारले पुस्तकको सानो बजारमा। के हामी नब्बे प्रतिशत पूर्वाग्रही पाठक किताब पढ्दैनौ, प्रोपोगाण्डा पढ्छौँ ? प्रश्नले उत्तर खोजेको छ।
किताब लेखेपछि कृतिको उज्यालो पाठक समक्ष पुग्नुपर्छ। तर कसरी ? नखोजेको उत्तर सधैं बोलिरहेको छ। खोजेको उत्तर सधैँ मौन छ!
भूमिका, समीक्षा तथा समालोचना कृतिको उज्यालो छर्ने घाम–जून त हुन्। तर हाम्रो जस्तो साहित्यको संकुचित भूमिमा उदाउने ती घाम–जूनमा प्रायः उदाउनु पूर्व नै ग्रहण लागिसकेको हुन्छ।
कृतिको गुणवत्ताभन्दा व्यक्तिको आवश्यकता र महत्ताले पूर्वाग्रही छ हुन्छ लेखक, समीक्षक र समालोचक। मस्तिष्कले कृतिको अतल छुँदैन। आँखाले देखेको लेखकको अनुहारको स्वरुप अनुरुप पोतिन्छ कृतिको कालोमाथि सेतो र सेतोमाथि कालो। अपवादलाई छोडेर यही शैली र सँस्कारको ग्रहण लागेको घाम–जून उदाउने–अस्ताउने गरेको छ नेपाली साहित्यका पाखा–पखेरामा। किताबलाई कृति बनाउन हामी हावा भरेको बेलुन बनाएर उडाइदिन्छौ बजारमा। तर हावाले पाठकको मस्तिष्क भरिदैँन।
धेरै अवस्थामा यो शैली बाध्यकारी बनेको छ। साहित्यको संकुचित बजारमा लेखक, समीक्षक र समालोचक एक आपसका बाँधिएका हुन्छन्। गाँठो फुकाउँदा चुडिएर पाताल पुग्ने डर हुन्छ। रित्तिएर नाङ्गोरुख हुने डर हुन्छ। कसले फुकाउने अनुग्रह–आग्रह–पूर्वाग्रहको गाँठो ?
मलाई थाह छ– जीवनमा खुसीहरु कतिखेर आउँछन् थाह हुँदैन। अष्ट्रेलिया बसेका डा. कुमुद धितालले संसारलाई खुसी दिए। मरेको मुटु हालेर मर्न लागेको मान्छे बचाएर जीवनको नयाँ बाटो देखाइदिए। मृत्यु कुरेका कतिलाई उनको खुशीले पक्कै खुसी दिनेछ।
असल किताबले हामीलाई पनि खुसी दिनसक्छ। जीवनको नयाँ बाटो देखाउन सक्छ। किताब पढेपछि पाठकीय पूर्वाग्रह पनि समाप्त पनि हुन सक्छ भनेर पाठक मनोविज्ञानले औंल्याएको पनि छ।
प्रायः किताब असल हुन्छन्। लेखकहरु पनि किताब जस्तै होउन् !
हालः बोस्टन, अमेरिका।