चार वर्ष भयो। हरेक वर्षको तिहारमा छोरोले भन्छ 'बाबा हाम्रो घरमा नि झिलिमिलि बत्ति हालम् न!'
'पछि हालम्ला, हाम्ले घर बनाएसी' फकाउने कोसिस गर्छु 'तिमी ठूलो भएसी।'
ऊ मान्दैन'त्यै घरमा हालम् न हामी बस्ने' उसलाई थाहा छैन हामी 'घर'मा हैन, 'कोठामा बस्छौँ भनेर।
'त्यो हाम्रो घर होइन बाबु' फेरि सम्झाउने प्रयास गर्छु 'हाम्रो एउटै कोठा हो, त्यो घरमा त घरबेटी बस्छन्।'
'कोठाभित्र बालम् न झिलिमिलि' केटाकेटीको जिद्दी न हो काँ मान्दो हो 'किन्न जाम् न बाबा बजार जाम् न।'
ऊ फुत्त निस्किएर म भन्दा अघि मोटरसाइकलमा चढिसकेको हुन्छ।
बजार घुमाएँ। साँझ पख। बजारका सबै घर झिलिमिलि भए। ऊ झन् आत्तियो 'बाबा हाम्ले कैले घर बनाउने?'
म केही जवाफ दिन्न।
अघिल्लो दिनमात्रै हैन। प्रत्येक महिना जसो फोन गरिरहने, अनि फेसबुकमा पनि कुरा भइरहने इन्डियामा बस्ने मेरी कान्छी दिदीले सोधिरहन्छे 'बाबु जग्गा किनिस्?, अब जग्गा किन्नुपर्छ, पैसा त जम्मा गर्या होलास् ए।'
उसलाई के थाहा कि ऊ तिहारमा टीका लाउन आइ भने मैले दिएको दक्षिणा, ऊ आउँदा जाँदा हुने खर्चको एक तिहाइ पनि हुन्न भनेर।
'छैन त्यस्तो क्यै छैन' म टालटुल पार्छु'अहिले यतातिर जग्गा महंगो छ, सस्तियो भने किन्नुपर्ला' यै भन्न थालेको पनि वर्षाै बितिसकेको छ। थाहा छ, जग्गा काठमाडौंका गल्लीमा राखिएका 'लिलामी' लुगाजस्तो होइन, जसको मोल साँझ जति छिप्पियो उति घट्दै जान्छ।
म सम्झिन्छु त्यो दिन, घोराहीको माउण्ट एभरेष्ट होटेलको भुँइ पुछ्दा पुछ्दै पत्रकार बन्ने धुन चढेको। त्यो गेष्ट हाउसको सभाहलमा खुब कार्यक्रम भइरहन्थे। हलमा सफा गर्ने, पुछ्ने, टेबल मिलाउनेदेखि लिएर कार्यक्रममा चिया पुर्याउने सारा काम मजस्तै ३–४ जना 'वेटर'हरुकै हुन्थ्यो।
तलव १ हजार। खाना छ। बस्न छ। काम सबै हो। भुँइ पुछ्नेदेखि भाँडा धुनेसम्म। पद 'वेटर'।
संकटकाल थियो। गाउँमा एसएसएलसी केन्द्र हुँदैनथ्यो। २०५९ सालको कुरा। १५ दिनका लागि घोराहीको भरतपुर खानेपानी ट्याङ्की नजिकैको एउटा घरमा डेरा भयो। ३ जना बस्यौँ।
मैले घरबाट केही ल्याइनँ। अरु दुईजनाले जेजे ल्याए त्यै खाएँ। नरेन्द्र केसी थियो, अहिले इण्डियामा छ। उसैले मेरो लागि पनि खर्च ल्याइदियो। पछि होटेलमा काम गर्न छोडेको केही महिनासम्म उसकै घरमा पालिएँ, उसको बाउआमाको चौथो छोरो बनेर। परीक्षा सकियो। बचेको चामल बेचियो। गणेश हलमा फिल्म हेरियो। उनीहरु फर्किए। म फर्किइनँ। एउटा साथीको भिनाजुले होटेलमा काम गर्छन् भन्ने सुनेको थिएँ, उसैको सोर्समा होटलमा जागिर भयो। त्यो साथी केही दिनमै विदेश उड्यो।
होटेलमा हुने कार्यक्रममा पत्रकारहरु धेरै आउँथे। पत्रकार महासंघको अफिस पनि त्यै होटलसँग सटेको थियो, जहाँ मैले काम गर्थेँ। विपुल पोख्रेल, सुदीप गौतम, उदय जिएम, अनि शरद अधिकारीहरु त्यो हलमा मैले धेरै नाम सुनेका पत्रकार थिए।
