निर्दोष अपराधी' नन्दरामले आफ्नो कथाको शीर्षक पहिले नै छनौट गरिसकेको थियो। उसले आफ्नो मनमा त कथा लेखेर सिध्याइसकेको हो। तर यसलाई कापीमा उतार्ने काम भने पूरै बाँकी थियो। मनभित्र लेखेको कथालाई पत्रिकामा छपाउन मिल्थ्यो भने आजसम्म उसका कयौँ कथाहरु पाठकका घरघरमा पुगिसकेका हुन्थे। उसले प्रसिद्ध कथाकारका रुपमा प्रसिद्धी कमाइसकेको हुन्थ्यो। तर यथार्थ त्यस्तो थिएन। उसको कथाको श्रीगणेश भएकै थिएन। आज एकाएक उसको मनमा विचारहरुको धुइरो लाग्यो। के के नै लेखुँलाझैँ भयो। उसले हिजोमात्रै किनेको दुई सय पेजको कापी निकाल्यो र लेख्न सुरु गर्यो।
उसको कथा आफ़्नै जीवनमा आधारित सत्य घटना थियो। बाल्यकालमा भोगिएका अनुभव र अनुभूतिको संग्रह थियो त्यो कथामा। बाल्यकालमा अलि चकचके स्वभावको हुनाले ऊ बेलाबेलामा बुढापाकाहरुको आलोचनाको पात्र बन्ने गर्थ्यो। उसका कतिपय छिमेकीहरू ईर्ष्यालु स्वभावका थिए। कयौँपटक उसका छिमेकीले झुट्टा आरोप लगाइदिएर उसका बाबुलाई उत्तेजित पार्थे। उसका बाबुले सत्यतथ्य पत्ता नलगाई छोरालाई सुधार्ने बहानामा गोरु कुटेसरि कुट्ने गर्थे। केही गल्ती नगर्दा पनि उसले धेरैपटक कठोर सजाय भोग्नु परेको थियो।
उसले कथाको पहिलो पृष्ठ लेखेर पूरा गर्यो र सरसर्ती पढ़न थाल्यो। कथा ठीकै बनेको थियो तर उसलाई पहिलो हरफ अलि रोचक लागेन। उसको बुझाइअनुसार प्रत्येक कथाको शुरुको अनुच्छेद रोचक र आकर्षक हुनु पर्छ। सुरुवातमै खल्लो लाग्यो भने पाठकले कथा नपढ्न सक्छ्न्। आफैले लेखेको कथा पढेर उसको मन रमाएन। त्यसपछि उसले त्यो कथालाई क्रसचिन्ह लगाई दियो। दोश्रो पानादेखि पुन कथा लेख्न शुरू गर्यो।
दोश्रोपटक लेखेको कथा पहिलेभन्दा केही सुध्रिएझैँ ठान्यो उसले। लगभग आधा जति लेखेर सकेपछि उसलाई फेरि एकपटक शुरू देखि कथा पढ्न मन लाग्यो। एकपटक पढेर सक्यो। फेरि दोहोर्याएर पढ्यो। कथा नराम्रो त हुँदै होइन। तर उसलाई किन-किन चित्तै बुझेन। केही नपुगेझैँ, कही केही छुटेझैँ, कता कता कस्तो कस्तो लाग्यो। उसले सोचेजस्तो र भनेजस्तो कथा बनेन।
आखिरमा उसले दोश्रो पटक लेखेको कथालाई पनि रद्द गरिदियो। अर्को पाना पल्टाएर तेश्रो पटक कथा लेख्न शुरू गर्यो। यस पटक भने उसले केही लेख्नै सकेन। चार लाइन लेखेर भ्याउदा नभ्याउँदै उसको कलम रोकियो। फिटिक्कै चलेन। चुम्बकमा फलाम टाँसिएझै सेतो कागजमाथि टाँसिएको डटपेनको टुप्पोलाई एकोहोरो हेरिरह्यो उसले। त्यसपछि आफैँलाई प्रश्न सोध्यो- मलाई घरि-घरी किन यस्तो हुन्छ? हजारौँ भावनाहरू आउँछन् बर्षातको बाढी झैँ, मन भरिन्छ र लेखुँलेखुँ लाग्छ। जब लेख्न भनी कलम समाउँछु, तब सबै भावना र विचारहरू क्षणभरमै सुकेर जान्छन् हिउँदको खहरेझैँ।
