आकाशमा काला बादलहरु देखिंँदै थिए। साँझ ढल्किसकेको थियो। जूनको टहटह उज्यालोमा हामी चाँहि अविराम अघि बढ्दै थियौं। यो घनघोर जङ्गल कतिबेला सक्केला र मान्छेको वस्ती आइपुग्ला, फगत यत्ति सोच्दै लमकलमक हाम्रा पाइला चलिरहेका थिए, यन्त्रवत।
बिहान सखारै हिँडेका थियौं हामी आमैका औंला समाउँदै। आमै, दुइटी दिदी अनि हामी तीन भाइ कम्ता आत्तिएका थिएनौं घर छोड्दै हिंडेको त्योबेला। बलिन्द्रधारा आँसु बगाएकी थिइन् आमैले। भाइहरु बालखै भएपनि दिदीहरु अनि म चाँहि बुझ्ने भइसकेका थियौं। टाँकघर उध्रिएको सर्ट अनि रङ खुइलिएको जाँघे भिरेर निस्केका थियौं हामी तीन भाइ, हापुरेबाट ! फ्रक र सर्टमा सजिएका हुँदाहुन् दिदीहरु पनि ! बिचरो कान्छो भाइ त बल्लतल्ल दुई वर्षको हुँदो हो, ऊ के आत्तिनु के नआत्तिनु ! कहिले एउटाको काँधमा बोकिन्थ्यो, कहिले अर्कोकोमा। बरा कति हैरान हुँदो हो ! त्यैपनि त्यो चकचके दुईवर्षे बालक त्यो दिन कत्ति रोएको थिएन!
कहिल्यै नहिँडेको बाटो थियो त्यो मेरालागि। भैरेसित खेतका आलीआली हुँदै रानीखोलाको किनारैकिनार हिँडेको जस्तो कहाँ हुनु ? शान्त थियो वातावरण तर मनभरि हुन्डरी त चलिरहेकै थियो। चप्पल त लगाएकै थिएँ, तर पनि पाइला-पाइलामा बिझाइरहेकै थियो। आमै पनि त्यत्रो बाटाभरि एक शब्द बोलिनन्। हामी भोकको आक्रमणमा परिसकेका थियौं। हुनत दिउँसो बाटैभरि भेटिएका बेलौती खाँदै भोक मारेका थियौं, पधेंराबाट तिर्खा मेटेका थियौं। तर दिउँसोका ती आहारले अब अरु धान्नेवाला थिएनन्। त्यहीमाथि अब डर पनि थपिएको थियो- बाघभालुको ! यही डरले होला, थकानले लखतरान भएर पनि हाम्रा गोडाहरु झनै फटाफट लम्किन थाले। खोल्सा, गौंडा र गल्छेडाहरु पार गर्दैगर्दै बल्लतल्ल एउटा कुटीजस्तो स्यानो झुपडी भेट्टियो। हाम्रो हर्षको सीमा रहेन। आखिरमा हामीले मान्छेको वस्ती भेट्टाएका थियौं।
झट्ट न पट्ट आफ्ना केटाकेटीमाथि भोकले गरेको निर्मम आक्रमणको प्रतिकार गरिन् आमैले। दुइटै हात जोड्दै बिन्ती गरिन्- ‘यिनी लालाबाला बिहानैदेखिका भोका छन् दिदी ! बरु मलाई क्यै नदिएपनि हुन्छ, कृपा गरी यिनी केटाकेटीलाई यहाँ जे छ, त्यै दिनुस्। तपाईंलाई ठूलो धर्म हुनेछ।’ कुटीकी आमैले अनि चुल्होमा घुसारिन् आगो र पकाइदिन् हाम्रालागि मकैका रोटी। पेटभरि खान नपाएको धेरै पो भइसकेको थियो, अघाउन्जी खायौं स्वाद मानीमानी ती रोटीहरु। अनि निकाल्यौं साथै बोकेर ल्याएका ओढ्ने-बिछ्याउने कम्बल-डसनाहरु र तन्द्रंग पल्टियौं दैलोनेर त्यही भताभुंग ओछ्यानमाथि, सवार हुँदै सपनाको वायुपंखी घोडामा ! राति स्यालहरुको हवाँहवाँले पनि बिथोल्न सकेन सपना तर के आमै पनि सुत्न सकिन् होला र त्यस्तै घोर निद्रा ?
...
