सन् १९३४मा माओसेतुङ्गले चीनको दक्षिणपूर्वी जियाङसी प्रान्तबाट उत्तरपश्चिमी साङ्गी प्रान्तसम्मको ९ हजार ६ सय किलो मिटर 'लंङ्गमार्च पास' चिनियाँ जनमुक्तिसेना कै साथमा गरेका थिएl लंङ्गमार्च पासको क्रममा हिमाली बाटो छिचोल्नु परेको थियोl उकालो-ओराह्लो र चिसो बरफ जमेको बाटोमा सेनालाई कदममा कदम चाल्नु सजिलो हुने कुरै भएनl हिम पात, हिम पहिरो र हिम नदीको प्रतिकुलतालाई आफू अनुकुल बनाउन नसक्दा सयौँ सेनाहरू बाटोमै मरे। जनमुक्ति सेनाको समूहमा सन्नटा छायो। उक्त क्रममा हिमपहिरोमा परी निधन भएका आफ्ना दिबंगत जनमुक्ति सेनाको श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै कमरेड माओसेतुङ्गले भन्नुभएको थियो- 'मरेकाहरूबाट बाँचेकाहरूले पाठ सिकेनन् भने बाँचेकाहरू पनि मरेका जस्तै निष्क्रिय हुनेछन्।'
हो, त्यसपश्चात मरेकाहरूबाट चिनियाँ जनमुक्ति सेनाले थुप्रै पाठ सिक्यो। उसले बिगार्न र भत्काउनमात्र सिकेन। बनाउ र निर्माण गर्नपनि सिक्यो। उसले चीनको विकासमा नयाँ गति दिन काँध थप्यो। आफूले खडा गरेको दुई लाख मिलिसिया र ४५ हजार नियमित सेनालाई निर्देशन दिँदै माओले गम्भीरताका साथ भनेका थिए-'जनताबाट लिएको सियो–धागो पनि जनतालाई नै जस्ताको तस्तै फिर्ता गर'। तिनले कुनै कसर नराखी जनताको समान फिर्ता पनि गरे। पानी खाने जर्किन फिर्ता गरे। कम्मल र डसना पनि फिर्ता गरे।माओ, सेना र जनतालाई निरन्तर श्रम गर्न तथा आजीवन उत्पादनमा लाग्न आदेश दिईरहे।माओले पहिलोपटक सन् १९५३मा चीनमा पहिलो पञ्चवर्षीय योजना लागू गरेका थिए। यही विकास योजनामा आधारित रहेर चीनले तिब्र विकास गर्दै आज दुनिँयामा विकसित मुलुकको रुपमा कहलिएको छ।माओको मौलिकता र देन विश्वले अनुकरण गरिरहेछ।
नेपालका जीवित माओवादीहरूले मरेकाहरूबाट के पाठ सिके त?माओको दर्शनलाई नेपालीमाटोमा 'प्रचण्ड-पथ'को रुपमा बिकसित गरेका प्रतिमूर्तिहरूले १२ वर्षको युद्ध अवधिमा मरेका १७ हजार मिलिसियाबाट पाठ के सिके? खप्तडको भिरालोमा चिप्लिएर मरेका फुर्वा लामाको मृत्युबाट के पाठ सिके? ढोरपाटनको हिउँमा रगत जमेर मरेका रिफौजीको रातो रूमाल देखेर के पाठ सिके? आन्तरिक बिस्फोटमा परेर शरीर टुक्रिएका महेश कुमारको दर्दनाक मृत शरीरबाट के पाठ सिनु भयो? प्रचण्डपथको पर्चा झोलामा भेटिएको बहानामा बेपत्ता बनाई गोली हानिएका थिरनाथ दाइको बलिदानबाट के पाठ सिके? सामान्य किसान मजदुरले आफ्नै आँगनमा बरण गर्नुपरेको मृत्यु सजायबाट के पाठ सिके? कलिला स्कुले नानी दीलबहादुर रम्त्यालको पहिलो कुर्बानीबाट के पाठ सिके? कृष्णसेन इच्छुकको कलम र तिनको रक्ताम्मे हत्केलाबाट के सिके? जनताबाट लिएको सियो फर्काउने सवाल त छँदै छैन, जनताको पसिनाले निर्माण गरेको पार्टी कार्यालय पनि किन बेचिन्छन्, यही हो माओवाद?
