रमन पौडेल
काठमाडौं उपत्यका, गोंगबु गाविस वडा नम्बर ३ बानियाँटारस्थित घरभित्रको एउटा अँध्यारो कोठाभित्र छु। बाहिर बेतोडले झरी परिरहेको छ। ल्यापटपमा गुन्जिँदैछ, दीप श्रेष्ठको एउटा गीत, ‘हर रात सपनीमा...।’ संयोगवश होइन, मलाई अति मन पर्ने केही गीतमध्ये एउटा हो यो। लहड अनुसार सुनिरहन्छु।
कहिलेकाहिँ दुखी हुँदा या निराश बन्दा थप पीडाको आशक्ति हुँदोरहेछ। अर्थात्, अरु पीडाका स्रोतको खोजी हुन्छ मलाई। थाहा छैन, मलाई मात्रै हो या अरुलाई पनि यस्तै हुन्छ। मेरो बुझाइ के हो भने, जति सुखी र खुसी मान्छे पनि पीडा र वेदनाका गीतहरुदेखि भाग्न सक्दैन। संसारमा कुनै त्यस्तो अद्भुत खुसी मान्छे छैन, जसले ‘ग्लुमी सन्डे’ सुनेर छ्या भनेको होस्। या कुनै त्यस्तो बिछट्ट खुसी र सुखी नेपाली छैन, जसले नारायण गोपालका गीत या भक्तराजका गीत सुनेर नराम्रो भनेको होस्।
खासमा त्यही गीत जो मेरो ल्यापटपभित्र गुन्जिरहेछ मध्यरातमा सँगै ताल मिलाएर सुन्दा बाहिरपट्टी दर्कंदो झरीले कता कता संगीत भरिरहे झैं लाग्दैछ। यो मध्यरातमा मलाई कम्प्युटरको गीत, काठमाडौं उपत्यका ढाक्नेगरी बर्सेको झरीभन्दा पनि लम्जुङस्थित मेरो गाउँको यादले निकै सताएको हो। पुराना दिनहरु सम्झिरहँदा गाउँ, घर, खोलानाला, खोल्साखोल्सी बाटो चौबाटोहरुमा खेलेका, दौडेका नाचेका, हाँसेका ती दिनहरु सम्झेर दुखी बनेको मन यसै दुखी थियो। थप पीडा खेप्न अनायाश यो गीत किन सुन्नुपरेको होला मलाई? जो आफैंमा पीडाको स्रोत हो।
खैर, मान्छे अथाह स्वार्थ, ग्लानि, कुण्ठा, ईष्या, रिसले भरिएको हुन्छ भन्नेमा मलाई विश्वास छ। कोही मान्छे यस्तो हुन्छ कि, जो माग्नेलाई भन्दा धेरै आफ्नो पाल्तु कुकुरलाई माया र स्याहार गर्छ। त्यहाँ पनि यी नै स्वार्थ, रिस र ईष्र्या कारक हुन् सायद। एउटा पाल्तु कुकुरसँग खास अपेक्षा, स्वार्थ या ईष्र्या हुँदैन, जति एउटा मान्छेसँग हुन्छ। अझ कुकुरभन्दा पनि बढी छतमा फूलेको फूलको माया लाग्छ कसैलाई। र, त्यो भन्दा धेरै मायां र स्नेह हुन्छ साँघुरो चौकोसभित्र सुरक्षित लुकाइराखिएको ढुंगा, माटो या मेटलको मुर्तिको।
हो। त्यसैले मान्छे स्वार्थी, पापी या कुण्ठित नै हो। र, यस्तो आम चेतनाभन्दा बाहिर म कसरी कहां जान सकुँला? आज मलाई तिनै गाउँका निर्जिव र निष्पाप चिजहरु र विगतको सम्झना अधिक बनेको छ। मसँग पैसा र प्रगतिको अपेक्षा गर्ने वावु आमाको जति याद छ त्यो भन्दा धेरै सम्झन्छु मेरा विगत। सम्झन्छु घरअघिको बुढो वरपिपलको जोडी। म जान्ने भएदेखि नै जो उस्तै छ। मेरै हातले माटोमा गाडेर स्याहार गरी