युवराज घिमिरे– माओवादी अध्यक्ष पुष्पकमल दाहालको चीन यात्राले नेपाल कुनै न कुनै रूपमा राजनीतिक तरंगित भएको छ । २०६६ वैशाखमा प्रस्तावित चीन यात्राभन्दा करिब १० दिन पहिले दाहालले प्रधानमन्त्री पदबाट राजिनामा गरे, नेपाली सेनाका प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउने उनको निर्णयलाई राष्ट्रपति तथा १८ दलहरूले उल्ट्याएपछि । प्रधानमन्त्री बन्नेबित्तिकै २०६५साउनमा चीन भ्रमणमा जाँदा आफूले अहिलेसम्मको नेपाली कुटनीतिक परम्परा तोडेर दिल्लीको साटो ‘बेइजिङ’ जान लागेको अभिव्यक्ति दिएका दाहालले फर्केर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेबित्तिकै ‘आफ्नो पहिलो राजनीतिक यात्रा दिल्ली नै हुने’ बताएका थिए । कटवाल प्रकरणपछि प्रधानमन्त्रीका रुपमा उनले गर्नै लागेको त्यो भ्रमण तुहियो, यद्यपि त्यसपछि पनि बीचका ‘लो प्रोफाइल’ यात्रामा उनी चीन पुगे एकपल्ट ।
राजिनामाको ४७ महिनापछि दाहाल होहल्लाबीच फेरि एकपल्ट आधिकारिक हैसियतमा बेइजिङ जान लागेका छन्, एकीकृत नेपाल कम्युनिष्ट पार्टी– माओवादीका अध्यक्षका रूपमा । र, यो यात्रा राजनीतिक र कुटनीतिक वृत्तमा केही चर्चाको विषय बन्न पुगेको छ । यसले निम्त्याउने सम्भावित परिणामबारे अनेक अड्कलबाजीहरू समेत भइरहेका छन्, एनेकपा माओवादीभित्र पनि । प्रधानमन्त्रीका रूपमा चीन जाने बाबुराम भट्टराईको धोको अधुरै रह्यो । चीनले करिब एक महिनाअघि जेठका लागि नेपालका प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिँदा भट्टराई केही दिनमै हट्ने पक्का भइसकेको थियो ।
यता दाहाललाई चीनबाट निम्तो आउँदा उनले पहिले भारत (दिल्ली) पुगेरमात्र उत्तर जाने सोचमा थिए । नेपालका प्रमुख राजनीतिक दलहरूसँग ‘निरन्तर इंगेजमेन्ट’को नीति अपनाएको चीनले केही कडाइका साथ दाहालसँग चीन भ्रमणका लागि ‘तपाईं कति इच्छुक हुनुहुन्छ’ भनी सोधेको बुझिएको छ । गत मार्च ८ मा भारतबाट आएका जनता दल (युनाइटेड) का महासचिव केसी त्यागीसँग ‘चीनले आफूलाई बोलाइरहेको र चीन पुग्नुअघि दिल्ली जाने आफ्नो भित्री इच्छा’ रहेको भन्दै दाहालले त्यो चाहना पूरा गराउन सहयोगको याचना गरेका थिए त्यागीसँग । उनको प्रयासपछि पनि भारत सरकारले या त्यहाँको विदेश मन्त्रालयले दाहाललाई कुनै निम्तो दिएको छैन अहिलेसम्म, यद्यपि जनता दल (युनाइटेड) का अध्यक्ष शरद यादवले व्यक्तिगत रूपमा भारत भ्रमणको निम्ता दिएका छन् ।
‘परिस्थिति हेरेर निम्तो आएका खण्डमा प्रचण्ड जहिले पनि दिल्ली जान सक्नुहुन्छ,’ एमाओवादी विदेश मामिला प्रभारी राम कार्कीले सेतोपाटीसँग भने । दाहालको भारत यात्राको चाहनाबाट बेइजिङको यात्रा प्रभावित नहोस् भनी सुनिश्चित गर्न सम्भवतः चीन चाहन्थ्यो । त्यसैले स्पष्टतासाथ प्रचण्डलाई यात्राबारे निर्णय लिन चीनले आग्रह गरेपछि उनले अन्ततः अप्रिल १४ (वैशाख १) मा त्यसतर्फ जाने आफ्नो निधो चीनलाई सुनाए ।
