आम बासि आटो छैन ? कटेरामा भैसीलाई कुँडो पकाईरहेकी आमा मुजेत्रो टाउकोमाथि सपार्दै भनिन, ‘छ नि बाबु, घिउ हालेर तताइदिन्छु, तिमिहरु पिढीमा सुकुल तानेर बस’l त्यतिन्जेल डोब सिउथानिले आफ्नो अनुहारमा खुशी उमालेर तीन दिन पुरानो भोक जगायोl
मपनि कम्ती भोकाएको थिइनँ। उसै त कविता-सवितालेखिरहने भाबुकमान्छेl भोकमरी जीवनको भयानक भाबुकता गहिरो बिम्ब पो बन्यो त! मैले पनि आमाको अगेना छेउमा दुई थोपा आँशु तप्प खसाई दिएँ।
माओवादीमा तप्प आँशु खसाउने र डाँको छाडेर रूने परम्परा भर्खरै भित्रिएको थियोl रोल्पाको चुनबाङमा सामना परिवारले देखाएको खुसिराम पाख्रिनको गीत ‘ओपेरा’मा प्रचण्ड लगायत अन्य थुप्रै नेता डाँको छाडेर रोए भन्ने खबर पार्टीमा ‘भाइरल’ कै रुपमा आएको थियोl
डा. बाबुराम भट्टराईले दुई पट्टे रुमालले आँखा पुछेको भिडियो पनि आइपुग्योl यो रूने परम्परा स्थापित नै हुने देखेपछि प्रचण्डलाई चित्त बुझेँन। पार्टीमा निराशा छाउछ भन्ने भयोl अत: प्रचण्डपथको जुक्ति आयो- रूँदा रूँदै हास्नुपर्ने - हाँस्दा हाँस्दै रूनुपर्नेl तर रूने काम रोकिएनl रूने प्रथाको विकास पनि प्रचण्डपथ संगै उत्पत्ति भएको थियो तत्कालिनमाओवादीमा।
त्यसपछि त गाँउमा नेताहरु स्वागत भाषणमा पनि रुन थाले। शुभकामना आदान-प्रदान मन्तब्यमा रूनथालेl बिदाई तथा सम्मान कार्यक्रममा पनि रुन थालेl समापन मन्तब्यमा पनि रुन थाले। नयाँ बिद्यार्थी भर्ना अभियान कार्यक्रममा पनि रुन थाले। आमा समूहको समिति गठन छलफलमा पनि रुन थाले। रेडियो नेपालको समाचार सुनेर पनि रुन थाले। मलाई उदेक के लाग्छ भने- उति खेर गीत सुनेर रुने नेताहरू अहिले गाउँको गरिबी देखेर किन रुदैनन्? टुहुरा-टुहुरी र घाइतेको बिलापमा किन आँशु खसाल्दैनन? यिनीहरूको आँशु आजकल कुन नदीको गोहीले बगाउँछ?
...
