शीलाले अर्को विवाह गरिछे।
स्काइपमा आमाले गाँऊको खबर सुनाउनुभयो।
किन गर्नुपर्यो होला त्यसलाई अर्को विवाह ? – आफ्नै मनलाई सोधे– छोरा छंदै थियो, गरेर खान पुग्ने खेतवारी छंदै थियो, यति उमेर गइसकेपछि पनि किन अर्को विवाह गरेकी होली ?
मनबाट जवाफ आएन।
आङ तान्दै ऐनामा आफैलाई हेरेँ। मेरो त अझै विवाह भएको छैन।
मभन्दा कान्छी त्यो शीलाले दोस्रो विवाह गरीसकी भन्दा विश्वास पनि लागेन। उसको त छोरो नै विदेश गइसकेको छ।
कुरा गर्दागर्दै कता हराइस् – आमा स्काइपमा कराउनुभयो।
यहाँ अलिकति काम गर्दैछु – मैले अनुहार नदेखाइ भने।
मेरो अनुहारमा कताकता पीडा झल्किएको ऐनामा देखिसकेको थिए। त्यो पीडा आमाले नदेख्नुहोस् भन्ने चाहन्थेँ।
आमाले कहिलेकाँही स्काइपमा हस्याङ फस्याङ गर्दै गाऊका र आफ्ना खवरहरु सुनाउनु हुन्छ किनकी कुरा गरिरहंदा वत्ती जाला भन्ने त्रास उहांमा हुन्छ। उहां सकेसम्म वढी सुनाउन चाहनुहुन्छ। सात समुद्र पारी बसेपछि गाऊघरका खवर सुन्दा पनि रमाइलो हुन्छ। तर आज साह्रै नरमाइलो लाग्यो। यस्तै नरमाइलो शीलाको पहिलो विवाह हुँदा पनि भएको थियो।
मलाइ घर बसेको हेर्न साह्रै मन पर्छ – आफ्नै मनसँग भने – तर आज किन आज शीलाको घर वसेकोमा खुसी लागिरहेको छैन।
शीलाको पहिलोपटक विवाह हुँदा नरमाइलो लाग्नुमा एउटै कारण थियो – ऊ मैले मन पराएकी पहिली युवती थिइ। शीलाको दोस्रो विवाह भएको सुन्दा नरमाइलो लाग्नुका दुईवटा कारण भए – पहिलो, यो विवाह पनि टिक्ला भन्ने मलाई लागेन। दोस्रो, आफ्ना भन्नेमा आमा छोरामात्रै थिए अव उनीहरुवीच पनि टाढाको सम्वन्ध जस्तो हुने भयो।
मैले फेरि पुराना दिनहरु सम्झिएँ। विवाह गरेको अर्को साल तिरै होला, उसको छोरो जन्मिएको थियो।
शीलाको छोरो जन्मिएको सुनेपछि मलाई भने कताकता औडाहा भएको थियो। घरीघरी शीलाको विवाह भएको वर्षको दशै मनमा आइरह्यो। त्यो एकान्त र त्यो हामीवीचको समर्पणका दृश्यहरु दिमागमा दोहोरिए।
मनमा डर लागिरह्यो – कतै ठूलो हुँदै जाँदा त्यसको र मेरो अनुहार त मिल्दैन ? शीलाको लोग्नेले आफूसँग छोराको अनुहार नमिलेको भन्दै कतै शीलालाई केरकार त गर्दैन ?
तर केही वर्षसम्म पनि त्यस्तो शंकाको कुरा कतैबाट नआउँदा मनमा ढुक्क भयो। केही वर्ष पछि दशैमा घरमा जाँदा शीलाको घर नजिकको वारीको डिलमा एउटा फुच्चे खेलिरहेको थियो।
हिर्काऊ
फुच्चेले त ढुंगो टिपेर म तिर पो ताक्यो।
म जोगिन खोज्दै थिए।
शीला दौडिएर आएर ढुंगा खोसी।
कुनै समय उसकी आमाको सवैभन्दा प्रिय थिए, आज उसकै छोराले ढुंगा ताकिरहेको छ। मनमनै हांसे।
मैले फुच्चेको अनुहार हेरेँ।
शीलाले मेरो मनको कुरा वुझि क्यार थोरै लजाए जस्तो गरी । फेरि पनि मायालु नजरले हेरी।
लुन्दी, अनुहार मिल्छ कि भनेर डराएको ?
