आत्मकथा लेखन एक हिसाबले सिनेमा निर्माणजस्तै हो। आत्मकथा लेख्ने मानिसले यसै पनि जीवनको लामो हिस्सा तय गरिसकेका हुन्छन्। मूलघटनाहरू मानिसको जीवनको फरकफरक कालखण्डमा हुने हुन्। कतिपय यी घटनामाथि मानिसको नियन्त्रण हुन्छ। कति घटनाले मानिसको जीवनलाई नै नियन्त्रण गरिदिन्छन्। नयाँ मोड दिन्छन्।
आत्मकथा लेखकको सुविस्ता के हो भने, वर्तमानमा उभिएर उसले ती घटनालाई हेर्छ, अर्थ लगाउँछ र एउटै कथामा तिनलाई बुन्छ।
फरक कालखण्डमा भएका ती घटना जीवनका मोड र भोगाइ एउटै कथामा उनिएपछि सजीव भएर आउँछन्, पट्यारलाग्दा सिनेमा सुटिङका सिन एउटै ठाउँमा राखेर रोमाञ्चक सिनेमा बनाएजस्तै।
अठारौं शताब्दीका प्रसिद्ध बेलायती लेखक, साहित्यकार स्यामुयल जोन्सनले लेखेका छन्, ‘कुनै मानिसको जीवनी सबैभन्दा राम्ररी लेख्ने ऊ आफैंले हो।’
आत्मकथामा मानिसले आफ्नो भावना, सपना र आरोह–अवरोह, घटना र जीवनका छिद्रहरूलाई जति मसिनो गरी केलाएर लेख्न सक्छ, त्यसरी अर्को व्यक्तिले लेख्न सम्भव छैन।
पाठकका लागि भने आत्मकथा पढ्नु भनेको सम्झौता गर्नु हो।
आत्मकथामार्फत् मात्रै मानिसले अर्को व्यक्तिको जीवनका छिद्रमा प्रवेश पाउँछ। तर, कुन छिद्रमा प्रवेश दिने र कुनमा निषेध गर्ने भन्ने निर्णय लेखक आफैंले गर्छ। त्यसैले आत्मकथा मानिसको जीवनको पूर्ण ऐना हैन।
फ्रेन्च लेखक आन्द्रे मौरियो आत्मकथा लेखनका खरा आलोचक हुन्। उनको विचारमा आत्मकथाको ‘नायक’मा आफ्ना असफलता लुकाउने र आफ्ना लागि अप्रिय वा आफ्नो व्यक्तित्वमा दाग लगाउनसक्ने घटना ‘बिर्सने’ विलक्षण प्रतिभा हुन्छ।
रुक्मांगद कटवालको आत्मकथा पठनीय छ। राणा शासनकालमै सर्वस्व हरण गरेर सेनाबाट निकालिएका हवलदारका छोरा सय वर्षभित्रै त्यही सेनाको प्रधानसेनापति बन्नु कम रोमाञ्चक यात्रा हैन। एक हिसाबले नेपाली राज्य र सेनामाथि पूर्वी पहाडको सामान्य कटवाल परिवारले लिएको बदला हो यो।
यो आत्मकथाभित्र झन्डै सय वर्षअघिको पुरातन नेपाली समाजमा आफूलाई मन परेको क्षेत्री केटोसँग विवाह गर्ने एक विद्रोही तथा साहसी नेवार केटीको कथा पनि छ। माइतीबाट पूरै त्यक्त यी महिलाले आफ्ना श्रीमानको असामयिक मृत्युपछि झेलेको कठोर जीवनको सानो पाटो छ। ऐँठन पर्ने अभावबीच पनि ती महिलाले आफ्नो कान्छो छोराका लागि सपना देख्छिन्। उसमा सम्भावना देख्छिन्। छोरालाई फुर्क्याउँछिन्, ‘कान्छो, तेरो त ग्रहगोचर पनि राम्रो छ रे, ठूलो मान्छे हुनुपर्छ बाबै।’
उनी छोरालाई हौस्याउँथिइन्, ‘छोरा ठूलो मान्छे बन्नुपर्छ। घोडा चढेर हिँड्नुपर्छ। डाँकाकै किन नहोस्, सरदार नै हुनुपर्छ।’
