काठमाडौंमा जन्मिएर थाहा पाउने बेलादेखि रिमोटबाट विदेशी च्यानलमा उत्कृष्ट चलचित्र हेरेका मेरा बहिनीहरुलाई मैले के जवाफ दिने ? के राजधानीमा जन्मनु, विदेशी च्यानल हेर्नु, त्यही च्यानलका राम्रा फिल्म हेर्नु उनीहरूको दोष हो?
-लीलाघिमिरे
कुनै पनि निर्देशकले दर्शकलाई कसरी सिनेमा बुझाउने भनेर तर्क गर्नुभन्दा दर्शकको भावना कसरी निर्देशकले बुझ्ने भन्ने महत्वपूर्ण होजस्तो लाग्छ। कुनै पनि सिनेमा चिनेको निर्देशक, साथीभाइ वा सहकर्मीले बनाएको हो र त्यसलाई हेरेर सहयोग गर्नुपर्छ भन्ने किसिमका सिनेमा बनेसम्म नेपाली सिनेमाले दर्शकबाट माया हैन, पूर्वाग्रह नै पाइरहन्छ।
-विनयगुरागाईं
केही दिनअघि सेतोपाटीमा 'यसकारण चल्दैनन् नेपाली सिनेमा” शीर्षकमा मेरो विचार राखेपछि छापिएका दुई प्रतिक्रियाको अंश हो यो।
विनयजी र लिलाजीले मैले भन्न खोजेको कुरा गलत रूपमा बुझ्नु भएजस्तो लाग्यो। थुप्रैले यस्तो अर्थ लगाउनुभयो। मेरै लेखाइको कमजोरी हुन सक्छ। म स्पष्ट भइन सायद। सायद लेखको शीर्षकले पनि तपाईंलाई त्यस्तो अर्थ दियो होला। तर त्यो लेखबाट मैले “दर्शक”लाई सिनेमा हेरिदिनुपर्यो भनेर गुहार मागेको थिइन।
यदि विनयजीलाई “हाइवे” मेरा साथीभाइले बाहेक कसैले “बुझेनन्” या “मन पराएनन्” भन्ने लाग्छ या उहाँ “उमा”को चर्चा मैले छिरिङरितार शेर्पालाई चिनेको नाताले मात्र गरेको भन्नुहुन्छ भने त्यो भ्रम नपाल्न म अनुरोध गर्छु।
लीलाजी मेरा भाइबहिनी पनि त्यसरी नै हुर्किए। गाउँमै जन्मिए पनि तिनीहरू काठमाडौंमै पढेबढेका हुन्। मेरो घरमा पनि टिभी छ। केबल छ। उनीहरू स्मार्ट फोन बोक्छन्। तर मेरा भाइबहिनीलाई त मैले कहिल्यै आफ्नो भाषाको सिनेमा पनि हेर्नुपर्छ भनेर कर गर्न परेन। उनीहरू विदेशीमात्र होइन्, स्वदेशी सिनेमा पनि राम्रोनराम्रो छुट्याउन सक्छन। म निर्देशक हुनु बर्षौं अघिदेखि उनीहरूले सिनेमा हेर्दै आएका छन्।
विदेशी भाषाको राम्रो चलचित्र हेर्न पाउनु र हेर्नु दोष हुन्थ्यो भने छिरिङरितार शेर्पा, नवीन सुब्बा, भूषण दाहाल, भाष्कर ढुङगाना, अनुप बराल, प्रशान्त रसाइली, अविनाशविक्रम शाह, मिन भाम, निश्चल बस्नेत, अशिफ शाह, मनोज पण्डित, सुवर्ण थापा, प्रचण्डमान श्रेष्ठ, विनोद पौडेल, जोयस पाण्डेहरू चलचित्र निर्देशक नै हुन्थेनन्। यी विदेशी सिनेमाको “एक्सेस”मै हुर्केका हुन्।
यी निर्देशक हुनुमा त्यही “राम्रा” विदेशी सिनेमाको कहीँ कतै प्रभावले हुनसक्ने सम्भावना बढी छ। फरक यति हो, यिनले हाम्रो आफ्नै भाषामा पनि राम्रो सिनेमा बन्नुपर्ने आवश्यकता महसुस गरे। सिनेमा निर्देशन यिनीहरूको रोजाइ हो, बाध्यता होइन । यिनीहरूले “जिम्मेवारी महसुस”गरे। “२५ बर्षदेखि मैले नेपाली सिनेमा नै हेरेको छैन्” भन्ने “गर्व” गर्दै यिनीहरूले पनि अरू पेशा गर्ने सक्थे।
