अर्ध–चन्द्रमा पश्चिमी आकाशमा झुण्डिरहेको थियो । निलो दहमा मनौँ डुंगाहरू हल्लिरहेका छन् जस्तो भान हुन्थ्यो आकाशमा आवारा बादलका टुक्राहरूलाई हेर्दा । गल्ली र खेतहरु, घर र आँगनहरु सबै रामपुर गाउँ नै तुसारोको झरीले नुहाइरहेको थियो । वातावरणको शान्तिपनामा प्रभाव शून्य टाढा कतै मोलुङ्ग खोलाको सुस्केरा भने सुन्न सकिन्थ्यो ।
रामपुरको तल्लो टोलमा खरले छाएका झुप्राहरु मुर्ति झैँ उभिरहेका थिए । तिनै झुप्राहरु मध्ये ढुङ्गामाटोको भित्ता भएको एकतले झुप्रोमा पूर्वपट्टी ढोका थियो । तर ढोकाको एक पाटो उहिले नै धमिराले खाएर ढोका ह्वाङ्ङ थियो । पुष–माघको मुटु चिस्याउने जाडोबाट बच्न रामवीरेले सुत्नेबेलामा त्यस खाली भागमा बाँसको चोयाले बुनेको मान्द्रो लगाउने गर्थ्यो ।
पूर्वी बतासका झोक्काहरु ढोकाको चेपबाट अँगेनाको छेवैमा, ढोकाको सामुन्ने पश्चिमी भित्तामा, पल्टिरहेकी रामवीरेकी स्वास्नीको मुटु छेड्न आइपुग्दथे । किनकि उसका लुगाहरुले जाडोको निम्ता गरे झैँ मुख बाउँदै गरेका हुन्थे ।
उत्तर–पश्चिमी कुनामा एउटा बाँसको टाँड थियो जसमा रामवीरे सुतिरहको थियो । ढोकाको छेवैमा एउटी बूढी बाख्री बाँधिएको थियो । घरको दक्षिणी भित्तामा सानो झ्याल थियो जसबाट जूनले चिहाउँदै थियो । त्यो जून, जसलाई रामवीरेहरु पुजा गर्थे, पनि उनीहरु जस्ता गरिबको घरमा पाउ राख्दै थियो ।
घर मन्तिरको केराको पातको छायाँ बिस्तारै झ्याल भित्र घुस्दै थियो । यत्तिकैमा शान्तिलाई बिथोल्दै मस्त निद्रामा परेको लोग्नेलाई उसले बोलाई, ‘ए, सिमीका बा । उठ्नुहोस् त ।’ तर जवाफमा त्यो बूढी बाख्रीले ‘म्याँ म्याँ’ गरी । दिउँसभरिको कामले लखतरान उसको लोग्नेले भने कोही प्रतिकृया दिएन । उसले सुस्केरा हाल्दै टाउकोमा हात राखी र नजाने के–के बड्बडाई मानौँ भाग्यलाई सराप्दै छे ।
केही क्षण पछि, जब जून डुबिसकेको थियो र झ्यालबाट अन्धकार छिरेर पूरै झुपडिलाई नै अँध्यारो पारेको थियो, उसले घिस्रिँदै टाँडमा पुगेर फेरि बोलाउन लागि, ‘सिमीका बा । ए सिमीका बा ।’ यो पटक अलि ठूलो स्वरले । अनि मात्र उसको लोग्ने ब्यूँझियो । बूढी बाख्री पनि डराए झैँ कराउन थाली— म्याँ म्याँ ।
त्यसपछि उसले अँगेनामा गाडिरहेको अगुल्टोमा टुकी बत्ती झोसेर बाल्यो । टुकी बत्तीको मधुरो प्रकाशले पनि उनीहरुको घरको दरिद्रतालाई चम्किलो गरी छर्लङ्ग देखाउँदै थियो । बत्तीलाई अँगेनाको छेवैमा राखेर भर्भराउँदो अगुल्टो हातमा लिएर ऊ घरबाट निस्कियो । ढोकाबाट पसेको ठण्डी हावाको झोक्काले बत्ती निभायो । फेरि घर अन्धकारमा डुब्यो । ऊ र साहिँली बज्यै नफर्किउञ्जेल रामवीरेकी स्वास्नीले त्यो चिसोमा मुटु कमाउनुको कुनै विकल्प थिएन । तर उसको वेदना त्यो अँध्यारोमा कसले देख्न सक्थ्यो र ? आखिर जून पनि त अघि नै घर फर्किसकेको थियो ।
‘केही दाउरा ल्याइदेऊ,’ साहिँली बज्यैले रामवीरेलाई अह्राउँदै भनिन्, ‘अलि सुकेको ल्याउनु । छिट्टै बलोस् ।’
उसले उनले भने झैँ दाउराको बन्दोवस्त गरिदियो । त्यसपछि बज्यैको ‘बाहिर बस्नु’ भन्ने इशारामा बहिर निस्कियो ।
पूर्वको आकाश सफा र उज्यालो देखिँदै आयो, उसले देख्यो । ‘अब छिट्टै नै घाम उदाउने छ ।’ मनमनै सोच्दै उसले फाटेको भोटलाई सम्हालेर दुई हात बाँध्यो जसले गर्दा जाडो केही कम हुन्थ्यो । साँच्चै नै जाडो सँधै परीक्षा हुन्थ्यो रामवीरेको परिवारमा ।
उसले एक खिल्ली बिँडी नसकाउँदै तल्लाघरेको भाले बासेर उज्यालो भएको जनाउ दियो । त्यसको जवाफ झैँ त्यस झुप्रो भित्र नअटाएको शिशु रुवाईले उसको कान स्पर्श गर्यो । भित्रैबाट बज्यैले भनिन्, ‘जेठा, यसपालि छोरो जन्मेको छ । ल झट्टै हेर्न आऊ, कति उज्यालो अनुहारको छ !’
