म आइए पढ्दा ‘जनवादी साहित्यबारे’ भन्ने शीर्षकको एउटा सानो पुस्तकमा माओत्सेतुङको साहित्यसम्बन्धी धारणा र अर्को एउटा यन्नान व्याख्यानमालाबाट साभार शीर्षकको सानो पुस्तिकामा समुदायसँग क्रान्तिकारी योद्धाले काम गर्ने तरिकाबारे पढ्ने मौका मिलेको थियो । प्रथम पुस्तिकामा साहित्यसम्बन्धी माओका धारणा थिए । दोस्रोमा चाहिँ जनवादी युवा र कार्यकर्ताले कस्तो आचारसंहिता पालन गरी आफ्नो काम अघि बढाउनुपर्दछ भन्ने बिषयमा उल्लेख थियो । ती दुवै पुस्तक माओका सम्बद्ध बिषयहरुमा धारणा बुझ्न अति नै महत्वपूर्ण थिए । माओको त्यही व्याख्यानमालामा प्रस्तुत विचारहरु नै पछि माओत्सेतुङका साहित्यसम्बन्धी अवधारणा र संगठन संचालनका आचारसंहिताका रुपमा लिने गरियो ।
त्यो पुस्तकमा उल्लेखित यन्नान भन्ने ठाउँ चीनको कुनै ठाउँ होला जहाँ बसेर माओले कार्यकर्तासमक्ष विविध बिषयमा आफ्ना धारणा राखेका रहेछन् भन्ने मलाई लाग्यो । त्यसबेला म सामान्य रुपमा विद्यार्थी राजनीतिका क्रियाकलापमा संलग्न थिएँ । त्यसमा उल्लेखित माओका विचार त्यतिबेला राम्रै लाग्थे । कुनै बेला चीन घुम्न जाने मौका मिल्यो भने यन्नान भन्ने ठाउँ पुग्नुपर्ला भन्ने मनमा लागेको थियो । त्यसपछि भने त्यसको स्मरण हरायो । चर्चापरिचर्चा केही गरिएन । बीचका निकै वर्ष हातमुख जोर्ने प्रयोजनका लागि भन्दै विभिन्न जागिर, पेशा र व्यवसायमा लागियो ।
मानिसको मनमा जे इच्छा जागृत हुन्छ त्यो एक न एक दिन पूरा हुन्छ भन्छन् प्रसिद्ध अमेरिकन लेखक नेपोलियन हिल । हाम्रो नेपाली समाजमा पनि जहाँ इच्छा त्यहाँ उपाय, तँ चिता म पुर्याउँछु आदि उखानहरु प्रचलित छँदैछन् । यही उखानजस्तै भयो मेरो जीवनमा पनि । चीनमा अध्ययनरत एकजना साथीले चीन सरकारले शाङ्सी प्रान्तको याङलिङ शहरमा आयोजना गर्ने कृषि तथा वातावरण संरक्षण सम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा भागलिन आउने भए म निमन्त्रणा पठाउन लगाइदिन्छु भनेर खबर गरे । मैले उनको सल्लाहमा सबै तयारीहरु गरेँ र आवेदन गरेँ । मेरो नाम पनि कार्यक्रमका सहभागीको रुपमा नेपालबाट छनौटमा पर्यो । आफ्नो देशको सम्बन्धित बिषयको कन्ट्री रिपोर्ट पठाएपछि सहभागिताको लागि निमन्त्रणा प्राप्त भयो ।
सोही अनुसार भिसा र टिकटको व्यवस्था गरी सन् २०१० को अगस्तमा म नेपालबाट चीनको पुरानो ऐतिहासिक शहर सियानको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएँ । मलाई लिनका लागि कार्यक्रमसँंग सम्बद्ध एकजना अफिस कर्मचारी त्यहाँ मौजुद थिइन् । उनीसँगै म याङलिङ पुगेँ ।
