मैले उसको मिड्डी खुस्काइदिएँ।
र ऊ कुक्रुक्क परेर मुन्टो घुसाररे थच्चिई। केटाहरु तालि पिटेर हाँस्न थाले। केटीहरु मुन्टो निहुराएर उभिइरहे। सेतो सर्ट अनि नीलो मिड्डी केटीहरुको ड्रेस थियो, अनि केटाहरुको भने पाइन्ट थियो। केटीहरु घँुडाभन्दा माथि देखिनेगरी मिड्डी लगाउन पाउँदैनथे।
कक्षा नौमा पढ्ने बेलाको कुरा हो। ऊ(सरस्वती)र म कक्षा १ देखि नै सँगै पढ्दै आएका हौँ।
त्यो दिन शारीरिक विषयको सरले हामीलाई स्कूलको चउरमा लगेर कबड्डी खेलाउँदै हुनुहुन्थ्यो। हामी साथीहरुको गु्रप बाँडियो। म जानी जानी उसको विपक्षी टिममा गएँ।
ऊ कबड्डी भन्दै हाम्रो कोर्टमा आइ। म लुकेर दौड्दै गएर उसलाई समाएँ। लाग्यो मैले उसलाई मायाले अंगालो हाल्दैछु। कतिबेला ऊ फुस्किइसकेकी रैछे।
साथीहरु जोड जोडले भन्दै थिए 'ओए, गई, गई, गई, छिटो समातेर त्यसलाई ढलाइ दे न।'
मैले यताउता केही नसोंचेर उसको मिड्डी तानेँ। उसले लात्तीले हानी तर पनि छोडिनँ। मिड्डीको खिप फुस्किएछ क्यारे, मिड्डी तल खस्यो। ऊ थचक्क बसी। आँखा छोपेर। केटाहरुले बढी नै हल्ला गर्न थालेपछि भने मैले उसलाई मेरो बेल्ट फुकाएर दिएँ। तर उसले उल्टै मलाई त्यै बेल्टले हानी।
कुरो हेडसरसम्मै पुग्यो। मैले बेस्सरी कुटाइ खाएँ। तर पनि सहेँ किनकी म उसलाई मन पराउथेँ।
म सानैदेखि पढ्नमा तगडा थिएँ। कक्षा ३ देखि नै म स्कूल फस्ट आउन थालेको हुँ, कक्षा १० सम्मै त्यो रेकर्ड कायम रह्यो।
कक्षा ३मा पढ्दा पहिलोचोटी उसलाई मन पराएँ। उसको सरस्वती थियो। अहिले त उसको अर्कैसँग बिहे भइसकेको छ। कक्षा ३मा पढ्दा नेपाली पढाउने टोपबहादुर सरले सधैँ उसलाई अनि मलाई उभ्याएर पाठ पढ्न लगाउनु हुन्थ्यो। उसले पनि राम्रोसँग पढ्थी मैले पनि राम्रोसँग।
एक दिन पाठ लक्ष्मीप्रसाद देवकोटाको बारेमा पढ्नुपर्ने भयो। सरले त्यो पाठ पढाउनका लागि हामीलाई मुना मदनको कथा सुनाउनु भयो। एउटा सानो किताव पनि ल्याउनुभएको थियो।
कक्षा ३को कितावमा लक्ष्मीप्रसादको बारेमा लेखिएको पाठमा मुना मदनको बारेमा पनि लेखिएको थियो। मुना मदनको बारेमा सरले पनि हामीलाई कथा सुनाउनु भयो।
त्यो पाठ पढ्दा म सँधै आफूलाई मदन सम्भि्कन्थेँ अनि उसलाई मुना।
सारा मुना मदनको प्रेम कहानीमा म आफू र उसलाई सम्भि्कन्थेँ।
फागुनको महिना थियो। अन्तिम परीक्षा नजिकिदैं थियो। त्यो मुना मदनको पाठ पढेदेखि मलाई निकै छटपटी हुन थाल्यो। म त्यही मुना मदनकै कहानीमा हराउन थालेँ।
जानीनजानी, उसलाई एउटा चिठ्ठी लेखँे। २ पेजको त्यो चिठ्ठीमा आधाभन्दा बढी त त्यही मुना मदनका श्लोकहरु सारेको थिएँ।
अब चिठ्ठी कसरी दिने? उसको भाइ थियो। चिठी लेखेको दुई दिनपछि उसको भाईलाई भेटेँ। ऊ घर फर्किदै थियो। मैले गाउँकै अर्काे साथीलाई पनि लगेको थिएँ।
अनि उसको बाटो छेक्दै भनेँ 'यो चिठ्ठी तेरो दिदीलाई देएस्।'
उसले जान खोज्दै भन्यो 'दिन्नँ।'
'मा...के भनिस्?' साथीले उसलाई बेस्सरी धक्काइदियो।
'तेरो बाउलाई भनेस्' उसले पनि प्याच्च मुख छोड्यो।
'दिन्चस् कि नाइँ?' मैले उसलाई सुस्तरी भनेँ 'नत्र तेरो दाँत झार्दिम्?'