एकाएक उसको अनुहारको चमक हराएर गयो। दुई सय पेज भएको मोटो कापीले टेबुल माथि लम्पसार परेर उसलाई हेरिरहेको थियो। लाज मानेझैँ गरी उसले त्यों कापी बन्द गर्यो। औंलामा च्यापिएको कलमलाई थपप्क त्यही कापीमाथि राखिदियो। उसले आफू बसिरहेको कुर्सीलाई अलिकति पछाड़ि धकेल्यो। ढाड सिधा पार्यो। दुबै हात माथि उठाएर जीउ तनक्क तन्कायो। लामो सास फेर्यो।
कथा लेख्न नसकेकोमा उसलाई नमज्जा लागिरहेको छ। उसको हाउभाउले त्यही बताउथ्यो।
त्यतिबेलै उसको मोबाइलमा टिरिनटिरिन घन्टी बज्यो। मस्त निद्राबाट ब्यूझेझैँ झसङ्ग भयो। नेपालबाट श्रीमतीको मिसकल आएको रहेछ। उसले घर सम्झियो। गाउँ र सिङ्गो देश सम्झियो। गाउँघरमा दसैँको रमाइलोले छोपिसकेको थियो। बुढेसकालले छोइसकेका बाआमा, प्यारी श्रीमती र सानो छोराको याद गर्यो। उसले कथालेखन कार्यलाई त्यही स्थगित गरेर घरमा फोन लगायो।
भोलिपल्ट पनि सधैँझैँ उसको कथा लेखन शुरू भयो। भाग्य संयोगले उसलाई सजिलो ड्युटी परेको थियो। दिनभरि खासै काम हुन्नथ्यो। एक सय पचास जना लेबरहरु बस्ने तीनतले बिल्डिंगमा उसको ड्युटी थियो। बिहान सात बजे सबै कामदार ड्युटी जान्थे र बेलुका सात बजेपछाडि मात्रै फर्किन्थे। दिउँसोमा प्राय:जसो ऊ एक्लै हुन्थ्यो। त्यसैले उसलाई लेख्ने समयको कुनै अभाव थिएन। कहिलेकाही कम्पनिका बोसहरू चेकिङमा आउँदा भने उसलाई फुर्सद हुँदैनथ्यो। एक पेज लेख्यो। पढ्यो। चित्त बुझ्दैन। त्यसलाई रद्द गर्यो। पुन शुरुदेखि लेख्यो । उसको कथा लेख्ने तरिका यही हो।
कयौँपटक लेख्ने र केरमेट गर्ने गरिसकेपछि उसले त्यो कथाको बिषयबस्तु नै समय सान्दर्भिक नभएको ठोकुवा गर्यो। मनमनै कुरा खेलाउन थाल्यो। अचेलको जमानामा यस्तो पुरानो कथा कस्ले पढ्ला? आखिर कथा लेखिसकेपछि दुईचार जनाले पढून्। पढेपछि मन छोइयोस्। र पो कथा लेख्नुको मजा। वचपनमा आफ्नै बाउले कुटेको कुरो पनि कथा हो त? फेसबुकका कुरा इमेल इन्टरनेटका कुरा पो रुचाउँछन त अचेलका पाठकले। सोच्दासोच्दै उसको दिमाग भारी भएर आयो। अब दुई दिनपछि मात्रै कथा लेख्ने अठोट गर्दै कापी बन्द गरेपछि बल्ल उस्को मस्तिष्क हल्का भयो। किनकि दुई दिनपछि शुक्रबार थियो। शुक्रबारको छुट्टीमा दिनभरि कोठामै बसेर कथा लेख्ने र सिध्याएरै छोड्ने उसको प्रतिज्ञा भयो।
भन्ने नै हो भने उ एउटा सिकारू कथाकार हो। उसले आजसम्म कथा लेखेकै छैन। तर एउटा असल साहित्यकारमा हुनुपर्ने सबै गुण उसमा थियो। कम बोल्ने ,गम्भीर र मुस्कुराइरहने स्वभाव थियो उसमा। सानोतिनो कुराले पनि उसको मन छुन्छ। अरुलाई दुःख पर्दा ऊ रुन्छ। आफूलाई दुःख पर्दा साथीभाइको सल्लाह लिन्छ। उसले साहित्य क्षत्रमा कलम नचलाएको पनि होइन। उसले दिनहुँ केही न केही लेखेकै हुन्छ। उसले आफ्ना सहकर्मी साथीहरुलाई कथा र कविता सुनाएर मन जित्ने गर्छ। त्यसैले उ सबैको प्रिय बनेको थियो।
