'गुरू, यो मेरो गुरूभेटी।'
मैले महाकवि लक्ष्मीप्रसाद देवकोटाका हातमा १६ वटा चाँदीका डबल राखिदिएँ।
'ओहो मिष्टर तपाईंले साँच्चै नै लक्ष्मी ल्याइदिनु भयो,' ती डबलको लक्कु निधारमा ढोग्दै उहाँले भन्नुभयो।
उहाँमा कविको भावनामात्र थिएन। सामाजिक तथा सांस्कृतिक व्यवहार पनि गर्न जान्नु हुन्थ्यो।
जेपी स्कुलमा २००५ सालमा पाँच कक्षामा पढ्न थालेदेखि नै मैले महाकविलाई देखेको थिएँ। २००९ सालमा मैले एसएलसी दिनु पर्ने थियो। त्यही बेला भक्तपुर आएको थिएँ। आमालाई टाइफाइड भयो। बहिनीको घुडामा ग्ल्याण्ड भयो।
त्यसैले काठमाडौं जान नसकेपछि म भक्तपुरकै शारदा रात्रि विद्यालयमा भर्ना भएँ। एसएलसी दिन काठमाडौंमा एउटा मात्र केन्द्र जेपी स्कुल भएकोले म वटुमा डेरा गरेर बस्न थालेँ। त्यहीबाट महाकविसँग ट्युसन पढ्न जान थालेँ।
उहाँले कविकुञ्ज मैतीदेवीमा ट्युसन दिनु हुन्थ्यो। हामी शारदा रात्रि विद्यालयका सबै १७ जना विद्यार्थी उहाँसँग पढ्न जान्थ्यौं। त्यो बेला उहाँले महिनावारी १६ रूपैयाँ शुल्क लिनु हुन्थ्यो। उहाँले हिसाबबाहेक सबै विषय बडो मोजसँग पढाउनु हुन्थ्यो। विज्ञान पढाउने उहाँको शैली झनै रोचक थियो। उहाँका भाइ मित्रनाथ देवकोटा पनि जेपी स्कुलमै विज्ञान पढाउनु हुन्थ्यो।
उहाँको विज्ञान बुझाउने तरिका अत्यत्नै रोचक थियो। मैले उहाँलाई एक दिन सोधेँ, 'गुरू चन्द्रमा माथि कि पृथ्वी? हामीले पृथ्वीबाट हेर्दा जहिल्यै यो माथि जस्तो देखिन्छ किन?'
उहाँले मलाई बुझाउनु भयो, 'मिष्टर, यसमा तलमाथिको कुरै छैन। चन्द्रमा र सबै ग्रहहरू सूर्यको वरिपरि घुम्छन्। हामीले चन्द्रमा वा अन्य कुनै ग्रहबाट पृथ्वीलाई हेर्यौं भने पृथ्वी पनि माथि देखिन्छ। हामीलाई यस्तो लागेको मात्र हो। यी सबै ग्रह पृथ्वीको समानान्तर घुमिरहेका छन्।'
भक्तपुर दरबार स्क्वायरको सेतो गेटबाहिर मेरो मामाघरमा एक दिन बजै र आमाले झ्यालबाट तल खेतमा राँकेभुत आएको भनेर मलाई देखाउनु भयो। मलाई यो भुतबारे थाहा थिएन। त्यसैले एकदिन महाकविलाई सोधेँ, 'बजै र आमाले खेतमा राँके भुत आउँछु भन्नुभयो। यो के हो?'
