स्कूल पढ्दा देखिको पत्रपत्रिका पढ्नै पर्ने बानी थियो आफ्नो। दूलो परेका जुत्ता ज्यूँ का त्यूँ राखेर पनि पत्रिका पढ्नै पर्ने अनि पेटमा सारङ्गी बजेको बेवास्ता गरेर पनि पत्रपत्रिका किन्नै पर्ने। बी.ए.पढ्दाताका एकजना साथी थिए। पत्रिका पढ्न ऊनी पनि सौखिन तर म जत्तिको होइन। उनलाई नियमित जस्तो पत्रिका पढ्न दिन्थें तर आफूले पढिसकेपछि मात्रै। आफूले नपढी यिनलाई दियो भने त विहान दिएको पत्रिका साँझतिर मात्रै पढ्न पाइन्थ्यो। किनभने पत्रिकाको नाम देखि उनको पत्रिका पढाई शुरू हुन्थ्यो र अन्तिम पातोको अन्तिम शब्दमा पुगेर मात्रै टुंगिन्थ्यो। मतलब पुरै पढ्थे। कुनै नछुटाई। केही नबिराई।
शायद बुझेरै पढ्थे। बेलाबखत हुने विवाद र बहसमा यसको झल्को पाइन्थ्यो। हेडलाइन/समाचार, लेख/रचना/विश्लेषण/टिप्पणी, बिज्ञापन,वर्गीकृत विज्ञापन, टेण्डर नोटिस, खेलकुद, अर्थ/वाणिज्य, साहित्य, मनोरन्जन इत्यादि केही नै बाँकी राख्दैनथे। पैसा परेको चीज हो खेर फाल्नु हुन्न झैं गरेर पढ्थे। अथवा मैले परीक्षामा टप गर्नु पर्छ सबै नै पढ्नुपर्छ भन्ने स्टाइलमा पढ्थे। अझ अचम्मको कुरो- पूरै पढिसकेपछि पत्रिका मलाई फिर्ता दिदै भन्थे 'खास केही रहेनछ।' खास के खोज्थे कुन्नि पत्रिकामा !
उमेरले त्यस्तै पचास नाघेका अर्का मित्र छन्। ऊनी पत्रिका पढ्न माग्दै माग्दैनन्। नमागिकन म पनि दिंदै दिन्न। तर आफू यसो पढ्न थाल्यो मेरै पछाडी मैं संग टाँसिएर मैले पढेकै सामग्री वा त्यस वरिपरिकै कुनै कुरा पढिराखेका हुन्छन् | पत्रिका मेरा हातले समाएको छ पढ्ने पाठक भने दुई जना। पत्रिका आफैले समाएकोले पढिसकेको पेज पल्टाउन खोज्छु 'एकैछिन ल ' भन्दै त्यो पेजबाट मलाई ढिम्किनै दिंदैनन्। फेरि पल्टाउन खोज्छु उही। अब त पढिसके होलान बुढाले भनेर फेरि पल्टाउन खोज्छु फेरि त्यही। 'ल त तपाईं पढिसक्नुस् अनि मलाई दिनुस् है' भनेर पूरै पत्रिका उनैलाई छोडिदिंदा 'हैन पर्दैन भाई खास केही छैन मैले पढिसकें' भनेर लिनै मान्दैनन्। जे होस् अब ढुक्कले पढ्न पाइने भो भनेर अर्को तिर लागेर अर्कै पेज पल्टाउँछु। आफ्नै धूनमा पढिरहेको म जब पेज पल्टाउन खोज्छु तब 'एकछिन है ' को आवाज आइहाल्छ। यिनको समस्या के हो मैले बुझ्न सकेको छैन। नेपालीमा एउटा चर्चित आहान छ- दिंदा नखाने राती कोल चाट्ने। ठ्याकै त्यही उखान चरितार्थ गरिरहन्छन् यिनले।
टोलमा अर्का मित्र छन्। ऊनी चाहिं आक्कल झुक्कल पत्रिका किन्छ्न्। गोरखापत्र चाहिं सधैंजसो किनेकै हुन्छन -त्यसमा पनि बुधबारको चाहिं जसरी पनि किन्छन्। सरकारी जागिरका आकाङ्क्षी हुन्। सिजनै पिच्छे लोकसेवा दिन्छन्। अरू पत्रिका किन्दै किन्दैनन् भने हुन्छ। सधैंजसो उनको पत्रिका म पढ्छु भने मेरो ऊनी पढ्छन्। एक किसिमले पत्रिका पढ्ने मामिलामा हामी बीच पारस्परिक परनिर्भरता छ। तर समस्या कहाँनेर छ भने मैले उनको पत्रिका सही सलामत फर्काएको हुन्छु भने उनले मेरो पत्रिकाका उनलाई मनपरेका कुराहरू, आवश्यक विज्ञापनहरू, जागिरका सूचनाहरू इत्यादी काटेर करिब करीब चाल्नी जस्तो बनाएर मलाई फिर्ता गर्ने गर्दछन्। यो बाहेक अरू गुणहरू यिनका राम्रै भएकोले सहन वाध्य छु।