छोराको सम्भावनामा उनी आफ्नो दुःख बिर्सिन्थिन्। आमाले भरिदिएको आत्मविश्वास र उनकै सपनाको पखेटा हालेर ‘कान्छो’ ले सानैमा उडान भर्यो। त्यही उडानले कालान्तरमा जंगी अड्डामा प्रधानसेनापतिका रूपमा स्थापित गर्यो।
पूर्व प्रधानसेनापति कटवालको जीवन आफैंमा एउटा तिलस्मी कथा हो। राजा महेन्द्रको पूर्वाञ्चल भ्रमण बेला उनलाई भेट्न शाही सवारीका पछिपछि तीन दिनसम्म हिँडेर सुरु भएको आठ वर्षीय बालकको यो यात्राले आफ्नै बलबुतामा जंगी अड्डाको दुरी तय गरेको हो। जसले यो आत्मकथा पढ्नेछन्, तिनमा त्यसपछि दरबारले कटवाललाई बनाएको भ्रम टुट्नेछ।
लगभग हरेक आत्मकथा आख्यानका नायकजस्तै कटवालले पनि आफ्ना कमजोरीबारे, आफ्ना गल्तीबारे केही लेखेका छैनन्। आफ्नो सार्वजनिक छवि आफैंले लेखेका कुराले धुमिल नहोस् भन्नेमा उनी पुस्तकभरि नै सचेत देखिन्छन्। आफ्ना कमजोरी लुकाउने कमजोरी भने आत्मकथाभरि पोखिएको छ।
...
पुस्तकको सुरुवात कटवालको व्यावसायिक जीवनको सबैभन्दा महत्वपूर्ण कालखण्डबाट हुन्छ। पुष्पकमल दाहाल नेतृत्वको माओवादी सरकारले उनलाई प्रधानसेनापतिबाट हटाउन खोजेको तर असफल भएको त्यो घटना ‘कटवाल प्रकरण’ का नामले नेपालको इतिहासमा दर्ज छ।
वैशाख ६ मा राजीनामा दिन प्रधानमन्त्रीले भनेदेखि उनलाई बर्खास्त गर्ने असफल प्रयास गरिएको वैशाख २० गतेसम्मको समय नै कटवालको जीवनका ‘डिफाइनिङ’ दिन हुन् जसले कटवालको सार्वजनिक छवि निर्माण गरे।
सरकारले बर्खास्त गरेका उनलाई वैशाख २० गते १२ बजे अगावै राष्ट्रपतिले थमौति गरे। कटवाल वैशाख २०, २१ र २२ को रात सेनाको मुख्यालय भद्रकालीमै सुते।
यी सकसपूर्ण १८ दिन (वैशाख ६ देखि २३ सम्म) आत्मकथामा डायरीजस्तै गरी प्रत्येक दिन रोमाञ्चक रूपमा समेटिएका छन्। प्रस्ट रूपमा नखुलाए पनि यो डायरीले धेरै कुरा भनेको छ। प्रचण्ड र बाबुराम जसरी पनि कटवाललाई निकाल्न कम्मर कसेर लाग्दा माओवादीभित्रकै केही वरिष्ठ नेता उनलाई हटाउने पक्षमा नरहेको देखिन्छ।
कटवाल लेख्छन्, ‘हुन त मोहन वैद्य (किरण), कृष्णबहादुर महरा, नेत्रविक्रम चन्द र देव गुरुङ आफूहरू स्पष्टीकरणको पक्षमा नभएको बारम्बार बताइरहनुभएको थियो।’
उनी थप लेख्छन्: ‘हाम्रो नेतृत्वलाई बुझाउन सकिएन ?’ सञ्चारमन्त्रीसमेत रहेका महराले मलाई पटकपटक भन्नुभएको थियो।
माओवादीले मात्र सेनाभित्र खेल्न खोजेको थिएन। माओवादीभित्र पनि सेनाको पहुँच थियो भन्ने देखाएको छ। कटवाल एक प्रसंगमा लेख्छन् : ‘मैले कुरा बुझेँ, माओवादीले मलाई अवकाश दिन बोलाए। एक शुभचिन्तक माओवादी मन्त्रीले यो सम्भावनाबारे जानकारी गराइसकेका थिए।’