बुद्ध भन्थे रे- दुख छ, दुखको कारण छ, दुखको विनाश सम्भव छ, दुख विनाश गर्ने बाटो छ ! त्यही दुख विनाश गर्ने बाटो खोज्दै हाम्रो परिवार आफ्नो थातथलो छोडेर हिंडेको थियो। दुइटी श्रीमतीको रातदिनको रडाकोले बा हुनसम्म हैरान भइसक्नुभएको थियो ! हामी कान्छीपट्टिका थियौं। हाम्री आमै गाउँघरका अरु अबला स्वास्नीमान्छेहरुको दाँजोमा निक्कै टाँठी थिइन्। फुर्तिली, तेजिली अनि जाँगरिली थिइन्। अक्षर नचिने पनि हिसाबकिताब मिलाउनमा उनलाई अक्षर चिनेकै लोग्नेमान्छेले पनि भेट्टाउन सक्दैनथ्यो। उता जेठीआमै चाँहि त्यति ढंगकी थिइनन्।
त्यैभएर होला, गाउँमा रहेको हाम्रो त्यत्रो इन्धन-मिलको सप्पै जिम्मेवारी बाले हाम्री आमैको काँधमा छाडेर जानुहुन्थ्यो ! तोरी पेल्न र धान कुट्न आउने मान्छेहरु धानिसाध्य हुन्थेनन्। तर पनि आमै भयङ्कर डटेर खट्थिन् र त त्यत्रो ठूलो मिल, त्यत्राविधि मिस्त्रीहरु अनि त्यतिका धेरै ग्राहकहरुलाई पनि त्यति कुशलतापूर्वक सम्हाल्न सकेकी थिइन्। हुनपनि त्यो मिलबाट अचम्मै राम्रो आम्दानी हुन्थ्यो। पश्चिम दाङका नामी व्यापारीहरुमा बाको नाउँ अग्रपंक्तिमा आउँथ्यो। एकदमै रफ्तारसित बाले व्यापार फैल्याइसक्नुभएको थियो- घोराही, तुलसीपुरका बजारहरूसम्म। एकएक सिंढी र खुड्किलाहरु चढेर धेरै माथि उक्लिसक्नुभएका बाले बरोबर भन्नुहुन्थ्यो- जेठा, खेतीकिसानी मात्रै गरेर कैल्यै उँभो लागिदैन।
तर जेठीआमैले त्यो प्रगति पचाउन सकिरहेकी थिइनन्। सौताको जातै निठुरी- त्यत्रो मिल आमैले एक्लो बलबुतामा धान्न सकेकोमा उनी इर्ष्या गर्थिन्, बाकी प्यारी कान्छी हुँदै गएकामा भित्रभित्रै मुर्मुरिन्थिन्। यसले मिलको सप्पै कमाइ माइतीमा लगेर बुझाउँछे- उनी गाउँभरि आमैका विषयमा यस्तै नचाहिंदा हल्ला फैल्याउँथिन्। कन्नापछाडि हाम्री आमैका बाह्रसत्ताइस कुरा लाउनु र सराप्नु उनको दिनचर्या नै भएको थियो। तर पछिपछि त आमनेसामने नै विश्वयुद्ध पर्न थाल्यो। आमैहरु कपाल लुछालुछ र घाँटी च्यापाच्याप गरेको देख्दा हामी भुराहरु नजिकैको झाडीमा लुक्न जान्थ्यौं। एक रात त मेरी आम्मै, तिनले ठूलो षड्यन्त्र बुनिछन्। राति हामी सबै सुतेको मौका पारी बालाई छोडेर आमैसहित हामी पाँचै केटाकेटीलाई एकै चिहान पार्ने तानाबाना पो रचिछन्। तर धन्न हाम्रो बाँच्ने भाग्य रैछ ! खुकुरी बोकेर जसै उनी हाम्रो वध गर्न अघि बढ्दैथिइन्, दैवसंजोगले हजुरआमा झल्याँस्स ब्युँझिइछन्। रिसले आगो बनेकी जेठीआमैले त्यसपछि त्यो खुकुरी त्यतैको घैंटोमा हान्न पुगिन्। यसरी एउटा कोतपर्व टरेको थियो त्यो रात हाम्रो घरमा।
कोतपर्व त टर्यो, तर महाभारत चाँहि झनै चर्किंदै थियो। सौता-सौताबीचको जन्ड अहंको टक्कर दिनप्रतिदिन अरु भीषण हुँदै गएको थियो। रातदिनको घरझगडाले दिक्दार हुनुभएका बा अब दुइटीलाई सँगै राख्न नसकिने निष्कर्षमा पुग्नुभएको थियो। बाको कुरा पनि कान्छीसँगै बढी मिल्थ्यो। जेठीआमैलाई त्यतै छोडेर बा अब हामीसँगै टाढा कतै बसाईं सर्दै हुनुहुन्छ भन्ने सुइँको मैले पाइसकेको थिएँ। तर यत्तिकैमा बाका झन् खराब दिनहरु शुरु भए।
...
