अचम्म नलागोस्। हाँस्नु र हाँस्नुमा फरक छ। भैरव अर्यालले ‘उडाउनुसँग एक छिन उड्दा’ निबन्धमा उडाउनु र उडाउनुमा फरक देखेजस्तो। फेसबुकको भित्तोमा प्रोफाइल पिक्चर टाँस्नका निम्ति छरिने सस्तो हाँसो र लक्ष्मण भण्डारीले चर्चा गरेको हाँसोमा आकाश–पातालको फरक छ। मेरो आशय यही हो। माओत्सेतुङले भनेका छन्, ‘हजारौँ माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ।’ डा. विकाशानन्दको उदघोष छ, ‘संसारलाई बदल्नु छ, सुरु आफैँबाट गर्नु छ।’ आचार्य लक्ष्मण भण्डारी संसारलाई हाँसोको उपहार बाँड्न निस्केका मान्छे। उनी पनि सजिलै भनिदिन्छन्, ‘हामी हाँसे संसार हाँस्छ।’
लक्ष्मीप्रसाद देवकोटाले औँलाले इसारा गरिदिए, ‘खुल्दो गुलाबबीच ज्ञान अनेक फुल्छन्’, सबैले पत्याए। होमा हो मिलाए। कतिले कण्ठस्थ गरेर सभामा गाउँदै हिँडे। तर, बगैँचामा पुग्ने कम भेटिए। गुलाब हेरेर रहस्यमय जीवनलाई बुझ्न सक्ने अझ कम भेटिए। देवकोटाले औँलाले देखाएको बाटोतिर हिँडे कोहीकोही। दुर्गालाल श्रेष्ठले देखे, ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार।’ घिमिरे फुर्किए, ‘को लैजाला अमरपुरमा लैजाला अमरपुरमा फुलको यो जवानी?’ भीम विराग सुस्ताए, ‘फुलैफुलमात्र पनि होइन, रैछ जीवन।’ विनोदीले थपे, ‘ए फुल, म तिमीजस्तै किन फक्रन सक्दिनँ?’ कसैले पगडन्डी बनाए। केही यसलाई पछ्याउन लागे। तर, आचार्य लक्ष्मण भण्डारी फूलको सिङ्गो राजमार्ग खडा गरेका छन्, ‘हामी हाँसे संसार हाँस्छ।’ पाठकहरूलाई सुविधा हुने गरी भन्नुपर्दा आचार्य लक्ष्मण भण्डारीको तीस ओटा निबन्धको सँगालो ‘हामी हाँसे संसार हाँस्छ’ बजारमा आएको छ।
लेखकले कृतिलाई अघोषित रूपमा दुईतिर बाँडेका छन्। अघिल्ला दस निबन्धहरू प्रकृतिप्रदत्त सन्देशलाई उनेर माला बनाई बजाइएका छन्। पछिल्ला २० निबन्धमा भने दृष्टान्तका माध्यमले जीवन कोट्याइएको छ।
महर्षि दत्तात्रेयले २४ वटा गुरु बनाएर शिक्षा ग्रहण गरे। आगो, आकाशदेखि लिएर वेश्यासम्म उनका गुरु बने। ‘सनातन जीवनदर्शन’का लेखक भण्डारी दत्तात्रेयलाई आदर्श मान्छन्। तर, उनीभन्दा केही भिन्न धारमा उभिन्छन् यिनी। प्रकृतिले प्रकाशित गरेको खुलाकिताब पढ्न हिच्किचाउनेहरूलाई निःसन्देह फुल पढाइदिए भण्डारीले। कङ्क्रिटको जङ्गल रुचाउनेहरूलाई पनि जङ्गलको माध्यमले सहअस्तित्व सिकाए। सबैबाट सिक्न सकिने कुरा प्रमाणित गरिदिए।