प्रचण्डले कटवाललाई हटाउने असफल प्रयासको भोलिपल्टै राजीनामा दिएका थिए। आफ्नो राजीनामा मन्तव्यमा उनले भने, ‘विदेशी प्रभुसँग झुक्नुभन्दा राजीनामा दिन उचित ठानेँ।’ उनको इसारा भारततर्फ थियो।
कटवाललाई उनको पदावधि सकिनु चार महिनाअघि हटाइनु हुन्न भन्नेमा भारत मात्र थिएन, कटवाल स्वयं चट्टान सरी उभिएका थिए। उनी कुनै लोभ, लालच, डर र धम्कीसामु झुकेनन्। राष्ट्रपति, नेपाली कांग्रेस, एमालेको ठूलो हिस्सा, मधेसी पार्टी कोही पनि उनलाई प्रधानसेनापतिबाट हटाउने पक्षमा थिएनन्। भारत पनि कति गहिरोसँग त्यसमा संलग्न थियो भन्ने तथ्य कटवालको आत्मकथामा उजागर भएको छ।
२०६६ साल वैशाख २० गते आइतबार कटवाल प्रधानमन्त्री निवास पुग्छन्। उनलाई अवकाश पत्र थमाउने बालुवाटारको योजना सफल हुन्न। पत्र नबुझी उनी जंगी अड्डा हानिन्छन्।
‘म अफिस पुग्दा सबै पिएसओ बैठक कक्षमा थिए। छत्रमानको नेतृत्वमा उनीहरू सबै मलाई कुरेर बसेका थिए। म पहिला आफ्नो कोठामा गएँ। तीन–चारवटा महŒवपूर्ण कल गरेँ। मलाई अवकाश दिएर कुलबहादुरलाई कायममुकायम सेनापति बनाइएको खबर उनीहरूले पाइसकेका रहेछन्।’
बिहीबार पुस्तक विमोचन क्रममा यो पुस्तकबारे कटवालसँग वार्ता गर्ने अवसर पुस्तक प्रकाशन गृह नेपालयले मलाई जुराइदिएको थियो। मैले कटवाललाई सोधेँ, ‘बालुवाटारबाट जंगी अड्डा पुग्नुअघि नै तपाईंले सबै नेताहरूलाई फोन गरिसक्नुभएको थियो। जंगी अड्डाभित्र पसेर तीन–चार कल कसलाई गर्नुभयो ?’
उनले पन्छिन खोज्दै भने, ‘स्टेट सिक्रेट।’
फेरि घुमाउरो पाराले भारतमा फोन गरेको स्वीकार गरे। तर, उनले फोन गर्नुअघि नै दिल्लीमा कटवालले नियुक्ति पत्र बुझेको सूचना पुगिसकेको थियो, सायद बालुवाटारबाटै।
यसरी देशभित्रका सबै शक्ति र प्रत्यक्ष रूपमा भारत र परोक्ष रूपमा अमेरिका, बेलायत पनि संलग्न थिए कटवाल प्रकरणमा, माओवादीलाई सेनामाथि हस्तक्षेप गर्नबाट रोक्न।
आत्मकथा विधाको सबैभन्दा ठूलो कमजोरी के हो भने, यो म–पुराण हुन्छ। आफूलाई केन्द्रमा राखेर आत्मकथा लेखिन्छ, अनि त्यही घटनाका अन्य पात्र, चाहे ती आफूभन्दा बलिया किन नहुन्, सहायक पात्रमा बदलिन्छन्। कटवालको आत्मकथाको यो १८ दिनको डायरी पढ्दा यस्तो लाग्छ, यो १८ दिने सिनेमाका ‘¥याम्बो’ उनी नै थिए। उनकै वरिपरि अरू सबै पात्र र घटना घुम्थे। अनि उनैले जंगी अड्डामा नेतृत्व परिवर्तनको माओवादी योजना विफल बनाइदिए।
कटवाल १८ दिने सिनेमाका ‘¥याम्बो’ पक्कै होइनन्। भोलि राष्ट्रपतिले पनि आत्मकथा लेखे भने उनले ¥याम्बोको भूमिका आफ्नै लागि सुरक्षित राख्लान्। दिल्लीमा कसैले त्यसै गर्ला।
