मदनपुरस्कार विजेता साहित्यकार राजन मुकारुङ वास्तविक चरित्रका कथा लेख्छन्। लेखनमा खासै चामत्कारिक कथामा विचरण गर्दैनन्। उनी त्यस्ता काल्पनिक कथ्दैनन् पनि। आफ्ना वरिपरि भएका पात्रपात्रालाई सजिव उतार्छन्। उनी सबाल्टर्नलाई लेख्न रुचाउँछन्।
‘दमिनी भीर’मै पनि उनले वास्तविक चरित्रलाई उतारेका छन्। सबाल्टर्नका आवाजलाई दुरुस्तै बोलेका छन्। केन्द्रले देशको भूगोलभित्र नदेखेको समाज र नागरिक नठानेको उत्पीडितको वास्तविकता कोरेका छन् जसले उनलाई मदनपुरस्कार दिलायो।
तर, मदनपुरस्कार विजेता मुकारुङ आफै एउटा चरित्र बनिसकेका छन्। चरित्र खोज्दाखोज्दै मुकारुङले आफूलाई कमजोर बनाइसकेका छन्। जति शक्तिशाली उनको लेखन छ। त्यतिनै कमजोरी उनमा छन्। ती उनका आफ्नै प्रवृत्तिजन्य कमजोरी हुन्।
––
मदनपुरस्कार जितेपछि साहित्यकार मुकारुङको दैनिकी व्यस्त छ। प्रायः कार्यक्रमको निम्तो मान्दैमा फुर्सद हुँदैन। कहिले सम्मान ग्रहण त, कहिले अतिथि आसनग्रहणका लागि दौडिरहेका हुन्छन्।
यसका बाबजुद मुकारुङलाई भर्खरै फुर्सद मिलेको छ। आउन लागेको निबन्ध संग्रह ‘फेरिँदो सौन्दर्य’को काम सिध्याएपछि उनी झनै फुर्सदिला बनेका छन्। सँगसँगै विमोचनको चटारोले पनि छोप्दैछ। उनको सो कृति भदौंको दोस्रो साताअघिनै विमोचन हुँदैछ। यसको जानकारी उनले फेसबुकमार्फत् सर्वत्र दिइसकेका छन्। तर, उनी फेसबुकमा प्रायः नबिराइकन रक्सीबारे पनि पोखिन्छन्। यसैले उनीसँग रक्सीबारे गफिनुु थियो। गफिनकै लागि उनको नियमित ‘जक्सन’ भृकुटीमण्डपमा मंगलबार दिउँसो भेट भयो। भेट हुनेबित्तिकै उनले स्वीकारे, ‘बेलुका पनि पिएकै हो। अझै ह्यांगओभर बाँकी छ।’
––
मुकारुङले पिउन थालेको पनि २२ वर्ष बितेछ। यस अवधिमा करिब २० लाख सिध्याइसकेछन्। यत्रो पैसा सिध्याएकोमा किञ्चित पछुतो मान्दैनन्। उल्टै गर्वसाथ भन्छन्, ‘मैले पैसा जोगाएको भए व्यक्तिगत जीवन बन्थ्यो। पारिवारिक जीवन सुखमय हुन्थ्यो। तर, सामाजिक व्यक्तित्व बन्दैनथ्यो।’
हुन पनि यी साहित्यकार पिउनैका लागि नभए पनि लेख्नको लागि भट्टी चहार्दा रहेछन्। यसको एउटै उद्देश्य वास्तविक पात्रको खोजी गर्नु रहेछ। उनीहरुसँग सम्वाद गरेर कथा निचोर्नु रहेछ। तर, अन्तिममा उनी आफै मातेर निस्कँदा रहेछन्। ‘पिएपछि एकअर्काका जीवनबारे सहज रुपमा व्याख्या हुन्छ,’ उनी रक्स्याहाको स्वभाव सुनाउँछन्, ‘यसबेला मान्छे बढी पारदर्शी देखिन्छन्।’
रक्सी पिएपछि व्यक्तित्व सखाप बन्ला नि त ! ‘रक्सीले व्यक्तित्व सकिँदैन,’ स्पष्टीकरण दिन्छन्, ‘मानिसको भित्री भावना बुझ्न रक्सीले सघाउँछ।’
