महोत्तरीको बलवामा पक्राउ गरिएका सिके राउतका कार्यकर्ताको रिहाईको माग गर्दै बुधवार प्रहरी र प्रर्दशनकारीबीच भएको झडपमा ६ प्रहरीसहित एक दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्।
गाडी तोडफोड र ढुङ्गामुढा गर्नमा संलग्न रहेका महोत्तरी पडौलका सञ्जयकुमार यादव र बलवा २ का सत्यनारायण यादवलाई मंगलवार राति प्रहरीले पक्राउ गरिएपछि उनको रिहाईको माग गर्दै प्रर्दशन गरी प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्न थालेपछि बुधवार दोहोरो झडप शुरु भएको हो ।
प्रहरीले भीडलाई नियन्त्रणमा लिन ६ सेल अश्रुग्यास,३ राउण्ड हवाई फायर र पटकपटक लाठीचार्ज गरेको थियो। प्रर्दशनकारीको भीड बढ्दै गएपछि थप मदतका लागि दंगा नियन्त्रण कार्यालय ढल्केवरबाट आईरहेका दंगा प्रहरीको बा.१ग.२१०३, बा.१ग.२०९३ नम्बरको दुईवटा वनटन गाडी र ईलाका प्रहरी कार्यालय बलवाको बा.१झ.६१९ नम्बरको जीपमा तोडफोड गरका छन्। जलेश्वर बर्दिबास सडकखण्डमा चल्ने २ वटा बसमा पनि तोडफोड र ३ वटा मोटरसाईकलमा आगजसमेत गरेका छन्।
झडपका कारण दिनभरि बलवा बजार बन्द भयो। बलवाको स्थिति तनावग्रस्त रहेको छ। जलेश्वर बर्दिवास सडक खण्डमा चल्ने यातायातसमेत ठप्प भएको थियो। इलाका प्रहरी कार्यालय बलवा अगाडि दुई जनालाई छाडिनुपर्ने माग राख्दै प्रहरी र स्थानीय प्रशासन विरुद्र आन्दोलनकारीहरूले नारा लगाइरहेका थिए।
यस अघि मंगलवार राति प्रहरी र स्थानीयबीच बलवाबजारमा झडप हुँदा ५ प्रहरीसहित २५ सर्वसाधारण घाइते भएका थिए। बलवा चौकी अघि सवा ९ बजेतिर भएको झडपमा प्रहरी हवल्दार अनिरुद्र गुप्ता घाइते भएको स्थानीयले बताए।
बलवा ६ का ५५ वर्षीय रामसुन्दर यादवको अवस्था गम्भीर छ । टाउकोमा चोट लागेका यादवको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाका अनुसार सिके राउतको श्रव्यदृश्य सार्वजनिक स्थलमा प्रदर्शन गर्न लाग्दा तनाव भएको हो। सो दृश्य चौकी अगाडि नदेखाउन प्रहरीले आग्रह गर्दा ढुंगामुढा भएको थियो।
एक्कासि ढुंगामुढा गर्न थालेपछि आत्मरक्षाका लागि प्रहरीले चार एक राउण्ड गोली चलाइएको हो। केही सेल अश्रुग्यास पनि छाडिएको थियो। सामाजिक परिस्थिति भड्काउने खालको सिके राउतको भाषणको दृश्य सार्वजनिक स्थलमा देखाउन खोजिएको अनुमान प्रहरीको छ।
प्रहरीले सी.के.राउतको भिडियो बन्द गराएर प्रोजेक्टर र सीडि नियन्त्रणमा लिएपछि आक्रोशित भीडले ईलाका प्रहरी कार्यालय बलवामा ढुंगामुढा गरेका थिए।
पटकपटक स्थानीयवासी र प्रहरीबीचमा झडप भएपछि सो गाउँमा ब्यापक रुपमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय बलवाका इन्चार्ज सहायक प्रहरी नायब निरीक्षक एकराज सुवेदीले अनुमति बिना सिडी क्यासेट चलाइरहेकाले रोक्न जाँदा स्थानीयवासीले विरोध जनाएको र प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि लाठीचार्ज र हवाई फायर गर्नुपरेको बताए ।