शीलाले उल्टै जिस्काई।
यस्ता कायरले किन सपना पाल्नु ? सम्हाल्न नसक्नेले किन सम्हाल्ने जस्तो अभिनय गर्नु ? – शीलाले मलाई उत्तर नै नभएका प्रश्नहरु गरी। म मौन वसे।
अहिलेसम्ममा मेरो जीवनमा पनि धेरै प्रेमिकाहरु आए र गए। म अहिले पनि सवैलाई प्रेमिका नै ठान्छु। प्रेम वा प्रेमिका पुर्व हुन्छन् जस्तो लाग्दैलाग्दैन। व्यवस्थापन गर्न जान्नुपर्छ। प्रेम सवै वर्तमान नै हो। शायद शीला पनि यही ठान्छे होला। म उसका लागि पराइ भइसकेको थिए तर आफन्त ठान्छे र उसको लोग्ने आफ्नु भएको छ तर अझै पनि उसलाई मभन्दा पराइ ठान्छे।
उसको अनुहार हेर्दा लाग्थ्यो –मनको कुनामा त अझै पनि म नै छु। उसको लोग्नेसँग त उसले संझौता गरेकी हो। निश्चित समय विताउनका लागि।
हुन पनि त्यस्तै भइदियो।
कामका लागि खाडी मुलुक पुगेको शीलाको लोग्ने फर्किएन। लास पनि गाऊ ल्याए कि ल्याएनन्, मैले हेक्का राख्न सकिन। कसैले सुनाउँदा शीलापट्टी ध्यान जान्थ्यो। फेरि आफ्नो कामले विर्सिंदिन्थे।
आज आमाले उसको दोस्रो विवाह भएको सुनाउँदा भने तत्कालै विर्सिंन सकिन। आज खाडी मुलुकमा भएको शीलाको छोराको साह्रै माया लाग्यो। सांच्चै, त्यो मेरै छोरा हो जस्तो लाग्यो। खाडी मुलुकमा एक्लै भएको छोरालाई दौडिएर गएर ल्याऊ जस्तो लाग्यो तर संभव भएन।
अव शीला र शीलाको छोरो मेरो मनमा नियमित खेल्न थाले। मेरो मन विचित्रको दुविधामा परेको थियो। यही मनले कहिले शीलाले ठिकै निर्णय गरी भन्थ्यो कहिले शीलाले गलत गरी भन्थ्यो।
एक मनले भन्थ्यो – भएको एउटा लोग्ने कहां म¥यो उसलाई पत्तै भएन। मरेको धेरै दिन पछि थाहा पाइहोली। जीन्दगीको एउटा पाटो गुजारी। मजदुरी गरेर छोरो हुर्काइ। पढाउन भने सकिन। १४ वर्ष पनि पुग्दा नपुग्दै छोरोले उमेर वढाएर नागरिकता वनायो। एउटी भएकी आमालाई छोडेर उड्यो विदेशतिर। वावुको जस्तै नियति नहोला भन्ने के विश्वास ?
एउटी शीला कसरी एक्लो जिन्दगी विताओस् ? कति कुरी राखोस् त्यो घर ? जहां उसलाई घरजस्तो लाग्ने कोही छैन। ऐना सामु आफैलाई हेर्दी हो। अझै जवानी पुरै वांकी छ। वाध्यात्मक अवस्थामा विवाह गरिदिएकोले मात्रै पहिला ऊ जवान हुन वाध्य भएकी हो। उमेरले त अव जवान हुँदै छे। उसँगका धेरै केटीहरुको अझै विवाह भएको छैन। शहरमा उच्च शिक्षा पढ्दैछन्। नयां जीवनको खोजी गर्दैछन्। शायद उसले आफैले रोजेको केटासँग विवाह गरी।
शीलाले गर्न सक्ने अरु केही थिएन। कसैलाई पट्याई वा एक्ली आइमाइको वैसले कसैलाई तान्यो। अर्को विवाह गरी। मैले विवेक लाए र उत्तर पाए – एक्लो पट्यार लाग्दो जीवन विताउनुभन्दा त विवाह गरेर ठिकै गरिछे।
अर्को मनले भन्थ्यो –त्यो छोराले आमाको नयां लोग्नेमात्रै देख्छ, त्यसमा आफ्नो मरेको वावु देख्दैन। जव आफ्नो छोराले आफ्नो पतिमा वावु देख्दैन, त्यस्तो पतिसँग कुनै पनि महिला धेरैदिन वस्न सक्दैनन्।
दिन बिते। मलाई एउटा कुरा वोध भयो। सत्य र विश्वास एकदम फरक कुरा रहेछन्। शीलाको छोरालाई शीलाको मरेको पति नै उसको वावु हो भन्ने विश्वास छ तर सत्य अर्कै हुन सक्छ। मलाइ कता कता विश्वास बढ्दैछ, त्यो मेरो छोरा हो तर सत्य त्यो भन्दा धेरै अलग पनि हुनसक्छ।
...