अघिल्लो लेखबाट मैले नेपाली सिनेमाको वर्तमान र भविष्यबारे राज्य र समुदायको ध्यान आकर्षण गराउन खोजेको थिएँ। समुदाय भनेको “दर्शक”मात्र होइन। तपाईंले भनेजस्तै एउटा दर्शकले कुन सिनेमा “राम्रो” छ त्यो छानेर हेर्न जाला। उसको “स्वाद”र “चाहना”अनुसारको । उसले आफ्नो “मनोरंजनको” बारेमा मात्र चिन्ता गर्ला तर समुदायले त्यो भन्दा माथि सोच्नु जरूरी हुन्छ। उसले आफ्नो दर्शकले कुन सिनेमा हेर्दैछ, त्यो सिनेमाले उसको समाजलाई कस्तो विचार या संस्कृति सिकाउँदैछ भन्ने समेत विचार गर्छ। उसले आफ्नो भाषामा (नेपाली मात्र होईन) पनि “राम्रो” सिनेमा बनोस् भन्ने चाहना राख्नुपर्छ। त्यसको लागि प्रयत्न गर्न जरूरी हुन्छ। उसलाई आफ्नो भाषामा “राम्रो”सिनेमा बन्दा र नबन्दा पर्ने असरबारे थाहा हुन्छ। उसले आफ्नो समुदायको परिचय र पहिचानको निर्माणबारे पनि चिन्ता गर्छ। उसले आफ्नो समुदायको रोजगारी र अन्य थुप्रै सवालबारे मंथन गर्छ। उसले आफ्नो समाजका “इस्यू”हरू सिनेमाहरूले उठाओस भन्ने चाहन्छ। त्यसमाथि छलफल र बहस होस भन्ने चाहना राख्छ। उसले समाजको विकासमा सिनेमाले सार्थक भूमिका खेलोस् भन्ने चाहन्छ। राज्य यी सब कुरादेखि अझ माथि हुन्छ। उसको चिन्ता र जिम्मेवारी अझ बढी हुन्छ।
तपाईं दर्शक मात्र हो भने यी तर्कले माने राख्दैन। दर्शकको महत्व छैन भनेको होइन मैले फेरि। दर्शकबिना त सिनेमाको अस्तित्व नै हुँदैन। त्यसमा कुनै दुविधा छैन। तर दर्शक भनेको निर्माण गर्न सकिने कुरा हो। रूचि भनेको परिवर्तन गर्न सकिन्छ।
थुप्रै उदाहरण छन्। दक्षिण कोरिया, चाइना या इण्डियाले नै हलिउड सिनेमासँग कसरी प्रतिष्पर्धा गर्यो। कसरी उनीहरूले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सके। इरानको सिनेमा आज किन विश्व बजारमा बिक्छ।
नेपालभित्रकै एउटा उदाहरण हेरौं ।
तपाईंमध्ये धेरैले गुरूकुलको नाम सुनेको हुनुपर्छ। काठमाडौंमा हुनेले त कम्तीमा एकपटक नाटक हेर्न पुग्नु पनि भएको होला गुरूकुल।
सौगात मल्ल, सरिता गिरि, भोला सापकोटा, सुरेश चन्द, राजन खतिवडा, अरूणा कार्की, कमलमणि नेपाल, घिमिरे युवराज, अनुप बराल, सुनिल पोखरेल, निशा पोखरेल जस्ता नाम सुन्नुभएको होला। उहाँहरूमध्ये कतिलाई सिनेमामा पनि देख्दै आउनुभएको होला। तपाईंहरूको मन पर्ने कलाकारको लिष्टमा पनि पर्छ होला यी नाम।
अहिले काठमाडौंमा नेपाली नाटकको जुन “ग्यालमर”छ। “चार्म” छ। केहि बर्षअघि त्यस्तो थिएन। यो “चार्म” निर्माणमा गुरूकुलको भूमिकालाई त तपाईं नकार्नुहुन्न होला? सके तपाईंलाई समेत नाटक हेर्ने बानी पनि गुरूकुलले नै पारिदिएको हुनुपर्छ।
तर तपाईंले थाह पाउनुभएको छ गुरूकुल कसरी बन्यो, कसरी चल्योर र कसरी त्यो सफलता पायो?
