नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता सुशील कोइराला नेपालको ३७ औँ प्रधानमन्त्री बनेका छन्। उनको पक्षमा ४०५ मत र विपक्षमा १४८ मत प्राप्त भएको छ। ७५ वर्षीय कोइराला नेपालको दोस्रो अविवाहित प्रधानमन्त्री हुन्।
एमाओवादी नेतृत्वको मोर्चामा रहेका १६ दल र राप्रपा नेपालले भने विपक्षमा मतदान गरेका छन्। एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्रको सिद्धान्तअनुसार प्रतिपक्षमा बसेको जानकारी दिँदै संविधान निर्माणका लागि आवश्यक सहयोग गर्ने बताए। 'हिजोको सहमतिले संविधान निर्माण हुने आशा राखेको छु,' उनले भने।
२००७ सालदेखि राजनीतिमा चासो राख्न थालेका कोइराला विगत ५० वर्ष देखि लोकतान्त्रिक आन्दोलनमा सकृय छन्। २०३४ सालपछि नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य, महामन्त्री, उपसभापति हुँदै उनी अहिले सभापति तथा संसदीय दलका नेता छन्। इमान्दारी राजनीतिकर्मीको सबैभन्दा ठूलो शक्ति भन्ने व्यवहारमा उतार्दै आएका कोइराला अहिले समकालीन नेताहरुमा सबैभन्दा सादा जीवन व्यतित गर्ने पार्टी प्रमुख हुन्।