(सन्तानब्वे वर्षको दीर्घजीवन पाउनु आफैँमा वरदान हो। खोटाङ खार्पामा जन्मेर जिन्दगीभर मास्टरी गरेका ईश्वरीप्रसाद पोखरेलले यो उमेरमा आफ्नो अनुभव समेटेर पुस्तक लेखेका छन्– जीवन एक भोगाइ अनेक। छोरी, बुहारी र नातिनीप्रति आफ्नो र समाजको व्यवहारप्रति उनले पश्चाताप गरेका छन्। प्रस्तुत छ ३ सय १७ पेज लामो पुस्तकका केही प्रसङ्ग)
मान्छेको जीवनयात्रा सरलरैखिक हुँदैन। यसमा कैयौं घुमाव र मोडहरू हुन्छन्। यस्ता मोडमा मानिसले एकखाले विशेष र नयाँ निर्णय लिनुपर्ने हुन्छ। यस्तो निर्णय गर्दा र यी मोड पार गर्दैजाँदा मानिसले कैयौं सही वा गलत निर्णय लिन सक्छ। यस्ता गल्तीहरू केही आफ्नै अज्ञानताले हुन्छन् भने कतिपय आफ्नै पूर्वाग्रह वा निजी दृष्टिकोणका कारण हुनेगर्छन्।
म पनि यसमा अपवाद रहिनँ। यद्यपि जीवनका पाइलापाइलामा सुख–दुःखका अनेकौं भोगाइ रहे, कैयौं गल्तीहरू गरियो जसको सम्पूर्णतः उल्लेख कदापि सम्भव छैन। यहाँ मैले ठानिल्याएका गलतसोच र पश्चातापका त्यस्ता केही प्रमुख विषयलाई संक्षिप्त रूपमा उल्लेख गरेको छु:
छोरीहरूलाई पढाइएन
मेरा चारवटी छोरीहरू छन्। ती लगभग साक्षर मात्र छन्। यसो त त्यो जमानामा सन्ततिलाई पढाउने भन्ने कुरो गौण जिम्मेवारीको कुरो हुन्थ्यो। उसमाथि छोरीलाई पढाउने त कुरै हुँदैनथ्यो। तर, मेरो हकमा, म आफैँ शिक्षक भइसकेको मानिस, जसको जिम्मेवारी समाजमा जागरण ल्याउने अभियान गर्नु पनि थियो, अनुचित गरेको हुँ मैले।
त्यसमाथि श्रीमतीले त बरु घर म जसरी भए पनि थेग्छु, छोरीलाई पढाऔं भनेकी हुन् तर मैले छोरीलाई कन्यादान गरी अर्काका घरमा पठाउनेसम्मको कर्तव्य मात्र ठानें र यसमा दिलचस्पी दिइनँ। गाउँमा माध्यमिक वा उच्च तहका विद्यालय हुँदैनथे। उनीहरूलाई गाउँकै विद्यालयमा पठाइँदैनथ्यो, झन् घरगाउँ छाडेर सदरमुकाम वा बाहिर शहरतिर पठाउने त कुरै हुँदैनथ्यो। मैले पनि त्यसै गरें, गाउँमै भएको विद्यालयमा पनि उनीहरूलाई पठाइनँ।
आज सम्झन्छु, स्कूल जान थालेर रमाएका छोरीहरूलाई स्कूलबाट छुटाएर घरको काममा जोताउने जुन पाप गरें, त्यसको प्रायश्चित कुनै जुनीमा पनि मबाट हुन सत्तैmन।
सामान्यतः त्यो बेलाको चलनै त्यस्तो भनेर सजिलै पञ्छने गरिन्छ छोरीलाई पढाउने सवालमा। जस्तो कि म पनि त्यसै भन्ने गरेर पञ्छन्छु परन्तु आज मलाई यो विषय पश्चातापको विषय भएको छ। छोराहरूलाई प्रवल महत्वाकांक्षाका साथ सकेको खर्च गरेर र ऋणै गरेर समेत पढाइयो तर छोरीलाई भने पखेटा नउम्रँदै अर्काकै घरमा पठाउने अभियानमा लागियो।
