अर्थशास्त्रले कुनै कुराको आँकलन गर्नुअघि एउटा मान्यता अघि सार्छ— यदि अरु कुरा यथावत भयो भने (इफ अदर थिङ रिमेन सेम) यसो–यसो हुन सक्छ । त्यो सन्दर्भ वि.सं. २०४६ सालको राष्ट्रिय राजनीतिमा जोड्ने हो भने अरु कुरा यथावत् रहेर पञ्चायती व्यावस्था रहिरहेको भए मचिरमान सिंहपछि नेपालको प्रधानमन्त्री हुने सम्भावना नवराज सुवेदीको थियो । तर, २०४६ सालमा नेपाल–भारत पारवहन तथा वाणिज्य सन्धि नवीकरण हुन नसकेर देशमा अस्थीरता हुनु, त्यसअघि बहुदलीय प्रजातन्त्रको समान मुद्दाका लागि मिल्न नसकेका कांग्रेस र कम्युनिष्ट मिल्नु, कांग्रेस र कम्युनिष्टलाई भारतको नैतिक बल मिल्नु आदि कारणले जनआन्दोलान भयो र बहुदलीय प्रजातन्त्र आयो । प्रजातन्त्र आएसँगै पञ्चायत इतिहास बन्यो र पञ्चायत हाँक्नेहरु पञ्चेको नाममा करिबकरिब बहिस्कृत जस्तै भए, केही समयको लागि । पञ्चायतका हस्ती नवराज सुवेदी पनि हराए जस्तै भए । पछि उनी सूर्यबहादुर थापासँग दलगत राजनीतिमा त आए तर कुनै उल्लेख्य पदमा पुगेनन् । तिनै नवराज सुवेदीको आत्मवृतान्त ‘इतिहासको एउटा कालखण्ड’ हालै प्रकाशित भएको छ जसमा उनले तत्कालीन राजनीतिक घटना क्रमलाई आफ्नो हेराइबाट प्रस्तुत गरेका छन् ।
पुस्तकमा पञ्चायतको पहिलो अधिवेशन वि.स. २०२० देखि वि.स. २०४६ सालसम्म नवराज सुवेदीले देखे, भागेको पञ्चायतको घटनाक्रमको मोटामाटी वर्णन छ । सुवेदीले कसरी भवितव्यले पञ्चायत छिरे र पञ्चायत छिरेपछि पञ्चायत भित्रको चलखेलदेखि पञ्चायतको अवसानसम्मको कुरा बताएका छन् । उनले राजा महेन्द्र र राजा विरेन्द्रसँग काम गरे । उनले राजा महेन्द्रको राष्ट्रप्रतिको लगावका केही किस्साहरु बताएका छन् । साथै, ०१७ सालको काण्डमा भारतको संलग्नताको पुष्टि गरेका छन् । सुवेदीले लेखेका छन्, ०१७ सालको काण्डपछि नेहरुले ‘यो ठिक भएन भन्ने मात्र वक्तव्य दिनुभयो अरु केही पनि प्रतिक्रिया भारतबाट नआउनु, शङ्गा गर्ने ठाउँ छ । यस काण्डबाट राजालाई खुशी पारी आफ्नो स्वार्थ पूरा गराउने दाउमा भारत थियो तर राजाले त्यसो हुन दिएनन् ।’
तराईमा एकपटक सिकार खेल्न जाँदा रानी रत्नलाई गोली लागेछ । सिमापारिको शहरको अस्पतालमा लगौं भन्ने कुरा भएछ । तर राजा महेन्द्रले, जे पर्ला पर्ला पारी लान्न भनेर रातारात हेलिकप्टर मगाएर रानीलाई वीर अस्पतालमा जँचाएको प्रसङ्ग रोमाञ्चक लाग्छ भने अर्कोतिर तिनै सुवेदीलाई वाणिज्य मन्त्रालय चलाउन दिँदा राजा महेन्द्रले ‘मेरो परिवारको दबाउ आउन सक्छ । डर नमानी काम गर । तिमीलाई अप्ठ्यारो परे मलाई खबर गर्नू’ भन्नुले दरवार सदस्यहरुको व्यापार मोह र नियम कानुन नमान्ने दरबारी शैलीको पुष्टि भएको छ ।