“शुरूमा केशव स्थापित काठमाडौंका तत्कालीन मेयरले छ महिनाको भाडा तिरिदिनुभएको थियो । त्यसपछि केदार शर्माको लेखन रहेको रेडियो नाटक ठुलदिदीको काम गुरूकुलले पायो। साँच्चै भन्नुपर्दा त्यस रेडियो कार्यक्रमले धेरै राम्रो सहयोग गरेको थियो, संगै बीचबीचमा गैरसरकारी संस्थाबाट आउने ससाना नाटक कार्यक्रम त छँदैछन् । गुरुकुलको सफलताको पछाडि एमएसनेपालका टिम ह्वाइटको एकदमै ठूलो सहयोग रह्यो। जस्को कारण गूरुकुल नाटक कार्यक्रम लिएर डेनमार्क जान पायो र त्यसपछि लामो समयको लागि नर्बेको पार्टनसिप पायो। नर्बेजियन सहयोग खासमा निकै ठूलो थियो, जसको कारण गुरूकुल साधनस्रोतले धनिमात्र भएन नेपाली रङ्गकर्मिहरुका लागि कुनै बेला नर्बे पानीपधेरो जस्तो भयो।”
सुरेश चन्द, कलाकार
यसरी गुरूकुलको जग बस्यो। उसले नियमित रूपमा नाटक गरिरहन सक्ने आँट बढ्यो। २५ रूपैंयामा नाटक हेर्न दिन थाल्यो। उसलाई कमाउनै पर्ने बाध्यता भएन। त्यही कुरा उसले नाचघर या प्रज्ञा भवनको हल भाडा लिएर नाटक देखाएको भए गर्न सक्ने थिएन। दुई दुई वटा आफ्नै नाटक घर भएकोले उसले २ जना मात्र दर्शक हुँदा पनि नाटक देखायो। नाटक हेर्न कोही नआउँदा पनि हतासिएन।
“मैले स्थापानाकालदेखि गुरूकुलको मार्केटिङ्ग हेरको हो। शूरूशुरूमा हामिले नाटक देखाउँदा घरघरमा गएर पास बाड्ँथ्यौ तैपनि मानिस नाटक हेर्न आउँदैनथे। प्रचारको समान बोकेर सहरका कुनाकुना हिँडिन्थ्यो। मानिस खुब डाइलग पेल्थे। बिस्तारै हामीले त्रिभुवन विश्वविद्यालयका प्रोफेसर र अन्य शिक्षा क्षेत्रमा काम गर्ने मानिससँग सम्पर्क बढायौं। उहाँहरूको सहयोगले टिकट काटेर नाटक हेर्ने दर्शकको संख्या बढायो। त्यसअलवा मिडियाका ब्यक्तिगत साथीले गुरूकुलको सफलताको लागि पुर्याएको योगदानको त तपाईं पनि साक्षी हुनुहुन्छ। त्यसबेला यस्तो माहोल बन्यो कि गुरुकुललाई सबैले सहयोग गर्न चाहन्थे। पछिपछि आएर मानिसले टिकट मिलाइदिनुसन भनेर सोर्स लगाउने दिन पनि आए। त्यो एकदमै ठूलो फड्को भैदियो।”
सुरेश चन्द, कलाकार