र बिस्तारै मलाई पनि पत्रकार बन्ने धुन चढ्न थाल्यो। पत्रकारहरु आउँथे, सबैले उनीहरुलाई नमस्कार गर्थे। उनीहरु नआउँदासम्म कार्यक्रम चल्दैनथ्यो। हामी नास्ता दिन्थ्यौँ पहिला पत्रकारहरु खान्थे अनि मात्रै कार्यक्रम गर्नेहरु खान्थे।
रजिष्ट्ररमा उनीहरु नै पहिला सही गर्थे अनि खाम बुझ्थे। केही बेर बस्थे, केही लेखेको, टिपेको जस्तो गर्थे अनि जान्थे। जाँदा पनि सबैले उनीहरुलाई नमस्कार गर्थे। सिडिओ, एसपी,मेजर सबैले पत्रकारहरुलाई नमस्कार गर्थे। अनि मलाई लाग्थ्यो 'ओहो, पत्रकार भन्या त ठूलै हुनेरैछन् म नि पत्रकार बन्छु।'
सायद चैतको महिना थियो। दिउँसोको समय। होटेल, राप्ती सुपर लजको अगाडिको 'गाउँघर' साप्ताहिको कार्यालय। पाइन्ट च्यातिएपछि बनाएको हाप पाइन्ट अनि बाहुला च्यातिएपछि भएको हाफ सर्ट। म कार्यालयको ढोकामा उभिएँ।
भित्रबाट एकजना बुढा आए। पछि था भो भुवन देवकोटा रहेछन्।
'के खोज्या?' उनी बाहिर निस्किए, म ढोकैमा थिएँ।
'कविता छाप्दिनुपर्यो पत्रिकामा' मैले कविता लेखेको कागज उनलाई दिएँ। सायद तीन पेजको थियो, लामो कापीको।
घरको त्यो प्यासेज अँध्यारो थियो सायद, बुढाले अलि उज्यालोमा फर्काइ फर्काइ हेरे।
'तिमी कविता हैन, समाचार लेख' उनले त्यो कविता मलाई दिँदै भने 'राम्रो हुन्छ।'
'पत्रकार बन्ने मन छ, तर समाचार लेख्न जान्दिनँ' म अलि ठाडो स्वभावको छु 'कविता छाप्दिनुस्।'
'यै कवितालाई लाइन नछोडेर, एक लाइनमा लेख्दै जाऊ समाचार बन्छ' उनी हल्का हाँसे। म फर्किएँ।
केही दिनपछि फेरि गएँ। उनले भने 'खै समाचार लेख्यौ?'
'नाइँ क्यौ जानिनँ, कवितामात्रै लेख्छु।' उनले भने 'तिम्रो गाउँ कहाँ हो?'
'हापुर।'
'गाडी चल्छ?'
'दुई महिना भयो, एउटा जिप जान्छ।'
'त्यहाँका मान्छेहरुको सुख-दुःख लेख, ट्याक्सी चलेपछिको सुख, चल्नुअघिको दुःख।'
दिउँसो गएँ। साँझ गाउँकै ट्याक्सीमा फर्किएँ। धेरै मान्छेले धेरैथरीका कुरा गरिरहेका थिए। होटेलमा आएँ। साँझको काम सकियो। सुत्ने 'स्टाफ' रूममा छिरेँ। कापी खोलेँ। लेखेँ मलाई लाग्यो 'फेरि कविता बन्यो।'
अर्काे दिन फेरि 'गाउँघर'मा गएँ। बुढाले भने 'हो यसैलाई एकै लाइनमा लेख, सबैलाई एउटैमा जोडेर।'
अर्काे दिन त्यसै गरेँ। अनि बुझाएँ। बुढाले भने 'प्रत्येक शुक्रवार यहाँ आउनु।'
शनिबार पत्रिका होटेलमा पनि पुग्यो। मैले लेखेको छापिएछ। पत्रकारिताको भाषामा 'एङ्कर' भएछ। डर लाग्यो, होटेलका कसैलाई भनिनँ।
पत्रकार बन्ने सुरूवात यसरी नै भयो। घरमा न खाने अन्न थियो, न जोत्ने जमिन। म सानैदेखि घरमा बसिनँ। गाउँघरमा अलिअलि समाचार लेख्न थालियो।
एसएलसी दिएको मान्छे। केही समयपछि नेपाल प्रेस युनियनले घोराहीमै पत्रकारिता तालिम राख्यो। सूचनामा 'पाँच सय रूपैयाँ' लाग्ने भनिएको थियो। फेरि गाउँ गएँ। एकजना पूजारी बाजेलाई भनेर पाँच सय रुप्पे मागेँ। अनि तालिम लिएँ।
