२०६८ सालमा भएको जनगणना अनुसार दोलखा जिल्लाको भुषाफेदा गाविसको वडा नं. १ मा कोही पनि बसोवास गर्दैनन्।
केन्द्रीय तथ्याङ्क विभागले भर्खरै सार्वजनिक गरेको वडागत जनसंख्या विवरण अनुसार भुषाफेदा गाविसमा १ नं. वडा छैन। यहाँ बसोवास गर्ने मानिस पनि छैनन्।
जनगणनाको तथ्याङ्कमा वडा नै नभएको ठाँउमा २०७० मंसिरमा भएको संविधानसभा निर्वाचनका ८ मतदाता थिए।
जिल्ला निर्वाचन कार्यालय दोलखाले संकलन गरेको मतदाता नामावलीमा ८ जनाले फोटो खिचाएका कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ।
सिन्धुपाल्चोक जिल्लासँग जोडिएको भुषाफेदा गाविसको १ नं. वडामा विगतदेखि नै सिमाविवाद रहिआएको छ।
स्थानीय शुक्र लामाका अनुसार दुवै जिल्लाले आफ्नो भुभाग दाबी गरेपछि सिमा विवाद निम्तिएको हो। 'वडाभरमा १ परिवारको मात्र दोलखा जिल्लाको नागरिकता रहेको छ। त्यस वडालाई सिन्धुपाल्चोक नै पायक पर्ने कारण दोलखातिर उनिहरुको संगत नै हुँदैन', लामाले भने।
सिमाविवादका कारण जनताले विभिन्न समयमा हैरानी व्यहोर्नुपरिरहेको छ। स्थानीयहरुले संरक्षण गरेको वन अर्को जिल्लाका वासिन्दाहरुले उपयोग गर्ने गरेका छन। लामा भन्छन 'हामीले यसका वारेमा जिल्लामा रहेका निकायहरुमा पनि खबर गर्यौं। कसैले पनि वास्ता गरेको छैन।'
स्थानीय घ्याम्जो लामा सिमा विवाद सल्टाईदिन कसैले पहल नगरेको वताँउछन। 'देशका सबै गाविसमा ९ वटा वडाहरु छन। हाम्रो गाविसमा मात्रै ८ वटा वडा छन। यसले गर्दा गाँउ विकासमा पनि प्रभाव परेको छ। यतावाट सिन्धुपाल्चोकले गर्छ भन्यो, उता दोलखाकाले गर्छ भन्छ।
यसले गर्दा गाँउको विकास नै रोकिने अवस्था छ', लामाले भने।