फेरि उहाँले भन्नुभयो, 'ए मिष्टर यो राँके भुत भनेको साँच्चिकै होइन, भुत जस्तो अंश भने अवश्यै हो।'
'यो भुत होइन भुतजस्तो अंश भनेको के हो, गुरू?', मैले फेरि जिज्ञासा राखेँ।
'कुनै व्यक्ति मरेपछि उसलाई जलाइन्छ। तर, कहिलेकाहीँ तिनका हड्डी वा मासी (बोन म्यारो) जमिनमा रहेको हुन्छ। तापक्रम बढेपछि त्यो फस्फोरस जमिनबाट बाहिर आउँछ अनि त्यो चम्किलो वस्तु राँकेभुतको रूपमा चिनिन्छ। यो बैज्ञानिक कुरा हो।'
गुरूले बुझाएको यो जानकारी अहिले पनि मेरो दिमागमा जस्ताको तस्तै छ। उहाँले विज्ञानलाई पनि विभिन्न कथा र घटनाका माध्यमबाट बुझाउनु हुन्थ्यो। जस्तासुकै जिज्ञासा राखे पनि उहाँ कहिल्यै नरिसाउने, बरु मुसुक्क हाँस्ने स्वाभाव थियो।
पढाउँदा होस् वा कुराकानी गर्दा उहाँले साथीभाइसँग जस्तो व्यवहार गर्नु हुन्थ्यो विद्यार्थीहरूसँग। त्यो समयमा विद्यार्थीलाई त्यति सम्मान दिएर बिरलै गुरूहरूले व्यवहार गर्थे। अझ उहाँले प्रत्येक पटक 'मिष्टर' भन्दै संवोधन गर्नुहुन्थ्यो र विद्यार्थीलाई पनि तपाईं भन्नुहुन्थ्यो।
एक दिन बिहानै म गुरूकहाँ पुगेको थिए। उहाँको खाट पश्चिमतिरको झ्यालतिर थियो। उहाँ त्यसैमा बसेर लेख्नु हुँदो रहेछ। खाटमै मसीदानी राखेर लेख्दा त्यहाँ पोखिएर ठूलो निलो दाग देखियो।
'गुरू आज मसीको भाँडो पोखिएजस्तो छ' भन्ने मेरो जिज्ञासामा उहाँले भन्नुभयो, 'मिष्टर मसीदानीमा हातले लागेर त्यस्तो भएछ।'
एक दिन उहाँले हामीलाई पढाइरहेका बेला कवि गोपालप्रसाद रिमाल आइपुग्नुभयो। उहाँको मानसिक सन्तुलन अलि घटिरहेको अवस्था थियो। मैलो टाटेपाटे कोट र फाटेको सुरूवाल लगाएर आएका कवि रिमाल झ्यालको तेली इँटाको भुइँमा टुसुक्क बस्नुभयो। त्यहाँ केही ओच्छ्याउने पनि थिएन।
महाकविले उहाँलाई भन्नुभयो, 'गोपालजी तपाईं त्यहाँ बस्ने हो? तपाईं त मसँगै बस्ने हो।' त्यसपछि उहाँलाई आफूसँगै राख्नुभयो। अरू भएका भए पढाइरहेको भनेर परै राख्ने थिए। तर, उहाँले आफ्नो मित्रलाई नजिकमा राख्नुभयो।
'आज यहीँ सँगै खानुपर्छ,' महाकविले भन्नुभयो। उहाँको घरमा काम गर्ने सहयोगीलाई नरम स्वरमा 'कान्छा... कान्छा' भनेर बोलाउनुभयो।
'हजुर म आएँ' कान्छाले भने।
'बजैसँग पैसा माग्नु र एक धार्नी खसीको मासु ल्याउनु आज मासुभात खानु पर्छ,' गुरूले अह्राउनु भयो। यो उहाँको उदारता थियो। हामीलाई पनि अबेला भइसकेको थियो। उहाँका 'राम्रा साथी' आउनु भएको ठानेर हामीले गुरूसँग बिदा माग्यौं।
महाकवि गुरूसँग बस्दा अनेक किसिमका भावुकता देख्न सकिन्थ्यो। यो उहाँले देखाउन चाहेको होइन। तर आफैं यस्तो अवस्था आउथ्यो। उहाँ 'चेन स्मोकर' हुनुहुन्थ्यो। तर, पढाइरहेको बेलामा चुरोट नखाने तर तमाखु भने उहाँ खाइरहनु हुन्थ्यो।
एक दिन गुरूले सहयोगीलाई भन्नुभयो, 'कान्छा मैले अघि नै भनेको होइन खोई त तमाखु ल्याएको?'
कान्छाले भने, 'हजुर मैले अहिले नै ल्याइसकेको हुँ। हजुरले खाइसक्नुभयो।'
कान्छाको कुरा सुनेर गुरूले मलाई सोध्नुभयो, 'मिष्टर मैले खाइसकेँ र?'
