सवै गोजा टक्टक्याएँ, पाइन्ट अनि सर्टका अहँ, एउटा पनि खुसीको अणु भेटिएन। रातीदेखिको मनको उकुसमुकुस अन्ततः निराशाको किनारा लागेर कुलेलम ठोक्यो। आशा पनि मृगतृष्णा जस्तै झुक्याएर भाग्यो। ‘खुसी भन्ने कुरा सायद भाग्यमा नै छैन’ मनमा यस्तै कुहिरो लाग्यो।
आज पनि लाजै नमानेर आकाश पूरै खुल्लेको छ। यो आकाश त सवै देखाएर पनि सुन्दर नै छ। कतिपय परिभाषाहरु एकनास नहुँदा रहेछन्। सवै देखाएर पनि सुन्दर, यही आकाशजस्तै हुन पाए !
हत्तेरी ! ‘आकाश त भगवानको घर पो हो त’ हजुरवाले भनेको त्यहाँ जान समय आउनुपर्छ अरे। सायद, उहाँको समय आयो लाग्छ, हजुरबा अहिले त्यै आकाशमा हुनुहुन्छ।
हिजो विपनाले कार्ड पठाएदेखि मनमा चैन छैन।
(मायाले...?) होईन, उसले जस्तै गतिलो कार्ड पठाउने रहर र सपनाले। के गर्नु ? आफूसँग भने एकसुक्का छैन। शारदी घामले धर्ती टेक्न नपाउँदै सुरु हुन्छ कार्ड पठाउन। कसले कसलाई पठायो अनि कसलाई पठाएन ? तिहार नसकुुञ्जेल सम्म ‘व्यानर न्युज’ यही हुन्छ ‘मौखिक म्यागजिन’हरुमा। अहिले पो फेसबुक र मोवाइलले सवैलाई ‘संग्राहालयमा’ पु¥याईदियो। सवैभन्दा बढी शुभकामना कार्ड पाउने बादशाह जस्तै हुन्थ्यो अनि कार्ड नपाउने ?म कार्ड भने पाइरहन्थेँ तर कार्ड पठाउने रहर मभित्र अटाउन सकेन।
समस्या त्यही ‘सुक्का’कै थियो। न बाआमाले पैसा दिन्थे, पढ्ने उमेरमा न आफ्नो नै कमाइ थियो।
जहिले पनि अरुले कार्ड पठाएपछि मात्र मैले पठाउथँे, त्यो पनि कतैबाट केही जोहो भयो भने। कसैले कार्ड पठायो अनि उसकोमा फिर्ता पठाउन सकिएन भने, ऊ वर्षभरी हेलाको पात्र हुन्थ्यो। हाम्रो सर्कलभित्र। केटाहरु ‘राम्रीराम्री’ केटीहरु छान्थे कार्ड पठाउन।
अनि फेरि केटीहरुले पठाएपछि टोलभरी झ्याली पिट्थे। धेरैले केटीले नै पहिलोपटक कार्ड पठाएको भनेर धक्कु लडाउँथे।
बाआमाले नदिए पनि मसँग पैसा फुत्काउने जुक्ति थियो, हजुरबालाई फकाउने। बस् काखमा गुटमुटियो, हजुरबाको स्तुति गायो बस्, पाँच रुप्पे झरिहाल्थ्यो। जतिरुप्पे झिक्दा पनि हजुरबाका हात कोटका गोजाभन्दा पहिला कपालमै पुग्थे, कपाल कन्याएपछि अनिमात्रै पैसा झथ्र्याे। म खुसीले उफ्रिँदै दुकान पुग्थे। कार्ड छान्न।
दोकानमा गएर मलाई राजेश हमालको लामो कपाल टल्किएको कार्ड किन्ने साह्रै रहर थियो। त्यो बेला हिन्दी सिनेमाका हिरो÷हिरोइनका कार्डलाई एक रुपैयाँ पथ्र्याे, नेपाली सिनेमाका हिरो÷हिरोइनका पोष्टकार्डहरुलाई दुई रुपैयाँ पथ्र्याे। र नेपाली हिरो÷हिरोइनका कार्ड पठाउने केही ‘हुनेखाने’ ठहरिन्थे, हिन्दीका पठाउनेहरु ‘गरिब’।
र मलाई पिनाले कार्ड पठाएकी थिइन्, मलाई रहर जाग्यो ‘राजेश हमालकै पोष्टकार्ड पठाउँछु।’
राजेश हमालको फिल्म हेरेपछि जहिल्यै म ऐनामा आफूलाई हेर्थेँ अनि लाग्थ्यो, ‘म के कम छु र राजेश हमाल भन्दा ?’ राजेश हमाल र म उस्तै देख्थेँ ऐनामा। म राजेश हमाललाई गोजामा बोकेर दौडिएँ घरतिर। कट्टुको इजार खुट्टाले कुल्चिएर झण्डै लडिएन।
