काठमाडौं (सेतोपाटी)– सूर्यबहादुर थापाले पशुपतिशमशेर राणासँग मिलेर एउटै पार्टी बनाउने अन्तिम प्रयास गर्दा चुनावी शक्ति आर्जनका लागि हिन्दु राष्ट्रको नारा दिने भएका छन्। यसले नेपाललाई सर्वधर्म हिन्दु गणतन्त्रको पहिचान देखाउँदै छ भने पूर्वपञ्चहरुको अर्को कट्टरपन्थी पार्टी कमल थापा नेतृत्वको राप्रपा नेपालले हिन्दु राजतन्त्रको ।
हिन्दु गणतन्त्र र हिन्दु राजतन्त्र भन्ने दुई किनाराको नेतृत्व क्रमशः सूर्यबहादुर थापा र कमल थापाले गर्दैछन् । यी दुवै नारा चुनावका साथै आफ्नो राजनीतिक अस्तित्व र पहिचानका लागि निर्धारित हुन् । थापाद्वयको एकताको गुञ्जायस भने प्रायः सिद्धिसकेको छ । वरिष्ठ थापाले गणतन्त्र स्वीकार गरिसकेका छन् भने कनिष्ठ थापाले राजतन्त्र नेपालका लागि आवश्यक भन्ने नीति अझ बलियो बनाउँदै छन् ।
पूर्वपञ्चहरूको प्रतिनिधित्व गर्ने दुवै पार्टीले हिन्दु धर्मको पहिचान फर्काउनुपर्ने वकालत गर्दैछन् । वरिष्ठ थापाको राष्ट्रिय जनशक्ति पार्टीले संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र घोषणालाई आत्मसात गरे पनि धर्म निरपेक्षतालार्ई भने अनुमोदन नगरेको उक्त पार्टीका संसदीय दलका नेता प्रकाशचन्द्र लोहनी बताउँछन् । उनको तर्क छ, विश्वमा एक अर्ब जनसंख्या भएको धर्मको पहिचान दिने एउटामात्र देश रहेको अवस्थामा त्यसलाई विस्थापन गर्नुको औचित्य छैन । उनी प्रश्न गर्छन्, के संयुक्त राज्य अमेरिका र युरोपेली मुलुकहरूमा क्रिष्चियन धर्मको पहिचान छैन ? हिन्दुको पहिचान दिने तर सबै धर्मलाई समान अवसर र स्वतन्त्रता दिने उनको मत छ ।
राप्रपा नेपाल भने हिन्दु राजतन्त्रको मान्यता राख्ने भएकाले ०४७ सालकै संविधानको वकालत गर्छ र राज्यको धर्म हुने र त्यसको नेतृत्व राजसंस्थाले गर्ने तर्क गर्छ । दुवै पार्टी हिन्दु पहिचान त्याग्न नहुने अडानमा छन् । दुवैले नेपालको कन्जरभेटिभ जनमतको प्रतिनिधित्व गर्ने आशा गर्छन् । राजपा र राप्रपाबीच आसन्न औपचारिक एकता प्रक्रियाले बलियो कन्जरभेटिभ पार्टी बनाउने लोहनी दाबी गर्छन् । त्यो एकता प्रक्रियामा नेतृत्वको संरचनाबारे भने छलफल अझै जारी छ ।
कन्जरभेटिभ शक्तिको पहिचानमा आधारित दुई पार्टीमध्ये कनिष्ठ थापा नेतृत्वको राप्रपा नेपाल बढी आक्रामक छ । कमल थापा उक्त शक्तिको बलियो प्रतिनिधित्व आफूले गर्ने विश्वासका साथ भावी संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य चुनिन कम्तीमा एक प्रतिशत ल्याउनुपर्ने गरी सीमा तोक्ने पक्षमा उभिएका छन् । त्यत्तिको आत्मविश्वास भने वरिष्ठ थापाको पार्टीले देखाउन सकेको छैन । त्यहीकारण सूर्यबहादुर थापा त्यसरी सीमा तोकिन नहुने साना दलहरुको हारमा मिसिएका छन् ।