जागिर नखाएर टाउको दुखाउनुभन्दा पनि आफू भने जागिर खाएरै टाउको जोगाउनतिर लागेको हुनाले जागिर खाने कुराको विरूद्धमा सोच्ने कुरै भएन। जागिरका बारेमा जसले, जसरी, जुन उद्देश्यले अनि जुन प्रसङ्गमा, जे भने तापनि यो एक्काइसौं शताब्दीको जमाना हो। सहरमा बस्ने रहर पाल्नेलाई सडकमा हिँडिरहेको मान्छेको थाप्लोमा फोहोर फाल्नेलाई जति पनि आदर्शका कुरा नगरे हुन्छ।
उहिलेका सबै कुरा खुइलिएको देख्ने आजको पप, रिमिक्स र डिजिटल जमानामा पनि मान्छे जागिर नखाई बस्न सक्छ? भनेर तपाईंहरू नै मलाई र्याप र झ्याप गाली गर्न बेर लाउनु हुन्न होला। त्यसैले म पनि न हामी जागिर नखाई बस्न सक्छौँ न त झण्डामुनि नै खस्न सक्छौँ, दरबारै पस्ने कि नपस्ने भन्ने कुरा त अब विकल्प नै रहेन भन्न बाध्य भएको छु। फेरि दरबारै पस्ने कुरा गर्दा यो कहिल्यै पनि सर्वसाधारणको बशमा थिएन भन्ने यथार्थ पनि बिर्सिन मिल्दैन।
अहिले पाइला टेक्न गाह्रो मान्नेे गरेको भए पनि आफू जन्मेको प्यारो गाउँ छाडेपछि मलाई पनि गनेरै दर्जनभन्दा बढी जागिर साक्षात्कार गर्ने मौका मिल्यो। जागिरै खानु परेपछि घर छाडेर, घरपरिवार त्यागेर मुग्लान पस्ने नेपाली परम्परालाई मैले पनि निभाएँ, पछ्याएँ। त्यसदिनदेखि आजसम्मका अवधिलाई वर्षले गणना गर्नुपर्दा त्यो पनि ठ्याक्कै डेढ दर्जन नाघेछ। यसरी हेर्दा के देखियो भने मेरा भागमा पनि वर्षमा डेढका दरले जागिर पर्दो रहेछ। अर्थात् अठार वर्षमा आफूले पनि अठारै वटा जागिर खाने मौका पाइएछ।
'बाह्र वर्षमा त खोलो पनि फर्किन्छ रे' भन्ने उखान सुनेको थिएँ। तर, त्यो मेरा लागि सत्य साबित भएन। हुन पनि सबै कुरा सबैका लागि कहाँ पो सम्भव हुन्छ? आफ्नो त खोलो फर्किनु टाढैको कुरा, एउटा हाकिमको मन पनि फर्काउन सकिएन। त्यसैले यो पनि भाग्यकै कुरा होला भनेरै चित्त बुझाइरहेको छु।
भन्न त 'कुरो र कुलो जता लगे पनि जान्छ' भन्छन्। तर, आफ्नो त न कुलोमाथि जान्छ न त कुरो नै 'माथि'सम्म पुग्छ। त्यही भएर होला सायद आफू तल परिएको परिएकैछ। तैपनि आफूलाई भर्याङ बनाएर अरूमाथि सर्याङमा झुण्डिएको देख्दा आनन्दै लाग्छ। 'जागिर भनेको काम हो' अनि 'काम गरेर मात्र माम खानुपर्छ' भन्ने मान्यता राख्ने भएकैले होला, जुनसुकै जागिरमा काम खुबै गरियो।