मेरो पहिलाको अफिसमा जागिर खाने अर्की मित्रलाई पनि खूब पत्रिका पढ्नुपर्ने। ऊनी काइदा काइदाका रोमान्टिक गफ गरेर हँसाउँथिन्। सारमा मान्छे रमाइलै थिइन्। तर पत्रिका पढ्न दियो फर्काउन जान्दिनथिन्। पढने स्टाइल पनि उनको अलिक अर्कै थियो। शुरूमा राशिफल भएको पाना फुत्त निकाल्यो राशिफल हेर्यो। अनि अर्को पाना निकाल्यो हेर्यो। यसैगरी सबै पेज छुट्टाछुट्टै निकालेर पढ्ने उनको बानी थियो। एकपल्ट उनलाई बिहान पढ्न दिएको पत्रिका मलाई दिउँसो एकदमै जरूरी भो। एउटा सूचना हेर्नु थियो। सरासर उनको कोठामा गएँ। भनें- 'ऋतूजी खै मेरो पत्रिका दिनुस् त एउटा सूचना हेर्नु पर्ने भो।' उनले पत्रिका त दिईन् तर भित्रको त्यो सूचना नभएको एउटा खण्ड मात्रै पो दिईन्। अरू पेज खै त भनेको त फ्रन्टपेज लेखामा हिरण्य सरले लानु'भा छ रे अर्को प्रशासनमा सुम्निमा म्यामले लानु भा'छ रे अनि बीचको पाना चाहिं कृष्ण दाइले बाहिर घाम ताप्दै पढिराख्नु भा'छ रे अनि अरू कता कता रे कता कता। झोंक चल्यो। अरू बेला राम्री लाग्ने ऊनी कुरुप लागेर आयो। रिसाउँदै हिंडें।
असाध्यै मित्रवत् सम्बन्ध भएका अर्का एक साथी पनि मसंग पत्रिका पढ्न मागिरहन्छन्। दुई चारवटा पत्रिका मेरो ब्यागमा प्राय: टुट्दैनन् त्यसैले दिन्छु। तर उनको एउटा अद्भूत खरावी छ। उनलाई दिएको पत्रिका सितिमिति फिर्ता आउँदैन। अण्ठाउँदा अण्ठाउँदै उनले पत्रिका घरै लैजान भ्याउँछन्। त्यो पत्रिका पढ्न पाइन्न। एक पटकको कुरा हो- यिनलाई दिएको पत्रिकामा मसंग सम्बन्धित कुनै जरूरी समाचार थियो। सरर्र पढ्ने भन्दा पनि कटिङ् गरेरै राख्नुपर्ने समाचार थियो त्यो। पछि गरुलाँ भनेर अल्छी गरियो। पत्रिका उनको हातमा पर्यो। त्यो दिन पनि ऊनी अफिसबाट दिउँसो चाँडै घर गएछन्। मेरो पत्रिका लिईओरी। फोन गरें- ल्याइदिनु है भनेर। 'हुन्छ' को जवाफ पाए पनि पत्रिका पाईंन।
शायद उनले पनि कतै मिस गरे हुन् त्यो पत्रिका। म ऊनीसंग जति रिसाएपानी उनमा त्यसको प्रभाव परेन। मैले अन्तैबाट त्यो पत्रिकाको त्यो समाचार ल्याएँ। त्यसको करीब दुई महिना पछि उनले अफिसमा आज घरमा सत्यनारायणको पूजा ला'को प्रसाद खाउँ भन्दै सेल बाँडदै थिए। संयोगबस प्रसाद खाने अन्तिम मनुवा म नै परेंछु। मतलब पुरै झोला नै मलाई दिए। पत्रिकामै प्याक गरेको रहेछ सेलरोटी। खाइयो। बडो मीठो लाग्यो। खाँदा खाँदै यसो सेलरोटी प्याक गरेको पत्रिका हेर्छु त उही दुई महिना अघि मैले खोजेर नभेटाएको समाचार पो छ। मीठो सेलको स्वाद अलिकति घट्यो।
