२०६२/६३ को जनआन्दोलनताका एमालेका प्रभावसाली नेता केपी ओलीको एउटा भनाई निकै चर्चित बन्यो, ‘बयलगाड चढेर अमेरिका पुग्नु र यो आन्दोलनले गणतन्त्र ल्याउनु एकै हो।’
ओलीले खासै भर नगरेको आन्दोलनले आसातित सफलता हासिल गर्यो। ओली उपप्रधानमन्त्री बने। शान्तिप्रकृया सुरु भएयता दश वर्ष ओली माओवादी (हालको एमाओवादी सहित) का कट्टर आलोचक थिए। तिख्खर ढंगले माओवादीको आलोचना गर्ने शैलीले उनको आम लोकप्रियता बढायो।
‘राजनीति सरल रेखामा हिँड्दैन’ भन्ने मन्यता मुलुकको राजनीतिमा एकपटक फेरि सिद्ध भएको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दिलोज्यानले सहयोग गरेपछि ओली मुलुकको ३८औं प्रधानमन्त्री चुनिए।
उनी आठ वर्षदेखि मृगौंला रोगसँग लड्दै आएका छन्। यहि शारिरिक प्रतिकुलताका बेला ओलीले झण्डैं पाँच दशक लामो राजनीतिक जीवनलाई शिखरमा पुर्याएका छन्।
आफ्नो नेतृत्वमा संविधान ल्याएका बहालवाला प्रधानमन्त्री सुशील कोइरालालाई पराजित गरेर सिंहदरवारको बागडोर हासिल गरेका ओलीको राजनीतिक व्यक्तित्व दुईवर्षदेखि झनै चुचुरोतिर लागिरहेको छ।
आफ्नो दल एमालेबाट प्रधानमन्त्रीको निर्विकल्प उम्मेदवार बन्ने पृष्ठभूमी सुनिश्चितता उनी २०७१ असार ३१ गते एमाले अध्यक्ष भएपछि भएको हो। सोह्र वर्ष एमालेको एकछत्र नेतृत्व गरेका र प्रधानमन्त्री समेत भइसकेका माधवकुमार नेपाललाई पराजित गरेर ओली पार्टी अध्यक्ष बनेका हुन्।
नेपाल पक्षले पार्टी संगठनमा बाहुवलीहरुलाई संरक्षण, विदेशी शक्तिसँग बढि हिमचिम, शारिरिक दुर्बलता लगायत आरोप लगाए। त्यसले पुरापुर काम गरेन। ओली निर्वाचित भए।
अध्यक्ष हुने बाटो ओलीले २०७० माघमा एमाले संसदीय दलको नेतामा विजयी भएर खनिसकेका थिए। संसदीय दलको नेता हुनु फलामको च्यूरा थियो। किनभने पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालसँगको प्रतिष्पर्धा सजिलो थिएन। एमालेलाई २०६४ सालको चुनावको हारलाई उल्ट्याएर झण्डैं झण्डैं पहिलो पार्टी कांग्रेस बराबरै सिट ल्याएको जस खनाललाई थियो।
मुलुकको इतिहासमा ओली सम्भवत: सबैभन्दा विपन्न पृष्ठभूमीबाट आएर मुलुकको सर्वोच्च कार्यकारी पदमा पुगेका व्यक्ति हुन्।
आमा गुमाएर टुहुरो भएका उनले वाल्यकालदेखि नै विषम परिस्थितीको सामना गर्न सिकेका थिए। झापामा भएको अलिकति खेती पनि बाढीले बगाएपछि ओली परिवारिँग छुट्टिएर किशोर अवस्थामा कम्युनिष्ट नेता रामनाथ दाहालको आश्रयमा बसेका थिए।
ओलीको संक्षिप्त जीवनयात्रा:
जन्म: २००८ फागुन ११
जन्म स्थान: तेह्रथुम, आठराई, इवागाउँ
बसाइँसराइँ: झापा
औपचारिक शिक्षा: १० कक्षा
पत्नी: राधिका शाक्य
कम्युनिष्ट पार्टीसँग सम्पर्क: २०२३ साल
कमयुनिष्ट पार्टीको सम्पर्क: २०२६ साल
जेल जीवन: लगातार १४ वर्ष
पंचायती प्रशासनले जेलजीवनका क्रममा केपी ओलीलाई नौं पटक ठाउँसारी गरेको थियो। जुन निम्नानुसार छ:
२०३० मंसीरदेखि २०३२ वैशाख: सेन्ट्रल जेल गोलघर
२०३२ वैशाख: नख्खु
०३३ मंसीरदेखि २०३६ जेठ: केन्द्रीय कारागार गोलघर
२०३६ जेठदेखि २०३७ चैत: केन्द्रीय कारागार
२०३७ चैतदेखि २०३९ माघ: नख्खु जेल
२०३९ माघदेखि २०४२ कात्तिक: पोखरा
२०४२ कात्तिकदेखि २०४३ मंसीर: स्याङ्जा जेल
२०४३ मंसीरदेखि २०४३ माघ: हनुमानढोका
२०४३ माघदेखि २०४४ असार: भद्रगोल जेल
पार्टीका महत्वपूर्ण जिम्मेवारी
२०२९: नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटी प्रमुख
२०४४: केन्द्रीय कमिटी सदस्य
२०४६: लुम्बिनी अञ्चल प्रमुख
२०४७: प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष
२०५०: प्रमुख, दासढुंगा दुर्घटना छानबिन समिति
२०४९ देखि २०७१: स्थायी कमिटी सदस्य
सार्वजनिक ओहोदा
२०४८: प्रतिनिधि सभा सदस्य
२०५१: प्रतिनिधि सभा सदस्य
२०५६: प्रतिनिधि सभा सदस्य
२०७०: संविधान सभा सदस्य
राजकीय जिम्मेवारी
२०५१: एमाले अल्पमत सरकारमा गृहमन्त्री
२०६३: उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री
२०७०: एमाले संसदीय दलको नेता
२०७२ असोज २४: गणतन्त्र नेपालको प्रधानमन्त्री