एउटा कुरा भने हामीले मान्नैपर्छ। कटवाल एक्लैले माओवादीको जंगी अड्डा प्रवेश रोकेका हैनन्। तर, उनी एक्लैले छोडिदिन भने सक्थे। लोभ, लालच, डर, धम्की कुनै एकका सामु उनले खुट्टा टेकेका भए अरूले थाहै नपाई माओवादीले जंगी अड्डामा झन्डा गाडिसकेका हुन्थे।
पाँच वर्षअघिको माओवादी र आजको माओवादीमा आकाश–जमिनको फरक छ। २०६६ सम्म पनि माओवादीमा युद्ध धङधङ बाँकी थियो। सत्ता कब्जा गर्ने महŒवाकांक्षा ताजै थियो। त्यही महŒवाकांक्षाको पाटो थियो, कटवाल हटाउने योजना। सेनामाथि कब्जा जमाएको भए माओवादी सम्पूर्ण सत्ताकब्जामा जान सक्थ्यो।
युद्ध लडिरहेको माओवादी शक्तिभन्दा सत्ता कब्जा गरेको माओवादी शक्ति बढी उत्ताउलो र हिंस्रक हुन्छ भन्ने इतिहासले देखाएको छ। त्यो सम्भावित त्रासदीबाट देशलाई र स्वयं माओवादीलाई जोगाउनेमा कटवालको ठूलो भूमिका छ। जीवनपर्यन्त कटवालको बाँच्ने ‘लिगेसी’ त्यही हो।
...
कटवाल ‘सेनावादी’ पहिले, राजावादी दोस्रो र त्यसपछि मात्रा लोकतन्त्रवादी हुन्।
२०६२÷६३ को समय वास्तवमै नेपाली सेनाका लागि अप्ठ्यारो समय थियो। राजापछाडि हटिसकेका थिए। ‘ड्राइभिङ’ सिटमा पार्टीहरू थिए। उनीहरू राजाका पखेटा काट्न चाहन्थे। नागरिक शासन सदाका लागि बहाल गर्न चाहन्थे। त्यो गणतन्त्रमा मात्र सम्भव हुन्थ्यो।
नेपालमा राजतन्त्रअन्तर्गत नै प्रजातन्त्र अगाडि बढाउने ‘प्रयोग’ दुईपटक असफल भइसकेको थियो। दुवैपटकको शाही ‘कू’ सेनाले राजाको काँध थाप्नाले सफल भएको थियो। त्यसैले सेनाले वैधानिक सरकार र नागरिक सर्वोच्चता जतिसुकै ‘जपे’ पनि सेनामाथि अविश्वास थियो।
त्यसैले, २०६२÷६३ पछि सेनाको ‘संवेदनशीलता’ बारे कसैले खासै चासो दिँदैनथ्यो।
एउटा कुरामा भने नेपाली कांग्रेसको नेतृत्व विशेषगरी गिरिजाप्रसाद कोइराला चनाखो थिए – सेनामा राजनीतिक हस्तक्षेप गरेर नेतृत्व परिवर्तन गर्नुहुन्न।
२०६२/६३ को जनआन्दोलनपछि सेनाका प्रमुख र ‘सेकेन्डम्यान’ (कटवाल) लाई हटाउनुपर्छ भन्ने ठूलो आवाज थियो। परिवर्तनको अनुभूति दिन, जनआन्दोलनमा ज्यान गुमाएकाहरूको सम्मानका लागि पनि सेनाको नेतृत्व बदल्नुपछि भन्ने जिकिर धेरैको थियो। तर, गिरिजाप्रसाद कोइराला सधैं दृढ थिए। उनी भन्थे, ‘हामीले आफ्नो स्वार्थअनुसार सेना चलायौं भने भोलि अर्कोले पनि त्यसै गर्छ। सेनामाथि राजनीतिक हस्तक्षेप देशको हितमा छैन।’
प्रधानसेनापति प्यारजंग थापालाई रुकमांगद कटवालले नै प्रतिस्थापन गर्छन् भन्नेमा उनी दृढ थिए।
कटवालले आत्मकथामा प्रधानसेनापतिमा आफ्नो नियुक्तिको प्रसंगमा आत्मरति देखाएका छन्। दुई ठाउँमा उनले आफूलाई प्रधानसेनापति नबनाए सेनामा विद्रोह हुने भयले राजनीतिक नेतृत्वले उनलाई छान्नुपरेको बताएका छन्।
