स्पष्ट शब्दले स्पष्ट व्यक्तित्वको सङ्केत गर्न मनुष्यजातिले सिकेपछि म सम्झन्छु, मानव सम्झनाको अटान शक्ति तथा मानव कल्पनाको प्रतिबिम्ब सिर्जने शक्तिले ठूलो विकास पाए। विदित वस्तुलाई नरहरुले न्वारन गर्दै गए र अविदितको सीमा हटाउँदै लगे।
यस क्रियाले तिनीहरुले ज्ञातको सम्पत्ति ठोस नामहरुद्धारा सँगाल्दै गए र सन्तान दर सन्तान धनी बन्दै गए। वस्तुका शब्द प्रतिनिधिद्धारा भाषा, साहित्य, सभ्यताको संवर्द्धन र परिवर्द्धन भयो, मनको बीजगणितले हिसाबकिताब गर्न ज्यादै नै सजिलो बनायो। हामीहरुले नामरुपी बीजलाई नमस्कार गर्नै पर्दछ। नाम हाम्रा प्राथमिक अन्धदाताबाट प्राप्त भएका मुक्तिका वरदान हुन। शब्दनामपछि अक्षर जन्मे जसले तिनलाई अमरत्वको भूषण दिए।
अङ्कहरु निस्के, दोहरावट र खण्डलाई इसारा दिन। सर्वाभाव शून्यले सङ्केत गर्यो, सर्वत्व या सम्पूर्णत्वलाई एकले। यी बीचमा अन्नत हिसाब र सम्बन्ध रहे। म नामलाई फेरि नमस्कार गर्दछु र नामका अनगिन्ती सङ्ख्याहरुलाई। तर मेरो भक्ति सायद यतिमै टुङ्गिन्छ तर रामजस्तो शब्दलाई निख्खरा दार्शनिक नामत्वको महत्वभन्दा पर अरु ढङ्गले मलाई भाँग, गाँजा, चरेस या अमृत या मदिराजस्तो नलाग्नु या सायद हुन सक्तछ – मेरो पूर्वजन्मको पापको परिणाम स्वरुप दुर्भाग्य होला।
म बराबर आफूलाई भक्त र भक्तिनीहरुसँग दाँज्छु। उनका रसिला आँखामा लागू हुन्छ। मेरो आँखा ढर्रा र फोस्रा देखिन्छन्। उनका नशामा छिटो बिजुली दुगुर्छन्। मेरा शिरा फलाम वा मसिना तारजस्ता मात्र जच्दछन्। म काक हुँ की यिनीहरु रुदन्ती, म बुझ्न सक्तिनँ। म मोहनीहीन मानव देखिन्छु। मलाई लागु लगाउन भगवान्ले फरि मोहिनी अवतार धारणा गर्नुपर्दछ। भक्तहरुलाई क्षणक्षण लहरी लहरीले छुन्छ। तिनीहरु पातझैँ उफि्रन्छन्, नाच्छन्। म फेदझै खस्रोमस्रो र ठिङग परेको आफूलाई देख्दछु। उनीहरु अन्वेषक छन्, म विश्लेषक छु। म रामायणलाई आदिकविता भन्दछु। उनीहरु सत्को मंदिर भन्छन्। म भागवत्लाई आनन्ददायक विशाल काव्य सम्झन्छु, उनीहरुल हरेक हरफमा मन्त्र र जादु छ। उनीहरु लठ्ठिन्छन्, म टाठिन्छुुु। उनमा ज्ञान छ भन्छन् उनीहरु, म आफूमा विज्ञान देख्दछुु। मैले भक्तदेवताका अगाडि आफूलाई स्नायुको प्रत्युत्तर दायित्वमा यति न्यून पाएको छु कि परीअघि, पशु या सुन अघि माटोजस्तो आफूलाई ठानेको छु।
यति सम्म कि मेरी पोथी अगाडि मलाई शिर झुकाउन परेको छ।
सेक्सपियरले कविलाई पागलको दर्जामा राखेका छन्। उनले भक्तहरु र भक्तिनीहरुलाई राम्ररी देखेनन् होला। मैले देखेको हुनाले मैले आफूलार्य भावपागल भन्न छोडिसकेँ, कविका आँखा लठ्ठमात्र होलान्। भक्तहरुको आँखै हुँदैनन्। उनीहरु कानसमेत गुमाउने शक्ति हासिल गर्दछन्। एक भक्तिनीले भागवतका पङ्क्तिहरु सुँघिरहको झल्को मलाई लाग्दछ। त्यसमा हरिपदरजको वास्ना निक्लन्छ रे! हनुमानलाई हामी शठमर्कट मूर्ख ठान्दछौँ। उनल रामजीले बक्सिस दिएको हीराको माला कुकटुकुटु टोकेर फ्याँके रे, किनकि त्यसमा रामनाम थिएन रे।