आमा फेरि एकदिन स्काइपमा हस्याङ फस्यांङ गर्दै देखिनुभयो।
शीलाको दोस्रो विवाह पनि टुट्यो – आमाले फेरि सुनाउनु भयो। त्यसपछि शीलाका खवरहरु क्रमश आइरहे।
गाँऊमा संचारको विकास हुँदै गयो। शीलाको हातमा पनि मोवाइल फोन परेको सुने। मसँग उसको नम्वर थिएन। कसैसँग माग्ने आंट पनि गरिन। एकदिन मेरो फेसवुकमा उसको फ्रेण्ड रिक्वेष्ट थियो। वर्षाैपछि हामी पुन सम्पर्कमा जोडियौ।
मैले फोन गर्दा पहिलो चोटी त कुरै हुन पाएन। ऊ रोइ मात्र रही। मैले केही वेर संझाउन खोजे। वर्षौ देखिको पीप भरिएर डन्किएको शीलाको मनको घाऊ आज निचोरिए जस्तो भएको थियो। रुन वाहेक केही गरिन।
विस्तारै, फोनमा कुराकानीको क्रम नियमित हुन थाल्यो। एसएमएसहरु आदान प्रदान भइरहे।
तिमीले किन दोस्रो विवाह गरेकी ? – उसलाई असजिलो होला भन्ने ठान्दा ठान्दै पनि मैले एकदिन सोधेको थिए।
आवश्यकता वोध भएर – उसले सोझो जवाफ दिएकी थिइ।
अनि तिमीले किन विवाह नगरेको नि ? – एकछिन पछि उसले मलाई सोधी।
खासै कारण छैन। यत्तिकै ढिला भइरहेको छ – मेरो जवाफ थियो।
म जस्ता केटीहरु तिम्रो जीवनमा आउने जाने भइरह्यो होला, त्यसैले तिमीलाई आवश्यकता वोध भएन होला – उसैले जवाफ दिइ।
आजकल कुरा गर्दा ऊ मलाइ जिस्काउँथी। म लजाउँथे।
फुच्ची, पहिला पहिला मैले अलिकति हात वढाउँदा मात्रै पनि रुन्थ्यौ, अहिले मलाई जिस्काउँछौ ? – मैले भने।
अव तिमी भन्दा म अनुभवी भएकी छु – उसको सोझो जवाफ हुन्थ्यो।
अझै आवश्यकता वोध भइरहेको छ कि अव थाक्यौ ? – मैले सोधे।
मञ्चमा जति नै आदर्श छांटे पनि पर्दाभित्र पुगेपछि सवैले आवश्यकता वोध गर्छन – फेरि सोझो जवाफ दिएर मलाई अवाक वनाएकी थिइ।
म तिमीलाई भेट्न आउँछु
मैले एकदिन अनायशै भनिदिए।
भो नआउनु, दुई पल साथ दिएर जिन्दगीभरी आशु दिनेहरु भेट्नु मलाई छैन।
शीलाले आफ्नो पीडा ओकली।
यो यथार्थ पनि थियो।
सुरुमा मैले खुसी दिन खोजेको थिए। आफ्नो जीन्दगी बनाउन उसको जीन्दगीको वास्तै नगरी भागेँ।
शायद, उसको पतिले पनि खुसी दिन लागेको थियो। ऊ कतै खाडीमा वित्यो। हुर्किदै गएको छोरोले खुसी दिन लागेको थियो होला, ऊ पनि लाहुरे भइदियो। उसलाई सांच्चि नै औडाहा हुदो हो , भेट भयो, केही आश पाल्यो अनि फेरि संझिएर रोइरह्यो।
सम्झिएर रुनै परे पनि तिमीसँग भेट्न पाउँदा म खुसी नै हुन्छु।
शीलाले निश्कर्ष सुनाइ।
म पनि शीलासँगको साथमा पूर्ण रुपमा रमाउन पाएको थिइन। मैले जीवनमा पहिलो पटक हात वढाएकी केटी शीला नै थिइ। मैले जति पनि सम्पर्कमा केटी साथीहरु आए, ती कसैमा पनि शीलाको जस्तो आकर्षण पाउन सकेको थिइन।
म आउँछु – मैले वाचा गरे।
म पर्खिन्छु – उसले दृढता देखाइ।
हाम्रा संवाद टुगिए।