नेताहरूले कुनै पनि पाठ सिकेनन्। सिक्न चाहेनन्। अन्यथा, माओले भने झैँ जनताबाट लिएको सियो–धागो पनि जनतालाई नै जस्ताको तस्तै फिर्ता गर भन्ने विचारको लागू नेपालको माओवादीमा किन देखिएन?
पुराना चिज भत्काउ र नयाँ निर्माण गर भन्ने अभियानका साथ भत्काइएका थुप्रै भौतिक संरचनाको निर्माण कहाँ भइरहेको छ? पुल कहाँ बनिरहेको छ? स्कुल र गाविसको नयाँ भबनहरू कहाँ बनीरहेका छन्? बिजुलीको पावर हाउस कहाँ बनिरहेको छ? मलाई थाहा छैन। खोलो तरेर लौरो बिर्सने मनुवाहरूको रंगिन पाइतला र तिनको पदचाप कुन मजदुरको त्याग तपस्या र बलिदानीबाट निर्माण भएको थियो होला त्यो पनि मलाई थाह छैन।
परन्तु; थाहा पाएर पनि 'चाल' नपाए जस्तो गर्नु आजको बाध्यता हो। अन्यथा ठूलो लाज हुन्छ। कुनै पनि दर्शन पुरानो हुँदैन। त्यसको उपादायता कमजोर हुनेमात्रै हो। जस्तो कि-कमन्युष्ट किताबको मोटा मोटा 'भोलुम'मा विचारमात्र छ I बिचरा! गरिब जनताहरू किमार्थ छैनन्।
प्रचण्डलाई शक्ति र सत्तामा पुराउने नेपाली माओवादीको मिलिसिया (लडाकु)को के हाल भयो? यस्तै हाल चीनमा माओ सेतुङ्गले आफ्ना जनमुक्ति सेनालाई किन बनाएनन्? बनाएको भए के हुन्थ्यो? प्रचण्डपथले अङ्गीकार गरेको माओवाद कुन आकाशबाट खसेर धर्तीमा विलय भयो त? प्रचण्डपथले उमारेका हजारौ लडाकु सपुतहरू कोहि कोइला खानीमा पुगेर पाठ सिकेका छन्।कोहि तेल खानीमा पुगेर पाठ सिकेका छन्।कोहि बालुवा खानीमा पुगेर पाठ सिकेका छन्। तिनले कहाँ- कहाँ पुगेर पाठ सिक्नु परेन हँ? रोल्पाको दुर्गम गाँउदेखि रेगिस्तानको सुगम शहरसम्म। तिनलाई रगतको खोलादेखि पसिनाको समुन्द्रसम्म पौडनु परेको छ। छातिमाथि बुलेटको टुक्रा बोकी हाँसिरहनु परेको छ। मतलब जेनतेन बाँचिरहनु त परेको छ।
दुनैदेखि दुबईसम्म सल्यानदेखि साउदीसम्म यस्तै तनाब र पीडाबोधका पाठ पढेर लक्का जवानहरू आफ्नै थकित-थाकित अनि चकित-चकित जीवनसँग गुनासो गर्छन्।
यो तँछाड मँछाडको व्यस्तता मरेकाहरूबाट पाठ सिक्नलाई नेतासँग समय छैन। गुट उपगुट निर्माण मै ब्यस्त महान तथा गौरवशाली माओवादीहरूलाई चीनमा आफ्नै विचारक माओ सेतुङ्गले के गरेका थिए भनेर सम्झन फुर्सद पनि छैन। अनि कहाँबाट सत्र हजारको बलिदानीबाट पाठ सिक्नु? कहाँ लाखौँ घाइते तथा अपांगबाट पाठ सिक्नु? कहाँ हजारौ बिस्थापित र घरबारबिहीनबाट पाठ सिक्नु? कहाँ सयौँ बिधुवा र टुहरा-टुहुरीबाट पाठ सिक्नु? सुन्नेकानले नसुने जस्तो गरे पछि, देख्ने आँखा पनि नदेखे जस्तो भए पछि, सोच्ने दिमाख पनि शिथिल भएको अभिनय गरेपछि, उ पाठ सिक्न खोज्दैन्, चाहन्न I वा यो उसको प्रथामिकता भित्र 'पाठ'पर्दैनI
म एक हरफमा माओको देन सम्झाउन चाहन्छु-