शारीरिक र मानसिक रूपले शिक्षा आर्जन गर्ने योग्यता र सीप–कौशलमा मेरा छोरीहरू छोराभन्दा कम थिएनन् तर हामी आमा–बाउले नै वातावरण नदिएपछि उनीहरू बिचरा के गरून् ? धन्न आज सबै सुयोग्य ज्वाइँहरू परेका र छोरीहरू स्वयं नपढे पनि सङ्घर्षशील र दुःखसुख भोगेरै हुर्किएका हुनाले हाललाई प्रत्येकको पारिवारिक स्थिति सन्तोषजनक र समुन्नत छ। उनीहरूको यही समुन्नति नै अहिले सन्तोष लिने विषय हुन गएको छ।
कान्छो छोराको छोरा नभएको प्रसङ्ग
मेरो कान्छोछोरा शेखरका दुई छोरी मात्र भए। यस प्रसङ्गलाई मेरो आत्माले नढाँटिकन राख्न मन लागेकोले अलिकति उल्लेख गर्न खोजेको हुँ। यसरी लामो समयसम्म कान्छा छोराबुहारीका छोरा नभएकोमा हामी बूढाबूढी चिन्तित थियौं।
हाम्रो समाज नै यस्तै हो। वंशको उत्तराधिकारी कम्तीमा एउटा छोरो चाहिन्छ भन्ने अपरिहार्य मान्यता हाम्रो समाजमा छ। म त अझ यस्तो जातीय या लिङ्गीय धर्म, मूल्य र मान्यताप्रति चरम र कठोर आस्था राख्ने मानिस हुँ।
मेरो असन्तुष्टिको छोराहरूले वास्तै नगर्ने भएकोले प्रकट त गर्न सक्तिनथें, परन्तु भित्रभित्रै म यो यथार्थप्रति चिन्तित थिएँ।
हाल आएर त्यस बेलाको मेरो त्यस्तो पछौटे सोचप्रति खेद जागेर आउँँछ। आप्mनै सोचलाई धिक्कार्छु। किनभने मेरा यी नातिनीद्वय स्मृति र श्वेता कुनै पुत्रयुगलभन्दा कम छैनन्।
बरु मिहिनेत गरेर हुर्काएका कैयौं छोराहरूले अभागी बाउआमाको दुर्गति बनाएको देखिएको छ। मेरो यो उमेरमा उनीहरूले गरेको निस्वार्थ सेवा र माया वर्णन गरिसक्नु छैन। मेरो औषधिको मात्रा र समय उनीहरूलाई नै थाह हुन्छ र उनीहरूले नै बेलैमा दिन्छन्। हजुरआमालाई बाहिर जानुपर्यो भने यिनीहरूले नै चिटिक्कि पारिदिन्छन्। हामी बूढाबूढीलाई गफ गर्ने साथी पनि यिनै भएका छन्।
यी त केही उदाहरण मात्र हुन्, हामीप्रति हुने यिनीहरूको समर्पण र सेवाभाव त वर्णनातीत छ, सम्झँदा म भावविभोर हुन्छु। आज, छोरा र छोरीबीचको विभेदको बहस सर्वथा व्यर्थ भइसकेको छ। अब त मेरो आत्माले पनि यो यथार्थ सहज रूपले स्वीकारिसकेको छ, कुनै बलात् अभिव्यक्ति होइन यो।
मेरा यी दुइटी नातिनी र अरु नातिनीहरूसमेतको व्यवहार र सभ्यता सम्झँदा मेरो त्यो बेलाको त्यस्तो सोचप्रति पश्चाताप हुन्छ अहिले, एकखाले पापबोधले पीडित हुन्छु। के गर्नु? मलाई त्यो बेलाको मेरो हुर्काइ, अध्ययन र दीक्षाले समेत छोराको अपरिहार्यताकै विषयमा सिकाएको थियो।