एउटै नाटक सयौं पटकसम्म मंचन भए गुरूकुलमा। धादिङदेखिका दर्शक नाटक हेर्न आएको भेटेको छु।गुरूकुलले नाटकको दर्शक आफैंले निर्माण गरेको हो। नयाँ तथा पुरानो पुस्तामा नाटक हेर्ने बानी बसाईदियो। त्यसले गुरूकुललाई मात्र फाईदा पुगेन। चारै तिर नियमित नाटकहरू हुन थाले। सिल्पी, मंडला थिएटर जस्ता नयाँ समुहहरू आए। पुराना समुहहरू जुरमुराए। जिवन्त भयो नेपाली नाटक। नेपाली नाटक हेरेर आउनु पनि “शान”को कुरा हुन थाल्यो। नेपाली चलचित्र उद्योगले नयाँ कलाकार पायो। समाजले धेरै राम्रा नाटकहरू पाए। गहन बिषयहरूमा छलफल र बहसहरू भए। नेपाली समाजको परिवर्तनको आन्दोलनमा ती कुराहरू काम लागे। सहिषुष्ण समाज निर्माणमा नेपाली नाटकको निक्कै ठूलो योदान बन्यो।
तर यी सब गुरूकुलले राम्रो नाटक गर्ने कारणले मात्र सम्भव भएको होइन। सुनील पोख्रेल र अनुप बराल दाइहरूको नाटक निर्देशनको कौशल र सौगात मल्ल, सुरेश चन्दलगायतका कलाकारहरूको लगनले मात्र सम्भव भएको हैन, गुरूकुललाई गुरूकुल बनाउन। थोरै भए पनि तत्कालीन नगरपालिकाको, थुप्रै व्यक्ति, संस्था र मिडियाको सहयोगले सम्भव भएको थियो। सबैभन्दा महत्वपूर्ण थियो, नाटक देखाउने “आफ्नो घर” जुन नगरपालिकाले ६ महिनाको भाडा एकै पटक नतिरिदिएको भए सुनिलदाईलाई कलाकारहरू लिएर त्यहाँ बस्न आँट आउने थिएन।
नेपाली नाटक हेर्ने दर्शकनै छैन्। कसैले मनपराउँदैन नेपाली नाटक भनेर सुनिलदाई अरू नै “व्यपार” तिर लाग्नु भए यो परिवर्तन देख्न सक्ने थिएनौ हामीले। न त अरूले पहिला राम्रो नाटक बनाएर देखा अनि हामी हेर्न आउँछौ भनि बसेको भए, यो परिवर्तन ल्याउन सम्भव थियो।
दर्शकले अहिले के मनपराईरहेकाछन् भन्ने महत्वपुर्ण होईन।हाम्रो समाजको लागि कस्तो सिनेमा सुहाँउदो हो भन्ने महत्वपुर्ण हो। हाम्रो सिनेमाको छुट्टै पहिचान हुनुपर्छ कि पर्दैन भन्ने महत्वपुर्ण हो। हाम्रो सिनेमाले हाम्रो सवालहरू बोक्नु पर्छ कि पर्दैन भन्ने महत्वपुर्ण हो। सिनेमाले बहस छलफल उठाउनु पर्छ कि पर्दैन भन्ने महत्वुपर्ण हो। यदि यि कुराहरू हामी सहमत हुन सक्छौं भने परिवर्तन असम्भव छैन।
परिवर्तन निर्देशक र निर्माता एक्लैको घर जग्गा बेचेर सम्भव छैन्। राज्य र समुदायले आफ्नो हिस्सादारी देखाउनु पर्छ। दर्शकको रूची फेर्न गारो होला तर सकिन्छ । दर्शकलाई हाम्रै सिनेमा हेर्नलाई बानी पार्न सकिन्छ।