पैलो निबन्धले फुलझै मुस्कुराउने सन्देश दियो, ‘भिरको फुल’लाई सम्झाइदियो। कागजी फुलबाट सतर्क रहन सिकायो। काँडादेखि बचायो। गरिब कविताको अंश ‘म पोखरीभैmँ उही ठाउँ जम्दिनँ’ लाई नदीको माध्यमले दोस्रो निबन्धमा पोखे कृतिकारले। नदी देखाई बग्न सिकाए। चरा देखाइदिएर उड्न सिकाए निर्भार। सङ्ग्रहबाट निम्तिने भोकमरी प्रष्टिन पुग्यो। प्रकृतिलाई पढ्नसक्ने कृतिकार माटोले बोलेको सुन्न सक्नुपर्नेमा जोड दिन्छन्। छैटौँ निबन्धमा सहअस्तित्ववा स्वीकृतिमा नै जीवन चुलिने निष्कर्ष निस्क्यो। ‘सङ्गच्छध्वं संवदध्वम्’को शङ्खघोष निबन्धमा स्पष्ट छ। सातौँ निबन्धमा समुद्र विम्ब बनेर ठडिएको छ। ‘यथानद्यः स्यन्दमानाः समुद्रे....’ भन्ने उपनिषद् मन्त्रसँग तादात्म्य राख्छ निबन्धले। भण्डारीकै भाषामा भन्नुपर्दा समुद्र व्यापक र बुद्ध व्यक्तिको विम्ब हो। कविशिरोमणि लेखनाथले हिमाललाई आफ्नो कवितामा सौभाग्य स्तम्भ तुल्याएका छन्। भण्डारीले भने हिमाल, पहाडबाट सहनशीलताको सन्देश दिँदै उक्तकविताको विम्बलाई सार्थक तुल्याएका छन्। सूर्यचन्द्रको विम्बबाट छचल्किएको प्रतिविम्बले दिन र रात, सुख र दुःख, गति र विश्रामको पर्याय जीवन हो, यसमा सन्तुलन आवश्यक छ भन्ने उजिल्याएको छ। एक वर्ष एउटा जीवन हो। त्यसमा आउने उतारचढावहरू ऋतुहरू हुन्। ऋतुहरू प्रत्येक वर्गमा दोहोरिरहे पनि सधैँ नयाँ लाग्ने गर्दछन्। परिवर्तनको यो शाश्वत प्रक्रियामा नवजीवनमा पनि लागु हुने कुरा प्रस्ट्याउँदै दसौँ निबन्ध टुङ्गिन्छ।
‘तिमी गुलाबलाई गुलाबमात्र देख्छौ, म त्यहाँ हेलेन र पद्मिनी पाउँछु’ देवकोटाले भनेका छन्। यहाँनेर यो सम्झिनुपर्ने आयो। सधैँ देखिरहेका प्राकृतिक वस्तुहरूमा हामी केही देख्दैनौँ। भण्डारीमा त्यो तेस्रो नेत्रको उत्पत्ति भएको छ, जसले गर्दा उनी फुलमा, नदीमा, चरामा, समुद्रमा अनेकौँ शिक्षा भेट्छन्।
दृष्टान्तहरूको प्रस्तुति गर्दै त्यसको विश्लेषण गरिने दोस्रो खण्डमा २० ओटा रचनाहरू छन्। कृतिको एघारौँ निबन्ध संस्कृतका पात्र महाकवि माघको दृष्टान्तमा उभिएको छ। ज्ञान प्रमाणपत्रको खोस्टोमा होइन, दैनिक व्यवहारमा अनुवादित हुनुपर्दछ, निबन्धले दिन खोजेको यही हो। भानुको द्विशतवार्षिकीका उपलक्ष्यमा भानुभक्तमाथि पुनर्विचार हुनुपर्ने कुरा भइरहेका परिप्रेक्ष्यमा घाँसी र भानुभक्तको कथालाई बेतुकको र मिथ्या साबित गर्नेहरू पनि छन्। यी उलझनलाई बिर्सिएर घाँसीलाई प्रेरकका रूपमा लिएर दृष्टान्त पस्किई ‘गर्नेभन्दा गराउने ठूलो’ भन्ने नेपाली आहानको पक्षमा लेखक उभिएका छन्। तेह्रौँ निबन्धमा पञ्चतन्त्रको एक कथालाई