नन्दराम पश्चिम नेपालको पहाडी जिल्लामा जन्मेको एउटा गाउँले ठिटो हो। गाउँमा खेतीकिसानी गरेर गुजारा चल्न छाडेपछि ऊ सेक्युरिटी गाडको कोटामा रोजगारी खोज्दै दुबई हान्निएको थियो। समयले उसलाई साथदियो। ठगिनु परेन। उसले दुबईको एउटा सेक्युरिटी कम्पनीमा काम पायो। ड्यूटी पनि सजिलो र तलब पनि चित्त बुझ्दो भयो।
आज फ्राइडे। बिदाको दिन। नन्दराम बिहानै पाँच बजे उठ्यो। साथीहरु मस्त सुतिरहेका थिए। छुट्टीको दिन सबै जना नौ,दश बजे सम्म सुत्छन्। तर नन्दराम भने बिहान नै उठ्यो। किनकी उसलाई आज कुनैपनि हालतमा कथा लेखेर सिध्याउनु थियो। साथीभाइले थाहा नपाउने गरी बिस्तारै ढोका खोल्यो र नुहाउन गयो। मानौँ उसलाई आज पुन्य कर्म गर्नु छ। न्वाईध्वाई शुद्ध बन्नु छ।
नुहाएर आएपछि उसले दुईवटा अगरबत्ती बालेर शिवजीको फोटोअगाडि राखिदियो। र कुर्सीमा बसेर कथा लेख्न शुरू गर्यो। एक शब्द नलेख्दै उसको मोबाइलले टुँटुँ गर्दै एसएमएस आएको संकेत गरायो।
मन्त्रमुग्ध भएर कथा लेख्न खोज्दा साइत बिग्रिएजस्तो गरी मन खिन्न बनाउँदै उसले हात तन्काएर टेबुलको पल्लो छेउमा रहेको मोबाइल तान्यो। निकै उत्सुकतापूर्बक हेर्यो। डल्लु दाइले म्यासेज पठाएका रहेछन्। "निकै जरुरी छ। बिहान उठ्ना साथ फोन गर्नु है भाई" भनेर लेखिएको रहेछ। डल्लू दाई ठट्टा गर्ने मान्छे त होइनन्। नन्दरामले मनमनै सोच्यो। के अर्जेन्ट पर्यो होला त एकाबिहानै। सुतिरहेका साथीहरुलाई बाधा होला भनेर कोठाबाट बाहिर निस्केर फोन लगायो। एक घन्टीमै फोन उठ्यो।
एकछिन सम्म डल्लु दाइ केही बोलेनन्।
नन्दराम बोलिरह्यो हेलो, हेलो,हेलो।
डल्लु दाइ केही बोल्न खोजे।तर उनले बोलेको कुनै शब्द सुनिएन। एक्कासी डाँको छोडेर रोएको सुनियो।
के भो र दाइ? नन्दराम अनौठो पाराले करायो।
आकाश खस्यो। उनले अस्पष्ट शब्दमा रुदै रुदै बोले।
हँ!आकाश ?उसले मन थाम्न सकेन।बच्चा झै चिच्याएर रुन थाल्यो।
नन्दराम बिल्डिङको पछाड़िपट्टी गयो। खजूरको रुख मुनि लुकेर धेरैबेर रोइरह्यो।
धेरैबेर रोएपछि सायद उसको मन अलिकती सम्हालियो। उसले पुन एक पटक डल्लु दाइलाई फोन गर्यो। र आकाशको बारेमा बिस्तारमा सोध्यो।
आकाश उसको मन मिल्ने साथी हो। गाउँमा सँगै खेलेको। एउटै स्कुलमा पढेको सहपाठी थियो। हिजो राति पनि उसले आकाशसँग फेसबुकमा च्याट गरेको थियो। इश्वरको लीला कस्लाई के थाहा। हिजोराति खाना खाएर सुतेको मान्छे सुतेको सुत्यै भएछ।
बिहान चार बजे नाइट ड्युटी गरेर आएका डल्लुले थाहा पाएर हल्ला खल्ला गरेछन्। तत्काल कम्पनीमा खबर पुगेछ। बीस मिनेटभित्रै पुलिस आएर सब उठाएछ।
आकाशले पाँच वर्ष मुम्बईको एउटा होटेलमा कुक म्यानको जागिर गरेपछि उतैबाट सेटिङ मिलाएर दुबई आएको थियो। दुई बर्षको भिसा सकिन चार महिनामात्रै बाँकी थियो।
मर्ने त मरेर गै'हाल्यो।बाँच्नेहरुलाई मर्नु कि बहुलाउनु भयो।
पाल्पा, हाल: युएई