नेपाली भाषा अनुवाद परिदषदको नामबारे पहिले एउटा कुरा भन्नु पर्यो। चन्द्रशमशेरका पालामा 'गोरखा भाषा प्रकाशिनी समिति' भन्ने थियो। राममणि आचार्य दीक्षित त्यसको अध्यक्ष हुनुहुन्थ्यो। पछि बालकृष्ण शमशेर 'नेपाली भाषा प्रकाशिनी समिति'का अध्यक्ष हुनुभयो र त्यसपछि १९९४मा नेपाली भाषा अनुवाद परिषद खडा भयो। एकातिर पण्डितहरु र कारिन्दा हुन्थे। मथिचाहिँ खालि विषेशज्ञहरुमात्रै, लेखकहरुमात्रै हुन्थे।
म एकापटि्ट, बालकृष्ण शमशेरपटि्टको पण्डितमा भर्ना भए। पन्ध्र रुपैँया तलब पाउने गरेर। 'भाषा अनुवाद परिषद'मा चाहिँ लक्ष्मीप्रसाद देवकोटा, श्यामकृष्ण गौतम, माधव घिमिरे, बदरीनाथ भट्टराई, पूर्णप्रसाद ब्राह्मण र श्यामजी (दास वैष्णव) पनि हुनुहुन्थ्यो। उतातिर दुईजनाले बीए पास गरेका थिए। देवकोटाले र गौतमले। बीए पास गरेकालाई दर्जा अलिकति अर्कै रुपमा दिइयो। लक्ष्मीप्रसादजी ठाडै सत्तरी रुपैयाँ महिना, सबभन्दा बढी पैसा खानेमा हुनुभयो। श्यामकृष्णलाई ६० रुपैयाँ महिनामा दिइयो। उनीहरु कोर्सका किताब तयार गरिदिने समितिले चाँहि त्यसलाई छापिदिने काम थियो।
उहाँको लेख चिन्न अब तपाईलाई भनुँ। यस्तो कागजमा लेख्या छ भने यसलार्य दुई कुना यसो गरेपछि यहाँ सुरु भयो लेख। लेख्दैलेख्दै जाँदा यहाँ दुईटा अक्षरमा सिद्धियो। आधा कुनाको यो आधा कुना खाली। यो यस्तो भएर लेखिन्थ्यो। आजसम्म नेपालीले कसैले लेख्या देख्या छैन र कुनै पनि आधा लेख्या र मसिना अक्षरले लेख्या देखियो भने लक्ष्मी प्रसादको लेख हो भनेर थाहा हुन्थ्यो।
कविताको लेखनबारे चाहिँ लक्ष्मीप्रसादज्यू अब एकदम छिटो लेख्ने र काल्पनिक कुरा मात्र लेख्ने। जहाँ जुनसुकै बेला पनि लेख्न सक्ने भन्ने थियो। त्यसको परीक्षा गर्या जस्तो गरेर एकचोटि धारामा पानी खाँदा उहाँको बगलीका कागजहरु पनि भिज्याथ्ये। ती कागजहरु पालेले झिकेर मलाई दियो। मैले राखेर हेर्दा त्यहाँ साह्रै राम्रो कविता देखेँ।
त्यो कविता मैले लुकाएर राखेँ र पछि चार पाँच वर्षपछि त्यो कवितालाई 'गोरखापत्रमा' छापेँ। त्यसको शीर्षक थियो स्वगतम्।
अक्षर उहाँकै थियो। सप्पै लक्ष्मीप्रसादजीको आफ्नै थियो। अनि त्यो छापिएपछि त्यो कहाँ चोरेँ, कसरी चोरेँ, किन चोरेँ भन्नेबारेको कुरा सबै खोलेर रुपरेखामा छापेँ। तर मैले भन्न खोजेको के भने लक्ष्मीप्रसादजीलाई मैले आलु उसिनेर ख्वाएर कविता चोरेँ, तर मासु र भात ख्वाएर पाल्नेहरुले पनि कविता चोरेको थाहा थियो।
त्यो हल्लाखल्ला भएपछि धेरैले त्यसको पछाडि एकजना नाम नभनौँ, शाह भन्नेले त तेस्रोपक एउटा मसिनो किताब फिर्ता गर्यो। अहिले पनि हेर्यो भने राम्ररी खोज्यो भने लक्ष्मीप्रसादजीका लाइन आफ्ना लाइनमा हालेर छाप्ने धेरै मान्छेहरु देखिन्छन्।
किताबबारे पहिले छापिएको चाहि लक्ष्मीप्रसादजीका निबन्धहरु, प्रसिद्ध प्रबन्धसंग्रह भन्ने किताब थियो। उहाँले लेख्या समितिले छापेको। त्यसपछि महाकाब्य शाकुन्तल पनि उहाँले लेख्नुभयो। त्यो भाषा अनुवाद परिषद्मा काम गर्न थालिसकेपछि र सुलोचना पनि त्यसपछि छापेको र धेरै सम्पैजसो किताब चाहिँ 'नेपाली भाषाअनुवाद परिषद्'ले किताब तयार पार्ने र 'नेपाली भाषा प्रकाशिनी समिति'ले छाप्ने। खास कुरा चाहिँ यो हो।
(यादव खरेलद्वारा निर्देशित 'महाकवि लक्ष्मीप्रसाद देवकोटा' वृत्तचित्र मार्फत् स्वर्गीय लुँइटेलको स्वकारोक्ती)