'तेरो जेईलाई भनेस्' उसले एउटा ढुङ्गा हातमा दिएर भन्यो 'यसैले पच्काइदिम्?'
'ओए यसको दाँत झार्दिम्?' मेरो साथीले उसको कठालो समाएर लडाइदियो।
'मर्ला तेरो बाजे, छोड्दे यार' मैले भनेँ 'मा.. दिएन भने यसको खुट्टा भाँच्दिम्ला।'
त्यो बेलासम्म मैले त्यो चिठ्ठी उसको झोलामा राख्दिइसकेको थिएँ। साथीले एक लात लगाइसकेछ।
हामी दौडियौँ। स्कूल विदा भइसकेको थियो। सरहरु घर फर्किने बाटो पनि त्यै थियो।
अलि पर पुगेर फर्केर हेरेँ, ऊ त त्यो चिठ्ठी च्यातेर दौडिइरहेको थियो। त्यसपछि मैले सरस्वतिलाई कहिल्यै चिठ्ठी लेखिनँ।
अर्काे दिन स्कूलमा फेरि कुटाइ खाइयो। म पढ्नमा जत्ति तगडा थिएँ, उत्तिकै बबाली(लफडा गरिरहने)पनि थिएँ।
हो, हाम्रो ग्याङ नै त्यस्तै थियो। स्कूले जीवनभरी हाम्रो दोस्रो बेञ्च उत्तिकै चर्चित रह्यो। कक्षा ३ देखि नै हामी केही ६ जना साथीहरु दोस्रो बेच्चमा बस्थ्यौँ। म, यज्ञ, कमल, विरवल, रामचन्द्र अनि भागीराम। एउटा विद्यालयभरीको लामो बेञ्च हाम्रो थियो। त्यो बेञ्चलाई हामीले कक्षा १० सम्मै साथै लग्यौँ।
कक्षा ५मा गएपछि विरवलले स्कूल छोड्यो। कक्षा ७मा गएपछि भागीराम चौधरीले पनि पढाई छोडेर इण्डिया गयो। कक्षा ८पछि रामचन्द्र चौधरी पनि पढाई छाडेर पुलिस भयो। कक्षा नौमा पुगेपछि रामबहादुर, भोजराज र झगेन्द्र फेरि हाम्रो ग्रुपमा थपिए।
स्कूलमा केटी जिस्क्याउनेदेखि लिएर मारपिट गर्ने सबै काममा हामी अगाडि थियौँ। हाम्रो ग्रुपको नामै 'बबाली ग्याङ' थियो। स्कूलमा यसकारण पनि हामी 'सेलिब्रेटी' किन थियौँ भने स्कूलको वार्षिकोत्सव, सरस्वति पूजा, शुक्रवार हुने अतिरिक्त क्रियाकपाप, खेलकूद कार्यक्रमलगायत जति कार्यक्रम हुन्थे ती सबैको ठेक्का पनि हाम्रै हुन्थ्यो। म कथा, कविता, नाटक, निवन्ध सब लेख्थेँ। यी बिधामा भएका प्रतियोगितामा 'प्रथम'स्थान पहिल्यै मेरो नाम लेखिन्थ्यो। म कक्षामा पढ्दा पनि प्रायजसो कविता कोरीरहेको हुन्थेँ, कहिलेकाही कथा पनि। यसरी हाम्रो त्यो बबाली 'ग्याङ' कक्षा दशसम्मै टुटेन।