अँ, प्रसंग अगाडि कै आटोको छ। आटो खान पाइने पक्का-पक्की भएपछि डोब सिउथानिले आफ्नो काँधको राइफल पिँढीको झोकमा बडो जतन गरी झुन्डायो। उमेरले अठार भए पनि काम साठी थिए उ। खुशीले उफ्रदै आटो खाने हात पखाल्न खोला तिर गयो सिउथानि। म बारीमा एक-दुई ओटा मुला उखल्न गएँ। त्यो दिन हामीले आटो कम्ती र मुला बढी खायौँ। त्योभन्दा केहि दिन अगाडि भने मुला कम्ती र मुलाको पात बढी खायौँ। सन्ताउन्न साल तिरको सम्झना हुनुपर्छ यो। म त्यतिखेर विद्यार्थीको जिल्ला कमिटिमा थिए। सिउथानि भने छामामार थियो। जंगलमा पाइने मिठा खाने कुराको नाम सुनाउथ्यो उ- मक्करकाजि, घंगेरु, चुत्रो, ठूलो अमिलो, धकायो साग, रातो च्याउ आदि।
आमाको हातमा आटो भरिएको थालि आइपुग्यो। दुध आयो। घिउ आयो। रायोको साग आयो। सिमिको दाल आयो। भर्खरै आटोमा के हात लगाउँदै थियौ पदम पनि आइपुगेl (हाल विद्यार्थी केन्द्रीय सदस्य किरण समूह) सामूहिक आटो खान पानको थालिमा हात लगाउँदै पदम धेरथोर अंग्रेजी पड्काइहाले- ‘यसरी नै चल्छ त लाइफ’ मैले मुख खोले-‘अंग्रेजी बोलेर लाइफ नभनौ न मित्र, जिन्दगी भनौ क्या जिन्दगी। जुठै मुख भए पनि हल्का ठट्टा भैगयो। साम्राज्यबादको कुरा भयो।पाश्चात्य शब्दको भण्डाफोर भयो। डलरबादको बिरोध भैगयो। निल्न बाँकि मुखको आटो देखिने गरी सिउथानि गललल हास्यो। म हासिनँ। पदम पनि आटो खान ध्यान दिए जस्तो गरी मौन भए।
अन्तत: हाँसोलाई भावनामा परिणत गरेर सिउथनि पनि मुख खोली गए- ‘हैन हाम्रा मानुषी,प्रकाश पनि यसै गरी प्राण धान्दै होलान कि हँ? मैले भने- ‘नयाँ दिल्लीमा कँहा बासि आटो मिल्छ र यार? नयाँ-नयाँ खान्की मिल्छ रे त! खादा होलान नि खसीको ह्याकुला र सुक्खा रोटी। यो पालि भने पदम गलल हासेँ। सिउथानिले नसुने झैँ गरी रेडियो बजायो। उसलाई राति सात बजेको समाचार सुन्न खुब मन लाग्थ्यो।
पछि खुलासा भएको कुरा हो- प्रकाश दाहाल भारतको पन्जाबमा आनन्दसँग अध्यन गरी रहेको कुराI जलन्द्रर भन्ने ठाउँमा आरामसँग घुमफिर गरी रहेको भन्ने कुरा। अनि उता मानुषी पनि नयाँ दिल्लीमा राजनीति शास्त्र पढ्दै रहिछन्। गाँउ घरमा गरिबको सन्तान भने जंगल जंगल दौडी रहेका थिए। यो कस्तो जनबादी सत्ताको परिकल्पना थियो ?
...
हिउँदको महिना थियो। विद्यार्थीको जिल्ला सम्मेलन भएका कारण हजारौ विद्यार्थी थिए। कलिला स्कुले नानीहरूलाई हिउँमा जोगाउन मुस्किन हुन्छ। जुनसुकै धुरीबाट बाटो काट्न चाहेपनि मान्छे डुबाउने हिँउ। यस्तो बेलाको पदयात्रामा मृगको फाल बाहेक अन्य केहि देख्न पाइदैन। रुख ढलेर मान्छेको समूहमा खस्ने सम्भावना हुन्छ। जे होस अलग-अलग बाटोबाट सबै घर पुगेँ। बिच बाटोमा डोब सिउथानि कता हरायो थाहा भएन। बाकिँ रहेका हामी मध्यरातमा ‘मपेस’ आइपुग्यौं।