माओको कुशल नेतृत्वमा सम्पन्न भएको सन् १९४९को सत्ताकब्जा अनि शक्ति सुदृढीकरणको समयमा सिपिसिको आन्तरिक संर्घषका कुरा बाहिर आएनन्I माओको ‘ग्रेट लिप फरवार्ड’ र ‘सांस्कृतिक क्रान्ति’ पनि आन्तरिक शक्ति संर्घषकै एउटा महत्वपूर्ण परिणाम थियोI त्यतिखेर उनले आफ्ना जनमुक्ति सेनालाई निकै रोचकता र सफलताका साथ परिचालित गरेI कालान्तरमा त्यही सेनाको योगदानमा माओकी श्रीमती वियाङ किङ नेतृत्वको कट्टरपन्थी गुट ‘ग्याङ अफ फोर’ लाई गिरफ्तार गरेर देङ शक्ति संर्घषमा विजयी भए। चिनिया क्रान्तिको उद्देश्य सफल भै अहिले चीनमा अग्लो महल, फराकिला सडक, देशभर द्रुत गतिका रेल, संसारभरि हवाई सम्बन्ध, विज्ञान, प्रविधिको चमत्कारिक विकासले संसार नै नतमस्तक छ। यस्तो नेपालमा कहाँ छ?
अहिले चीनको विकासनिर्माण र अर्थतन्त्रको उपलब्धिमा कसैले प्रश्न चिन्ह खडा गर्न सक्छ? नेपालका माओवादीको लाजले शिर झुक्छ कि झुक्दैन? आफ्ना सेनालाई बेचेर थुपारेको रकमले कतिन्जेल इतिहासको कठघरामा उभिनबाट जोगाउँछ? पार्टीलाई गुट उपगुटमा बदलेर मात्र पुग्छ? जनताको सपना बदलिनु पर्दैन? रगतको बदलामा युवाको रोजगारी रहरलाई पूरा गरीदिनु पर्दैन विधुवाको आँखामा खुसी दिनुपर्दैन? टुहुरा-टुहुरीलाई अभिभावकको रुपमा तिनको भविष्यलाई उज्यालो बनाईदिन पर्दैन?
चीनमा सन् १९७८मा २१४.१६ विलियन अमेरिकी डलर भएको कुल गार्हस्थ उत्पादनमा ७.३२ ट्रिलियन डलरमा पुगेको छ। २०२०सम्ममा दुई गुणा पुर्याउने लक्ष्य छ। सन् १९७८मा प्रतिव्यक्ति आम्दानी २१६ डलरबाट ८३९४ डलर सन् २०११ भितै पुगेको देखिन्छ र यो अझ बढिरहेछ। चीनको वार्षिक वृद्धिदर करिब ९.२ प्रतिशत छ। २०२०सम्ममा मध्यमवर्गको संख्याले ६० करोड नघाउने छ। के यही नेकपा माओवादीको कल्पनाको सागर यस्तै होइन र? खै त खै जनताको चुलोमा आगो बलेको? कर्णालीको झुपडीमा नुन पुगेको? स्कुले नानीलाई कापी किताब दिएको? के सपनाहरूको हत्या सहजै गरेर उम्कन पाइन्छ?
अब केहि संकृतिक बिचलनको कुरा गरौ-
चीनमा क्रान्ति सम्पन्न भएको १६/१७ वर्षपछि माओले महान छलाङ चीनमा अभियान चलाए। 'सयौं फूल फुल्न देऊ' भन्ने जनवादी अभियान चलाए। यो एक किसिमको वृहत सांस्कृतिक आन्दोलन थियो। पुरातनवादी संस्कृतिका विरुद्ध सन् १९६६ मा माओले त्राशदीपूर्ण सर्वहारा सांस्कृतिक क्रान्ति चलाए। त्यतिबेला पुरातनवादी धेरै मानिस मारिए– थुनिए। यो सांस्कृतिक क्रान्ति एक दशकसम्म चल्यो। नेपालमा पनि यसो नभएको होइन। माओवादीको आदेशमा मन्दिरमा गाई नकाटिएको होइन। बाहुनको घरमा जबर्जस्ती दलित नहुली दिएको पनि होइन। तर आज नेताको आचरणमा कुन भुत सवार भयो?