हाम्रो कार्यक्रम आयोजना गरिएको प्रान्त शाङ्सीमा दुईतीनवटा महत्वपूर्ण ऐतिहासिक सहर र ठाउँहरु रहेछन् । माओले आफ्नो राजनीतिक जीवनका करिब १३ वर्ष बिताएको सहर यन्नान, बेइजिङ राजधानी सार्नुअघि १३ औ शताब्दीसम्म चीनको राजधानीका रुपमा रहेको ऐतिहासिक शहर सियान, करिब ७००० भन्दा बढी सिपाहीहरुको अनुहार सुरक्षित राख्नका लागि बनाइएका योद्धाहरुको टेराकोटा मूर्ति भएको सियान भन्दा केही टाढा रहेकोे प्रसिद्ध ऐतिहासिक स्थल । चीनको अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन आउने पाहुनाहरुलाई सम्बद्ध प्रान्तका ऐतिहासिक र पर्यटकीय स्थल अवलोकन गराउने गरिँदो रहेछ । सोही अनुसार हामीलाई पनि ती तीनवटै ऐतिहासिक स्थलहरुको भ्रमणमा केही जान्न्ो र बुझ्ने मौका मिल्यो ।
कार्यक्रममा प्रस्तुत हुने बिषयहरु र भ्रमण तथा अवलोकनका कार्यक्रमहरु समेटिएको सेड्युलमा यान्नान शहरमा २ दिनको कार्यक्रम रहेको जानकारी पनि समावेश थियो । त्यो देखेपछि मलाई लाग्यो जहाँ इच्छा त्यहाँ उपाय भन्ने कुरा साँच्चै चरितार्थ हुँदोरहेछ । मैले माओको त्यो सानो पुस्तिका पढ्दा राखेको माओको यान्नान शहरमा पुग्ने इच्छा आज संयोगले साकार हुने देखेर म दङ्ग परेँ । एक प्रकारले यो कस्तो रहस्यमय अवसर आएको हो भन्ने पनि लागि नै रह्यो ।
कार्यक्रम आयोजना स्थलबाट यान्नान शहर करिब २०० कि.मि. टाढा थियो । बीचमा पर्ने एक मोडेल गाउँमा हामीलाई अवलोकन भ्रमणका लागि घुमाउने व्यवस्था गरिएको रहेछ । चीनका सम्बृद्ध शहरहरुका संस्थाहरु र विश्वविद्यालयहरुले गाउँको विकासमा पनि केही साझेदारी गरुन् भनेर सरकार, स्थानीय जनता र शहरीया संघसंस्थाहरुको संयुक्त साझेदारीमा एक नमूना गाउँ संचालनमा ल्याइएको रहेछ । कृषि प्रणालीमा सुधार, सामाजिक सुरक्षाका व्यवस्थाहरुको व्यवस्थापन, गाउँका स्रोतहरु उपयोग गरी वैकल्पिक उर्जाहरुबाट उर्जा व्यवस्थापन र उपयोग, पशुपालनलाई स्तरीकरण गरी अनुसन्धान तथा प्रविधि हस्तान्तरणको लागि एक उन्नत पशुफार्म आदिको अवलोकन पछि हामी बेलुका अलि ढीलो गरी याङलिङबाट यन्नान शहर पुग्यौँ ।
यन्नानमा वातावरणीय दृष्टिले अति नै संवेदनशील लोसेस पठारमा हुने भूक्षयको अध्ययन गर्नका लागि एक राष्ट्रियस्तरको अनुसन्धान केन्द्र स्थापना गरिएको रहेछ । त्यसले कति पानी पर्दा कति भिरालो भएको ठाउँमा कति भूक्षय हुन्छ र त्यसरी हुने भूक्षयमा के कस्ता किसिमका बोटबिरुवाहरु र वनस्पति लगायो भने त्यसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने अध्ययन