सेनाको नेतृत्व र वरीयतामा बाहेक अरू कुरामा भने स्वभावतः त्यसबेलाको सरकार धेरै संवेदनशील थिएन। सैनिक मञ्च टुँडिखेलमा माओवादी सेनालाई परेड खेल्न स्वीकृति दिने, पृथ्वी जयन्तीको सार्वजनिक विदा काट्ने, पाकिस्तान र बंगलादेशमा रहेका सैनिक सहचारी हटाउने लगायतका विषय राजनीतिक दलका नेता तथा कार्यकर्ताका लागि स्वाभाविक विषय थिए। बदलिँदो समय र राजनीतिका सन्देश थिए। सेनाका लागि भने साह्रै बिझ्ने भावनात्मक विषय थिए ती।
यी हरेक विषयमा कटवाल राजनीतिक नेतृत्वसँग झगडा गर्थे। कटु बचन बोल्थे। सेनाको ‘चित्त’ दुख्ने यस्ता धेरै निर्णय कार्यान्वयन हुन दिएनन् उनले। त्यसमध्ये सैनिक मञ्चमा माओवादीका सेनाले परेड गर्ने कुरा उनको छातीमा बिझेको थियो। प्रधानमन्त्री तथा राष्ट्रप्रमुख गिरिजाप्रसाद कोइरालासमक्ष विरोध जनाए।
कोइरालासँग चर्काचर्की परेको एउटा संवाद छ पुस्तकमा:
‘टुँडिखेल (सैनिक मञ्च) मा राष्ट्रिय कार्यक्रमबाहेक कहिल्यै कुनै दल विशेषको आमसभा भएको छ ?’ म झोक्किएँ।
उहाँले बुझिहाल्नुभयो।
‘शान्ति प्रक्रियामा आएकालाई किन चिढ्याउनु भनेर हुन्छ भन्दिएको हुँ,’ प्रधानमन्त्रीले भन्नुभयो।
‘सेनाले राज्यका समारोहमा बाहेक दलको झन्डा बोक्ने कसैलाई सैनिक मञ्चमा पाइला टेक्न दिँदैन,’ मैले आफ्नो निर्णय सुनाइदिएँ।
‘शान्ति र संविधानको कुरा छ। राष्ट्रिय सेनाले कसैप्रति प्रतिशोध राख्नु हुँदैन,’ उहाँले मनाउन खोज्नुभयो, ‘सेना अलि सफ्ट भइदिनुपर्छ।’
‘सैनिक मञ्चमा बुट बजार्ने माओवादीको सपना मेरो लाशमाथि टेकेर मात्र सम्भव छ।’
कोइराला जीवित छैनन्। त्यसैले यो संवाद यही शैली र भाषामा भएको थियो कि थिएन जाँच्न अर्को माध्यम छैन। तर, सेनाको सवालमा कटवाल रुखो बोलेका अरू थुप्रै उदाहरण छन्, जुन घटनामध्येका धेरै पात्र जीवित पनि छन्।
राजाकै शासनकालमा सेनालाई आठ किलोमिटरभित्र सीमित गर्ने माओवादी वार्ता टोलीसँगको सहमतिको सबैभन्दा चर्को विरोध कटवालले नै गरेका थिए। मन्त्रीहरूलाई गाली गर्दा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सम्झाउनुपरेको प्रसंग किताबमा छ ः
नारायणसिंह पुन र बद्री मण्डल मेरो बढी हप्काइमा पर्नुभयो। मण्डल चुप लागे पनि पुनले भन्नुभयो, ‘यो राजनीतिक विषय हो, म द्वन्द्व विशेषज्ञको नाताले बुझ्छु।’
‘तपाईंलाई कसले द्वन्द्व विशेषज्ञको पगरी भिरायो, यु आर सिम्प्ली अ हेलिकप्टर पाइलट,’ मैले भनेँ, ‘आठ किलोमिटरको कुरा तुरुन्त खण्डन गर्नुहोस्।’
विवाद अलि धेरै नै भएछ। ‘क्याबिनेट मन्त्रीलाई मेरै अगाडि यसरी गाली गर्दा अलि अप्ठेरो पर्ला कि जर्साप,’ चन्दले शालीन पारामा मेरो सीमाबारे सचेत गराइदिनुभयो।