पैसाको अहंकारबाट वशीभूत भएर बा जुवातासतिर लहसिएनु भएको थियो। दाङका गन्यमान्य सनातन सम्भ्रान्तहरुसँग जुवातासका महलमा बाको डेरा जमेको थियो। हरेकदिनजसो जानैपर्थ्यो बालाई त्यहाँ र रम्नुपर्थ्यो जुवाको खालमा। फर्केर घर आउँदा एकदमै कालोनिलो अनुहार पारेर दाह्रा किट्दै अनि आँखा तर्दै आउनुभयो भने बुझे हुन्थ्यो- बाले आज धेरै हार्नुभएछ। त्यसदिन हामी केटाकेटी बाको सामुन्ने नै पर्दैनथ्यौं। देख्यो कि त सातो लिने गरी हप्की लाउने र गाला चड्काउने गर्नुहुन्थ्यो बा। आमैहरुसित पनि उस्तै रुखो व्यवहार हुन्थ्यो। हुनपनि आँखा चिम्लेर सप्पै कुरा दाउमा हाल्नुहुन्थ्यो बा। कति अज्ञानी हुन् हाम्रा बा- सप्पै भाइबैना यस्तै सोच्थ्यौं। तर जितेर आउँदाका दिन चाँहि बाको अर्कै रोब-रवाफ हुन्थ्यो। हाम्रा लागि केही न केही त ल्याएरै आउनुहुन्थ्यो। चिउँडोमा समात्दै एक एक गरी सप्पैका निधारमा म्वाई खानुहुन्थ्यो र दश-बीस रुपियाँ हातहातै बाँड्नुहुन्थ्यो। कति जाती हुन् हाम्रा बा- सप्पै भाइबैना यस्तै सोच्थ्यौं।
मान्छेमा एकपटक जुवाको नशा चढेपछि त्यो त्यतिबेलासम्म उत्रिन्न जबसम्म ऊ सम्पूर्ण रुपले भुट्टीदैन- पल्लाघरे काका बरोबर भन्नुहुन्थ्यो। आखिर बालाई पनि त्यही हुनु रहेछ। बाको त्यो चमकधमक पूरै धूलिसात् भइसकेको थियो। भएभरको रुपियाँपैसा, सुनचाँदी, गरगहना, मिल, खेतबारी अनि हामी बसिरहेको त्यो घर- सप्पैसप्पै स्वाहा भएको थियो। दशौँ हजारको ऋण पनि लाइसकेको थियो। गाउँका कहलिएका भूपति भएर पनि हाम्रा बाको उठिबास हुने स्थिति आइसकेको थियो।
बर्बाद हुनलाई अब त्यहाँ केही बाँकी थिएन। दैव लाग्यो बाबु हो- आमै भन्थिन्। एकसमय प्रधानपञ्चसम्म हुनुभएका बाको यति नाटकीय रुपमा कायाकल्प होला भनेर कसैले सोचेकोसम्म थिएन। बालाई अब कसैले नमस्तेसम्म गर्दैनथे। तन्नम हालत भएपछि अब हापुरे विरानो भएको थियो, त्यसैत्यसै उराठ लाग्न थालेको थियो। बलेको आगो ताप्ने मान्छेहरुको भीडमा छरछिमेकी र इष्टमित्रहरु पनि पराई भएका थिए। कोही थिएनन् सहानुभूति देखाउने, सहयोग त परैको कुरा। मान्छेहरुको धुइरो लाग्ने हाम्रो घर मसानघाटमा परिणत भएको थियो। हाम्रो स्कुल पनि छुटेको थियो। जबकि पहिले घरमै आउँथे मास्टरहरु पढाउन। यिनै आँखाले त्यो वैभव देखेको थिएँ, तर अब हाम्रो अभागी जीवनमा अभाव र उपेक्षा मात्रै बाँकी थिए।
‘हापुरे छोड्ने दिन आयो कान्छी, भोलि बिहान भाले बास्न नपाउँदै तिमीहरु बाटो लाग्नुपर्छ, म दुई-चार दिनपछि आउँछु’- लाचार अनुहार पारेर एकदिन काँपेको आवाजमा बाले भन्नुभयो। यति भन्दै निस्सासिएका बा त्यसपछि शुन्यमा टोलाउनुभयो। असोजको महिनामा पनि बाका चिटचिट पसिना आएका थिए। हे हरि, बा त भित्तातिर अनुहार फर्काएर धुरुधुरु रुन पो थाल्नुभयो।
लोग्नेमान्छे रोएको मैले पहिलोचोटि देखें। ढोकाको कापोबाट एकतमासले चिहाइरहेको मैले के पनि देखें भने बा त सुकेर दाउराझैं हुनुभएको रहेछ। खै त्यो गठिलो जीउडाल भएका मेरा बा ? मसँग उत्तर थिएन। आमै चाँहि नुन खाएको कुखुराझैँ निस्तेज देखिन्थिन्। झोक्र्याएर बसेकी थिइन्, बेलाबेला सुँक्सुँक्याउँथिन् पनि। अनुहारमा विषादको कालो बादल थियो। बाको आदेशमा हुन्छ, हुन्न केही पनि भनिनन्। दिदीहरुका आँखामा पनि प्रष्टै सन्त्रास देखिन्थ्यो, त्यही सन्त्रास जुन चितुवाको अगाडि परेको पाठाका आँखामा हुन्छ।
त्यसको भोलिपल्ट बिहानै हामीले गाउँ छाड्यौँ। तर दुखिया बा हुनुहुन्नथ्यो हाम्रो साथ। र त्यति टाँठी आमैसँग पनि थिएन नक्सा र गन्तव्य।
लेखक- सुभाष लामिछाने, भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा कार्यरत इन्टर्न डाक्टर हुन्।