घरमा गएर चुपचाप कार्ड नदेखिनेगरी कितावको छातिभित्र लुकाएँ। मैले लुकाउने धेरै कुराहरु कितावको छातिभित्रै लुकाउने गर्छु। घरमा अरुले देखे भने ? खैरियतै थिएन। ‘शरद’को संकेत दिनका लागि फूलहरु चिटिक्क परेर उभिएका थिए। मेरो मन पनि कार्ड किनेदेखि ‘गार्डेन गार्डेन’ भइरहेको थियो।
कतिवेला स्कूल जाउँला र विपनालाई कार्ड दिन पाइला ? भन्ने तरंगहरु मनमनै छचल्किएका थिए, सूर्य उदाएर मलाई स्कूल सम्म लखेट्यो। विशाल खप्पीस हो ‘लभ’ टुक्का लेख्नका लागि। सबैका ‘लभलेटर’हरु उसले नै लेखिदिन्थे।
म पनि त्यही लाइनकै थिएँ, उसलाई राजेश हमालको कार्ड दिएँ, विपनाका लागि केही ‘लभ टुक्का’ कोरिदिन।
कक्षामा हरेकका कार्डमा विकासकै लिपी टाँसिएका हुन्थे, वस् फोटो मात्र फरक फरक।
विकासले लेखिदियो। के लेखिदियो कुन्नी मैले हेर्न चाहिनँ ? ऊ राम्रै लेख्छ, नराम्रो के हो थाहा पाउँथे र ? अब विपनालाई कसरी कार्ड दिने ? खाममा हालेँ। आफ्नै हातले शुभकामना कार्ड दिने चलन थिएन। र थमाइ दिएँ ‘काली’को हातमा विपनालाई दिनु भनेर। विन्दु नाम भएपनि सबैले उसलाई काली भन्थे।
विपनालाई कार्ड पठाएपछि मनमा एकप्रकारको मीठो सन्तुष्टि भरियो। मसँग छुनै नसकिने ठूला सपना पनि थिएनन् वस्, एकाध छोटा सपना त थिए, आफूभन्दा पनि होचा। जसलाई मैले कुनै न कुनै उपायवाट पूरा गर्दथेँ।
विपनालाई कार्ड दिएको मध्यान्ह एकै पटक तिन कार्डहरु मेरो हातमा परे। मलाई त्यसले खासै खुसी भने पार्न सकेन। विपनालाई मैले माया गर्थेँ ? यसको जवाफ पनि मलाई सवैभन्दा जटिल लाग्थ्यो।
म कक्षामा आफ्नै तालमा मग्न थिए। अचानक पाले दाई मेरो नाम उच्चारण गर्दै कक्षा कोठामा देखिए। विद्यार्थी जीवनमा पहिलो पटक यसरी पालेदाई मेरो नाम बोलाउँदै कक्षा कोठामा आएका थिए। मलाई ‘तुरुक्कै’ होलाजस्तो भयो। कुनै गल्ति नगरेर पनि पालेदाईले बोलाउँदैमा डराउनुपर्ने ? मनको एउटा कुनाको धड्कन आवाज बन्न सकेन। म सरासर पालेदाईका पाईला पच्छ्याउँदै हेडसरको कोठामा पसे।
हेडसर महात्म्य अनुहारमा आगो सल्काएर बसेका थिए। अनि अफिसमा उनीसँगै जुगाँ र दाह्री खौंरेर आएकाजस्ता देखिने एक चिल्ला मानिस थिए उनले पनि मलाई वाघले सिकारलाई हेरे जसरी हेर्दै थिए। अफिसभित्र पाइला राख्नै पाएको थिइनँ, चड्याम्म गरेको आवाज आयो। एक छिनपछिसम्म मेरो हात गालामै थियो। यस्तो बेलामा तोरीको फूल देखिन्छ भन्छन्, तर मैले हेडसरको टाउको दशवटा देखँे। आँशु पनि खसेछ, थाहै भएन।
‘साले तैले विपनालाई कार्ड पठाको हो’ दश टाउकेको अनुहारमा आगो सल्कियो। मैले हो भन्ने भावमा टाउको हल्लाएँ मात्रै। फेरि अर्को गालामा उनका हात जाईलागे। ‘खुव केटीलाई कार्ड पठाउने मूला, राम्ररी हग्न जानेको छ कि छैन’ मेरा छोरा नातिलाई समेत पुग्नेगरी गालि गरिरहे उनले। म भने उनले केही दिन अगाडि पढाएको पाठ गौतम वुद्धको वुद्ध जस्तै बने।
‘कार्ड के लेख्या था’ छ ?’ अब पालो अर्का ती चिल्लो मान्छेको थियो। म बोलिनँ, के जवाफ दिने ? त्यो विपनाको बाउ थियो होला।
‘भन् के लेखेको थिइस् कार्डमा ?’ हेडसरको आवाज विग्रेको मार्ईक जस्तो घ्यार्रर गर्यो। ‘शुभकामना दशै र तिहारको’ मैले नडराएजस्तो गरेँ। ‘गल्ती गरेर लुकाउने ?’ फेरि गालामा अर्काे चड्कन थपियो।