सायद नेपाली सेना र जवानहरूको अति ख्याल गर्ने भएर होला, कटवाल सेनाका जवानमाझ धेरै लोकप्रिय छन्। माथिल्लो दर्जाका अधिकृत भने उनलाई धेरै रुचाउँदैनन्।
कटवाल जतिखेर सेनाको माथिल्लो दर्जामा उक्लिँदै थिए, त्यो बेला यति सामान्य परिवारको मानिस त्यहाँ पुग्दै पुग्दैनथ्यो। गाउँबाट आएको एउटा सामान्य परिवारको ‘पाखे’ पहिलोपटक त्यति माथि पुगेको थियो। सामान्य परिवेशबाट आएर होला, उनी सिपाहीहरूसँग भने खुब घुलमिल हुन्थे। उनले लेखेका छन्, ‘सिपाहीको श्राप लाग्छ, आशिषले फलिफाप हुन्छ।’ मैले यसैलाई जीवन दर्शन बनाएँ। जिन्दगीमा आजसम्म जे जति पाएँ, जुन मुकाममा म पुगेँ, त्यो सिपाहीहरूकै आशिषले हो।’
कटवालसँग आज सबभन्दा कोही रिसाएका छन् भने राजावादी रिसाएका छन्। माओवादीले एक हिसाबले कटवाललाई माफ गरिसके। कटवाल प्रकरण आफ्नो ‘बेवकुफी’ को परिणाम थियो भन्ने आत्मज्ञान धेरै माओवादीलाई छ। राजावादी भने कटवालप्रति सघन रोष पालेर बसेका छन्।
‘कटवालले राजतन्त्र बचाएन। राजालाई धोका दियो,’ उनीहरूको आरोप छ। ‘पार्टीहरूसँग मिलेर ठूलो लोकतन्त्रवादी भयो, राजतन्त्रप्रति ठूलो गद्धारी ग¥यो’ भन्ने उनीहरूको चित्त दुखाई छ।’
२०६२÷६३ सालको परिवर्तनपछि धेरै राजावादी घनघोर अँध्यारोमा बिलाए। केही बचेका कसैले नदेख्ने गरी ओझलमा थिए। सेनाका प्रमुखका नाताले सत्ताको केन्द्रमा कटवाल मात्र राजावादीका रूपमा बाँकी थिए। उनले राजसंस्था जोगाउन भरमग्दुर प्रयत्न गरे। प्रचण्ड दर्जनौंपटक शशीभवनमा ‘डिनर’ खान आउँथे। कटवाललाई फकाउने उनको ध्याउन्न हुन्थ्यो। ‘हाम्रो क्या केमेस्ट्री मिल्छ। धेरै लामो समयसम्म दाजुभाइ यसरी नै मिल्नुपर्छ,’ उनी भन्थे।
कटवाल भने राजसंस्था जोगाउनुपर्ने तर्क गर्थे। माओवादीलाई पचासौं वर्षसम्म नेपालमा शासन गर्ने ‘फर्मुला’ नै दिएका थिए कटवालले। त्यो फर्मुलाका तीन मुख्य उपायमध्ये एक थियो, राजतन्त्र कायम राख्नुपर्ने।
राजाले दोस्रोपटक शासन हत्याएपछि गिरिजाप्रसाद कोइराला मनले ‘गणतन्त्रवादी’ भइसकेका थिए। जनआन्दोलन सुरु हुनुअगावै हामीसँग कुरा गर्दै उनले शसांक निवास महाराजगन्जमा भनेका थिए, ‘जाने त गणतन्त्रमै हो, तर त्यहाँ कसरी सुरक्षित रूपमा पुग्ने भन्ने मेरो चिन्ता हो।’
२०६२÷६३ सालमा जनआन्दोलन सफल भइसकेपछि माओवादीले देखाएको व्यवहारले भने उनी दिक्क थिए। सरकार छाडेर संविधानसभाको चुनाव बहिष्कार गरेपछि भने उनी माओवादीसँग धेरै सशंकित भए।
कटवाल यसैको सेरोफेरोमा राजतन्त्र कुनै न कुनै रूपमा राख्नुपर्नेमा कोइरालासँग ‘लबिङ’ गर्न थालेका थिए। ‘बेबी किङ’ मा कोइरालालाई सहमत गराएको, तर ज्ञानेन्द्र तयार नभएको उनको आत्मकथामा उल्लेख छ।