तर, सब भक्तभक्तिनीहरु हनुमानको समर्थन गरेर सारा चीज फ्याँक्छन् जसमा हरेराम रहेको हुँदैन। दुनियाँमा एक बस्तु देखिनु र देख्नुलाई भक्तिको नाम दिइएको छ। अरु बस्तुको भित्र अस्तित्व स्वीकार गर्नसाथ तपाईँ पूर्वजन्मको भेदात्मक प्रवृत्तिको वासनाको खाडीमा पर्नुहुन्छ। यस ऐक्यको भक्तभावना अघोरीको सिद्धान्त र चालमा गएर विचित्रतासँग गजुरिन्छ। एक भष्मेश्वर भनी बसेका विवेक सम्पन्न अघोर मार्गीले मलाई भने कि लास र भातको गाँसमा फरक थिएन। भेदभावमै मुक्तिको बाधक सम्भि्कएका थिए। भक्तहरुलाई विश्वलाई आफ्नो ढङ्ग र रङ्गले पुनर्सिजन गर्न र त्यसमा रमाउन शक्ति दिइएको देखिन्छ। साङ्ग्रो हुनुमा विशाल महत्व छ, शून्य हुनुमा अनन्त। जब मानव कर्तव्यका गिन्ती गुम हुन्छन्, जब मानव या नागरिक उत्तरदायित्व विलीन हुन्छ, जब बुद्धिमान्को काम आँखा चिम्लनु हो भन्ने निश्चित हुन्छ, तपाईँ आफूलाई भक्त भएछु भन्ने सम्झनुहोला। त्यसउपर यस अस्वाभाविकताको मजाको भाव चढेर संसारको मुख सामु बेशरम विज्ञापन सुरु गर्ने साहस र शक्ति आएपछि, तपाईँ पहुँचको मानिस हुनुभयो। जहाँ कवि मानव भावले पागल हुन्छ, भक्तहरु अभाव भावमा बहुलाउँछन्। यस सरसरे साधारणीकरणलाई म विवेकी अल्पसङ्ख्य भक्तभक्तिनीहरु अपवाद स्वरुपमा राख्न चाहन्छु।
संस्कारहीन पशुको पाशव दृष्टिकोण मेरो भएको हुनाले म अन्धभक्तको यहाँ स्पष्ट निन्दा गर्न नै खोजिरहेको छु। निजी अन्तःकरणलाई झुठ बोल्नु कनै व्यक्तिको धर्म हुन सक्तैन भने मेरो आत्मासंग म झुठो बोलेर लेख्न सक्तिनँ। 'राम' भन्ने शब्दमा एक प्राचीन संसार, व्यवहार, दर्शन र आदर्श छ भन्ने म मान्दछु। त्यो तपाईँका भावुक नशामा खण्डित रहन सक्तछ। त्यसको भावले पाउन्जेल तपाईँ त्यसमा सच्चा कविझैँ लठ्ठ रहन सक्नुहुन्छ। तर यतिभन्दा पर किन?...तपाइँ संसार, कर्तव्य,उत्तरदायित्व,मानवचेत सारामा बट्टा लगाएर हरहमेशा आँखा चिम्लनु धर्म किन सम्झनुहुन्छ? यो भगुवाको मन्त्र हो? अथवा के तपाई दुनियाँका कठोर आँधीबाट बचूँ भन्ने झुठ भावनाले उष्ट्र पंछीजस्तो बालुवामुनि मुन्टो घुसार्नुहुन्छ?...मानव समस्या बाट अमानव भएर भाग्नु सजिलो होला, तर तपाइँको चोला तल्लो स्तरतिर लत्रन्छ भन्नुहोला सारा सांसारिक समस्याको हल नै श्रीराम हो। त्यसो भए आत्महत्या नै पनि त्यतिको हल हुन सक्छ। खतरालाई उन्मूलनको औषधी म चाहन्नँ।
मेरा कलेजाका शूललाई म मर्फियाको खारले लठ्याएर निदाउन चाहन्नँ। म निद्राको निद्रैमा सिकिस्त भइसकेको हुन सक्तछु। मरिसकेको पनि हुन सक्तछु। तपाईँ किन हरिनाम पचास करोडबार दोहोर्याउन चाहनुहुन्छ? संसारको यथार्थताले आक्रमण गर्ला भन्ने तपाईँलाई डर होला। हो, भन्नुहोस। तपाईँ मेरो अघिको झटारोमा पर्नुभयो। होइन भन्नुहोस्। तल्लयताको गुणगान गर्नोस मेरो अघि। मलाई आश्चर्य लाग्दछ, नामसंग तल्लीनता लिएर बस्तुबाट रहन सक्ने अनन्त अनारमा तपाईँ सचेत हुनुहुन्न। रामजी मानिस हुनाले देवता भए,देवता हुनाले मानिस भएका या आदरणीय भएका होइनन्।
