मेरा एक मित्र प्रायः भन्छन् ‘जोगी बन्छु ।’ सायद विवाहको झन्झटिलो लफडाबाट मुक्त हुन उनले यस्तो भनेको हुनुपर्छ । यसमा मेरो ठोस धारणा छैन । म भन्छु ‘जीवन संयोग हो, जे जस्तो आउँछ सामना गर्दै जाउँ।’
उनको सन्यासी सोचमा संयोगभन्दा बढी त्याग देख्छु म । गृहस्थी जीवनबाट सन्यास लिनु चानचुने कुरो होइन । थेग्नै नसक्ने प्रेसर हुन्छ । नभाग्न । घर, परिवार र समाज सबै जेलिन्छ यो मामलामा पनि विवाहमा जस्तै । सबैको चाहना र अनुमति कुर्ने हो भने आफैलाई खोज्नुपर्छ ‘म कहाँ छु ?’ भनेर । आफू भेटिनु र मेटिनुको रनभुल्लमा छौं, हामी दुवैजना । उनी त्यागमा जीवन खोज्छन्, म भोगमा।
अब त बेला भैसक्यो, ‘बिहे गर्ने हैन ?’ साथीसंगीले कुराको वीट मार्ने यसैले हो । बुढो पुस्ताले त छोराछोरी कति भए ? भनेरै सुरु गर्छन् कुरो । तरुनीहरुसंग जिस्कौं भने ‘घरकी रिसाउलिन् नि !’ तगारो लगाउँछन् । आमासँग गुनासो छ, ‘राम्रा केटी सबै फुत्किए ।’ बाउलाई छोराले नाक काट्ला भन्ने डर । कसैलाई कसार । दुना, टपरी । कसैलाई जन्ती, भोज भतेर, नाचगान । कसैलाई जमघट, रत्यौली। कसैलाई टीकाटालो । कसैलाई फरिया, लवेदा र कोट । कसैलाई जन्तेबाख्रो । कसैलाई उपहार । केरा, कुराउनी । सबैको आ–आफ्नै रन्को । आफ्नो भने उमेर गैसक्यो।
विवाह एक सामाजिक संस्था । मेरो ‘संयोग थ्योरी’ झन्नै फ्लप । ऊ ‘बिहे गरौं’ भन्थी । म भन्थेँ ‘दिन आएपछि सबथोक हुन्छ ।’ घरमा सबैले भनेको मान्ने आज्ञाकारी छोरो । जसले जे भन्यो ‘ज्यु हजुर’ गर्ने । यसले ‘बदमासी’ गर्दैन भन्ने सबैलाई कन्फर्म । संयोगले ऊसँग भेट भयो । संयोगले लभ प¥यो । संयोगले बिहे । सबैले सोचेको भएन । मैले पनि सोचेकै थिइन ‘जीवनमा यस्तै होला ।’ सबै संयोग । संयोग थ्योरी साबित भयो।
प्रेम गर्नु पाप होइन ! नजानेरै यो सब भयो । आफसेआफ । लाइफमै फस्र्ट टाइम । माया बस्यो, गाढा भयो । कहाँ देखुँ, कहाँ भेटुँ हुने । याद । फोन, च्याट । कसैले केही भन्ला कि ? बाल मतलब भो विस्तारै । एकअर्कालाई चित्त बुझ्यो । सधैं सँगै बस्ने निधो भो । अरुले लख काटे । कुरा गरे । चर्चा चलाए । यस्तो–उस्तो मूल्यांकन गरे । अग्लो–होचो । कालो–गोरो । नचाहिने कुरा पनि गरे । कतिले गिज्याए । कतिले तिरस्कार । कतिले श्राप दिए हुनन् । लाग्दैन मैले पाप गरेँ।
बिहे गर्ने रहर दिन उमेरमा कसलाई नहोला ? यस्तो केटो, यस्ती केटी । यस्ती बुहारी, यस्ता ज्वाईं । यस्ती भाउजु, यस्ती देवरानी, जेठानी । यस्ता भिनाजु, साढु । यस्तो घर, परिवार । सबैसँग एउटा एउटा मन । अलग अलग इच्छा । आफ्नो रहर थाती राखेर कसलाई खुसी पार्ने मैले ? र, कसरी?