म भने सरस्वतीसँगको 'वान साइड' लभमा पूरै डुबिसकेको थिएँ। हाम्रो बुवा त्यही स्कूलमा पिउनको काम गर्थे। त्यसैले स्कूलको चावी हाम्रो घरमा हुन्थ्यो। स्कूल विदा भएको दिन, वा कहिलेकाहीं त रातीमा समेत म चावी चोर्थेँ र त्यहाँ गएर 'मुना मदन' पढिरहन्थेँ। र पछिपछि अरु उपन्यासहरु पनि पढ्न थालेँ। लक्ष्मीप्रसाद देवकोटाका धेरै कथा, कविताहरु चार पाँच कक्षा पढ्दा नै पढिसकेको थिएँ। पढ्दै जाँदा 'लभ'को बारेमा लेखेको छ कि भनेर मैले लक्ष्मीप्रसाद देवकोटाले नै लेखेको 'के नेपाल सानो छ?' भन्ने निवन्धसमेत पढिसकेको रहेछुँ, त्यो कक्षा नौ मा गएपछिमात्रै नेपाली कितावमा पढ्ने भइयो।
त्यो क्रममै मैले विपीले लेखेको 'सुम्निमा', बाबु, आमा र छोरा'लगायतका उपन्यासहरु पढिसकेको थिएँ। ती सबमा कतै माया प्रेमका कुरा लेखिएको पाउँदा मैले सरस्वतीलाई सम्भि्कन्थेँ र आफूलाई अनि सरस्वतीलाई नै पात्र बनाएर पढ्थेँ। अरु बुझ्ने कोसिसै गरिनँ। त्यसैले ती पुस्तकहरु पनि पढेँ।
सरस्वतीलाई मैले पछिसम्म मन पराइरहेँ। मेरा ग्रुपका सबैले यो कुरा थाहा पाए। कक्षा ८,९मा पुग्दा त उनीहरुले त्यसलाई 'उठाएर लौजाउँ'समेत भने। तर मैले हिम्मत गरिनँ।
एक दिन स्कूल छुट्टी भएपछि मैले दुई जना साथीहरु लगेर उसको बाटो छेकेँ। उसले मुखमा थुकीदिई। मैले सर्ट माथि फर्काएर त्यो पुछेँ। अनि भने 'म तिम्लाई ब्या गर्छु।'
'तेरो जेईलाई भनिस्?' पख् न हेडसरलाई भन्दिन्छु' ऊ अगाडि जान खोजी।
एउटाले भन्यो 'यसलाई लतारेर लैजाम्।'
'लग्छस्, रन्डो त भैगो, पिउनको छोरो!' उसले मुखभरीको जवाफ दिइ 'पिउनका छोरासँग नि ब्या गर्छु मैले?'
