तेस्रो दक्षिण एसियाली मैत्रीपूर्ण फुटभली च्याम्पियनसिपमा नेपालले भारतलाई २–० ले पराजित गर्दै उपाधि हात पारेको छ ।
टोखास्थित भूतखेल मैदानमा आज भएको प्रतियोगिताअन्तर्गत नेपालले ‘वेष्ट अफ थ्री’को खेलमा २०–१८ र १८–१४ ले भारतलाई पराजित गरेको हो ।
बिच भलिबल जस्तै बालुवामा खेलिने यो खेलमा हातको सट्टा खुट्टाको प्रयोग गर्ने गरिन्छ जसमा १८ अङ्कमा खेल समाप्त हुने भए तापनि दुई अङ्कको फरक आउनु अनिवार्य हुनेछ ।
विजेतालाई इन्डियन स्पोर्टस् अथोरिटी बोर्डका सदस्य डा एनएम नन्दा, दक्षिण एसियाली फुटभली महासङ्घका अध्यक्ष राम अवतारले पदक तथा ट्रफी प्रदान गरे ।
दक्षिण एसियामा नौलो खेलका रुपमा रहेको फुटभली खेल ब्राजिलबाट सुरु भएको हो । उक्त खेललाई दक्षिण एसियामा विकास विस्तार गर्ने उद्देश्यले नेपाल आएको दक्षिण एसियाली फुटभली महासङ्घका प्रतिनिधि तथा भारतीय फुटभली सङ्घको टोलीले नेपालमा मैत्रीपूर्ण खेलको आयोजना गरेको हो ।
ओलम्पिकमा दर्ता भएको यस खेललाई नेपालले विसं २०७२ वैशाख १२ गते दक्षिण एसियाली फुटभली च्याम्पियनसिपका रुपमा आयोजना गरिसकेको छ । त्यस्तै, थाइल्यान्डमा गत वैशाख ३० देखि आयोजना भएको एसियाली फुटभली च्याम्पियनसिपमा नेपालले सहभागिता जनाइसकेको छ । रासस