काठमाडौं, चैत २३ (सेतोपाटी)– सर्वोच्च अदालतमा प्रवेश गर्दा बैशाख २ गतेदेखि मोबाईल, क्यामरा, भिडियो क्यामरा, पेन क्यामरालगायतका तस्बीर, स्वर तथा भिडियो खिच्न मिल्ने उपकरण लैजान नपाईने भएको छ ।
‘अदालतको सुरक्षाका दृष्टिकोणले हामीले यस्तो व्यवस्था गर्न लागेका हौं,’ सर्वोच्च अदालतका प्रवक्ता श्रीकान्त पौडेलले भने, ‘अदालत हाताभित्र अदालतको संवेदनशीलता नबुझि रेकर्डिंग गर्ने, फोटो खिच्नेलगायत काम गर्ने मुद्दाका पक्षहरुलाई यस्तो रोक लगाउन लागिएको हो ।’ दैनिक अदालत आउने कानुन व्यवसायी, पत्रकार र अदालतले पहिचान गरिसकेका व्यक्तिलाई भने अदालत हाताभित्र मोबाईल क्यामरा लैजान पाए पनि इजलासमा नदिने निर्णय भएको पौडेलले बताए । त्यसबाहेक मुद्दाका पक्ष÷विपक्ष र अन्य व्यक्तिले क्यामेरा, मोबाइल फोन सुरक्षा कर्मीको जिम्मामा मुल ढोकामै छोडी फर्किँदा मात्रै लैजान पाउने निर्णय सर्वोच्च अदालतले गरेको हो ।
अधिवक्ता हरि फुयाँलले सहन्यायाधिवक्ता युवराज सुवेदीको तस्बिर इजलासभित्रै खिचेर फेसबुकमा राखेको भोलिपल्टै अदालतले यस्तो निर्णय गरेको हो ।
यस अघि अदालतमा मुद्दाका पक्षले इजलासभित्रै न्यायाधीशको स्वर रेकर्ड गरेपछि सर्वोच्चका वरिष्ठ न्यायाधीश रामकुमारप्रसाद साहले इजलासमा तस्बीर खिचाउने र अडियो रेकर्ड गराउन नहुने बताएका थिए ।
‘अदालत प्रवेश गर्ने मुद्दाका पक्षहरु र अन्य व्यक्तिका साथमा रहेका तस्वीर तथा स्वर रेकर्ड गर्ने विद्युतीय उपकरणहरुमार्फत् अदालतको हाताभित्र अदालतको अनुमति बेगर गलत काममा दुरुपयोग गर्ने गरेको पाइएको छ,’ सर्वोच्चले निकालेको सूचनामा उल्लेख छ, ‘त्यसैले यही २०७० साल वैशाख २ गतेदेखि मोबाईल फोन, क्यामरा, भिडियो क्यामरा, पेन क्यामरालगायतका उपकरण अदालतको मूल ढोकामा सुरक्षाकर्मीलाई जिम्मा लगाउने व्यवस्था गरिएको छ ।’
तस्बिर– अधिवक्ता हरि फुयाँलले फेसबुकमा राखेको सहन्यायाधिवक्ता युवराज सुवेदीको तस्बिर ।