चावी चोरेर लाइब्रेरीमा किताव पढ्दा धेरै चिनिया कथाहरु पनि पढेको थिएँ। अरु कथाहरु पनि पढेको थिएँ। कतिपय कथाहरु राजा, रानी, राजकुमार र राजकुमारीहरुका हुन्थे। राजा अनि राजकुमारहरुले मन पराएको केटीले नमाने पनि सैनिक लगाएर जर्वजस्ती दरवारमा लगेर महारानी वा राजकुमारी बनाएको धेरै कहानी पढिसकेको थिएँ।
एक मन त सोचेँ 'राजकुमार बन्छु।' साथमा दुईजना सिपाही त थिए नै।
फेरि सोचेँ 'म त पिउनको छोरो।' हिम्मत आएन। म फर्किएँ। ती साथीहरु पनि उसलाई थर्काएर आए। अर्काे दिन फेरि स्कूलमा सरहरुको कुटाई खाइयो। त्यतिमात्रै होइन, अब हाम्रो गु्रपका साथीहरुलाई फरक फरक बेञ्चमा बसाइयो। तर हामी मध्यान्तरमा भने सँगै मिलेर 'बबाल' गर्थ्यौँ।
कक्षा १०मा टेस्ट परीक्षा भयो। त्यो बेला अहिलेको जस्तो १०मा पढ्ने सबैले एसएलसी दिन पाउने व्यवस्था थिएन। टेस्ट पास हुनै पर्थ्याे। हामी १४ जना एसएलसी दिन योग्य भएर टेस्ट पास भयौँ। सरस्वती पनि भइ।
मेरो बेञ्चका अरु सबै साथीहरु फेल भए। साथीहरु छुटे, दुःख लागेको थियो तर सरस्वती सँगै आएकी थिई खुसी पनि भएँ। तर त्यो घटनापछि भने मैले उसलाई हेर्थेँमात्रै बोल्न सकेको थिएन। उसले पनि मलाई हेर्थी नै लाग्थ्यो, 'मायाले केही भन्न खोज्दैछे।'
एसएलसी परीक्षा आउनै लागेको थियो। एक महिना स्कूलमै कोचिङ पढ्नुपर्थ्याे। सबैजना चउरमा बसेका थियौँ, जाडोको महिनामा बाहिरै चउरमा पढाउने चलन थियो। एकजना साथीले भन्यो 'तेरो सरस्वती त पोइला गइछे।'
झन्नन् रिस उठ्यो। उसलाई एक चड्कन लगाइदिउँ कि जस्तो लाग्यो। अनि अरु केटीहरुलाई सोधेँ। उनीहरुले सरस्वतीको बिहे भएको भन्ने खबर दिए।
म जुरुक्क उठेर हिंडे। स्कूल कम्पाउण्डमा सरस्वतीको मन्दिर छ। एउटा बार भएको ढोका छ। भित्र सरस्वतीको मूर्ति थियो। हेरिरहेँ, लाग्यो 'सरस्वती यहाँ आएर लुकिछ।' केही बेरपछि मन्दिरका पूजारी(स्कूलका र्क्लक पनि थिए, ती बाहुन बाजे)ले 'किन रुन्छस्?'भनेपछि फेरि आँशु पुछ्दै दौडेँ।
एसएलसी दिन सदरमुकाम आउनुपर्ने। संकटकाल थियो। २०५९ सालमा। घोराहीमा डेरा भयो। तीन जना साथीहरु एउटै कोठमा बस्यौँ। एसएलसी सकियो, अरु फर्के म फर्किनँ। एउटा होटेल दाङ घोराहीको 'माउण्ट एभरेष्ट' होटेलमा वेटर भएँ।
केही दिनपछि दिउँसो होटेल नजिकैको चोकमा अडिएर टोलाइरहेको थिएँ, एउटी केटी देखेँ। सरस्वतीजस्तै लाग्यो। नजिकै आएपछि बोलाएँ, सरस्वती नै रैछे।
भर्खर कुरा सुरु गर्न लागेको थिएँ, एउटा केटो आएर 'छिटो हिड् बस छुट्छ' भनेर हात तानेर लग्यो। सायद उसको लोग्ने थियो। त्यसपछि सरस्वतीलाई कहिल्यै भेटेको छैन।
धेरैपछि बनेको चलचित्र मुना मदन हेर्दा पनि उसलाई खुब सम्भि्कएँ। मलाई कक्षा ३मै लभलेटर लेख्न सुर्याउने 'लक्ष्मीप्रसाद देवकोटा'लाई म त्यसपछि हरेक लक्ष्मीपूजाको दिनमा पूजा गर्छु। मनम गर्छु। र मेरो पहिलो प्रेमलाई सम्झिकरहन्छु।