सुवेदीले राजा वीरेन्द्रलाई साह्रै सोझो र रानी ऐश्वर्यको कुरा काट्न नसक्ने बताएका छन् । पुस्तकमा सुवेदीले राजा वीरेन्द्रले आफ्नो विवेकले गरेको निर्णय भनेको जनमतसंग्रह मात्र भएको बताउँदै राजालाई उद्धृत गरेका छन्, ‘जनमत गर्ने निर्णय गर्दा बडामहारानीलाई पनि थाहा दिइनँ, यस कुराको छलफल परिवारमा गरेको भए सायद जनमत हुने थिएन ।’ यसबाट वीरेन्द्र कुनै पनि निणर्य आफू एक्लै गर्दैनथे र भाइहरुको सल्लाह लिन्थे भन्ने पुष्टि भएको छ ।
त्यसबाहेक कालान्तरमा हरेकजसो निर्णयमा रानीको दबदबा बढ्दै गएर अन्नतः पञ्चायत नै पतन हुन पुगेको सुवेदीको ठहर छ, जसमा रानीलाई खुशी पार्न दरबारका सचिव र जर्नेलको चाकडी र चाप्लुसीले प्रत्युत्पादक परिणाम ल्याएको उनको बुझाइ छ । सोही परम्पराकै निरन्तरता ज्ञानेन्द्र शाहको पालामा भएर उनलाई उक्साएर तथा ज्ञानेन्द्रको आफ्नै हठले अन्ततः शाहवंशीय राजतन्त्र नै भुङ्ग्रामा परेको तर्क पनि सुवेदीको छ । यस सन्दर्भमा सुवेदीको एउटा तर्क के छ भने राजा वीरेन्द्र शासन गर्न तालिम प्राप्त थिए तर ज्ञानेन्द्र थिएनन् । उनी व्यापारमा तालिमप्राप्त थिए । शासन र व्यापारको तालमेल मिलाउन नसकेको र आफ्ना चरम हठका कारणले शाहवंशीय राजतन्त्रको पतन भएको बुझाइ सुवेदीको छ ।
त्यस्तै सुवेदीले बिपीेले आत्मवृत्तान्त र जेलजर्नलमा सूर्यप्रसाद उपाध्यायबारे कुरा सही होइन भनेर खण्डन पनि गरेका छन् । सूर्यप्रसाद उपाध्यायलाई राजाले प्रधानमन्त्री दिँदा पनि अस्वीकार गरी कांग्रेसी कार्यकता पालेर बसेको बुझाइ सुवेदीको छ । जम्मा १ यस २२ पृष्ठको पुस्तकमा सुवेदीले पछिल्लो समय भएका भ्रष्टाचार संस्कृतिको आलोचना गरेका छन् तर उनी स्वयम्लाई लागेको ‘सुन काण्ड’ को आरोपको बारेमा केही पनि बताएका छैनन्, जुन काण्डका कारणले उनको राजनीतिक स्थान धर्मराएर पुनः स्थान बनाउन धेरै गाह्रो भएको बताइन्छ । उनले कार्पेट काण्डको बारेमा पनि बताएका छन् जस अनुसार कार्पेट काण्डमा दरवारका सचिवहरुले भ्रष्टाचार गरे तर दोष भने भेषबहादुर थापा र हर्क गुरुङलाई लगाइयो । त्यस्तै, जनमन संग्रहका लागि सरकारी तवरबाट सजिलै खर्च उपलब्ध नहुने भएपछि तात्कालीन तस्कर नाइके चोथमल जाटियासँग करिव साँढे तीन करोड लिएर कसरी पञ्चायतलाई जिताइयो भन्ने पनि सुवेदीले खुलाएका छन् ।
पञ्चायती शासनको तीस वर्षसम्म अविच्छिन्न पञ्चायतको सदस्य भएर निकै पटक मन्त्री र राष्ट्रिय पञ्चायतको अध्यक्ष भएका नवराज सुवेदीको आत्मवृतान्त नेपाली इतिहासको महत्वपूर्ण कालखण्डबारे जनताले देखे सुनेका धेरै कुरा पुष्टि गर्ने ऐतिहासिक दस्तावेज हो । जगदम्बा प्रकाशनद्वारा प्रकाशित सुवेदीको पुस्तक पञ्चायती अनुभव र नेपाल–भारत सम्बन्धका कुराहरु अहिले अझ बढी सान्दर्भिक छन् र उनको अनुभव नेपाल बुझ्ने महत्पूर्ण आधार हुन् ।