त्यसपछि लाग्यो 'ठूलै पत्रकार भइयो।'
अनि, आदिम केसी, भोला बुढाथोकी, पूर्णबहादुर बस्नेत र राकेश बस्नेतहरुसँग मिलेर 'सूचनापत्र साप्ताहिक' निकालियो। बजारभरी पत्रिका बाँडियो। समाचार लेखियो। त्यसको केही महिनापछि गोरक्ष दैनिक निस्किने खबर आयो। म त्यसमा छानिएँ। अझ 'ठूलो' पत्रकार भइयो। बजारभरी हाईहाई। सुरुसुरुमा पत्रिका बाँडियो। समाचार लेखियो। रिपोर्टर भइयो। गोरक्ष दैनिकको सम्पादकसम्म भइयो।
होटेलमा काम गर्दा। १ हजार तलब थियो। दुई छाक खाना थियो। नास्ता थियो। बस्ने व्यवस्था थियो। पत्रकार भएको त महिनाको ८ सय तलव, एक छाक खाने व्यवस्था। रातिमा काम सकेपछिमात्रै सुत्ने व्यवस्था। धेरै सयमसम्म त रातभरि नि काम सकिएन, बिहानमात्रै सुतिन्थ्यो।
पत्रकार।
सबैले मान्थे। नाम भन्ने हो भने त अझ धेरै सम्मान गर्थे। गर्छन् पनि। तर आफूलाई हेर्दा लाग्थ्यो 'बरु त्यै होटेल ठीक।' तर नशा लागिसकेको थियो। छोडेन। छोडिएन।
पत्रकारिता जीवनका दश वर्ष त्यसैगरी बिते।
समाचार लेखियो मात्रै अरू केही गरिएन्। बिहे भइसेको थियो। छोरो जन्मियो। अहँ क्यै ख्याल गरिएन। छोराले 'बाबा' भन्न सिकेदेखि बल्ल लाग्यो 'ओहो बाऊ नि भइएछ।'
...
'आँखा नि देखिन्न?' खाउँला झै गरेर निकै आखाँ तरेर हेरिरहेकी थिई। झसङ्ग भएँ। म हाँसेमात्रै, केही बोलिनँ। फेरि आँखा तर्दैै ऊ हिँडी।
मोटरसाइकलको अगाडि बसेर 'बजार घुमिरहेको' छोरोले चाबी झिकिसकेको रहेछ, मोटरसाइकल हुत्तिएर झन्डै त्यो आँखा तर्ने नानीलाई छोइसकेको।
पूरै बिगतमा डुबिसकेको रहेछु। ऊ सारै जिद्दी छ। भनेको पुर्याउनै पर्छ। उसले 'झिलिमिलि'मै जिद्दी गरिरहेछ।
महिना बित्दा अफिसबाट तलव बुझ्ने त कता हो कता अझैँ तिर्नुपर्ने देखिन्छ। बाहिर जताततै उधारो। यसो आठ दश जना गाँठवालासँग सापटी 'सर्कल' मिलाए जीवन धान्नुपर्ने।
अनि के जवाफ दिउँ, 'जग्गा किनिस्' भन्नेहरुलाई? के देखाउँ, 'दश वर्ष बजार बसेर ठूलै घर हाल्या होलास् नि?' भन्नेहरुलाई।
दश वर्षपछि कर्मथलो फेरिएको छ। दाङ, हापुरको बगाले,बन्तरी, घोराही, तुलसीपुरहुँदै जिन्दगी अब काठमाडौसम्म आइपुगेको छ।
र, अब झन् छोरोले ठूलो घरको सपना देख्ने होला। काठमाडौंका घर देखेर। हो, तिहार फेरि आउने छ, अनि छोरोले माथि आकाशतिर देखाउँदै भन्नेछ, 'बाबा ऊ त्यस्तै झिलिझिलि हालम् न हाम्रो घरमा' उसको सपना अब आकाश छुने हुनेछ।
अनि म फेरि फकाउँने कोसिस गर्नेछु 'तिमी ठूलो भएसी।' र फेरि छोरोलाई सम्झाउने छु, 'यी घर सबै त हाम्रा हुन्, तिम्लाई जुन मन पर्छ भोलि त्यै घरमा सरौँला।' एउटा कोठा नै सही, घरै त हो नि। भाडा तिरेरै भएनि घर बसिएकै छ।
तर थाहा छ, उसैगरी फेरि दश वर्षहरु बितिरहनेछन्।