हिमाल चढ्नेलाई फर्केर तल हेर्दा आनन्द लागेजस्तै अठारवटा जागिरका दौरानमा बितेका अठार वर्षमा आफूले गरेका कामको फेहरिस्त हेर्दा आफूलाई नाक सानो बनाउनु पर्ने अवस्था अनुभूत हुँदैन। आफूले गर्ने भनेको आखिर त्यतिमात्रै रहेछ। अरूले गर्ने काम नगरिदिए पछि वा गर्ने मन नगरिदिए पछि थोपा–थोपा मिलेर समुद्र बन्ने प्रक्रिया अवरूद्ध हुने नै भो। त्यो आजसम्म पनि अवरूद्ध नै छ। बितेका वर्षको अनुभव हेर्दा मलाई के लाग्यो भने जागिर भनेको जिन्दगीको यात्रा पनि रहेछ। जागिरसँगै हाम्रो जिन्दगीलाई जागिरले पनि प्रभावित पार्ने रहेछ। सबैलाई बाँच्ने स्वतन्त्रता छ भन्ने विश्वव्यापी मान्यता भए पनि सबैलाई हाँस्ने समानता चाहिँ हुँदैन रहेछ। बाँच्ने मान्छे सबै हाँसेर बाँच्दैनन्। यसलाई पनि भाग्यकै खेल भनेर सम्झनु पर्ला। हुन त आफूले नै आफ्ना कामको मूल्याङ्कन नगर्नू पनि भन्छन्।
नेपाली समाजमा जागिर भनेको नै 'गएर गिर्नु हो' भन्ने मान्यता छ। यसो विचारेर ल्याउँदा पनि जागिर खाएपछि आफ्नो सर्वस्व (स्वतन्त्रता) गुमाएर अर्काको अस्तित्व (पराधीनता)लाई सहर्ष स्वीकार गरिएको हुन्छ। कम वा बढी मात्रामा आफ्नो निजीभन्दा हामी जागिरको मामिलामा बढी सम्वेदशील हुन पुग्छौँ। यो मान्यता सही होस् वा गलत त्यतातिर किन टाउको दुखाउने? आखिर मान्छेलाई जन्मेपछि खानेकुराको आवश्यकता त पर्छ, पर्छ। नौ महिना (?) सम्म खाएर वा पाएर जसरीसुकै 'दयाँले द' आशनमा आमाको गर्भमा रहेका भए पनि जन्मिनासाथ हामीलाई खानेकुरा चाहिन्छ, खानेकुरा पाइन्छ। कसैलाई ढिलो चाहिएला त कसैलाई तुरून्तै। अहिलेको चलनचल्तीको समावेसी र गाँठी कुरा भनेकै हामी सबैलाई खाना चाहिन्छ। सबैले खान खोज्छन्। यसपछि त के चाहियो र! भटाभट खानेको क्रम अनि अनुक्रम नै शुरू हुन्छ। कस्ले कति खान्छ वा कस्ले के खान्छ? त्यतातिरको कुरा गरी साध्य नै छैन। यही खानेक्रमलाई निरन्तरता दिने क्रममा नै हामीमध्ये धेरै जागिर खान पुग्छौँ। नेपालजस्तो गरिब मुलुकमा जागिर ख्वाउनेभन्दा जागिर खानेकै संख्या बढी हुनु स्वाभाविकै हो। यसैले हुनसक्छ हामी नेपाली जागिर खानुलाई अलि बढी नै महत्व दिइरहेका हुन्छौँ।
आजभोलि जागिर खानभन्दा पनि जागिर पाउन चाहिँ गाह्रो हुँदै गइरहेको छ। कोलम्बसलाई अमेरिका पत्ता लगाउन जति गाह्रो भएको थियो अनि भास्कोडिगामालाई भारत पत्ता लगाउन जति मुस्किल परेको थियो, त्योभन्दा पनि कैयौँ गुणा बढी आज जागिर पाउन गाह्रो हुँदैछ। 'जागिर ख्वाउने हैसियतमा' भएकाहरूलाई यो समस्या सामान्य लागेको हुनसक्छ। तर, जागिर खोज्दा खोज्दै भएभरको सिरीखुरी समाप्त पार्नेका लागि जागिर पाउनु आकाशको फल भूइँमा झारे सरह हुन थालेको छ।