दृष्टान्त बनाएर एकतामै बल हुने तथ्य पुष्ट्याएका छन्। ‘पुनर्मूषिको भव’को कथाले ‘यस्मिन् कृतज्ञता नास्तिनिरर्था तस्य सेवना’(कृतज्ञताहीनलाई सहयोग गर्नु व्यर्थ छ।) भन्ने भावका साथसाथ चुनौतीको सामना आफू रहेको धरातलबाटै गर्नुपर्ने कुरा अभिव्यक्त गरिएको छ। पन्ध्रौँ निबन्धले कवीरदासको निम्न पङ्क्तिलाई नै समर्थन गर्छ ः ‘दुःखमे सब सुमिरन करेँ, सुखमे करेँ न कोइ, सुखमे सुमिरन जब करेँ, तो दुःखकायको होय।’
अनावश्यक प्रशंसाले मान्छे हिटलर बन्ने र आलोचनाले सुदामा बन्ने भावको छ। संस्कृतको श्रेष्ठतम उपन्यास ‘शिवराजविजय’मा मङ्गलाचरणका रूपमा स्थापित भागवत्को ‘हिंस्रः स्वपानेन विहिंसितःखलुः साधु समत्वेन भयद्विमुच्यते’को प्रष्ट प्रभाव सत्रौँ निबन्धमा छ। युधिष्ठिरको कथाले पढाइ र व्यवहारको अन्तरतम निकटताको अपेक्षा राख्दछ। पश्चिमी जगत्मा प्रसिद्ध ‘किङ मिदास’को कथासँग मिल्दोजुल्दो ‘जादुको भाँडो’को दृष्टान्तले ‘सन्तोषः परमं सुखम्’लाई अथ्र्याइदिएको छ, राम्ररी।
ओशोले ‘मनोरञ्जन’ र ‘उत्सव’ शब्दमा ठुलो अन्तर प्रष्ट्याएका छन्। भण्डारीको दृष्टिमा कलाकार हुनु मनोरञ्जनका लागि नभएर उत्सवका लागि हो। कैवल्योपनिषद्को ‘त्यागेन चैकेन अमृतत्वमानशुः’अथवा देवकोटाकै ‘आफू मिटाइ अरुलाई दिनु जहाँ छ’ राजाको कथामा आएका छन्। हामीले देख्ने गरेको प्रेम वास्तवमा प्रेम नभएर आकर्षण मात्र हो, जसको सीमा हुन्छ। यो कुरा बाइसौँ निबन्धको आशय हो। महानता सुन्दरी नारी हुनुमा होइन, असल आमा हुनुमा छ, तेइसौँ निबन्धको दृष्टान्तको दर्शन यही हो। ‘सिकारुहरू सुविधाको लत बसेको खण्डमा ब्रोइलर बन्न सक्छन्’ भण्डारीको कुरामा महर्षि याज्ञवल्क्य हुन् या नीतिज्ञ चाणक्य, दुवै सहमत छन्।
‘आनन्दरूपी हिरा खोज्नेहरू उमङ्गका सानातिना थोपाहरूमा भुल्नुहुँदैन,’—पच्चिसौँ निबन्ध भन्छ। ‘कान जोगाउने उपाय’ निबन्ध प्रत्येक अभिभावकका निम्ति मार्गनिर्देशक बन्न सक्छ। नराम्रो कामलाई दण्ड नदिनु पनि ठुलो अपराध हो, निबन्धको निष्कर्ष हो यो। हृदयको दीपावलीले डोरी र सर्पमा झै भ्रम कायम हुन दिँदैन भनेर सत्ताइसौँ निबन्धले भन्छ। संस्कृतमा ‘आशा हि परमं दुःखम्’ भन्ने सूक्ति छ तर भण्डारी त्यो भनाइका विपक्षी बनेर अठ्ठाइसौँ निबन्धमा उभिएका छन्। उनन्तिसौँ निबन्धमा बच्चाहरूको कोमल मनमा फोहोर नभरिदिन आग्रह गरिएको छ। अन्तिम निबन्ध पढ्दा भने यस्तो लाग्छ ः
‘असली घर छ अन्तै खालि रित्तै छ ऐले।
अब उस घरमा गै बस्नुपर्नेछ तैँले।।
