रिट्रिटका लागि सार्क राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तर्फ लागेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाहेक अन्यलाई नेपाली सेनाका चारवटा हेलिकप्टरबाट धुलिखेल लगिने कार्यक्रम छ। पाहुनाको स्वागतका लागि प्रधानमन्त्री सुशील कोइराला धुलिखेल पुगिसकेका छन्।
आवागमनका लागि होटेल सोल्टीदेखि विमानस्थलसम्मको बाटो पूर्णरुपले खाली गराइएको छ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार सोल्टी, कालिमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, तीनकुनेदेखि विमानस्थलसम्मको सडक बिहान साढे सातबजेदेखि नै खाली गराउने भएकफ थियो।
राजधानी काठमाडौँबाट ३० किलोमिटर पूर्व काभ्रेको धुलिखेल नगरपालिका–१ स्थित भट्टेडाँडामा रहेको द्वारिकाज होटेलमा विशिष्ट पाहुनाहरु रिटि्रटमा सहभागी हुनेछन्।
रिटि्रटलाई सार्कको एउटा नियमित प्रक्रिया र आर्कषणको रुपमा लिइन्छ। सार्कको औपचारिक मञ्चमा द्विपक्षीय मुद्दा उठाउन नमिल्ने परम्परा रहेको कारण पनि रिटि्रटले बढी चर्चा पाउने गर्छ।
रिटि्रटका समयमा सहभागी राष्ट्र/सरकार प्रमुखबीच खुलेर एक आपसमा भलाकुसारी गर्दै आपसी हितमा मात्र सीमित नरही द्विपक्षीय समस्याका गाँठो फुकाउने अवसर पनि मिल्छ। दुईदिने शिखर सम्मेलनमा व्यस्त कार्यतालिकाको चापलाई पन्छाएर केही समय विश्रामका लागि फुर्सद निकाल्ने चलन रहेको छ।
शिखर सम्मेलनको दोस्रो दिन आयोजक राष्ट्र नेपालले धुलिखेलमा यसप्रकारको खानपानसहितको विश्रामको व्यवस्था मिलाएको हो। विशिष्ट पाहुनाहरु हेलिकोप्टरबाट यहाँ आउनेछन्।
तीनसय रोपनीमा फैलिएको होटल द्वारिकाजबाट उत्तरी क्षेत्रमा फैलिएको मनोरम हिमशृङ्खला, पहाडी भू–भाग र जनजीवनको सजिलै अवलोकन गर्न सकिन्छ। अत्याधुनिक सुविधा सम्पन्न सो होटलमा विशेषत पाहुनालाई स्थानीय उत्पादनका परिकार उपलब्ध गराउँदै आएको छ।