एउटा पागलको बस्ती विलिन भएको अँध्यारो सहरमा लाइसेन्सधारी अपराधीहरुको पनि वस्ती बसेको छ ।
काठमाडौं भन्ने सहरमा सिंहदरवार नाउँको एउटा खाना छ । जहाँ सरकाररुपी ओहदा धारण गरेका प्राणीहरुको ठूलो बगाल छ ।
त्यही नजिकै डिल्लीबजार भन्ने ठाउँ छ । त्यहाँ एउटा घर थियो । जहाँ एउटा पागल घामपानीबाट ओत लाग्थ्यो । त्यो पागलको त्यो घर ध्वस्त भएको छ । वरिपरी अपराधीहरुको समेत महल ठडिएको छ । ती लाइसेन्सधारीको वासस्थान
झुप्राबाट तिनै महलतिर सरेको छ ।
‘जरुर साथी म पागल !
यस्तै छ मेरो हाल
म शब्दलाई देख्दछु
दृष्यलाई सुन्दछु
वासनालाई सम्बाद लिन्छु
आकासभन्दा पातालका कुरालाई छुन्छु
ती कुरा,
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन
म देख्छु ढुङ्गालाई फूल !
..............
तिमी जम्दछौं जब, म पग्लन्छु
तिमी सङ्लन्छौं जब, म धमिलो बन्छु
र ठीक त्यसको उल्टो
तिम्रो संसार ठोस छ
मेरो वाफ !
.................’
त्यो पागल थियो– पागल लेख्थ्यो । पागल बोल्थ्यो । पागल हिड्थ्यो । पागल खान्थ्यो । पागल सुत्थ्यो । पागल उठ्थ्यो ।
त्यो पागल मर्यो । तर, जन्मिदा ऊ मान्छे जन्मिएको थियो । एउटा मान्छेले आफ्नै परिचय फे¥यो । बाँच्दा पागल भएर चिनियो । मर्दा पागल भएर म¥यो ।
कसैलाई थाह छैन– ऊ किन पागल भयो ? कसरी पागल भयो ? कसले पागल बनायो ?
कसैले खोजेन, कसैले सोधेन– मान्छे किन पागल हुन्छ ? के ऊ रहरले पागल भयो ? के कोही रहरले पागल हुन्छ ? सबैले भन्दिए– त्यो पागल हो । पागल ! पागल !! पागल !!!
ऊ स्विकार्थ्यो मेरो एउटा नशा ढिलो छ । तर उसका चेतन आँखा सधैं ट्वाल्ल थिए । समाजको सबै नशा ढिलो भएको देख्थ्यो ।
‘तिमी पहाडलाई लाटा भन्दछौं, म भन्छु वाचाल
जरुर साथी,
मेरो एक नशा ढिलो छ, यस्तै छ मेरो हाल !’
पैसा, माग्नेलाई दिन्थ्यो । आफू कोहीसँग माग्दैनथ्यो । डिल्लीबजारमा लप्टनको होटेलमा उघारो खान्थ्यो । कति खाएँ हिसाब राख्दैनथ्यो । मान्छे विश्वासमा बाँच्नु पर्छ भन्ने विश्वास गथ्र्यो । मान्छेलाई विश्वासमा बाँच्न सिकाउने मान्छे समाजमा पागल हुन्थ्यो । त्यसैले उ पागल थियो ।
होटेलको उधारो खातामा नाम उसको हुन्थ्यो । पेट अरु धेरैको भरिन्थ्यो । लप्टनले कति थप्थ्यो ? आउँथ्यो– मुसुक्क हाँस्थ्यो, पैसा तिथ्र्यो । जान्थ्यो ।
लप्टन ठान्थ्यो– यो पागल हो । जति भन्यो त्यति दिन्छ ।
खानेले ठान्थे– यो पागल हो । हामी सबैको पैसा तिर्छ ।
सखारै उठेर नुहाउँदैथ्यो । सञ्जे भन्दैनथ्यो । गायत्री जप्दैनथ्यो । उसलाई थाह थिएन– बाहुनको छोरो बाहुनै हुन्छ ! पण्डितको छोरो पण्डितै हुन्छ ! सायद उसालाई लाग्थ्यो– बाबुको छोरो जन्मदै बाबु हुदैन । आमाको छोरो कहिल्यै आमा हुन सक्दैन । मेरा बाबु–आमा दुबै मान्छे हुन् । मान्छेको छोरो मान्छे नै हुन्छ । पशुको छोरो पशु नै भए झैं!