कटवाल लोकतन्त्रवादी भने हैनन्। लोकतन्त्रको नागरिक सर्वोच्चताको उनको परिभाषा समयअनुकूल परिवर्तन हुने गरेको छ। माघ १९ को शाही ‘कू’ पछि राजाको शासन टिकाउन यिनी कम्मर कसेर लागे। आफ्नो आत्मकथामा उनले कहीँकहीँ राजालाई खुलेर समर्थन गरेको र राजाको शासन सफल बनाउन प्रयास गरेको भनेका छन्। कहीँ कहीँ माघ १९ को ‘कू’ को समर्थन आफ्ना व्यावसायिक धर्म थियो भनेका छन्। यो विरोधाभाषको जड आजको राजनीतिक परिस्थिति हो। ज्ञानेन्द्र सफल भएको भए उनी फेरि राजाको एकमना शासनको पक्षपाति हुने थिए। एउटा कुरा भने साँचो हो, कटवाल धेरै तिक्ष्ण सैनिक अफसर हुन्। राजाको एकलौटी शासन चल्दैन भन्ने यिनले केही समयमै बुझे। राजतन्त्र यही बाटोमा अघि बढ्यो भने दुर्घटना हुन्छ भन्ने देखे। त्यो बेलासम्म धेरै राजतन्त्रवादी चिरनिद्रामै थिए। राजाको शासन अब सदाका लागि आयो भन्ने भ्रममा थिए।
फेरि पनि लोकतन्त्रको मायाले हैन, राजसंस्था जोगाउनुपर्छ, दुर्घटनामा पर्न दिनुहुन्न भनेर (उनले पहल सुरु गरे। २०६२÷६३ को जनआन्दोलनको ठिकअघि र पछि राजतन्त्र जोगाउन उनले गरेको प्रयत्न इमानदारीपूर्वक आत्मकथामा कटवालले लेखेका छन्।
...
कटवालको आत्मकथामा हामीले बाहिरबाट नदेखेका थुप्रै घटना–परिघटना समेटिएका छन्। पुस्तकमा थुप्रै सूचना छन्। तर, स्वाभाविक रूपमा यो पुस्तकले सबैभन्दा धेरै कटवालको व्यक्तित्वबारे नै बोलेको छ।
आठ वर्षको कलिलो उमेरमा राजा महेन्द्रलाई भेटेरै छाड्ने अभिलाषाका साथ हिँडेका यिनको दृढता माओवादीसँगको अन्तिम लडाइँमा पनि उत्तिकै अटल देखिन्छ। धेरैलाई कटवाल दरबारले बनाएको मानिस भन्ने भ्रम छ। बाहिरबाट हेर्दा हामी धेरैलाई उनको जीवनयात्रा सहज रहेको, दरबारले तय गरिदिएको भ्रम छ। राजा महेन्द्रले ‘टिपेर’ ल्याएको र दरबारले तानेर प्रधानसेनापति बनाएको भ्रम छ। तर, राजा महेन्द्रले दर्शनका लागि कडा ‘सेक्युरिटी’ छल्दै आफू बसेको पालभित्र आएर ‘पढ्न पाऊँ सरकार’ भनी बिन्ती चढाउने एउटा अबोध बालकलाई फर्पिङ स्कुल भर्ना गर्नेबाहेक धेरै केही गरेका हैनन्। अगाडि बढ्नका लागि चाहिने साहस, जाँगर, मेहनत र दृढता कटवालको आत्मकथामा जताततै भेटिन्छ। अन्याय, अझ कसैको हेपाइ नसहने बानी पछिसम्मै जोगाएको देखिन्छ।
तर, कटवालको आत्मकथामा अर्को खाले मानवीय गुणहरूको धेरै चर्चा भेटिन्न। करुणा, इमान, सत्यबारे धेरै लेखेको भेटिन्न। आत्मकथा पढ्दा लेखिएका र नलेखिएका दुवै कुरा पढ्नुपर्छ। त्यसले मात्रै आत्मकथाको हाम्रो बुझाइलाई पूर्णता दिन्छ।
नोटः ढकालको यो लेख शनिबारको नागरिक दैनिकमा पनि छापिएको छ।