कवि भोजराज न्याैपानेकाे कवितासंग्रह 'छुटेको जुत्ता' शनिबार सार्वजनिक गरिएको छ। त्यही कवितासंग्रहबाट उनका केही कविताहरु हामीले पाठकका लागि पस्केका छौँ।
प्रेम प्रतीक्षा
व्यस्त समय छुट्याएर
जब भेट्न सक्दिन प्रेमिकालाई
त्यतिबेला लाग्छ—
प्रेम गर्नु सारै गारो हुने रहेछ।
जन्मदिनको उत्सवमा
उनकै घर पुगेर
गाइदिउँ कुनै प्रेमको अजम्बरी गीत
भ्यालेन्टाइन डे को डेटिङमा
कुनै ड्रिम गार्डेनमा बसेर
सुम्सुम्याईदिउँ केश राशी
र, चुमिदिउँ सुन्दर ओठ ।
फिल्महलको क्याबिनमा
समाउँदै उनको हात
हेरिरहूँ बेजोडको लवस्टोरी
आहा कति सुन्दर हुन्थ्यो जीवन !
अनलिमिटेड टक आवर
बोनस पाएको सीमकार्ड राखेर
निश्चिन्त हाँस्न पाउँ मोवाइलमा
मन लागेको लेख्न पाउँ एसएमएसमा ।
फेसबुकमा राखिएको
उनको प्रोफाइल पिक्चर हेरेर
लाइक गरिदिउँ र लेखिदिउँ सुन्दर कमेन्ट !
दरबारमार्गको
कुनै रेष्टुरेन्टमा बसेर
अर्डर गरेको खाना आइनपुगेको बहाना गरी
घण्टौं विताउन पाइयोस् उनकै साथ
कति सुन्दर हुन्थ्यो होला त्यो समय
म त्यही समयको प्रतीक्षामा छु ।
(२०७१)
नाम
समुद्रको किनारमा
लेख्दा लेख्दै
आएको छालले मेटिए जस्तै
कुनै पनि बेला मेटिने छ नाम !
जन्म कुण्डलीदेखि मृत्युपत्रसम्म
आफ्नै अमरत्वको लागि
सिङ्गमरमरमा
ताम्रपत्रमा
रजतपत्रमा
लेख्दा लेख्दै हजारौँ पटक आफ्नै नाम
आफैँले बनाएको
आफ्नै परिचय बोकेर
कति देखाउँदै हिँड्नु आफ्नै नाम
हतारै हतारको यात्रामा
जरुरी सामान छुटेजस्तै
आफैँसँगबाट
छुटेर जाँदो रहेछ नाम
मान्छे स्वयं नरहेपछि
किन चाहिँदो हो उसलाई आफ्नो नाम
फेरि कतै चिनिन
वा
समुद्रको छालले बगाएको अक्षरजस्तै
सधैँका लागि मेटिन !
इच्छा
देख्नु नपरोस्
उखेलिएको विरुवा
झर्दै गरेको पात
र, पखालिएको सिउँदो
दूध कटुवा बालकको रोदन
कोठीमा बेचिएकी चेलीको आवाज
र, बलात्कृत छोरीको रुवाबासी
देख्नु नपरोस्
म आँशुसँग हाँसो
कठोरतासँग विनम्रता
र अराजकतासँग हार्दिकता
हारिरहेको हेर्न चाहन्न
त्यस्तो देख्नु नपरोस् ।
(२०६९)
नयाँ वर्षको अघिल्लो साँझ
उस्तै थियो साँझ
त्यसअघिको मध्यान्ह
र, त्योभन्दा अघिको बिहानी पनि ।
झिसमिसेमै सुरु भएको थियो चराहरुको चिरबिर
पहाडका चेपहरुबाट मुस्कुराउँदो घाम
पखेटा फट्फटाउँदै थिए चराहरु
तयार गर्दै थिए एउटा नयाँ दिनको यात्रा ।
चुच्चोभरि च्यापिएका आहारा बोकेर ।
दुरुस्तै,
चराहरुको जस्तै छ जीवन मेरो
मैले पनि आहारा बोकेरै जानु छ घर
मेरा बचेराहरु पनि कुरिरहेका हुनेछन् मलाई
अरु दिनको भन्दा बढ्तै लाग्दो रहेछ
घरको सम्झना
नयाँ वर्षको अघिल्लो साँझमा ।
कवि भोजराज न्यौपानेको कवितासंग्रह 'छुटेको जुत्ता' विमोचन गर्दै साहित्यकार तथा पत्रकारहरु।