यो लोकमा मात्र होइन, परलोकमा, पितृतर्पण र तरनतारनसमेतमा छोराको अपरिहार्यता सिकाउँदै आएको शिक्षाको प्रमाण–पत्र लिएको मान्छे परें म। यसर्थ, यस सन्दर्भमा मैले दुई खण्डमा दुई किसिमका पीडा अनुभव गरें — त्यसबखत कान्छाका छोरा भएनन् भनेर एकखाले पीडा र अहिले आएर त्यस्तो निकृष्ट सोच पालेर यी निष्कलङ्क नातिनीहरूप्रति अन्याय सोचेको पापको पश्चातापको अर्कोखाले पीडा। खैर, अबको पुस्ताले यस्तो पीडा नभोगून् — यो मेरो सन्देशमूलक उपदेश हो सबैमा।
बुहारीको बुहार्तन
हाम्रो समाजमा महिला र पुरुषबीचको विभेद त मुलुकव्यापी कुसंस्कार छँदैथियो। त्यसमाथि, खासगरी त्यतिखेर हाम्रो गाउँसमाजमा बुहारीको बुहार्तन चर्को हुन्थ्यो। चुलोचौकोदेखि मेलापात र गाउँँबेंसीसम्म ताइको फुरौलो भएर नाच्नुपथ्र्यो बुहारीले। बुहारीको बुहार्तन, आचार वा व्यवहार संहिता अरु जातिभन्दा पनि बाहुन–क्षेत्री र तिनमा पनि तथाकथित घरानिया भनाउँदाको घरमा बडो चर्को हुन्थ्यो।
बुहारीलाई कज्याउने सासूको अधिकारै मानिन्थ्यो। कसैकसैकोमा मात्र सासूबुहारीको समझदारी आमाछोरीको जस्तो हुन्थ्यो नभए अधिकांशतः यो सम्बन्ध अप्रिय हुनेगथ्र्यो।
सासूले बुहारीका र बुहारीले सासूका टिकाटिप्पणी गर्ने, कण्डापछाडि बात मार्ने एउटा संस्कार नै थियो। चारघडी रात हुँदै बुहारी उठिनभने सासूले फलाक्न थाल्थी। उठेर पहिले अगेनामा आगो जोर्ने र त्यसपछि घर, दलान, आँगन बढार्ने अनि लिपपोत गर्ने काम बुहारीले गर्नुपथ्र्यो।
घर लिप्ता अघिपछि सामान्यतः दैला–जस्केला र दलानको पेटी दिनैपिच्छे पोत्नुपथ्र्यो र औसी–पूर्णिमा तथा अरु तिथि वा पर्वमा पूरै घर र आँगनसमेत सबै पोत्नुपथ्र्यो। छोरीहरू छकालसम्म सुतिरहन्थे तर बुहारीले भने यसरी घर–दलान पोतिसकेपछि डोकोमा गाग्री हालेर पँधेरातिर दौडनुपथ्र्यो।
घाँसे डोको र पानी बोक्ने डोको दुईथरीका हुन्थे। पानी ल्याएपछि पनि खोले पकाउने, बाख्रापाठा सार्ने, दूध ख्वाउने, वाच्छापाडाको स्याहार गर्ने, घाँसपात लगायतका काम बुहारीले नै गर्थे। दूध दुहुने, मोही पार्ने, घिऊ खार्ने जस्ता भित्रका र गोठ–मतानका काम साधारणतया पुरुषले गरे पनि घरभित्र र बाहिरको समेत मसिनु र धानेधुने सबै काम बुहारीले गर्थे।
यति गरेपछि घाँस काट्न जाने हो कि दाउरा जाने हो हाङ्ग्रे डोको बोकेर हिंडिहाल्थे। टाकी टिक्न पाउँदैनथे। घाम वा पानीले लोत भएर घाँस वा दाउराको भारी लिएर मध्यान्हमा घर आएपछि पनि टुसुक्क बस्न नपाउने।
बुहारीलाई मीठोमसिनु कमै दिन्थे, कोदाको ढिंडो वा मकैको च्याँख्ला हुन्थ्यो। कराईमा कोदाको ढिंडो र कँसुडीमा मकैको भात सेलाएर कुकुरको नाक जस्तो चिसो भएर बसेको हुन्थ्यो। यसमाथि भिंmगा बसेर उस्तै बैराग। यता मजेरी र चुलैभरि जूठाभाँडाको बजार हुन्थ्यो। यो सबै वातावरणलाई पनि सहेर, पचाएर भोक र थकाइले चूर भएका बुहारीहरू त्यस्तो भात काफल खाँदाभैंm खान्थे, त्यो पनि लामो समयअगाडि नै श्रीमानले खाएर छोडेको जूठो थालमा।