चलिचत्र विकाश बोर्डले आफ्नै अफिस घरबाट परिवर्तनको थालनी गर्न सक्छ। अग्रज यादब खरेल दाईको नेतृत्वमा बनेको बोर्डको त्यो बिल्डिङको ग्राउण्ड फ्लोरमा एउटा थिएटर छ। बोर्डले त्यो थिएटर “राम्रो प्रस्ताव” लिएर आउने फिल्मकर्मीहरूको एउटा समूहलाई हस्तान्तरण गरेर परिवर्तनको थालनी गर्न सक्छ। सँधैको लागि दिन सक्दैन भने पनि १५ बर्षको “लिज”मा दिन सक्छ। त्यसपछि बोर्डले फिल्म सिटीको नाममा डाँडाहरू चहार्न छोडेर बजेटले भ्याएसम्म विभिन्न शहरहरूमा थप सामुदायिक सिनेमा घरहरूको निर्माण गर्नसक्छ। तर कुनै पनि सिनेमा घर बोर्ड आफुले नचलाई स्थानिय चलचित्रकर्मीहरूको सहकारीलाई दिन सक्छ संचालनको लागि ।
हरेक नगरपालिकाले आ(आफ्नो नगरपालिका भित्र भएको सभाभवनहरूमा, या त्यो जग्गामा या अन्य कुनै उपलब्ध जग्गा या घरमामा स्थानिय फिल्मकर्मीहरूको सहकारीलाई सिनेमा घरहरू बनाएर चलाउन आह्वान गर्न सक्छ। सिनेमा घर बनाउन नगरपालिकाले रिन दिन सक्छ या त्यस्तो श्रोत हामीले स्थानीय स्तरमा खोज्न सक्नु पर्छ। सिटि र बोर्डले केहि बर्षको लागि सिनेमा घरबाट नाफा खोज्नु हुँदैन। म ठोकुवा गर्छु त्यो घाटाको व्यपार चाहिं हुनेछैन।
काठमाडौं र देश अन्य ठाउँमा भएको म्युजियमहरूसँग पनि टन्न स्पेस छ। उसले पनि सिनेमा देखाउने सानो सानो भए पनि थिएटर बनाउन सक्छ। आफुले चलाउन सक्दैन भने स्थानिय फिल्मकर्मीलाई राम्रो योजना लिएर आउन आह्वान गर्न सक्छ।
यस्तो सिनेमा घरहरूमा नेपाली मात्र सिनेमा देखाईनु पर्छ भन्ने छैन्। र, अहिले भईरहेको “कर्मसियल” सिनेमा घरहरूलाई ईग्नोर गरिनु पर्छ भन्ने कदापी होईन्। अल्टिमेट उदेश्य भनेको क्युएफएक्स जस्ता कुनै पनि कमर्सियल हलको स्क्रिन नेपाली सिनेमाले “कब्जा” गर्ने नै हो। सिनेमा अहिलेको जसरी नै या अझ राम्रोसँगले कर्मसियल हलहरूमा रिलिज गरिनु पर्छ। तर सँगसँगै सामुदायिक हलहरूमा पनि प्रदर्शन गर्न पाईयो भने अहिलेको थुप्रै समस्या समाधान गर्न सक्छ त्यस्ले। कर्मसियल हलहरूमा पैसा कमाई नै पर्ने बाध्यता हुन्छ। उसको छनोटमा पैसा कमाउने खालको सिनेमा बढी पर्छ। त्यसैले पछिल्ला नेपाली चलचित्रहरूले जति नै प्रसंसा पाएपनि त्यहाँ “टिक्न” सकेनन।सामुदायिक हलमा गुरूकुलको आफ्नो थिएटरको जस्तो “फ्रिडम” हुन्छ। स्क्रिन कम भएकाले विहानको एउटा सोमा चित्त बुझाउनु पर्दैन् “सार्थक” नेपाली सिनेमाले। त्यहाँ त्यस्ले “डेडिकेटेड स्क्रिन” पाउन सक्छ। कतिपय पुराना सिनेमाहरू फेरि पनि देखाईन सक्ने छन्। समुदायमा आधारित फरक किसिमको मार्केटिङ सिनेमा घरहरूले अपनाउन सक्छन। पहिलो कुरा त फिल्मकर्मीहरू एक ठाउँ मिलेर काम गर्ने वातावरण दिन्छ त्यस्तो सिनेमा घरले। उनीहरू समुदायको नजिक पुग्नेछन्।विस्तारै गुरूकुलले नाटक हेर्न बानी पारे जस्तो यि सिनेमाले पनि नेपाली दर्शक तान्न सक्छ।