हुर्काएका बकाइनाका बोटको याद आउँछ। पुछारको गराको डिलमा कमिलाले ढाकिएको ढल्केर अडेको बुढो किरे आँपको रुख। माथिल्लो बारीमा रहेको कुर्सीमलको बोट जहाँ म मसिना हाँगालाई ह्याण्डिल बनाएर बाँदर झैं मच्चिन्थें। र आफूलाई ठान्थेँ, एउटा कुशल ड्राईभर। बोटमा चढ्न आउने साना भाईभुराहरुलाई भन्थेँ, ‘भाडा लाग्छ’। र उनिहरुले त्यही कुर्सीमलको पात टिपेर ‘दश रुपैयाँको नोट’ भन्दै मलाई दिन्थे। भाडा तिरेपछि मात्रै गाडीरुपी कुर्सीमलको बोट हल्लिन रोकिन्थ्यो। उनीहरु चढेपछि फेरि एक्सप्रेस कुदिरहन्थ्यो निरन्तर...।
सम्झन्छु, त्यो कुर्सीमलको बोट झलझल्ती। र म ढुक्क छु कि, त्यो कुर्सीमलको बोटले मसँग खास अपेक्षा, ईश्र्या या कुनै नियत राखेन र राख्दैन पनि। स्कुल जाँदा कहिलेकाहीं बिचबाटोमा पर्ने नारिंङ्गे खोल्सोमा म दिनभर लुकामारी खेलेरै बिताइदिन्थें। मसँग खेल्ने साथी हुन्थ्यो सुरेश दाई। हो। त्यो बेलाको सुरेश दाई कति घनिष्ठ थियो। सुशील, कालु, सरोज भाई, दिवाकर, सन्ते। जो मेरा सखा थिए। अथाह घनिष्ठता थियो। सुरेश दाई जो मेरो घरको खोपीछेउमा आएर बिस्कुट देखाउंथ्यो लुकाएर। म बेत्तोडले चौतारातिर भाग्थेंँ। उ आउँथ्यो, घर पछिल्तिरको बाटो भएर।
१५ वर्ष बढि भयो होला, त्यति निकट भएर गफिन नपाएको। सन्ते जो मलाई आघाध मायां गथ्र्यो। र म पनि। मलाई गीत सुनाउन उ नखाएरै राती अवेरसम्म चौतारोमा कुरिरहन्थ्यो। तर, किन होला, म आजको सन्तेसंग निकै टाढा छु। फोन नम्बर छ साथमा। ठेगाना थाहा छ। उतिसारो फोनमा कुरा हुंदैन। दशैंमा घर जांदा भेट त हुन्छ। केहि औपचाकिर गफ हुन्छन्। तर, पहिले झैं नजिक भएकै छैन। कहिले काहीं फोनमा कुरा हुंदा सोध्छ उसले म बोल्नकै लागि बोले झैं भन्दिन्छु, ‘ठिकैछ यार ’। उसको उत्तर पनि त्यस्तै हुन्छ। भन्छ, ‘केहि छैन यार टेन्सन छ। काठमाडौंमा सरुवा हुन पाए हुन्थ्यो मेसो मिलाउ न।’
के हाम्रा यी सबै सम्बन्धहरु अपेक्षा, ईश्र्या र महत्वाकांक्षाकै आधारमा होलान् ? मलाई किन वाल्यकालको सन्तेको याद आइरहन्छ तर, अहिलेको सन्तेसंग खास साईनो छैन। सांच्चिकै म तिनै वालसखाहरुको यादमा कहिलेकाहीं घन्टौं घोत्लिएको हुन्छु। सांच्चिकै उनीहरुसंग मेरो कुनै गुनासो छैन। तर, वर्तमानका ति साथीहरुसंग किन नजिकिन नसकेको हुंला म ? म फेरिएँ की उनीहरु फेरिए ? खोलामा माछा मार्दा म रित्तो हात भएं भने उनीहरुले मलाई एक एक माछा दिएर पोल्टो भरिदिन्थे। झगडा भए फेरि टाउको ठोकेर बोलचाल फुक्थ्यो।
त्यसो त, अचेल हाम्रो झगडा भएको पनि त होइन। खै किन होला यती बिरानो भएको। म टाढिएँ कि उनीहरु ?
