भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका राजनीतिक दल र तिनका नेताहरुलाई राजनीतिक सहमतिकै आधारमा नयाँ संविधान निर्माण गर्न सुझाएका छन्।
सार्क शिखर सम्मेलनमा भाग लिन मंगलबार काठमाडौं आएपुगे लगत्तै भारतीय सहयोगमा निर्मित नेशनल ट्रमा सेन्टर हस्तान्तरण कार्यक्रममा बोल्दै मोदीले भने, 'संविधानको निर्माण सहमतिद्वारा गर्दा नै राम्रो हुन्छ, संख्याको हिसाबले हुँदैन।'
चार महिनाअघि नेपाल भ्रमणको बेला संसदमा सम्बोधन गर्दा आफूले भनेका भनाईहरुको स्मरण गर्दै मोदीले नेपालले जतिछिटो संविधान बनाउँछ त्यति नै नेपाल र नेपालीको लागि राम्रो हुने र जतिढिलो गर्यो त्यति नै नेपालको लागि नै घाटा हुने बताए।
संविधान कस्तो बनाउने भन्ने विषय नेपालीहरुकै निर्णयमा भर पर्ने उल्लेख गर्दै मोदीले भने, 'नेपालकेा संविधान बनाउँदा सबै देशका भूभागमा बस्ने मधेसी, पहाडी र माओवादीले आफ्नो आवाज र सपना प्रतिविम्बित हुने र सबैले काम गर्ने अवसर मिल्ने संविधान बनाउनु पर्छ।'
दलहरुबीच सहमति नहुँदा प्रक्रियाको आधारमा संविधान बनाउने कि नबनाउने विवाद चर्किरहेको बेला मोदीले राजनीतिक दलका नेताहरुलाई एक पटक सहमतिबाट लोकतान्त्रिक संविधान बनाउन सके त्यसमा देखिएका कमीकमजोरी संविधान संशोधनबाट हटाउन सकिने बताए।
उनले सहमतिबीना संख्याको आधारमा संविधान बने त्यसले नेपाललाई कठिनाई हुने बताए।
ट्रमा सेन्टरले नेपाली बिरामीको जीन्दगी बचाए जस्तै नयाँ बन्ने संविधानले नेपालीहरुकेा भविश्य सुरक्षित गर्ने उनले बताए।
सबै दलका नेताहरुलाई बारम्बार आग्रह गर्दै मोदीले भने, 'म विश्वनाथको भूमिबाट पशुपतिको धर्तीमा आएको छु यस्मा मेरो प्रार्थना गर्ने अधिकार छ। म प्राथर्ना गर्छु सहमतिकै आधारमा संविधान बनाउनु होस', उनले अगाडि भने, 'सहमतिबाटै जतिसक्दो चाडो जनताको अपेक्षा अुनसार संविधान बनाउनु हुन्छ त्यति नै नेपाल र नेपालीको लागि भलो हुन्छ।'
भिडियोसहित