गर्दोरहेछ । सोही अध्ययनका आधारमा चीनको त्यो बालुवा पठार लोसेस प्लेटोको हरियाली बृद्धिका कार्यक्रमहरु भइरहेका रहेछन् । चीनले बालुवा नै बालुवाको त्यस बिशाल पठारी क्षेत्रमा वातावरणीय संरक्षण र प्रविधि विकासका क्षेत्रमा के गरिरहेको छ, त्यसबाट अल्पविकसित देशहरुले के सिक्न सक्छन् भनेर अल्पविकसित देशहरुलाई आफ्ना प्रविधिहरुबारे जानकारी गराउनु त्यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । सोही अनुसार हामीलाई भूक्षयका दृष्टिले पनि संवेदनशील र अनुसन्धान केन्द्र पनि त्यही ठाउँमा भएकाले यन्नानको भ्रमण गराइएको रहेछ ।
त्यस शहरमा पुगे पछि चीनको वर्तामान आर्थिक विकासको मोडेल, सामाजिक र आर्थिक विकासको अवस्था लगायत धेरै कुरा जान्ने अवसर प्राप्त भयो । एकातिर शहरको मुख्य भागमा विशाल आधुनिक महल र सकेसम्म संसारका अत्याधुनिक सुविधाहरु थिए भने अर्कातिर त्यही शहरको बीच भागमा नै बालुवाको भित्तामा प्वाल खोलेर कालकोठरी जस्ता लाग्ने परम्परागत घरहरुमा पनि मानिसहरु त्यसैलाई आफ्नो घर मानेर बसोबास गरिरहेका भेटिन्थे । आधुनिक चीनसंगै जोडिएको त्यो परम्परागत चीन पनि मैले यस भ्रमणका अवसरमा देख्ने र बुझ्ने मौका पाएँ ।
जतिसुकै आधुनिक भनिए पनि र भौतिक विकासका दृष्टिले आधुनिक देखिए पनि चीनको विकासको चुनौती अहिले पनि डरलाग्दो नै रहेछ भन्ने अनुभव भयो त्यहाँको भ्रमणबाट । एकातिर बेइजिङ, सांघाइ, सेन्जेन जस्ता अत्याधुनिक शहर र शहरी अर्थतन्त्र अर्कातिर बालुवका भित्ताखोपेर बनाइएका प्वालहरुलाई आफ्नो वासस्थानका रुपमा स्वीकारेर बस्नेहरुको अवस्था । दुवैथरि सामाजिक आर्थिक अवस्था बोकेर हिँडिरहेको चीनको त्यो वास्तविकताले आधुनिक पूँजीवादी अर्थतन्त्रको वितरण प्रणालीलाई दिएको चुनौती र संभावनाको दुवै चित्र मेरो मानसपटलमा आइरहे । अहिले पनि मेरो मानसपटलमा ती भित्ता खोपेर बनाइएका प्वालहरुमा बस्ने मानिसहरुको जीवनले चीनको एकपाटो देखाइरहेको भान हुन्छ ।
माओले राजनीतिक गतिविधिलाई तीव्र रुपमा अघि बढाउन करिब १३ वर्ष बसोवास गरेको यन्नान शहर चीनको प्रशिद्ध बालुवा पठार लोसेस पठारको एउटा शहर रहेछ । ह्वाङ्हो नदी बालुवा नै बालुवाको समथर पहाडी पठारहरु भएर बग्ने, पानी निकै नै कम पर्ने भएपनि पानी परेको बेला बालुवाको ढिस्को नै पूरै बगाएर नदीमा पुर्याउने कारणले त्यसक्षेत्रमा ह्वाङहो नदीको सतह वर्षैपिच्छे अति नै माथि उठ्ने र तल्लो तटीय क्षेत्रमा बाढीको प्रकोप हुने गरेको रहेछ । त्यसको रोकथामका लागि पानी बगेर आउने क्षेत्रमा