निर्जीव चीजहरु सांच्चिकै निस्पाप पनि हुन्छन्। किन निर्जीव चिजहरु जति प्रिय लाग्छन् सजीव उत्तिकै कुरुप ? के यही हो आजको सच्चाइ ? कि सबै मान्छेहरु दुनीयामा प्रतिष्पर्धाको एउटै रिङभित्र कुस्ती गरिरहेका हुन् ? अवथा, उमेर र परिस्थितिको ढल्काईले मान्छेको भावना, मनस्थिति र चेतनालाई पनि फेरिदिन्छ ? के हो वास्तविकता ? केहि आध्यात्मिक गुरुहरु भन्छन्, ‘ज्ञानले मान्छेलाई चिन्तित बनाउंछ, पिडा थप्छ। र जे आनन्द र सुख छ अज्ञानतामै छ।’ त्यसो भए, यो सिंगो दुनीयां ज्ञानले भरिएको हो त ? जसै अत्याधिक चिन्ता र अस्थिरताले ढाकिएको छ।
खासमा यो एउटा लहड मात्रै हो। नितान्त लहड। सोच्छु, कि सबैलाई यस्तै अस्थिरता र पीडाले जीवनको कुनै न कुनै मोडमा कम्तिमा एकपल्ट त छोप्ला कि नछोप्ला ? फेरि भोली म तपाईंहरुका अगाडि सद्धे र हंसिलो बनेर उभिनसक्छु। तर, नसोच्नुहोला की, यो लेखिरहंदा म रोइरहेको छु।
खांटी के हो भने, मलाई ति पुराना दिनहरुले निकै घोचिरहेका छन्। हो मेरा आफ्नै परिवेशले। खास यही मौसममा यस्तो हुन्छ। असार नजिकिंदै गर्दा , वादल र झरीले आकास भरिंदा मलाई यस्तै हुन्छ। दर्के झरी पर्दा धन्सारमा खोयाको गोरु बनाएर खेलेका दिनहरु सम्झन्छु। घाम लाग्दा फट्यांग्राका पंखेटा चुंडेर गोरु बनाई खेलिन्थ्यो। गाईनेकिरो छोपेर पुच्छरमा मसिनो धागोले बांधेर उंडाउदाको आनन्दले अझै पछ्याउँदैछ। हो, मनले असारको आलाप गरिरहन्छ। जसै, रिस्ती खोलामा फेरि नाङ्गै पौडी खेल्न पाउँ। आफू हुर्केको रिस्तीको चारफेरोको सुन्दर आकृति दिमागमा डम्मै भरिन्छ। रिस्ती खोलाआसपासको फराकिलो फांट, हातभरी रातो चुरा, मुठ्ठीभरी हरियो विउ बोकेर हिलाम्मे खेतमा उभिएका रोपाहारहरु, निथ्रुक्क भिजेका लाठे(वाहुसेहरुलाई पछिल्तिरबाट लुसुक्क लुकेर हिलो छ्याप्न तम्सेका नवयौवना युवतीहरु, गडगडाउंदो रिस्ती पार गर्न छेउ लागेर उभिएका किसोरहरु, जलुके खोल्साभित्र झ्याउं झ्याउं गर्ने झ्याउंकीरीहरु, सबैको पालैपालो झल्को आउंछ, जव जेठ सिधिएर असार लाग्छ।
तल्लो घरका मुरली दाई आफ्ना राता मार्के गोरु अघि लगाएर कांधमा हलो अड्याई खहरेतिर जांदै होलान्, अहिले पनि। माजाघरे आमा जलुके खोल्सामास्तिर पाखाभरी भैंसी र बाख्रा चराउंदै छन कि। यस्तै याद या ति दिनले निकै पिरोल्छन्। ति सबै पात्रहरु वास्तविक हुन्। तर, खासमा ति पात्र र व्यक्तिसंग मलाई औधी अपेक्षा छैन। छ त केवल त्यो दृश्यसंग। त्यो निर्जीव आकृतिसंग। त्यो परिवेश र मेरा ति पुराना दिनहरुसंग। ति पंधेरा, खोला, गल्ली, फराकिला चौर, टायरको साईकल कुदाउने सडक। मिल्ने भए म ति पुराना दिनहरु फिर्ता माग्थें। रिस्ती खोलाको गहिरो र निलो हुलाके रह जो अचेल सुकिसक्यो। लहरेपिपलस्थित मेरो खेतछेउको फराकिलो पौडी खेल्ने ठाउं। मान्छे खाइरहने हांडी रह। तिनै पौडी खेल्ने रहहरु पाए हुन्थ्यो। नौजवान वाहुसेहरुलाई आत्थु पर्ने रिस्ती खोलोमा अचेल त बाख्राहरु उघ्राउंदै तर्दा पो रहेछन्।