दुई भुजा जोडर पूजा गर्दैनथ्यो । पूजा गर्दैमा धर्म हुन्छ भन्ने ठान्दैनथ्यो । ठान्थ्यो– पाप गरेको छैन, पूजाको अर्थ के ? देखाउनलाई कहिल्यै गर्न जानेन । गरेकोलाई कहिल्यै लुकाउन जानेन । जे जान्यो त्यही ग¥यो । जे ग¥यो त्यही मात्र जान्यो ।
अँध्यारो कोठामा मैलो बर्कोभित्र आफूलाई लुकाउथ्यो । टुकीको उज्यालोमा संसार देख्थ्यो । जे देख्थ्यो त्यही लेख्थ्यो । छरपस्ट हुन्थे, नीभ भाँचिएका र मसी सकिएका कलम । कापीमा खाली पाना हुदैनथे । नअटाएर सिगरेट–बिडीका खोलमा पनि अक्षर कोचिएर बसेका हुन्थे । कहिले तिनैको बिडी बनाएर पिउँथ्यो । कहिले तिनैले सिँगान पुछेर फ्याक्थ्यो ।
पण्डितको छोरो माछामासु खान्थ्यो । घरपरिवारले जे भने समाजले त्यही भन्थ्यो– पागल ! पण्डित भएर माछामासु खान्छ ।
खल्तीमा पैसा हुदैनथ्यो । मसी छाद्ने कलम र पेन्सीलका ठुटा हुन्थे । केरकार गरेका अक्षरका बुटा भरिएका कागजका टुक्रा हुन्थे ।
मैतिदेवीमा बगरेको दोकान थियो । दोकानबाट मासु उघारो ल्याउँथ्यो । खान्थ्यो खुशी हुन्थ्यो । अविश्वास गर्नु पाप हो भन्ठान्यो । हिसाब राख्दैनथ्यो । लव्टनले जस्तै जति भन्यो त्यति तिथ्र्यो । पैसा तिर्न पाएकोमा खुशी हुन्थ्यो । मासु बोक्थ्यो, हिड्थ्यो । खान्थ्यो झन् खुशी हुन्थ्यो ।
पैसा पाएपछि बगरेलाई विस्मात हुन्थ्यो– हत्तेरिका ठूलो गल्ती गरिएछ । यसपाली त तेब्य्राउनु पथ्र्यो । पागल त हो नि, तिरीहाल्थ्यो नि । जति भने नि भइहाल्थ्यो नि !
कोही भोको देखे आफुले आँ.. गरेको गाँसै सारिदिन्थ्यो । नाङ्गो देखे लगाएको लुगै फुकालेर दिन्थ्यो । जमाना त उस्तै थियो– तस्वीरमा जो कोही राम्रो देखिन्थ्यो । मनको तस्वीर रंगीन फोटोमा उत्रदैनथ्यो । तर ऊ जस्तो थियो त्यस्तै थियो । पानी फोटो जस्तै थियो । आफूलाई जस्तो देख्थ्यो त्यस्तै लेख्थ्यो । आफ्ना कुरुप विम्ब आफैं कोथ्र्यो ।
डाहा गर्नेले प्रश्नका धारिलो भालाले घोच्थे– पागल त हो, कस्तो लेखोस् ?
धेरैले गरीब देख्थे, हेला गर्थे । अपमान गर्थे, तिरस्कार गर्थे । तर ऊ गरीब थिएन, धनी थियो । आफ्नो धनमा अभिमानी थियो । स्वाभिमानलाई समाज अभिमान ठान्थ्यो ।
‘गरीब भन्छौं, म दुःखको धनी – मिल्दैन संसारभरि कतै पनि
बिलासको लालस–दास छैन म – मीठो छ मेरो रसिलो पराक्रम ।’
डाही आँखाले फेरि डस्थे– पागलले कस्तो लेखोस् त ?
एकचोटी भुलुक्क उमालेको साग जस्तो काँचो लेख्थ्यो । पढेपछि पढ्नेको मन पाक्थ्यो । माया गर्नेह मायाले भन्थे– यस्तो लेख्न त पागलै हुनु पर्छ ।
त्यो पागलले आफ्नो कलममा रुमानी मसी भ¥यो । स्वच्छन्दवादका पानामा र मानवताको अक्षर कुँदेर कविताका मूर्ति बनायो । शास्त्रिय रङमाथि नयाँ रङ पोतिदिन्थ्यो । उसले कवितामा पोतेको रंग व्रिटेनी चर्चित कवि पर्सी शेलीको जस्तो गाढा देखिन्थ्यो ।
मान्ने नमान्ने सबै खालेले भन्थे– पागलै हुनु पर्छ कविताका यस्ता मूर्ति कोर्न त !