सिर्जना क्षमतामा ह्रास आउने कुरा पनि उनले स्वीकारेनन्। ‘मानिसले लेख्ने छटपटीमै हो,’ उल्टै सम्झाए, ‘नयाँ सोच्न र विचार निर्माण गर्न व्यवहारिक रुपमा पूूर्ण भएर सम्भव छैन।’ हुन पनि हो। उनले ‘हेत्छाकुप्पा’ र ‘दमिनी भीर’ लेख्दा पनि पिउँथे नै। ‘दमिनी भीर’ले त मदनपुरस्कारै जित्यो पनि। यसको मतलब पिउनै पर्ने हो त ? यसो पनि होइन। उसो भए के त ? खासमा चुनौती, समस्या र व्यवहारिक जटिलतालाई पग्रेल्न पिउनु पर्ने रहेछ। ‘होइन,’ अझ स्पष्ट पारे, ‘जीवन बुझ्न पिउने हो।’
ठीकै छ, जीवन बुझ्न नै सही। पिउने चिज उत्पादनका लागि नै बडेमानका भट्टी सञ्चालनमा छन्। सरकारले पनि निर्बाध सञ्चालन अनुमति दिएकै छ। रक्सी पिउन छाड्न दबाब दिने नै बेवकुफ हुन्। ‘रक्सी नखालेले चाहिँ के खुत्याएको छ,’ ओहोहो ! मुकारुङ जङ्गिए, ‘रक्सीको व्यहोरा थाहा पाएरै पिएकै हुँ।’
––
यसो त जातैले पाएर पनि रक्सी पिउन सजिलो भएछ। किनभने किरात–खम्बु संस्कार/संस्कृतिमा मर्दा–पर्दा रक्सी नचलाई हुँदैन। मुन्धुमी संस्कार मान्ने किरात–खम्बु समुदायले रक्सीलाई औषधिको रुपमा लिने चलन अझै छ। ‘हो त नि,’ बूढा उत्साहित पो बनिनिस्के, ‘हामी मुन्धुमी संस्कारमा हुर्केकाले रक्सीलाई अल्कोहलका रुपमा लिँदैनौं। औषधिको रुपमा लिन्छौं।’
अहो ! ‘रुख चढ्ने बाँदरलाई भर्याङ’ भनेझैं पो भयो। तर, कुरो यसो रहेनछ। उनले कुराको बिस्तारा लगाए, ‘दिनभरि काम गर्दा थाकेको ज्यान। बेलुका तीनपाने औषधिको रुपमा पिउँदा कति आनन्द।’ के कुरो यसै हो त ! स्पष्टीकरण दिन्छन्, ‘पीडाको बेला, थकानको बेला पिइयो। पछि यसको मात्रा बढ्दै गयो। नशाको रुपमा विकास भयो।’
––
खासमा चाहिँ साहित्यकार मुकारुङ ऋणका लागि पिउँदा रहेछन्। ऋणले गर्दा उनमा छटपटी हुन्छ रे! छटपटीले गर्दा उनमा साहित्य सिर्जना गर्ने उत्साह मिल्छ रे! उनको ऋण अझै पाँच लाख जति तिर्न बाँकी छ रे ! त्यहीँ ऋण तिर्न उनी लेख्दैछन्। लेख्नको लागि पात्र खोज्दै भट्टी त चहार्नै पर्यो।
एकपटक भट्टिबाट निस्कँदा ऋणको ‘टेन्सन’मा आफ्नै साथीभाइलाई समेत लघारेछन्। अहिले ती साथीहरु चियासमेत पिउन डराउँछन् रे उनीसँग ! तर, मातेको बेला अरुलाई लघार्ने उनैपनि फेलाचाहिँ परेकै रहेछन्। एकपटक मातेकै सुरमा ट्याक्सी ड्राइभरसँग झगडा परेछ। त्यसबेलाको चोट अझै बोकिहिँडेका छन्। आफैले निर्धक्क सुनाए, ‘त्यसबेला मेरो दाँत भाँचिएको थियो। भाँचिएको आधा दाँत बनाएर हिँडेको छु।’
यत्रो हुँदाहुँदै पनि अझै रक्सी छाड्ने छाँटकाट छैन। तर, छुट्टिने बेला सिर्जनशील अराजकता आन्दोलनका सहयात्री उपेन्द्र सुब्बाले सुनाए, ‘उहाँले रक्सी छाड्ने एउटै मन्त्र छ।’ सुब्बाले कौतुहलता जगाए। नभन्दै आफैले ‘सस्पेन्स’ खोले, ‘आजसम्म रक्सीमा खर्चिएको २० लाख दिन कोही तयार भए राजनजीले रक्सी पक्का छाड्नुहुन्छ !’
छेऊमै मुकारुङ मुस्कुराए मात्र। सायद हिजोको ह्यांगओभरले झिझो मानिरहेका थिए।