अघिल्लो दशैंमा गाउं जांदा वतासेको चौतारोका ढुंगाहरु हरियो लेउले भरिएका थिए। बरपिपलका रुखहरु पात झरेर सिख्रै भएछन्। फालहाल्ने गाउंका पुराना घरका छानामा हरिया घांस हलक्कै बढेका। सुन्दैथें, खड्के मारेको दोबाटोमा दिनदहाडै एक्लै हिंड्नु जोखिम छ रे। खै कताका केटाहरु दिउसै मुख छोपेर बस्छन् भन्ने भय गाउंभरी छ।
अचेल सबैथोक फेरिए झैं लाग्न थाल्छ। आफैँ फेरिएको हो या अरु फेरिएको देखिएको हो। विकास हो या विनाश। नाम जे दिए पनि मान्छेहरुका सोच्ने शैली फेरियो। उनीहरुका चाहना, अपेक्षा र महत्वाकाँक्षा पनि पहिले झैँ पटक्कै छैन।
\विदामा घर जांदा वावु आमा कति कमाउंछस् भनेर ठ्याक्कै सोध्न सक्दैनन कि नचाहेर नसोधेका हुन् थाहा छैन। तर, दोहोर्याएर सोधिरहन्छन् काम कस्तो छ ? गाउंका बेरोजगार, पढाई बिचमै छोडेका र प्रगति नगरेका भनिइएका साथीभाईहरुको कुरा गर्छु म। उनीहरु चाहीं सरकारी जागिर खाएका साथीहरुको कुरो बारम्बार गरिरहन्छन्। उसको कमाईको कुराको बढ्याईं गरिरहन्छन्। सरकारी अधिकृत, खरिदार हुंदै पिएनमा जागिरे बनेका साथीहरुका व्यक्तिगत कुरा मलाई नै सुनाउंछन् मेरा वुवाआमा। केहि महिनाअघि मात्रै मलेसीया गएको सानीमाको छोराको कमाई र उसले आफ्नी आमालाई किनिल्याएको गहनाको बारेमा ममी मलाई सुनाउंनुहुन्छ।
सात कक्षा पढेर छोडेको मलेसीया गएको सानीमाको छोरोले हरेक महिना मैले भन्दा धेरै कमाउंछ भन्नेमा मलाई विश्वास छ। दमौलिमा रहेको सानिमाको घरमा सानैमा पाहुना बन्न जांदा अशोक दाई मेरो अति मिल्ने साथी थियो। सानोमा उसको घर जांदा बसपार्कसम्म मलाई बोक्न आउने त्यही दाईसंग अचेल किन त्यस्तो साईनो छैन ? अनलाईनमा कुरा हुंदैन खासै। मामाघरमा गएं भने अशोक दाईको कमाईको कुरा मलाई सुनाउंछन्।
म फेरि अलमलिन्छु कि हामी सबैका यी सामुहिक र व्यक्तिगत सम्बन्धहरु खासमा के कुरामा अडिएका छन्। मेरो मिल्ने दाजु अशोकसंग म फेरि पुरानो भातकुंडी खेल्दाको साईनो चाहान्छु। अघि पर्दा फिस्स
हांसेर अंगालो मारेको या हात मिलाएको अचेलको साईनो भन्दा वाल्यकालमा नांग्गै कुस्ती खेल्दाको सम्बन्ध अथाह प्रीय लाग्दो रहेछ।
साथीभाई, छरछिमेक या कार्यालयका सहकर्मी, हाकिम, कार्यालय सहयोगी सबैसंग हाम्रा सम्बन्धहरु खासमा हुन्, के ? र यी सम्बन्धहरु कसरी अगाडि बढ्दैछन् ?