माओवादी नेतृत्व, खासगरी बाबुराम भट्टराई र दाहाल भारतपरस्त भएको र हेटौंडा महाधिवेशनमार्फत एनेकपा माओवादीले उसको विश्व मान्यता (‘साम्राज्यवादी अमेरिका र विस्तारवादी भारतविरुद्धको नीति’) त्यागेपछि चीनको यो निमन्त्रणाले विशेष अर्थ राख्दछ । दाहालले हालै निर्वाचित चिनियाँ राष्ट्रपति सी जिनपिङसँगै सरकारका उच्चपदस्थ अधिकारी र चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरूसँग भेट्ने कार्यक्रम रहे पनि, एनेकपा र सिपिसीको सम्बन्ध र सहकार्यका सम्भावनाबारे चीनले अध्ययन गर्ने देखिन्छ । प्रधानमन्त्रीका रूपमा भट्टराईले तत्कालीन प्रधानमन्त्री वेन जियावाओको नेपालको औपचारिक भ्रमणको कार्यतालिका अपरिपक्व र गैरकुटनीतिक रूपमा खुलासा गरेपछि त्यो यात्रा रद्द भई पछि चार घन्टाको ‘ट्रान्जिट यात्रा’मा उनी नेपाल आएका थिए । भट्टराईले प्रधानमन्त्री बनेदेखि अनुरोध गरेको बेइजिङ भ्रमणको मिति पनि उनको कार्यकालभरि चीनले तोकेन । त्यतिमात्र होइन, गत वर्ष जुन २२ मा रिओ दि जेनेरिओमा भएको अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा वेन जियावाओले भट्टराईलाई भेट्ने समय दिएनन्, यद्यपि उनले भुटानी प्रधानमन्त्रीलाई भेटी भुटानमा आफ्नो दूतावास खोल्न चीन इच्छुक रहेको बताएका थिए ।
दाहाल अहिले निष्क्रिय लुम्बिनी उच्चस्तरीय संयन्त्रका प्रमुख हुन् । चीनको एउटा गैरसरकारी संस्था (एपेक इन्टरनेसनल) मार्फत बुद्धको जन्मस्थललाई विश्वकै उत्कृष्ट शान्ति क्षेत्र बनाउनका लागि ३ अर्ब डलरको परियोजना ल्याउन उनी अग्रसर थिए ।
के दिल्लीले दाहाललाई बेइजिङ यात्रापूर्व बोलाउला ? या त्यसपछि ? या आफूलाई ‘विदेशी प्रभु’ या नेपालको मामिलामा हस्तक्षेपवादी शक्तिका रूपमा प्रदर्शन गरेपछि झन्डै ‘परसोना नन ग्राटा’ जस्तो व्यवहार गरेको दिल्लीले दाहाललाई बेवास्ता नै गरिरहला ? तत्काल भन्न सकिने अवस्था छैन । तर, बाबुराम भट्टराई पदबाट चिप्लिएपछि एनेकपा र दाहाललाई वेबास्ता गर्न पहिलेभन्दा कठीन हुनेछ दिल्लीलाई ।
चीन र दिल्ली दुवैको विश्वास र सम्मान जित्नु ठूलो उपलब्धि हुनेछ कुनै पनि नेपाली नेताका लागि । तर, ‘दिल्लीबाट डामिएका’ दाहालका लागि त्यो त्यत्ति सहज हुने छैन । त्यसैले चीनले उनलाई न्यानो आतिथ्य प्रदान गरे पनि विश्वसनीयता र सहकार्यका हिसाबले भने दाहाल उत्तरको ‘परीक्षणकाल’ (प्रोवेसन) मा नै रहनेछन् । एनेकपा उच्च स्रोतका अनुसार बाबुराम पदबाट हटेपछि उनको पार्टी चीनका लागि ‘विश्वासयोग्य’ हुने आश्वासन दाहालले दिनेछन् । तर, नेपालमा विद्यमान राजनीतिक अस्थीरतालाई सम्बोधन गर्न यो यात्राले के अर्थ राख्छ ? तत्काल निष्कर्ष निकाल्नु छिटो हुनेछ ।
प्रकाशित मिति: 2013-04-05 14:19:23