तत्कालिन नेकपा माओवादीको अलि पुरानो एउटा सांस्कृतिक महिमा छ। त्यो के भने तत्कालिन नेकपा माओवादीको ऐतिहासिक चुनवाङ बैठकपछि सबै नेतामा 'बिरह' छायोI
मर्ने आज हो कि भोलि भनिकन त्यी चिन्तित बनेI उसै बेला खुसीराम पाक्रिनजीले लेख्नु भएको 'ओपेरा' गीतमा छबिलाल दाहाल 'प्रचण्ड' र बाबुराम भट्टराई लगायात धेरै नेताहरू धुरुधुरु रुनुभयोI जुन गीतको मर्म यस्तो थियो-
एउटा महान सपना बोकी यात्रीहरू
प्रचण्डपथले सुसज्जित भई हिडेका यात्रुहरू,
जित्नैपर्छ यो अन्तिम लडाई तिमीले लडेर,
थाकेका मनहरू रोएका मनहरू
बसेका छन नयाँ दिन पर्खेर...I
यो ओपेरा र रुवाई त उहिलेको कुरा भइगयो I अहिले त लालुपाते नुघ्यो भुइँतिरमा रेखा म्याडमसँग कम्मर हल्लाउने युग आयोI यद्दपी यो असमान्य थिएनI नाच्ने बेलामा प्रचण्डजी रूने कुरा पनि आएनI तर, केहि दिन अघिमात्रै पुष्पकमल दाहाल 'प्रचण्ड'जी आफ्नै नातिनी स्मिता दाहालको दोस्रो एल्बम ‘स्मिता २’ को बिमोचनमा फेरि धुरु धुरु रुनुभयोI खासमा यो माया प्रेम सम्बन्धिको एल्बम रहेछI
समिताले गएको गीत यस्तो छ-
प्रिय तिम्रो हृदयमा
म बस्न चाहन्छु बास
तिमी मेरो ढुकढुकी हौ
तिमी नै हौ मेरो स्वास..I
मलाई लाग्दैन यस्तो एल्बमको गीतमा प्रचण्ड रूनु आवश्यक थियोI यस्तै हो भने त मलाई यस्तो लाग्छ कि- पुष्पकमल दाहाल प्रचण्डजी संबिधान निर्माणको निर्धारित मितिसम्म अझै दुई पटक रुनसक्ने प्रबल सम्भवना देखिन्छI एकपटक- संबिधान घोषणा भई मुक्तिगामी जनताको सपना पूरा भएको दिनमा भाव बिह्वह भई रूने सम्भावना देखिन्छ। अर्को पटक संबिधान घोषणा हुन नसक्दा तमाम नेपाली जनताको अपमान भयो भनिकन पीडाबोध गर्दै रूने सम्भवना देखिन्छ। भलै एल्बम नातिनी कै होस् यहाँ लडाईको मैदानमा गीत गाउने सामना परिवारका गायक माइला लामा र इमान सिंह बिद्रोहीको पीडा र आन्दोलनको गीतमा रोइ दिने कोहि पनि छैनन्I यस्तो गीतमा रूने खतरा कसले मोल्छ? जनताको पिर ब्यथा सुन्ने साहस कसले गर्छ? दुखेका घाउ र मुटुहरूको शब्दले पचाउन कसले हिम्मत गर्छ?