त्यस हलमा सार्थक विदेशी सिनेमा पनि देखाउनु पर्छ। त्यस्ता कयौं चलचित्र नेपाल आई नै पुग्दैन्। जुन हाम्रो समाजले हेर्न जरूरी छ। ईण्डियाकै कुरा गरौं न ( “पान सिंह तोमर”को चर्चा नेशनल अवार्ड जितेपछि नेपालसम्म आईपुग्यो। तर सिनेमा अझै पनि पर्दशनमा आएन। त्यस्ता अन्य कयौं सिनेमा छन्।
कतिपय ठाउँमा सक्ने समुदायहरूले त राज्यको सहयोगको बाटो नहेरी आफैंले सहकारीमा आधारित रहेर सामुदायिक सिनेमा घरहरू सुरू गरे हुन्छ। अमेरिकामा धेरै जस्तो यस्तो सिनेमा घरहरू बार्षिक सदश्यको पैसाले चल्छन्।त्यो मोडेल अपनाएपनि हुन्छ।
यस्ता यन्य थुप्रै कुरागर्न सकिन्छ,जसले हामीलाई दर्शकको रूची परिवर्तन गर्न सघाउन सक्छ। सक्ने,युनिभर्सिटी, स्कुल, कलेजहरूले कम्तिमा हरेक महिना निर्देशकको उपस्थितिमा एउटा सिनेमा आफ्नो विद्यार्थीलाई देखाएर छलफल गराउन शुरू गर्न सक्छ। यस्तो कार्यक्रम बर्षौंसम्म गर्न पुग्ने गरि विभिन्न बिषयका राम्रा चलचित्र छन् हामीसँग। एउटा टिचररप्रोफेसरको कयौं लेक्चरहरू भन्दा एउटा सिनेमा प्रभावकारी हुन्छ, विद्यार्थी विवेक बढाउनको लागि। यसले विद्यार्थीलाई त फाईदा पुग्छ नै, सिनेमा उद्योगलाई पनि मद्दत पुग्छ।
काठमाडौ केन्द्रित चलचित्र महोत्सवहरू अरू सहरमा पनि विस्तार गर्न सकिन्छ।
तपाईंले मान्नु हुन्छ होला, १३ बर्ष अघि छिरिङरितार शेर्पाको मुकुण्डो बन्दा र अहिलेको दर्शकमा सिनेमा चेतनामा निक्कै फरक परेको छ। सानै संख्यामा भएपनि सिनेमा फगत “मनोरंजन” भन्दा माथिको कुरा हो भनेर मान्नेको जमात बढेको छ। काठमाडौंको फिल्म महोत्सवहरूको निक्कै हात छ यसमा। कनकमणि दिक्षित, बसन्त थापा, रम्यता लिम्बु, नबिन सुब्बा लगायका ब्यक्तित्वहरूले प्रयास नगर्नु भएको भए यो परिवर्तन सम्भव थिएन। फ्रान्सेली केन्द्र, रसियन कल्चर सेन्टर, ब्रिटिश एम्बेसी, गोथे फिल्म ईच्स्टिच्युट लगायता संस्थाहरूको पनि ठूलो योगदान छ। यस्ता प्रयासहरू अझ बढाउन सकिन्छ। फैलाउन सकिन्छ।