एकपल्ट सार्बजनिक बसमा यात्रा गर्दै थिएँ। सीट खाली थियो। ओगटीहालें सीट। ब्यागबाट झिकिहालें पत्रिका। मेरो सीटको छेउमा एकजना विद्वान् जस्ता देखिने मान्छे रहेछन्। मैले आफूले पढ्न ठिक्क पारेको पत्रिका एकचोटी सरर्र हेडलाइन हेरेर दिईहाल्छु भनेर उनले मागे। दिएँ। ऊनी पत्रिका पढ्न थाले। म यसो चिहाएर पत्रिकाका भँगेरा-टाउके अक्षर हेर्न थालें। बस्दै जाँदा थाहा भो प्रत्येक समाचार पढ्नु अनि त्यो समाचारको बारेमा कमेन्ट गर्नु यिनको बानी रहेछ। ल हेर्नुस् त यस्तो उस्तो भन्दै ऊनलाई आफ्नो टिप्पणी अरुलाई सुनाउनु पर्ने रहेछ।
श्रोताको अभाव पनि पूर्ति मैले नै गरिदिएँछु। अझ पत्रिकै दिने श्रोता भएपछि त के चाहियो र ? ऊनीसंगै झन्डै झन्डै टाँसीएर बसेकोले आफूलाई मन परेपनि नपरेपनि उनको कुरालाई सुनिदिनै पर्यो। हो हो भन्नै पर्यो। करीब आधा घण्टा पछि म उक्त बसबाट ओर्लिने तरखर गर्दै थिएँ उनको भने अत्तो पत्तो थिएन। झर्ने बेलामा यो पत्रिका मै राखुँ है भनेर बडो विनम्रतापूर्वक भने। के गर्ने अब ! दिउँ आफूले पढ्न किनेको पत्रिका पढेकै छैन। नदिउँ जाबो पाँच रुपियाँको पत्रिका माग्दा के नदिनु। आआआ भनेर दिएँ। मेरो सीटमा बस्न अर्को मान्छे आइपुगे। ती नव श्रोतालाई मनमनै धैर्य धारण गर्ने शक्ति आओस् भन्दै म ओर्लिएँ।
२०४७ लगत्तै पछि नेपालको राजनीति काँग्रेस र कम्यूनिष्ट भनेर खूब विभक्त भयो। बत्तीसै लक्षणले युक्त भएपनि अनि सारा दुर्गुणबाट मुक्त भएपनि कांग्रेसकी छोरी कम्यूनिष्टले विहे गर्दैनथ्यो भने कम्यूनिष्टकि छोरी काँग्रेसकि बुहारी हुन पनि गाह्रो पर्थ्यो। काँग्रेस समर्थक पत्रिका कम्यूनिष्टले बोके त्यसको राजनीतिक जात जान्थ्यो भने पढे उसको हुर्मत लिइन्थ्यो। त्यसैगरी कम्यूनिष्ट पत्रिका काँग्रेसले पढे ऊ बिटुलीन्थ्यो र शायद सुनपानीले पनि चोखिंदैनथ्यो। यही सेरोफेरोमा आर.आर. क्याम्पसमा नाइट शिफ्टमा पढ्दाकै एकजना साथी सम्झन्छु। तिनलाई राजनीतिको राम्रै नशा चढेको थियो। ऊनी राजनीति प्रति अलि बढी सम्बेदनशील थिए। उनको मनपसन्द दलको कसैले उनका अघिल्तिर यसो हल्का विरोध गर्यो भने उसले त्यसको गह्रौं मूल्य चुकाउनु पर्थ्यो।
हुन पनि उनको दलले गर्ने बन्द देखि चक्काजाम अनि ढुंगा हान हरेकमा उनको सक्रिय सहभागिता रहन्थ्यो। यसलाई ऊनी चाहिं ई.सी.ए.अर्थात् 'अतिरिक्त कृयाकलाप' भन्ने गर्थे। ऊनी पत्रिका पढ्न औधि रूची राख्ने तर किनेर पढेको मैले संगत गरुन्जेलसम्म भेटिन। अरू अरू कुरामा भने दिल खोलेर बिल तिर्थे। रत्नपार्कमा फूटपाथमा टन्नै पत्रपत्रिकाहरू बेच्न राखिएको हुन्थ्यो। उनको मनपसन्द दलसंग सम्बद्ध साप्ताहिक, मासिक, पाक्षिक, दैनिक जम्मै पत्रिका तिनले उभिएरै पढेर भ्याउँथे। फूटपाथमा बस्ने सुविधा हुने कुरा पनि भएन। यस्ता 'फ्री रिडर'हरू धेरै भएपछि कहिलेकहीं त ती पसलेले पढ्दा पढ्दैको पत्रिका पनि खोसेर राख्नुपर्ने वाध्यता आइपर्दो रहेछ। ऊनी इतर दलका पत्रिका भने छुँदा पनि अपवित्र होइएला झैं गर्थे। पढ्नु त परको कुरा। एक पटक सुटुक्क उनको झोलामा एकजना उट्पट्याङ साथीले त्यस्तै विरोधी दलको पत्रिका राखिदिएछन्। त्यसपछि त उनले उत्पातै गरिहाले नि। त्यो साँझको दुइटा क्लास नै भएन। कुटाकुट नभईकन नै बल्ल बल्ल विवाद समाधान भो !