वर्षौंअघि हाम्रा ठूलाबाहरु बेसीको खेतमा काम गरेर राती १२ वजे घर फर्किंदा भारी बिसाउने घना जंगलस्थित बतासे चौतारो अचेल हरियो लेउले ढाकिएको छ। त्यहां कमिला हिंड्छन्। झ्याउंकिरी मात्रै कराउंछन्। पहिलेका बाजेहरुको बस्ती बसेको ९ नम्बरको वनमा अचेल दिउसै तर्साउने गरी हुचील कराउंछ। जंगलछेउको बन्दिपुरे दाईको घरमा अचेल दिनभरी बांदरको रजगज चल्छ, राती बाघ सुत्छ रे। वलराम दाई १० मिनेटको बाटो हिंडेर दुध बेच्न गाह्रो भयो भनेर जिता टारमा बसाईं सरेका छन्। १५ असारमा खुट्टा हाल्ने ठाउं नहुने लप्सीबोटे खेतमा अचेल खेताला नपाएर धुरुक्कै रुन्छन् राजा बा।
लाग्छ यो दुनीयां प्रतिष्पर्धाको एउटा रिंग हो जहां हामी कुस्ती खेल्दैछौं। स्कुलका मेरा केहि समकक्षीहरु डाक्टर, ईन्जिनियर केहि सरकारी अधिकृत भए। जसले मेरो सामाजिक प्रतिष्ठामा किन यती धेरै प्रश्न तेस्र्याइरहेछन् ? राम्ररी बुझ्छु कि, सबै डाक्टर हुनै सक्दैनन्। सबै सरकारी अधिकृत हुनु सम्भव नै छैन। र म जे छु र मसंग जे सिप छ त्यो उनीहरुसंग छैन भन्नेमा मलाई विश्वास छ। उनीहरु आफ्नो काम गर्छन् र म पनि आफ्नो। यसमा नौलो केहि छैन। यो त समाजको ऋत हो नी।
हामी सानो छंदा म खेल्न सिपालु थिएं, गाउंथें, नाच्थें, पढ्थें। लगभग सबै चिजमा बमजोर थिइन। तर, मेरा केहि साथीहरु त्यस्ता थिए , जो कक्षाको पछाडि बस्थे र हरेक विषयमा उनीहरु पछाडि नै थिए। यद्यपी, गिरी गाउंमा बेलाउंती चोर्न जांदा, छंगछंगे खोल्सामा बनकुखुरो छोप्न जांदा या हाफछुट्टीमा रिस्ती खोलामा पौडी खेल्न जांदा हामीमा सिपालु या कमजोर बिद्यार्थी भनेर शिक्षकले दिएको दर्जाको कुनै ख्याल हुंदैनथ्यो।
आखिर, यो समयको बदलावले सम्बन्धको परिधिलाई बाँध्दोरहेछ। बाध्यता, मजबुरी या महत्वाकांक्षा जे भने पनि त्यही पिडाको पछिल्तिर दौडिने मान्छेहरु समयको गुलाम बन्दैछन् र हरेक पल सम्बन्धलाई फितलो बनाइरहेछन्। सम्बन्ध, प्रकृतिसंगको। सम्बन्ध, छिमेकीसंगको। ति सबै सबैको स्पर्श गर्न चुकिरहेका छौं हामी। पाखा–पखेरा, छांगा–छहरा, पहाड, खोला–नालाको अथाह अनुभुतिको एकैचोटी स्पर्श गर्नसक्ने राष्ट्रकवि माधव घिमिरे जव आज काकाकुल काठमान्डुमा दैनिकी गुजार्दैछन् भने वाहुनडांडा आसपासका खोल्सीहरु, मस्र्याङ्ग्दी नदिसँग उनको अवको साईनो कस्तो हो ? मस्र्याङ्ग्दी नदिमा डुबुल्की मारी पुस्तुनका रातै ऐसेलु र काफल खाएका कवि घिमिरे अचेल बाध्यतावश् सवारी ईन्धनको मुस्लो नाकमा छिराउंदै कपुरधारास्थित पानी नभएको ट्वाईलेटमा छिरेर खोक्दै होलान् सायद्। सांच्चिकै, वाहुनडाँडा वरपर उड्ने कोएली, त्यहाँका खेतमा झुल्ने बएली, पाखापखेरा, घरअघि देखिने सेतै हिमाल, झरनाहरुसँग उनको हालको सम्बन्ध कस्तो हो ? ए सांच्चि वाहुनडाँडाको फेदीमा रातदिन गडगडाउँदै दौडिने मस्र्याङ्गीको सुसाईलाई कवि घिमिरेले कसरी स्पर्श गर्दाहुन् है ? अहिलेकै दिनमा उनले कविता लेखे भने काठमाडौंस्थित घरछेउको सुख्खा कपुरधाराको कविता लेख्लान् कि तिनै मस्र्याङ्ग्दी, कोएली र वएलीलाई बोलाउंदाहुन् ?
काठमाडौँ मात्रै होईन यो सपाट आधुनिकता नै हाम्रा सम्बन्ध, स्पर्श र अनुभुतिहरुको हत्यारा हो। र त, म त के कुरा कवि घिमिरेलाई पनि अचेल यो काठमांडुले क्रुर बनाउंदैछ सायद्। उनको सृजनामाथि हमला गर्दैछ। मेरो यस्तै अनुमान छ।