तराई/ मधेसबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका ४३ जना सभासद्ले संविधानको मस्यौदामा प्रस्तावित संघीयताको सीमांकन संशोधन गर्न माग राख्दै प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालालाई शुक्रबार ज्ञापन पत्र बुझाएका छन्।
कांग्रेस महासमितिको निर्णय अनुसार तराई/मधेसमा तीन प्रदेश हुनुपर्ने माग राख्दै उनीहरुले ज्ञापन पत्र बुझाएका हुन्। ‘महाधिवेशनको निर्णयअनुसार मधेसी जनताको अधिकार समेट्न पार्टी संसदीय दलको नेतासमक्ष हामीले प्रस्ताव बुझाएका छौं' पार्टी नेता फर्मुल्लाह मन्सुरले भने ‘नेपाली कांग्रेसको राजनीति तराईमा आधारित भएकाले अन्य दलसँग छलफल गर्दै सहमतिमा पुगियोस् भन्ने हाम्रो माग हो।'
उनले आफूहरुले पार्टी निर्देशनलाई उल्लंघन नगर्ने बताए। उनले भने– पार्टी निर्देशन अनुसार नै संविधानसभामा अगाडि बढ्न मधेसबाट प्रतिनिधित्व गर्ने सभासद्हरु एक छौं।