पागल थियो, लेखी रहन्थ्यो । लेख्न नपाउँदा झन् पागल हुन्थ्यो । कल्पनाशीलतमा दूरचेतनाको गाढा समिश्रण हुन्थ्यो । लेख्दा लेख्दै अस्पतालमा बसेर मुनामदन लेख्थ्यो । त्यो गीतीकथा सबैको जीवनको गीत हुन्थ्यो । आफ्नै कथा हुन्थ्यो–व्यथा हुन्थ्यो । ब्रिटेन कै अर्का महाकवि विलियम वर्डस्वर्थ गीतगाथा भन्दा कम ठानिदैनथ्यो ।
मान्छेले भन्थे– यस्तो मार्मिक लेख्न त हो, पुरै पागल हुनु पर्छ।
भारततिर राहुल साङ्कृत्यायन नाउँका महापण्डितहरुको महामण्डली थियो। मण्डलीमा महाकविहरु सुमित्रानन्द पन्त, जयशङ्करप्रकसाद र सूर्यकान्त निरालाहरुको बोलबाला थियो। एकदिन उनै महापण्डितको वाणी फुट्यो– पन्त, प्रसाद, निराला बराबर एउटा देवकोटा।
महापण्डितलाई त्यतिले नि चित्त बुझने। फेरि मुख खुल्यो– ‘बुद्धपछिको मानव अवतार।’ काव्यसागरको त्यो मानवले देवावतार धारण गर्यो।
भारतको बिहार तिरै अर्को एउटा ठाउँ थियो÷छ– राँची । जहाँ मानसिक रोगीको उपचार गरिन्थ्यो÷गरिन्छ । लक्ष्मीकी सौता सरस्वतीको त्यो पागल बरद्पुत्रलाई कुनैदिन राँची पु¥याइयो । परिवार र पुत्रशोकले ऊ सायद पागलै भएको थियो ।
उपचार गर्ने डाक्टर बर्कली हिलले उही पागलतिर संकेत गर्दै भन्यो– ‘यो मान्छे नेपालमा जन्मनु भूगोलको गल्ती हो । देवकोटा जस्तो मान्छे नेपालमा जन्मने नै होइन ।’
सुनेकोलाई पखेटा लाउदैनथ्यो । नदेखेकोलाई विश्वास गर्दैनथ्यो । ईश्वर कहिल्यै देखेको थिएन । मलाई जस्तै सायद उसलाई पनि लाग्थ्यो– जो कही छैन, जो कसैको कोही हैन, त्यही ईश्वर हो ।
प्रश्न गथ्र्यो– ‘कालो बादलबाट खसेको, अन्धकारभित्र बसेको
ईश्वर हो कि भिखारी ? घर घर आँगन चारी
बोल्दछ, आर्तध्वनीमा बोल्दल, करुणामृत दिल भारी ।’
उत्तर कसैले खोजेनन् । समवेत स्वरमा समाज बोल्यो– पागलले ईश्वर मान्छ त ? पागलले ईश्वर देख्छ त ? पागलले भेट्छ त ?
‘धारण हो ईश्वर’ भन्ने धरणसँग उसको धारणा मिल्यो कि मिल्दैनथ्यो ? कसैले कहिल्यै पत्तो पाएन । पात्तो पाउनै चाहेन ।
उहिले सोह्र साल । हरि श्रेष्ठलाई एउटा चिठी हातलागी भयो । चिठीमा लेखिएको थियो– ‘मत्यु मेरो अगाडि छ । म आकासमा नक्षत्रहरु खोज्छु तर भेट्दिन । म आफूलाई शान्तिदिन सक्दिन । म उठ्न सक्ने भए आफू र आफ्ना बच्चालाई मार्ने थिएँ ।’
शान्तभवनबाट आएको त्यो चिठीले हरि श्रेष्ठलाई अशान्त बनायो । चिठी पढेर उनी आफैं पागल जस्ता भए । त्यो चिठी उनका मित्र त्यही पागलको थियो ।
भन्दै थियो– ‘उदेश्य के लिनु ? उडी छुनु चन्द्र एक’ । त्यही पागलले जीवनको अन्तिम निमेषमा भन्यो– ‘मैले आफ्नो जिन्दगी हरिनाम नजपेर नास्तिक भएर विताएँछु । अब जान आँटीहाले ।’
भन्दाभन्दै एउटा अर्को दिन आयो । ‘आखिर श्रीकृष्ण रहेछ एक....म शून्यमा शून्यसरी विलाएँ !’
एउटा दिन त्यो थियो १९६६ साल कात्तिक २७ । त्यसदिन औंसीको अँध्यारो रात थियो । यो धर्तीमा मान्छेको एउटा विरुवा उम्रियो । नौ दिनका दिन त्यो विरुवा तीर्थमाधव देवकोटा भयो ।
पचास वर्षपछि अर्को दिन आयो– २०१६ भदौ २९ गते । त्यस दिन एउटा वटवृक्ष ढल्यो । त्यो वृक्षको नाउँ थियो– लक्ष्मीप्रसाद देवकोटा । नेपाली साहित्यको वटवृक्ष महाकवि ! जसलाई पागल भनिन्थ्यो !
निरश्वर नै ईश्वर हो ? म अहिले मनोवादमा हराइरहेछु।