जागिर खाने मुख धेरै र जागिर खानेकुरा थोरै भएपछि भएको जागिर पनि 'हात्तीको मुखमा जिरा' हुने नै भो। त्यसैले स्वदेशको जागिरले नपुगेर हाम्रा थुप्रै दाजुभाइ तथा दिदीबहिनी विदेशी भूमि वा मरूभूमिमा विदेशी जागिर खान बाध्य छन्। कति विदेशी जागिर खाने ध्याउन्नमा श्रीसम्पत्ति लुटाएर आफ्नै थाप्लोमा हात राख्ने अवस्थामा पुगेका छन्। त्यतिमात्र होइन, पहिले पहिले टीभीमा देखिने मानिसको झुण्ड आजभोलि डीभीमा झुम्मिएको देखिन्छ। यो पनि आखिर जागिरकै लागि त हो। हामी नेपालीलाई चिठ्ठा नहालेको चाउचाउ नखाने बानी जो परिसकेको छ। त्यही भएर विगतमा एउटा चाउचाउ कम्पनीले आफ्नो उत्पादनको चाउचाउमा जागिर नै उपहार राखिदिएको थियो। नेपालमा जागिरको महत्व कति छ भन्ने यसबाटै प्रष्ट हुन्छ।
यी त भए जागिरको महत्वका कुरा। खाँटी कुरा अर्कै छ। त्यो के भने जागिर खान र पाउनभन्दा पनि जागिर जोगाउन झन् बढी गाह्रो हुन्छ भन्ने कुरा पनि जागिर खाएपछि सबैले जानकारी राख्नै पर्ने विषय हो। जागिरलाई पहिले पहिले 'सरकारको नुन' वा 'सरकारी नुन' पनि भन्ने गरिन्थ्यो। त्यतिबेला जागिर दिने निकाय भनेकै सरकार मात्र हुन्थ्यो। तर, अहिले त्यस्तो अवस्था छैन। अहिले 'राजाको काम कहिले जाला घाम' भन्ने उखानजस्तो खाली सरकारी जागिरले मात्र देशको मुख टाल्न सक्दैन, न त हाम्रो गणतान्त्रिक भुँडी नै भरिन्छ। त्यसैले हामीमध्ये कति निजी कम्पनी, उद्योग, कलकारखाना, फर्म वा संस्थामा जागिर खानु पर्ने बाध्यता छ। व्यक्तिको सनक र लहडमा भर पर्ने यस्ता जागिरमा जागिर जोगाउने कार्य निकै कठिन हुन्छ। सरकारी जागिरमा जस्तो काम छल्ने प्रवृत्ति नभए पनि यस्ता खाले जागिरमा चाकडी गरेर 'माथिको आशीर्वाद' प्राप्त गर्ने परिपाटी अलि भिन्नै प्रकारको हुन्छ। यस्तो अवस्थामा पनि जागिर जोगिनु भनेको अपुताली पर्नु सरह हुन्छ।
अर्कातिर सरकारी जागिरमा भने चाकडी, चाप्लुसी, नातावाद र कृपावादभन्दा पनि ठूलो कुरा भनेको फरियावाद पनि हो। हाकिमको दौराको फेर समाप्न नसके पनि हाकिम्नी साहेबको फरियाको फेर समातेर 'धनुष्टङ्कार आकारमा' सास्टाङ्ग दण्डवत गरेपछि धेरैले आफ्ना तालुमा आलु फलाउन सक्छन्, फलाइरहेका छन्। तालुमा आलु फलाउन नसक्नेहरू कोही फलाउने प्रयत्न गरिरहेका छन् त कोही फलाउने मौकाको ताकमा बसिरहेका होलान्। जे होस् चाकडीबाट छिरे पनि, चाप्लुसीबाट टिके पनि, 'मामाको नामबाट' पसे पनि, 'काकाका नामबाट' बसे पनि आखिर जागिर जोगाउन सबैलाई गाह्रै पर्छ। साँचो कुरा के भने 'फरिया'ले पनि सधैँ 'बरिया'को काम गर्दैन, 'कृपा'ले सधैँ 'चिर्पट'बाट बचाउँदैन भने चाकडीले सधैँ पाउमा बास पनि गर्दैन।