अस्ति भर्खर मैले जन-गायक माइला लामाजीसँग टेलिफोनमा कुरा गरेको थिए। उहाँ भन्दै हुनुहुन्थ्यो-'भाइ म त गाँउतिरै छु यार, जनता जगाउनु परेको छ, नयाँ सांकृतिक आन्दोलन गर्नुछI' मैले निम्छरो शैलीमा जवाफ फर्काए-'यो त अति भयो यार दाइ अब जनता जगाउने होइन नेता जगाउनुस् क्याI' त्यसयता हामी फोनमा कुरा गरेका छैनौ सायद अब उप्रान्त गर्दैनौ होला पनि।
साँकृतिक विचलनको कुरागर्दा महिला नेतृ हिसिला यमीजीलाई बिर्सनु हुँदैनI बिर्सियो भने कुरा अपुरो हुन्छI म तिहार र तिज आउँदा यिनै महिला नेतृलाई खुब सम्झने गर्छुI हाड-नाता सम्बन्धमा उहाँ मेरो दिदि, बहिनी वा फुपु त होइनI तर, म हाल उनको पार्टीको भुपु सदस्य भने अवस्य हुँI त्यस अर्थमा म उनलाई सम्झने गर्दछु I उनी पर्यटन मन्त्री हुँदा एक पटक भेट भएको थियोI उनी मसँग 'बाग्लुङ नेपालको नक्सा जस्तै छ है' बाहेक अरु बोलेको चाल पाइनI बोल्नु पनि हुँदैन थियोI मसँग प्रश्न थुप्रै थियोI यी पहाड जस्ता प्रश्नले किचिएर म आफै मर्छु I अन्यको कुभलो किन चिताउनु बित्थामा।
उतिखेर तिज र तिहारलाई नारी दासत्वको संज्ञा दिएर गाँउको सोझा दिदि बहिनीलाई चुरा, पोते, टुकी, बुलाकी फुकाल्न उर्दी गर्नुभएकी मेडम हिसिला आजकल शहरका धनाड्य महिलासँग तिजमा रातो सारीको पहिरन गरी छमछम नाचेको देख्छुI
तिहारमा दाजु भाइलाई टिका लगाईदिएको पनि देख्छुI यहाँनेर मैले उनले यस्तो काम गरिन् भनेर आलोचना गर्न खोजेको होइन वा गलत प्रथालाई अङ्गीकार किन गरेको भन्ने आशय पनि बुझ्नु हुँदैन्I
आपत्ति के हो बने कम्तिमा वैचारिक लेवलको मान्छेले आफ्नो अडान, र विचारधारालाई कायम राख्न सक्नुपर्छ अन्यथा के उतिखेर हाम्रा दिदि बहिनी तिहार र तिज खुसिसँग मनाउन रहर थिएन होला? ती महान महिला छापामार र कार्यकर्तालाई घर परिवार र आफन्तको माया लाग्दैन थियो होला? खुसी र मनोरञ्जनको भावना पलाउँदैन थियो होला?
कुनै पनि विचार पुरानो हुन सक्छ तर, यसका मान्यता सधै ताजा हुन्छन्I सबैलाई संमरण रहोस मेडम हिसिलाले आफ्ना महिला कार्यकर्तालाई यतिसम्म भन्न भ्याएकी थिएन की-'यौन सम्पर्क गर्न मन लागे मैथुन गर। तर, पर-पुरुषसँग संगत नगर' I तर, आफू भने पति बाबुरामसँग दिल्ली तिर घुमफिर गर्थिन्I अहिले बाबुरामजीले पनि बाख्रापालन थाल्नु भएको छ। यो त हजार वर्षअघि हाम्रा बाउ बाजेले सफल रूपमा सम्पन्न गरेर पनि आर्थिक सफलता हाँसिल गर्न नसकेको पेशा होइन र? आर्केटिक इन्जिनियर पढेको मान्छेले बाख्रा पालनको अवधारणा ल्याउँदा बिषयगत ज्ञानको अपमान भएन? के उहाँको पुँजीवादमा पुग्ने रोलमोडल यही थियो?
अन्तमा,
कुनैबेला कवि भूपी शेरचनको कबिता पढेको थिएँ- हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपूत मरेर नगए।
यो सब झुट रहेछ। यहाँ १७ हजार नेपाली जनताको रगत र बलिदानीबाट मुलुक बन्न सकेन। बने त केबल केहि मानिस। तिनको चोला फेरियो। मरेर जानेहरूबाट यिनले पाठ पनि सिकेनन। न तिनको महान सपना पूरा गर्नमा यिनीहरू उद्देलित रहे। देशलाई माया गर्ने मान्छे शालिक, अनि शहिद बनेको छ जो देशलाई घृणा गर्छ उ नै देशको मालिक र बागडोर सम्हाल्ने भएको छ।
अब उप्रान्त देशको लागि मरेर होइन बाँचेर केहि गरौं देशले रगत माग्दैन, देशले त नयाँ युवाको जोश र पुराना सर्जक माग्छI