उसको घामले डढिसकेको कालो अनुहार पनि खुसीले केही चम्किलो भयो । ऊ हतारिँदै भित्र पस्यो । अनि देख्यो, उसको छोरोलाई । छोरोको जन्ममा ऊ विशेष खुसी भयो । तर पनि यो छोरो नै पहिलो सन्तान भनेँ होइन थियो । यस भन्दा पहिले नै तीन वटी दिदीहरुले जन्म लिईसकेका थिए त्यही झुपडीमा । उनीहरुले अनिकाल र ठण्डीको कारणले चार वर्ष नपुग्दै यो संसारलाई छोड्नु परेको थियो । रामवीरेका लोग्ने स्वास्नी खुसी थिए किनकि यो छोरा थियो, पहिलेकाहरु छोरी भएकाले नबाँचेका भन्ने उनीहरुको विश्वास थियो । बज्यैले खुसीमा बधाई दिँदै बिदा भईन् ।
तर हिजो भोकै सुतेकी रामवीरेकी स्वास्नीको छातीबाट दूध आईरहेको थिएन । बच्चोले आमालाई दुःख दिँदै थियो । आमा आँखाभरि आँशु पारेर निर्दोष शिशुलाई हेरिरहेकी थिई । अझ छातीमा टाँसिरहेकी थिई । बुवा भने अँगेनाको डिलमा घुँडा माथि मुन्टो अड्याएर आगोको भुङ्ग्रोलाई नियाल्दै थियो । ‘अब कसरी पाल्ने यसलाई ?’ उनीहरुका अनुहारमा यस्तै प्रश्न तैरिरहेको थियो ।
‘अलिकति मकैको पीठो छ,’ लोग्नेले निहुरेरै भन्यो, ‘त्यसैको खोले बनाइदिउँ ?’
एउटा लाचार पति जसले सुत्केरी स्वास्नीलाई तातो जाउलोको बन्दोवस्त गर्न सकेन, उसले कसरी हेर्न सक्थ्यो त्यो आँशुले भिजेको स्वानीको अनुहार ? त्यसैले त उसले पनि हेर्न सकेन स्वास्नीतिर । अहँ, हेर्नै सकेन । तर उसकी स्वास्नी बुझ्न सक्थी लोग्नेको मेहनत र कमाई । उसले जत्ति नै काम गरे पनि दिनमा दुइ सय पाउँथ्यो । त्यसबेला सडक खन्ने काम परेकाले त्यसको डबल यानेकि चार सय पाउँथ्यो। तर त्यतिले मात्र नुन तेल धान्न धौ धौ पर्दथ्यो । किनकि उनीहरुको खेतको नाममा एक टुक्रा जमिन थियो । जसमा वर्षमा तीन मुरी धान, केही मकै र गहुँ फल्ने गर्दथ्यो । यसपालिको तीन मुरी धान खलोबाटै साहुले ऋणको बदला लगिसकेको थियो । अन्नको नाममा उनीहरुसँग बाँकी रहेको केही पाथी मकै मात्र थियो ।
स्वास्नीको जवाफको प्रतिक्षा नगरी उसले कराइमा पानी बसायो । त्यसबेला पनि त्यो शिशु च्याँ च्याँ रुँदै थियो । उसले बुवाआमालाई साँच्चै दुःख दिएको थियो । पानी उम्लिनै लाग्दा दुइ मुठ्ठी मकैको पीठो र एक ढिको नून हालेर डाडुले चलाउन थाल्यो ।
०००
साँझमा चराहरु कटहरको रुखमा कराउँदै थिए । घाम अघि नै अस्ताइ सकेको थियो । अब साँझको सिरसिर सिरेटोले चिसोपनाको मात्रा बढाएको थियो । यत्तिकैमा कामबाट फर्किँदा रामवीरेले एक बोरा चामल ल्यायो । त्यसबेला बूढी बाख्री अनौठो किसिमले कराउँदै थिई ।
उसले हत्तपत्त भात बसायो । धुवाँले सानु छोराका आँखा पीरा भए । ऊ जोडजोडले रुन थाल्यो । आमाले उसलाई छातीमा टँसाईदिई । ऊ निदायो । त्यही साँझ त्यो बूढी बाख्रीले पनि एउटी सेती पाठी पाई । अनि बूढी बाख्रीलाई पनि रामवीरेले मकैको पीठाको खोले दियो । किनकि बाख्री दिने शर्तमा उसले साहुकहाँबाट चामल ल्याएको थियो ।
-बरुणेश्वर ०१, ओखलढुङ्गा