राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई हिन्दु राष्ट्रका विषयमा जनमतसङ्ग्रह गरिनुपर्ने बताएका छन्।
पार्टीको चुनावी कार्यक्रमअन्तर्गत सुदूरपश्चिम पुगेका थापाले विहिबार डडेल्धुरामा पत्रकारहरूसँग कुरा गर्दै आगामी संविधानसभाको निर्वाचनसँगै हिन्दुराष्ट्रका लागि जनमत संग्रह गर्नुपर्ने बताएका हुन्।
आगामी संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीको एजेन्डा राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र घोषणा हुने बताउदै थापाले मुख्य चार दलले संविधानसभाको निर्वाचन नै नचाहेको दाबी गरे।
चार दलीय सिन्डिकेटकै कारण मुलुक दुर्भाग्यमा फसेको दाबी गरेका नेता थापाले चार दलका नेताहरुले लोकतन्त्रका नाममा मुलुकमा ब्रह्मलुट मच्चाएको आरोप लगाउँदै उनले त्यसबाट बच्नका लागि लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्यक्षमा नियुक्त गरेको दाबी गरे।