डर र दुखाईको तापले एकैपटक उकालो लाग्यो। ‘लेख्ने वेलामा जथाभावी लेख्ने अहिले बच्नको लागि शुभकामना भन्ने ?’ जोत्न लागेको गोरुलाई जस्तै मलाई उसले कुटेको कुट्यै ग¥यो। म बोल्न सकिनँ। साहुको अघि उभिएको आसामीजस्तै।
‘तपाईँ भन्नुस् अव यसलाई के गरौँ ?’ प्राण फुस्किने गरी चड्कन लगाएर पनि अझ हेडसरले अव के गराँै भन्छन्। मलाई चक्कर लाग्न थाल्यो। त्यो चिल्लो मान्छेले भन्यो ‘यसलाई चउरमा मुर्गा बनाम्।’
मलाई लाइब्रेरीको अघि मुर्गा बनाइयो। सबैले देखून् भनेर उनीहरुले गरेको त्यो ‘बेष्ट इन्जिनियरिङ’ थियो।सवैको आँखा म माथि ठोकिन थाले। कसुर के हो ? तर मैले सजाए पाइसकेको थिएँ।
केही दिन अगाडि सामाजिक शिक्षामा पढेको ‘राणा शासन’को प्रयोगात्मक कक्षाजस्तो लाग्यो मलाई। चारघण्टी बित्यो। मलाई फेरि अफिसमा बोलाइयो। ‘किन नचाहिने कुरा लेखेको विपनालाई ?’
स्पष्टीकरणको मध्यातर मात्र भएको रहेछ । ‘मलाई उनले शुभकामना कार्ड दिएकी थिईन् मैले पनि त्यही हो दिएको।’ मैले सहजै जवाफ दिए।
‘साले फेरि मेरी छोरीलाई दोष लगाउँछस् ?’ उसका हात मेरो कपाल लुछिरहेको थियो। ‘अनि यो कसले लेखेको नि ?’ मैले पठाएको राजेश हमाल कार्डका पछाडितिर शुभकामना लेख्ने ठाँउका शब्दहरु देखाइए। म चकित भएँ, त्यहाँ त ‘म तिमीलाई माया गर्छु, तिमीसँग जीवन काट्न चाहन्छु, जीवनभरिको मीठो चुम्बन...’ के के लेखिएको रहेछ। ओ हो मैले झ्वाट्ट विकासको अनुहार सम्झिएँ। तर गर्ने के ? एकैछिनमा घरवाट बुवा आउनु भयो। मेरो अनुहार पानी पार्न ठिक्क वादल जस्तै थियो। आज सत्यानास हुने भयो। हेडसरको वेलिविस्तार सुनेपछि वुवाका हातले स्पर्श गरे फेरि मेरा गालाहरु। ‘यसलाई जे गर्नुपर्छ गर्नुस् मलाई मतलव छैन’ वुवाको आवाज चर्किदाँ अफिस कोठा वाहिर विद्यार्थीको मेला लागेको थियो। मेरा नजर चारैतिर घुमेमात्रै।
अन्ततः फेरि १०० पटक उठवस र केही झापडसँगै यातना शिविरवाट म वाहिर निस्किएँ। सवै मलाई हेर्दै थिए अझ त्यसमा सवैभन्दा बढी त विकासले हेर्दै थियो। मैले उसलाई केही गरिनँ। गर्न पनि के सक्थँे र ? उसले आएर मसँग माफी माग्यो। म निःशब्द बनेर बोलिनँ। घरमा पुग्दा अर्को यातना तयार थियो। आमाले सिस्नुपानी तयार पार्नुभएको थियो ‘स्कूल पढ्न पठाएको कि लभलेटर लेख्न ?’ म बोलिनँ। बोल्नुको अर्थ पनि त थिएन। सिस्नुपानीको झापडपछि म चुपचाप सुत्ने कोठामा गएर सुतेँ। अकारण यातनाको शिकार बन्नुपर्दा आँखा रसाएर आए। बोल्न सकिनँ।
८ कक्षाको यो घटनापछि मलाई पढाईप्रति मन मर्न थाल्यो। विपनालाई हेर्न पनि सकिनँ। विकास लगायतकासँग संगत पनि गरिनँ। म यो घटना पछि परिपक्व बने। मेरो जीवनको बाटो नै फरक बन्यो। जीवनमा धेरै पिटाई खाएको छु धेरैसँग तर अकारणको यो पिटाइ ह्रृदयमा गहिरोसँग डामिएको छ। विकास र विपनासँग के भयो मेरो सम्वन्ध ? मलाई यो घटना सम्झदाँ उनीहरुको नाम समेत लिने मन लाग्दैन। त्यसपछि अहिलेसम्म मैले कसैलाई कुनै कार्ड दिएको छैन, तपाईहरु सबैलाई यही लेखबाट शुभकामना।