उहीँ पनि यहीँका झैँ भोक लाग्नेछ भाइ।
शिवशिव पछि खाने के छ तेरो कमाइ?।।
पूर्वीय जगत्मा भावयित्री र कारयित्री गरी दुईथरी प्रतिभाको उल्लेख भएको पाइन्छ। लक्ष्मण भण्डारीमा कारयित्रीजति सबल छ, त्योभन्दा धेरै सबल भावयित्री छ। उनको द्रष्टाशक्ति पुस्तकभरि यस तथ्यको सबुत प्रमाण भएर रहेको छ। फुलफुलमात्रै रहेन भण्डारीको आँखामा, आनन्दातिरेकको हिर्निस्कासन बन्यो। बिरुवाहरूका निम्ति एडल्ट स्टेजमात्र नभई समग्र जीवनको पूर्णताको प्रतीक बन्यो। अर्कैका निम्ति जिन्दगी सुम्पिन सक्ने बलिदानीको प्रतीक बन्यो। बिनाआवाजको व्यञ्जना शक्ति बन्यो। सार्थक जीवनको प्रतीक बन्यो। कैयौँ चरण गुज्रेर पाइने सफलता बन्यो। एउटै फूलले अनेकको प्रतीक बनेको छ। त्यो आँखा भण्डारीको पेवा हो। चराजस्तो मामुली चिजमा उनले यस्तो गहन दर्शन भेट्टाएका छन्, त्यो पढ्दा पाठक चकित हुन्छ। दोस्रो र तेस्रो अध्याय चराकै सन्देश हो। जाबो चराका निम्ति उनले १७ पेज खर्चेका छन्। यो उनको कमजोरी होइन, फराकिलो दृष्टिकोणको नमुना हो।
भण्डारीका अन्य पुस्तकभन्दा यो भिन्न छ। अध्यात्मलाई कलमले उतार्ने भण्डारीको यात्राको थालनी दृष्टान्तबाट भएको हो। दृष्टान्तलाई मुख्यता दिएर उनका निबन्ध लेखिने गर्छन्। तर, अघिल्ला १० निबन्धहरू विम्बको वरिपरि नाचेका छन्, कुनै दृष्टान्तको बैसाखी नटेकी। अघिल्ला १० निबन्धमा भण्डारीको कवित्व हावी छ र पछिल्ला २० मा आध्यात्मिकता। दृष्टान्त पढ्न पल्केका पाठकहरू अघिल्ला दशबाट सन्तुष्ट नहुन पनि सक्दछन्। त्यसको क्षतिपूर्ति पछिल्ला २० ले गर्दछन्। यो कृतिको जुम्ल्याहा ‘ससार जित्ने सूत्र’ का तुलनामा दृष्टान्तहरू कम सशक्त छन् तर सशक्त भने अवश्य छन्।
समग्रमा कृति पठनीय छ। पाठकले पढेर जीवन सुधार्छ। नभए पनि पढुन्जेल आनन्द लिन्छ। किताब सिरानीमै च्यापेर राख्ने खालको छ। ढुक्क भए हुन्छ,‘चटपटे’को हातमा पर्दैन। खोट धुइँधुइँती खोज्दा पनि नभेटिएको अवस्था हो। पश्चिमा विद्वान् बेकनले भनेका छन्, ‘केही कृति चाख्नका लागि हुन्छन्, केही कृति निल्नका लागि हुन्छन् र थोरै मात्र कृति चपाउन र पचाउनका लागि हुन्छन्।’ बेकनको हिसाबमा यो कृति चपाउने र पचाउने खालको कृति हो। पचाएपछि स्वाद हराउँछ। मलाइ त लाग्छ, यो कृति थुक्न मन नलाग्ने चुइङ्गम हो, जो चपाएको चपायै गर्नुमा मजा छुट्टै छ। अन्तमा ओशोलाई सम्झिन मन छ, ‘जो काव्यको समझनेमे असमर्थ हैँ, वो परमात्माको कभि न समझ पाएगा, क्योँकि परमात्मा परमकाव्य है।’