एसएमएस र अन्य नियमित कुराकानी नियमित रहिरहे।
साच्च्चिनै एकदिन लडहमा नै मैले कामबाट १ महिनाको छुट्टी लिए। सामानहरु किने। लुइभेल एयरपोर्टमा पुग्दा समेत पनि नेपाल जाने कि नजाने भन्ने दुविधामा नै थिए। म चुम्बकले झैं तानिएको थिए। आफैंलाई रोक्न सकिरहेको थिइन। अमेरिकन एयरको विमानमा चढिसक्दा पनि नजाऊ कि जस्तो लागेको थियो तर रोकिइन। लुइभेलबाट उडेको केही क्षणमा नै सिकागो पुगिसेको थिए र गल्फ एयरको विमानबाट उडे अवुधावीतर्फ।
अवुधावीमा करिव ८ घण्टाको ट्रान्जिट पट्यार लाग्दो थियो। लाउन्जमा पल्टिएँ। केही प्याग ह्वीस्की पिए। मनमा छटपटी वढी रहेको थियो तर समय झन् तन्किए जस्तो लाग्यो। कहिलेकाँही पिउने भएकोले मलाइ झुम्म बनायो। हट एण्ड सावर सुप पिउन मन लाग्यो। सुप हाल्दै गर्दा अर्कोपट्टी मलाइ नै देखे। ऐना हो कि भनेर निहालेर हेरेँ। होइन अर्कोपट्टी पनि म नै छु। ह्वीस्की अलिवढी लागेको हो कि भनेर नियन्त्रित हुन खोजे। आँखा मिचे। अर्कोपटी ठ्याक्कै म नै खानेकुराहरु मिलाइ रहेको छु। ध्यान दिएर हेरेँ। केवल उमेरको अन्तर छ तर अनुहार, शरिर, वोलीचाली र हाऊभाऊ मेरो नै हो।
अब मलाइ कुनै शंका बाँकी रहेन। यो मेरो र शीलाको छोरो हो।
ह्वीस्कीको नशामा मैले आफूलाई नियन्त्रण गर्न सकिन।
छोरा – अनायशै बोलाएँ।
मलाई बोलाउनु भएको अंकल ?– ऊ म पट्टी नै आयो।
हो छोरा – मैले तिमीलाई नै बोलाएको हुँ – म झन् नजिक गए। मायाले अंगालो मारे।
तपाइ झुक्किनु भो होला अंकल, म तपाइको छोरा होइन – उसले शिष्टतापूर्वक जवाफ दियो– अंकललाई लागेजस्तो छ , म काउचसम्म पुर्याइदिऊ ?
ऐनामा हेरत, तिम्रो र मेरो अनुहारमा के फरक छ ? – सोधे।
मेरो वुवा मर्नुभयो अंकल – उसले मेरो प्रश्नको जवाफ दिएन। मनको पीडा पोख्यो – तपाइँ जत्तिको वुवा पाएको भए मैले यो खाडीमा रगत वगाउन आउनु पर्ने थिएन होला।
मैले तिमी मेरो नाजायज छोरा हौ भन्नै सकिन। परिस्थितिले आफ्नै सन्तान पनि आफ्नो नहुने रहेछ। कुनै पनि मान्छेले आफू नाजायज सन्तान भएको सुन्न चाहदैन। त्यही भएर मैले वताउन सकिन। ऊ कतै गयो, मेरो आधा मुटु टुक्रिएर खाडीमा छुट्यो। म अधुरो जस्तो महसुस हुँदै नेपाल पुगे।
काठमाडौमा पुगेपछि म आफ्नो घरपट्टी नगइ रात्री वसमा चढेर हुइकिए शीलाको गाऊतिर। भोलिको रात पुरै शीला र म मात्रै एउटा घरमा हुने छौ। उसले मलाई र मैले उसलाई सम्पुर्ण रुपमा पाउने छौ। म अधैर्य भएको थिए। शीला नजिक पुग्न। शीलालाई सरप्राइज नै होस् भनेर मैले आफू आउन लागेको जानकारी पनि दिइन।