मैले ‘आफ्नो लागि’ बिहे गर्ने निर्णय गरेँ । जीवनमा सधैं छनौटको अवसर प्राप्त हुँदैन । बाबु, आमा, दिदी, भाइ, नातागोता । सबै रेडिमेड । छान्न पाइने लोग्ने÷स्वास्नी न हो । सन्तान झनै ईश्वरका वरदान । हुन त ‘एरेन्ज म्यारिज’मा पनि छान्ने अवसर पाइन्छ । तर, माल सीमित । आइटम कम । मोडेल आउटडेटेड । साइज छैन । कलर मन नपर्ने । साँघुरो परिधि । जात, कुल, घराना । चिना, टिपन । भूत, भविष्य सबै जुराउनुपर्ने । यसो गम्दा ‘बिहे कम, खेतीपाती बढी ।’ लमीको प्रतिस्पर्धा, रिसइबी । माछा सानै समाते पनि, पौडी समुन्द्रमै खेलेँ।
प्रेम विवाहको भर हुन्न रे ! मुख बाँधेर ‘लौ खा !’ घरमा बोलचाल बन्द । समाजमा चौबीस घन्टे बैठक–कन्ना पछाडि । खुराफात । सकेको जति हेलाँ । गाली, तिरस्कार । व्यंग्य, प्रहार । झन्डै अछुत । किनकि उनीहरूले भनेको भएन । आफू फेल भए, झटारो अरुलाई । हेरौंला– ‘कसरी गर्दारैछौ ?’ घर निकाला । बहिष्कार । अनि असफल । समर्थन, साथ, सहयोग हुनेसंगको तुलना । अनि कमजोर । कसैगरी वाहवाही कमाए ‘ग्रह दशा बलिया ।’ खप्परमा लिएरै आको । ग¥यो केटाले । गरी केटीले।
बिहे यसरी गर्नुपछ, उसरी गर्नुपर्छ । धुन्धान । पैसा खोज्न सकिन्छ । जग्गा बेच्न सकिन्छ । सरसापट गर्न सकिन्छ । रिन काढ्न सकिन्छ । भनेजस्तो गर्नुपर्छ, एक पटक न हो । जमाना अन्सार । गहना, दाइजो, उपहार । भोज, भतेर । जन्ती, बाजा । ठाँटबाँट, शान । अरुले के भन्लान् ? लहैलहै र उक्साहट । बिहेको भोलिपल्टैदेखि टाउको समाउने मुडमा म पनि थिइन।
बाबुबाजेको इज्जत छोराछोरीले राख्नुपर्छ । बाजेले तीनवटी ल्याए पनि छुट । नातिको एउटै बेइज्जत । इज्जत त निजी हुनुपर्ने । आ–आफ्नो । जसले जे गर्छ त्यसका लागि सोही जिम्मेवार र जवाफदेही । बाबुआमालाई त सन्तानले सम्मान दिने हो । र, राम्रो बाटो हिंड्न सिकाएकोमा धन्यबाद । छोराछोरीको कामलाई सदर गर्ने तिनको कर्तब्य । जन्माएको, हुर्काएको र पढाएको हरहिसाब विहेमा खोज्ने हैन । सन्तानलाई त आशिर्वाद दिने हो । माया दिने हो । र, अघि बढ्न प्रेरणा । उनीहरुले बाबुआमा हुनुको हक खोज्ने हो । र, सन्तानले सदैव त्यसको कदर।
भोलिको के भर ? तर, यसो भन्दैमा अन्धकारको यात्रा कसले पो रोज्ला ? ‘वितल नपरोस् !’ कामनासम्म ठिक छ । मैले पनि उज्यालोतर्फको यात्रा शुरु गरें । जीवनमा लोडसेडिङ् नहोस्!
मानिस सबै समान । मात्र दुई जात । नारा, जुलुस । भाषणबाजी । सशक्तिकरण । मिटिङ, गोष्ठी । बजेट झ्वाम् । फेरीपनि उस्तै– तल्लो, उपल्लो । छुने, नछुने । हुने, नहुने । सोच फरक पर्यो । विचार विपरित । सबैलाई समान ठान्ने म । विभेद गर्ने अरु । मैले सामाजिक क्रान्ति गरें, समानताको पक्षमा । प्रेमको पक्षमा । क्रान्तिका लागि झण्डा बोकिन । आन्दोलन गरिन । र, गरिन चक्काजाम, नेपाल बन्द । चुपचाप गरें ‘अन्तरजातीय प्रेम विवाह ।’ विद्रोहको यो काइदा कस्तो लाग्यो ? चित्त बुझ्यो– समर्थन गर्नुस् । बुझ्दैन बालै भएन।
अन्तमा, म सबैसंग माफि माग्न चाहन्छु कि मैले दमाइदाईको बाजा खोसें, साथीभाईको नाच खोसें, कालिगढको सीप खोसें, भतेर खाने सबैको इच्छा खोसें, कतिको मुनाफा खोसें । जन्तीको भेटी, टोपी । आमा, दिदी, बहिनीको रत्यौली, धोती । काकाहरुको कोटको धोको खोसें । कतिको के के अधुरै राखिदिएं, कतिको रहर खोसें । बाउको नाक खोसें । आखिर सबै चिढिए पनि म खुशी छु । मैले बुझेको जीवन नै सदा खुशी रहनु हो । अल्वेज वी ह्याप्पी!