सार्कको १८ शिखर सम्मेलनको समापन समारोह राजधानीको राष्ट्रिय सभागृहमा शुरु भयो।
समापन कार्यक्रम अपरान्ह ४ बजे को शुरु गर्ने कार्यक्रम रहेपनि माल्दिभ्स र श्रीलंकाका राष्ट्रपति होटलबाट आउन ढिला भएपछि झण्डै ३० मिनेट ढिलो शुरु भएको थियो।
समापन कार्यक्रम शुरु गर्दै नेपालका प्रधानमन्त्री एवम् सार्कका अध्यक्ष सुशील कोइरालाले सार्कका विदेश मन्त्रीहरुलाई उर्जा सहयोग पत्रमा हस्ताक्षर गर्न भनेका थिए। आधा घण्टाअघिसम्म पनि उर्जा सम्झौता गर्ने कि नगर्ने विषयमा पाकिस्तानको असहमतिका कारण निश्चित थिएन।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँँ शिखर सम्मेलनको आजको समापन सत्रमा सार्क क्षेत्रीयस्तरीय ऊर्जा सहकार्य र विद्युतीकरणको कार्यढाँचासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
आजको समापन सत्र प्रारम्भ भएपछि सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले सदस्य मुलुकका विदेश मन्त्रीहरुलाई सो सम्झौतमा हस्ताक्षर गर्न आग्रह गरेपछि सो सम्झौतामा हस्ताक्षर भएको हो ।
सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो । सदस्य मुलुकका वैदेशिक÷बाह्य मामिला मन्त्री परिषद्को ३६औं बैठकले सो सम्झौतालाई पारित गरेको थियो ।
अफगानिस्तानका कामु विदेशमन्त्री जरार अहमद ओसमानी, बङ्गलादेशका विदेशमन्त्री अब्दुल हसन महमुद अली, भुटानका विदेशमन्त्री ल्योन्पो रिञ्जिन दोर्जी, भारतका बाह्य मामिलामन्त्री श्रीमती सुषमा स्वराज, माल्दिभ्सका विदेशमन्त्री सुश्री दुन्या मौमुन, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफका राष्ट्रिय सुरक्षा तथा विदेश मामिला सल्लाहकार सरताज अजिज र श्रीलङ्काका बाह्य मामिलामन्त्री प्रा गामिनी लक्ष्मण पेइरिस र नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले हस्ताक्षर गरेका छन्।
यसअघि रेल र सडक सझौता पनि गर्ने भन्ने सहमतिमा आपसमा कुरा नमिलेपछि यसबारेमा कुनै सहमति भएन।