तीन खर्कौलो मासु रहेछ मपेसमा।मासु बोकाको थियो कि खसीको थाहा भएँन। तर भात भने मोटा चामलको थियो। खाना खाने लाइनमा मैले लालमायालाई देखेँ, (अहिले महिला नेतृ) उनी मसँगै पढ्ने साथी। उनी स्कुलमा सधै प्रथम हुन्थिन। म दोस्रो। उनी आठ कक्षामै पढ्दाखेरिदेखि भूमिगत भइन्। पछि मलाई नेपाली पढाउने गुरुले भनेका थिए- ‘लाममाया त भूमिगत भईछिन, राम्रो पढ्ने मान्छे पढाइ बिग्रियो। बन्दुकको नालबाट त गोली र धुँवा आउँछ, संसारमा सत्ता ल्याउने भनेको कलमले हो।’ अहिले सम्झदा हो जस्तो लाग्छ।
मपेसमा जनवादी अध्ययनको बहस भयो। राजिब घिमिरे ( हाल के.स.) उनी आफ्नो जनवादी प्रवचन दिन्थे। तर दुःखको कुरा अहिले उनको सन्तान मासिक सात हजार तिरेर शहरको बोर्डीङ स्कुलमा पढाउँछन्। बैठकमा उनी यसरि बोल्थे कि मानौं त्यो दिन आइसक्यो। गरिबको दिन आइसक्यो। बैज्ञानिक पढाइ-लेखाइ हुन बेर लाग्दैन। तर देखियो उनलाई पनि। एक दिनमात्रै बाचे नौ लाख तारा देख्न पाइन्छ भन्छन्। अझै के के देख्न पाइन्छ कुन्नि? अहिले महान क्रान्तिकारीहरूसँग नमस्कार फर्काउनलाई हात पनि छैन। तिनलाई सन्चो बिसन्चो सोध्नलाई मुख पनि छैन। रगतको बाढी थामिएपछि थोरै भए पनि दुधको नदी बगेको छ। कटौरा समातेर लामबद्द छन् महान विचारकहरू। हामी घोडाहरू लगाम फुत्केपछि केबल अरब आएका छौ।
...
म घर गएँ। आम रुनु भयो। अब, आमालाई भुलाउन सैदान्तिक बहस गर्ने कुरा भएन। आमासँग कोमल मन र समतल भावना बाहेक अरु के नै हुन्छ र? म सुत्नेकोठामा चेको ग्यभराको फोटो टासेको थिएँ आमा भन्नु हुन्थ्यो-यो गाँजा खानेमान्छे जस्तो देखिन्छ! कुन चोरको फोटो टाँसेको हो? तुरुन्त फोटो हटाउ र मन भए राजा वीरेन्द्रको लगाउ! म केबल लामो हाँसेँ।
हुन पनि हो आजकल कम्युनिस्ट दर्शन एउटा चोरको कथा बनेको छ। लुटेको, फोडेको, मारेको, चोरेकोबाहेक अरु उपमा छैनन् कम्युनिस्टलाई। जे होस प्रचण्ड लुम्बिनी भ्रमण गर्न सक्लान तर उनी बुद्धको नयाँ अवतार कहिल्यै बन्न सक्ने छैनन्।
माओवादी शान्ति प्रक्रियामा आउने गाइ-गुइ थियो म अलि पहिला शहर झरे । अनि क्रमश सबै आउन थाले। गोलस्टार जुत्ताको पाइतालामा नाराबाजी गर्न शहर झर्यौँ। झोलामा झण्डा बाहेक केहि भएन। तर, यो लामो समय रहेन। सामूहिक बसाई गरेका नेताहरू कोठा खोज्न थाले। सामूहिक खानाका अभियन्ताकारहरू होटलमा सुत्न थाले। सुन बुझाएका आजिवन कार्यकर्ता सुनको दोकानमा भेटिन थाले। जंगलमा जन्मेका नानीहरू बोडिङको खेल मैदानमा खेल्न पुगे।
तर दुर्गम पहाडदेखि सुगम तराईसम्म हिमालको खोचदेखि माहाभारतको गल्ली र यी रेगीस्थानहरूसम्म विस्थापित हजारौ गरिबको जुनी उस्तै रह्यो नेता बदलियो देश बदलिएन। घाइते अपाङको घाउ निको भएन। अहिले त, पार्टी अलग-अलग। नेता अलग-अलग। बिचार अलग-अलग। सिदान्त अलग-अलग। कार्यक्रम र आन्दोलन अलग-अलग। अहो!कस्तो क्रान्ति?
लेखक भूमीगत कालका माओवादी विद्यार्थी नेता हुन्।