'हो गुरू हजुरले खाइसक्नु भयो,' मैले भनेँ।
म सिन्धुपाल्चोकको ऐसेलुखर्कमा शिक्षक भएर केही वर्ष बसेँ। भक्तपुर आएका बेला परिचय कवि सम्मेलन आयोजना गर्यौं। काठमाडौंबाट प्रज्ञा प्रतिष्ठान पदाधिकारी पनि आएका थिए। त्यो बेला महाकवि देवकोटा विरामी हुनुहुन्थ्यो। सम्मेलनमा कवि केदारमान व्यथितले 'देवकोटा मर्न लागेका होइनन् मार्न लागेका हुन्' भनेपछि ठूलै होहल्ला भयो।
देवकोटाको तलब रोकिदिएको र काँचो बयर खानु परेको पनि व्यथितले बताउनुभयो। त्यो कार्यक्रममा मोहनहिमांशु थापा, दुर्गालाल श्रेष्ठ, सत्यभामा, भूपि शेरचन, कृष्णभक्त श्रेष्ठ, पोषण पाण्डे आदिको पनि उपस्थिति थियो। त्यो घटनाले मलाई पनि समस्या होलाजस्तो लागेको थियो। व्यथितको काठमाडौंबाट फर्कने क्रममा प्रज्ञाका पदाधिकारीहरूसँग बसमा समेत विवाद भएको थियो।
गुरूलाई बिरामी भएर शान्त भवन अस्पताल (हाल पाटन अस्पताल)मा राखेका बेला हेर्न गएको थिएँ। त्यस्तो मोटोघाटो मान्छे पूरै हड्डीमात्र थिए। क्यान्सरको असह्य पीडाका कारण पोटासियम साइनाइन समेत माग्नु भएको थियो। त्यो बेला उहाँलाई अक्सिजन दिएर राखेको थियो। उहाँको निधन हुँदा भने म ऐसेलु खर्कमै थिएँ।
ती गुरू जसले मलाई ट्युसन पढाउनुभयो, पछि अनेकन कार्यक्रममा हामी सँगै भयौं। हंगेरीको बुडापेस्टमा उहाँले एक घण्टा लामो प्रवचन दिनु भएको थाहा पाएपछि मैले उहाँलाई भक्तपुरमा प्रवचन दिन बोलाएको थिए। त्यो बेला म आमाको बरखी बारेका कारण चिसो महिनामा खाली खुट्टै हिडेर निम्तो दिन उहाँको घरमा पुगेको थिएँ। त्यो चिसोमा हिड्दा गोडामा असह्य पीडा हुन्थ्यो। कार्यक्रम तय भए पनि उहाँको छोरालाई डिप्थेरिया (भ्यागुते रोग) लागेका कारण उहाँ आउन सक्नु भएन।
त्यो बेला प्रति महिना १६ रूपैयाँ ट्युसन फि निकै धेरै हो। हामी १७ जना विद्यार्थी सबैले यति नै दिएका थियौं। उहाँको कमाइ पनि त्यो बेला राम्रै थियो। बरू त्यो बेला मसँग पैसा थिएन। त्यही भएर मैले बजैसँग मागेको थिएँ गुरुदक्षिणाका निम्ति। बजैले आफ्नो दाइजोमा आएको बाकसबाट झिकेर चाँदीका डबल दिनु भएको थियो। तिनै डबल मैले महाकविलाई दिएपछि 'साच्चै लक्ष्मी' भन्दै ढोग्नुको कारण यस्ता सिक्का प्रचलनमा आउँनै छोडिसकेका थिए।
आफूसँग लामो समय ट्युसन पढ्ने पैसा पनि नभएको हुनाले म एक महिना मात्र उहाँको विद्यार्थी बनेँ। गुरूले एक दिन मलाई भन्नुभयो, 'मिष्टर तपाईं मात्र एसएलसी पास हुनुहुन्छ, अरु साथीहरूलाई गाह्रो छ।' नभन्दै त्यस्तै भयो। अरू कोही पनि शारदा रात्रि विद्यालयबाट पास भएनन्। म एकजना मात्र पास भएको हुनाले कम्तिमा स्कुलको इज्जत जोगियो।
–महाकवि देवकोटाका शिष्य संस्कृतिविद ग्वंगःसँग गुणराज लुइँटेलले गरेको कुराकानीमा आधारित।