उनको मानवता उनको रामत्वले नरत्वको अनुपातमा नारायणत्वको सजीवता हुन सक्तछ। म अरु समिकरणको सिद्धि नै देख्न सक्दिन। साधारणभन्दा पर शक्ति दर्शित हुनु मानव साधरणताको धरातलबाट उचाइमा उठेको लक्षणमात्र हो। एक करोड यान्त्रिक दोहर्यावटले मगजमा दाना शिथिल पार्दछ। प्रतिबिम्बीकरण शून्य हुन जान्छ। रित्तो नाम हुन्छ। हात्तिले फालेको कपिल्थ। सजिव आदर्शलाई मूर्दा बनाउनुलाई म भजन भन्दिनँ। जीवनको सडकमा मौन मानवताले वाचालतासाथ चल्न सक्ने सच्चा भक्त हुनुपर्नेमा यो यस्तो के हुन गएको हो? बयान बृद्धि तपाईँमा छैन भनौँ। विज्ञापन,चेष्टा शून्य छ भनौँ। फलाहार, अन्नाहार र आदराहारका प्यासी तपाईँ हुनुहुन्न भनौँ। तब नाममा त्यत्रो महत्व छ भने रेकार्ड बजाए के विग्रीएला। जापानी जेनको मष्तिष्कदाना अति ध्यानले पागलिन्छ। नेपाली शिल्ली शिल्लीनीहरु विचारहीन पाङ्ग्रो घुमाईले खलबलिएका देखिन्छन्।
म बिजुली अड्डानेर एउटा 'राउँराउँ' भक्त देख्दथेँ। दसौँ वर्षसम्म त्यो त्यहीँ राउँ–राउँ–राउँ–राउँ घट्टको पाङ्ग्रो झैँ जेनेरेटरझैँ विजुली झैँ भुमरी झैँ सडक किनारा बसेर घोकिरहन्थ्यो। के पूनर्जन्म सुधार्नु यहि हो? या मुक्तिपथको पाद प्रसारण यसैलाई भन्दछन। म रामलाई यति निर्जीव सम्झन्न। म ऐतिहासिक पृष्ठभूमिमा उनको मानव दिव्यता हेरेर सरहानी गर्दछु। उनले औँल्याएको सत्यको चुलीतर्फ चल्न र चड्न कोशिस गर्दछु। म मोटरको पङ्खा हुन चाहन्न। मलाई एकलाख अन्धा साथि चाहिन्नन्। म मर्न आँटे,'हरेरम' यति गहिरो तबर ले भन्दछु कि पन्ध्रकरोड रामनाम लेख्नेलाई हनुमान र सितापति दुवैले नफरत गरेको देख्दछु। हृदयको विकार मन्त्रले हुँदैन। कर्मको सचेत कार्यक्रमको वेदनाले। म रामलाई आखिरी शब्द सम्पन्न उनी एक प्राचीन युगका मार्गप्रदर्शक राजा हुन् भन्दछु। म असल राजतन्त्रलाई रामसुडा भन्न सक्क्तछु।
न त रामराज मेरो राजनीतिको सुनको गजुरको आखिरी चुचुरो हो। म दुनियाँ रमाउने शक्तिलाई रामसंग सर्दश वस्तु अनुभव गर्दछु तर म रुखको मुटुको ढुकढुकीमा राम पाउँछु। सानामसिना मानव ध्वनीले 'राम' जसले बोल्न जान्यो या रामको सजीव अर्थ विस्तार गर्न जान्यो, उसलाई म सच्चा भक्त सम्झन सक्दछु। तर पोइसंग झगडा गर्ने भक्तिनी बज्यै, स्वामीको निर्भयकोष अपहरण गर्ने स्त्री, सारी फाल्ने बौलाही, छोराछोरी मार्ने आमा यान्त्रिक मुर्दा राम रहने र लेख्ने, रटाउने र लेख्नेलाई पूर्वजन्मका अभागी, संस्कृतिहिन, नरपशु सम्झन्छु। आफु नबुझ्नेले राम बुझ्दैन न रामभन्दा अघिको कुरा। आत्मज्ञान नै सच्चा भक्तिको आधार हो।
(शिव रेग्मीद्वारा संकलित महाकवि देवकोटाका निबन्धबाट)