हरियाली बृद्धि गर्ने भिरालो (२५% भन्दा माथि) भागमा खेति गर्न निषेध गरी रुख रोप्ने र हुर्काउने, भूस्खलन बढी हुने क्षेत्रमा भूस्खलन रोक्नेखालका वनस्पतिहरु लगाउने जस्ता कामहरु स्थानीय जनाताको सहभागीतामा संचालन गरिएका रहेछन् । त्यही प्रयत्नस्वरुप यन्नानको भूक्षयमा निकै धेरै सुधार आई ह्वाङहो नदीको ‘पहेँलो पन’ ( ह्वाङहो नदीमा बालुवाका ससाना कणहरु घुलेर सधैँ पहेँलो रंगको पानी बग्ने हुनाले यसलाई ‘पहेँलो नदी’ पनि भनिन्छ ।) निकै कम भएको रहेछ ।
वातावरणीय दृष्टिले जोखिम कम भएका भिरालो क्षेत्रबाट बस्ती विस्थापन गरी स–साना शहर विकास गरी समथर भूभागमा सार्ने चीन सरकारको प्रयत्नस्वरुप हाल लोसेस पठारको वातावरणमा सुधार आई हरियाली बढ्दै गएको र सुख्खा पठार हरियो पठारमा परिणत हुँदै गएको जानकारी र तथ्यहरु हामीलाई कार्यक्रममा बताइएको थियो । भ्रमण अवसरमा त्यसको प्रत्यक्ष अवलोकन गर्ने अवसर पाइयो ।
पठारको बालुवा पनि नबगाउने र किसानलाई पनि विस्थापन गर्नु नपर्ने समथर ठाउँहरुमा फलफूल खेतिलाई प्रोत्साहन गरिएको रहेछ । स्याउ, नास्पाती, कटुस, ओखर, आरु आदि बढी मूल्यका फलफूलहरु खेति गर्न प्रोत्साहित गर्ने गरी खेति प्रणालीमा परिवर्तन गरिएको रहेछ । ठूलो क्षेत्रमा एकै किसिमको बाली लगाउँदा आउनसक्ने रोग तथा वातावरणीय अन्य जोखिमलाई कम गर्न बीचबीचमा मकै तथा भटमास जस्ता सुख्खा ठाउँमा खेति गर्न सकिने बालीहरु लगाउने व्यवस्था मिलाइएको रहेछ ।
हामीकहाँ पाइने हेर्दा रुख बयरजस्तो चाइनिज ‘टाट’ भनिने एक खालको फल त्यस बालुवा पठारको बिशेष फल रहेछ । कम पानी, बलौटे भूभाग, सुक्खा भिरालो जमिनमा खेति गर्नसकिने भएकाले यसको खेति निकै नै लोकप्रिय रहेछ । उत्पादनका हिसाबले पनि निकै बढी उत्पादन हुने यो फल त्यस पठारको निर्यातजन्य फल नै भइसकेको हामीलाई जानकारी गराइयो ।
फलफूल र अन्नबाली नहुने जमीनमा कम पानीमा बाँच्न सक्ने र सुक्खा सहन गर्नसक्ने वनस्पति र रुखहरु पनि अभियानकै रुपमा लगाइएको रहेछ । जसका कारण हाल त्यसक्षेत्रमा हरियाली बढ्न गई पानीका मूलहरु पलाउने, भइरहेका मूलहरुमा पानी बढ्ने, वातावरण्ीय स्थिरता आउने जस्ता सकारात्मक वातावरणीय संकेतहरु आउन थालेका रहेछन् । त्यो देखेपछि मलाई लाग्यो मानिसले चाह्यो भने के गर्न सक्दैन र ? हाम्रो पनि पहाडि खेति प्रणालीलाई यसरी सुधार गर्न र बस्तीहरुलाई यसरी व्यवस्थित गर्न पाए ? चीनको यो भागको वातावरणीय तथा खेति प्रणालीबाट हामीले धेरै कुराहरु सिक्न सक्ने रहेछौँ ।
dhirbhandari@yahoo.com