यस्तो भात पनि कतिपय अवस्थामा अघाउँजी हुँदैनथ्यो। दाल वा तिहुन त के, भातै पर्याप्त हुँदैनथ्यो। आधापेट यस्तो खाना खाएर त्यो सम्पूर्ण जूठो चुलो गरेपछि पनि दिउँसोको काममा नारिइहाल्नुपथ्र्यो।
खेतीपाती लगाउने वा उठाउने छ भने सोहीअनुसारको नभएको घाँस, दाउरा जाने, वस्तु–बाख्रा हेर्ने आदि काम हुन्थे। वस्तु–बाख्रा ल्यएपछि पनि सेउला–घाँस आदि काम अटूट हुन्थ्यो। बेलुका भएपछि पिंध्ने वा कुट्ने काम हुन्थ्यो। पिंध्ने वा कुट्ने काम बिहानका राति पनि हुनेगथ्र्यो।
बेलुका सबैले खाएपछि रहेको चाटचुट खान्थे। बुहारीलाई नै भनेर बाहान लाइँदैनथ्यो। भात खाएपछि भाँडा माभ्mने, जुठोचुलो गर्ने, चुलोचौको र मजेरी लिपपोत सकेपछि पनि टुसुक्क बस्न पाउँदैनथे। सासू र नन्दआमाजुका खुट्टामा तेल लाउनुपथ्र्यो।
धेरै नन्दआमाजू भएका घरमा बुहारी पर्नु अभागै मानिन्थ्यो। बुहारीले बोल्ने, हाँस्ने, हिंड्ने, लुगालाउने, सुत्ने, खाने आदि कुरामा एकप्रकारको अघोषित आचार र तरिका थियो। घरमा पनि उत्तिकै लछारो हुन्थ्योभने मेलापात र खेत–बेंसीमा पनि उत्तिकै।
साधारणतया भात पकाउने र खाजा बनाउने काम सासूले गर्थे र छोरीहरू भएका घरमा एकसरो काम उनीहरूले गर्थे। छोरीबुहारी घाँस काट्न सँगै गए भने पनि जाँदा छोरीका रित्ता डोका बुहारीले बोकिदिने चलन थियो। धेरै बुहारीहरूमा सामान्यतः कान्छी बुहारीको बुहार्तनको भार बढी हुन्थ्यो।
सासूले पनि बुहारीहरूमा उनीहरूको पुख्र्यौली हैसियत र पृष्ठभूमि तथा पेवाको मात्राअनुसार बुहारीलाई हेला गर्ने वा माया गर्ने कुरामा होचोअर्घेलो गर्थे। छोरा पाउने वा नपाउने यथार्थको आधारमा पनि बुहारीप्रतिको विभेद दर्शिन्थ्यो। छोराछोरी हुने बुहारीले दूधखुवाउने वा नानी फुल्याउने बहानामा अलिक आराम गर्थिन्।
श्रीमान् घरैमा भएका बुहारीहरूमा एकखाले अनुराग र घरप्रतिको लगाव भएको हुन्थ्यो भने श्रीमान परदेश हुने बुहारीले कडा कष्ट खेप्नुपथ्र्यो। यसो त कतिपय घरमा आप्mनै श्रीमानले पनि हेला गरेका कैयौं घटना हुन्थे। कतिपय घरमा बुहारीले सासूको खोइरो खनेको व्यवहार पनि देखिन्थ्यो।
बुहारीको यो बुहार्तन र विभेद सम्पूर्ण महिलामाथिको विभेद हो र यसैको परिणामस्वरूप भविष्यमा सासू भएपछि यिनै बुहारी फेरि आफ्ना बुहारीमाथि यो बुहार्तन थोपर्थे र यो श्रृङ्खला पीँढीदरपीँढी चलिरहन्थ्यो।
(अघिल्लो शनिवार प्रकाशितजीवन एक भोगाइ अनेक पुस्तकको अंश)