त्यस्तै चाप्लुसीमा आश गर्नेहरू केही समयका लागि हिउँ चुलिए जसरी चुलिन सक्छन्, चाकडीमा विश्वास गर्नेहरू केही दिनका लागि गुलियोमा भुलिन सक्छन्, कृपावादको सास फेर्नेहरू मूलढोका थुनेर झ्याल र जस्केलैबाट भए पनि हुलिन सक्छन्, फरियावादको पगरी बेर्नेहरू छोटो समयसम्म मुखौटो लुकाउन सक्छन्। अनि त के छ र † त्यसपछि उनीहरूको पनि अधोगति शुरू हुन्छ। 'निगुमुन्टी न' भएर जागिर खानेहरूभन्दा 'चरिचुच्चे च' भएर हाकिमको घर जानेहरू बढी बुद्धिमानी हुन्छन्। जसरी भए पनि जागिर जोगाउनै पर्ने भएकाले सबै जागिरेलाई जागिरको चिन्ता हुन्छ, हुन्छ। माथिको आशिर्वाद पाउनेहरू, माथि ठूला मान्छे हुनेहरू, माथिकै कृपा मिल्नेहरू, बजारको कोसेली निल्नेहरू 'टाउको फुटाएर' काम गर्नेभन्दा प्रिय हुन्छन्। राम्रो ठाउँमा बस्नेलाई सर्पले डस्ने डर अलि बढी नै हुन्छ क्यारे † त्यसैले उनीहरू प्रायः सशंकित देखिन्छ, भेटिन्छन्। मान्छे न हो मन लागि गर्न पाए पछि सबैतिर राम्रो नै हुन्छ। मन नलागी नलागी गरेको काम बिग्रन्छ भन्छन्। त्यसैले मन नलागेको काम गर्नु पर्दा काम पनि भने जस्तो नहुन सक्छ।
जागिरकै कुरा गर्दा जागिरेलाई मर्दा खाइने पेन्सनभन्दा बाँच्दा पाइने टेन्सन बढी हुन्छ। हुन त जागिरमा लागेर वा जागिर खाएर विभिन्न तन्त्रका सिँढी चढ्नेहरू नै बढी भेटिएलान्। तर, त्यो पनि भाग्यकै कुरा त हो। भाग्य हुनेहरू जागिरमा पनि डोकोमा दूध थाप्न भ्याउँछन्, सक्छन्। त्यही भएर जुनसुकै तन्त्रमा पनि जागिर खाएर भसक्कै बिग्रेका मान्छेहरू कमै भेटिन्छन्। आफ्ना भगवान दाहिना हुञ्जेलसम्म जागिरमा अरू नभए पनि हाकिमसाबको आश्वासन भने खुबै खाइन्छ। तर, आश्वासनले जिन्दगी चलाउन गाह्रो परेपछि हाकिमसाबको आश्वासन क्रमशः 'आलु खाएर पेडाको धाक'मै सीमित हुन्छ।
अर्थात् 'छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी' भनेजस्तो जति नै काम गरे पनि त्यो त हाकिमसाबको स्वार्थ पूरा नहुञ्जेल मात्र हो। सबैखाले जागिरे महाशय र महाशयाले याद राखौँ, स्वार्थ पूरा भएपछि कुनै पनि हाकिमसाबले 'काम चलेको भाँडो' भन्दै कसैलाई पनि जतन गर्दैनन्। त्यस्तो परिस्थितिको जागिरमा पैसाभन्दा पनि कवाफ र रवाफले नै काम गर्छ। किनभने आजभोलिको जमानामा शरीरमा बर्खाको जुको टाँसिएझैँ जागिरमा टाँसिनु नै ठूलो कुरा हो। मेरो आग्रह छ, जागिरमा लागेर नासिए पनि मासिए पनि सकेसम्म जागिर खानुपर्छ। आफूले जागिर खाएर जागिरलाई आफू ख्वाउनुपर्छ। म भन्छु, अरू जे गरे पनि गर्नुस् तर जागिर नपाएकाले आजै जागिरमा टाँसिने बाटो खोजिहाल्नुस्, आफू नासिने पाटो रोजी हाल्नुस्।