'त्यो रूमाल मलाई चाहिन्छ।'
'किन चाहियो? मैले किनेको होइन की क्या हो!'
'अहँ! चाहिन्छ भने चाहिन्छ।'
'मेरो हो। तँलाई किन दिउँ?'
'किनसिन थाहा छैन, तर चाहिन्छ।'
दसैंमा इन्द्रेणी प्रिण्टेड रूमाल किनेकी थिएँ।रूमाल साँँच्चै राम्रो छ, मुलायम।
बिहानदेखि तिमी त्यही रूमालका लागि हठ गर्दै थियौ। आपसको अतिशय नजिकपनले गर्दा मसँग तिमी मनग्गे हठ गर्न सक्छ्यौ। तिम्रो आकाङ्क्षा हर हालतमा पूरा हुनैपर्छ। बुनु! मबाट त्यो अपेक्षा राख्छ्यौ नि तिमीले? त्यही त मेरो संसार हो। र, खुसी पनि।
म जन्मेको एक वर्ष,एक हप्तामा तिमी आयौ सहयात्री बनेर। मैले संसारलाई नचिन्दै मसँग चिनिन आयौ, तिमी। म एक्लो रहेको त्यही एक वर्ष र एक साता मात्र रहने छ, जिन्दगीमा। मेरी बैनी! तिमी जन्मदा म बेरिएको थाङ्नो थोत्रिएको थिएन आमा भन्नुहन्थ्यो। थाङ्नोमा म सँगै बेरियौ तिमी। नयाँको खोजी भएन। मेरै लुगाफाटा लगाएकाले मेरो आचरण तिमीमा पनि सर्याे होला। दुई वर्षैाँटेलाई काखमा दुईतिर फर्काएर आमाले स्तनपान गराउँदा घुँडा ठोक्किदा आत्मीयता बढ्यो होला। भान्सामा फोहोर हुने डरले आमा एउटै थालमा दूध र भात मुछेर पिँढीमा राखिदिनुहुन्थ्यो रे। मेरो उमेर चार पुग्दा तिमी पनि म जत्रै भयौ। हरेक तवरले म तिमी जस्तै वा तिमी म जस्तै।
भाँडाकुटी, ढ्याक्की र क्यारमदेखि कबड्डी खेल्नसम्मकी साथी! स्कूल जाँदा हात समात्ने,साइकल चलाउँदा पछाडि बस्ने मात्र हैन गाडी चढ्दा सिट नपुगे मलाई नै काखमा राख्ने सहयात्री बन्यौ। साँच्चै के बनिनौ तिमी मेरो? छोरा छैनन्, तिमीहरू पोइका घर गएपछि बाबाआमाले दुःख पाउने भए भनेर गाउँलेले होच्याउँदा म निचोरिन्थेँ। तर तिमी त बाघझैँ झम्टिन पुग्थ्यौ।
मेरो आदर्श बन्यौ बुनु, अप्रत्यक्ष रूपमै सही। कान्छी छोरीमाथिको विश्वासले नै छोरा नपाए स्वर्ग पुगिन्न भन्ने मान्यतालाई लत्याउन बाबाले साहस पाउनु भयो। उमेरले त म नै तिम्री दिदी हुँ तर तिमी दिदी हुन योग्य छौ। आक्रोश वा जोस देखाएर तिमीले मेरो मनोवैज्ञानिक सुरक्षा गरेकी छौ। केही काम गर्दा, आँफूले भनेजस्तो नभए तिमी रिसाउँथ्यौ। रिसको झोँकमा फन्फन्ती घर घुम्थ्यौ। मैले भेट्टाएँ है भनेर लखेट्को बेला हाँस्न थाल्थ्यौ तिमी। र, दौडिन्थ्यौ रिसलाई बिर्सेर।
जहिले पनि मेरा थोत्रा किताब तिमीलाई आइलागे। म तिम्रो लागि हरदम पुस्तकलाई नयाँ राख्ने कोसिसमा रहन्थेँ। साथीका अगाडि आफ्नो पुस्तक नयाँ देखियोस् भनेर तिमीले पत्रिकाको गाता हाल्थ्यौ। वैशाखमा पुस्तकका विषयमा युद्ध चल्थ्यो, दिदीबहिनीको। भुत्भुतिँदै तिमी सम्झौता गर्थ्यौ। पछि बुझेरै सम्झैाता गर्ने बानी पर्याे तिमीलाई।
म आज जे छु जति छु, यो सबै तिम्रै हो। स्कूलमा हुने अतिरिक्त कार्यक्रममा जब मेरो प्रस्तुति हुन्थ्यो, साथी बटुलेर ताली बजाइरहन्थ्यौ। मैले स्टेजबाट तिम्रो गहुँगोरो अनुहार मात्र देख्थेँ। निर्णायकको कानमा गुञ्जिने गरी मेरो लागि हुटिङ् गर्थ्यौ। मलाई यसरी नै जित्ने बानी लाग्यो, बुनु। मेरो सफलतामा मात्र हैन असफलतामा समेत नैाटंकी गरेर हाँस्न बाध्य पार्थ्यौ तिमी। पढाइमा रूची नभए पनि मेरी आज्ञाकारी चेली बन्थ्यौ।
प्यारी बहिनी, योे सम्बन्ध साँच्चै सुमधुर सम्बन्ध हो। मैले आजसम्म प्राप्त गरेको उपलब्धि तिमी नै हौ, जसप्रति मलाई गर्व छ। बालापनको चञ्चलताजस्तै अहिले तिमीमा सेवा र करूणाको भाव पनि देख्न पाउँदा अति खुसी लाग्छ। १२ कक्षामा पढ्दै गर्दा पनि तिम्रो उही पुरानो आदत छ, जुन मलाई अति मनपर्छ। रातभर बेफ्वाँक कुरामा हाँस्दा वा सानोतिनो झगडामा रूवावासी चल्दा पनि तिमी तिमीजस्तै रह्यौ। रूँदारूँदै खितिति हाँसेर सुइँकुच्चा ठोक्ने बुनु एकैछिनमा मेरो पछाडि चाल सुनेर मुस्काराएकी हुन्थ्यौ। तिमी आज पनि उस्तै छौ, दुरूस्तै।
समय सधैं एकनास रहन्न। उच्च शिक्षाका लागि म अन्तै जानुपर्ला तिमी पनि भविष्य खोज्न टाढा पुग्नुपर्ला। अबको केही समयमै म जाने दिशा निश्चित हुनेछ। उट्पट्याङ् झगडा र मस्ती मजाकको लागि विरलै अवसर पाइएला। समयको दहमा एक्लाएक्लै पौडिनु पर्ला हामीले। म निकै पर पुग्दा तिमी पनि कतै पुग्नेछौ। तर, समयले पाको बनाउँदा पनि म मेरी बुनुलाई उस्तै देख्नेछु, चुलबुल र चञ्चल।
समयले मलाई कुनै सामान, त्यो पनि तिम्रो आत्माले मागेको किन्ने मौका नदेला। अब यो रूमाल नै तिम्रो लागि आकर्षक उपहार बन्नेछ। तिम्रो साथी र दिदी पनि। रूमालको इन्द्रेणी जस्तै तिम्रो जीवन रंगिन बनोस् बुनु! आऊ, यो तिहारमा तिमी मलाई टिका लगाउ, म तिमीलाई लगाइदिन्छु। हामी दुवैले बुवाआमाको खुसीका निम्ति बाँच्नुछ। सम्पूर्ण स्नेह र प्रेम गाँठो पारेर यो रूमाल म तिमीलाई दिन्छु, सबै सम्झना साँचेर।