साँझमा शीलाको घर नजिकको चौतारीमा पुगे। शीलाको घरपट्टी नजर लगाए। घर सुनसान थियो। एक्ली आइमाइ घाम नअस्ताउँदै बाहिरी काम सकी होली। अँगेनामा एकमाने भड्डुमा भात पकाइ होली। भुलुक्क गुन्द्रुक उमाली होला र खाइ होला। खानु उसको रहर होइन, बाच्नका लागि खाँदी हो।
फेसवुक मेसेन्जरमा उसले शुभरात्रीको सन्देश पठाई। शायद सुत्न लागेकी होला। मैले पनि शुभरात्री भनेर लेखेँ।
केही वेर कुरे। कोही छिमेकीहरु नआउन् भनेर अझै रात पार्न थाले। गाऊमा अझै मेरा आफन्तहरु बाँकी नै थिए। थाहा पाए भने आफन्तकोमा नआएर किन शीलाको घरमा गयो भनेर भोलिबाट कुरा काट्न थाल्छन्। शीला चरित्रहीन भएको आरोप लगाएर गाऊबाट लखेट्न सक्छन्। म जसलाई माया गर्छु भने उनीहरुको जहिले पनि सम्मान भइरहोस भन्ने चाहन्छु।
मैले शीलासँग यो रात बिताउँदा भोलि उसलाई कुनै पनि संकट नआओस भनेर अलिबेर कुरेँ। मन भने कुन वेला उसलाई भेटौ र अंगालोमा वेरौ भनेर रोमाञ्चित भइरहेको थियो। तर विवेकले कुर्न भनिरहेको थियो। मनमा शीलापट्टी हात बढाएको पहिलो दिन र शीलाले मलाई समपर्ण गरेको दिन झलझली आइरहेको थियो।
ढोका ढक्ढकाए।
हातमा सोलार टुकी लिएकी एउटी अधवैसे आइमाइ झुल्किई।
यो कसको घर हो ?
मेरै हो
मैले निहालेर हेरेँ। शीला त उही पो रहिछे।
मैले पहिलो पटक हात बढाएकी शीला, विवाहको पहिलो वर्षको अनुभव सँगालेकी शीला र दुःखै दुःखले खाएर खिएकी, मन भित्रभित्रै पाकीसकेकी शीलामा आकास जमिनको फरक भइसकेको थियो।
मेरो मनकी शीला र मेरो सामुन्नेकी शीलामा कतै पनि मेल थिएन।
कसलाई खोज्नुभयो ?
होइन, म त परदेशी हु, बाटो विराए।
मैले तत्कालै ढांटे।
संक्रान्ति जाने बाटो कता होला ?
संक्रान्ति टाढा छ। राती पुग्नु हुन्न आज यतै बस्नुहोस्, भोलि जानु होला।
शीलाको आग्रह ठिकै थियो।
शीला मानवीय आधारमा मलाई रोक्दै थिई कि ? एउटा पुरुषको निकटता आवश्यक भएर रोक्दै थिइ कि ? मलाई चिनेर नै रोक्दै थिई ? आज मैले शीलालाई पढ्न सकिन। मैले पढ्न र बुझ्न सक्ने शीला र आजकी शीला धेरै फरक भइसकेकी थिइ।
होइन, मलाई हतार छ, गइहाल्छु।
मैले शीलाको प्रतिक्रिया पनि नसुनी हिडिहाले।
केही पर चौतारामा पुग्दा शीलाको म्यासेज फेरि मेसेन्जरमा देखा प¥यो।
मैले धेरैवेर म्यासेज पढ्नै सकिन। मनमा एक प्रकारको त्रास भइरह्यो। अन्तत शाहस जुटाएर पढेँ।
भर्खरै एउटा मानिस घरमा आएर गयो – पढ्न फेरि रोकिए। शाहस जुटाएर फेरि पढे – बत्तीको उज्यालोमा त्यो मान्छे तिमी जस्तै लाग्यो। मैले त्यसलाई रोक्न खोजे तर पनि गयो।
मैले लामो श्वास ताने।
एउटा कुरा भनौ – उसले अनुमति माग्दै लेखेकी थिइ – त्यो मान्छे बसेको भए म आज रातभर तिमीलाई सम्झने थिइन। हरेक मान्छेजस्तै, म तिम्रा आँखा भन्दा पर वद्मास छु। तिमी कहिले कहिले आउने ?
लुइभेल, अमेरिका