कुपण्डोलमा ४५ वर्षदेखि कहिल्यै नहारेका वडाध्यक्ष

चुनाव
  • Get News Alerts

tata

ललितपुरमा ४५ वर्षदेखि अनवरत वडाध्यक्ष निर्वाचित नरसिंह व्यञ्जनकार। तस्बिरहरु: अनिश रेग्मी/सेतोपाटी


मुलुककै परिचित एउटा व्यस्त भेग, जसका दृश्य दिनप्रतिदिन फेरिने गर्छन्। ललितपुरको कुपण्डोलदेखि यता नारायणी होटलसम्म र उता चाकुपाट, कृष्णगल्लीसम्मको क्षेत्र बितेको ४५ वर्षमा कति परिवर्तन भयो, त्यसको कल्पना जसकसैले गर्न सक्छ। तर, पत्याउन पनि गाह्रो लाग्छ, यस्तो गतिशिल भेगको एउटा कुरा बितेको ४५ वर्षदेखि फेरिएको छैन।

त्यो हो एउटै वडाध्यक्ष।

७७ वर्षीय नरसिंह व्यञ्जनकार यसपालि स्थानीय निर्वाचनमा समेत जितेपछि ललितपुरको वडा नम्बर १० मा लगातार दसौंपटक जित्ने वडाध्यक्ष बन्न पुगेका छन्।

‘साह्रै बूढो भएकाले यसपाला त सक्दिनँ भनेर पन्छिएको थिएँ,’ उनले अल्छी मानेर हात कन्याउँदै भने, ‘सबै वडाबासी आएर जबर्जस्ती उठाइदिए र फेरि पनि जिताइदिए।’

कांग्रेसबाट उठेका आफ्नै भाइ (माइलाबाका छोरा) कर्मलाललाई स्वतन्त्र उम्मेदवार भएरै हराइदिएका उनले २०२९ सालको चुनावदेखि यो वडाको बागडोर कसैको हातमा जान दिएका छैनन्। उनी यहाँ कतिसम्म लोकप्रिय छन् भने जतिपटक उठे, लगभग आधाजसोमा त कसैले उनको विपक्षमा उभिने हिम्मतै गरेनन्। उनी निर्विरोध उम्मेदवार भएरै जिते। जब जब उनलाई कसैले चुनौती दिन खोजे, पछारिए।

सुन्दा पनि दन्त्यकथाजस्तो लाग्ने यी चामत्कारिक व्यक्तिका के विशेषता होलान्? मानिस कसरी यस्तो अनवरत वडाध्यक्ष बन्दा रहेछन्?

यस्तै जिज्ञासा बोकेर हामी शुक्रबार बिहानै नरसिंह व्यञ्जनकारलाई भेट्न गयौं। उनलाई घरैमा भेट्ने कोशिस गर्दा बिहानै बाहिरिसकेका रहेछन्। ‘त्यहाँ घरमा आउँदिन, बधाइ दिन भन्दै धेरै जना थुप्रिएर अलमल्याउँछन्,’
यस्तो जवाफ भनेपछि उनलाई पछ्याउँदै गइयो।

उनी कुपण्डोलमा केही पुराना साथीहरूसँग बसेका थिए। कुराकानीको सुरुआत उनको राजनीतिको सुरुआतबाटै भयो।

‘नारायणहिटीमा निर्माण काम गर्थेँ,’ उनले भने, ‘पछि कुरा नमिलेर छोडछाड गरेँ।’

यो २०२९ सालको कुरा हो। त्यतिबेला स्थानीय निर्वाचन हुनै लागेको थियो। वडाध्यक्ष थिए, देवेन्द्रलाल अमात्य। ‘उनी पाटनकै पहिलो अमात्य परिवारका सदस्य थिए,’ व्यञ्जनकारले भने, ‘निकै रवाफिला।’

चुनाव नजिकिँदै गएका बेला एकदिन अमात्यले कुपण्डोलका केही तन्नेरीलाई प्रहरी लगाएर थुनाइदिने कुरा गरेछन्। व्यञ्जनकारलाई यस्तो घमण्ड ठीक लागेन। र, उतिखेरै अमात्यविरुद्ध आफू वडाध्यक्षमा खडा हुने घोषणा गरिदिएछन्।

घोषणा त गरिदिए, तर समस्या के भने पूर्व वडाध्यक्ष अमात्यका पक्षमा एकसेएक हस्तीहरू थिए।

तत्कालीन प्रधानपञ्च बुद्धिधर त अमात्यको पक्षमा खुलेर लागेकै थिए, त्यसमा जोगमेहर श्रेष्ठसमेत थपिएपछि व्यञ्जनकारलाई ठूलो दबाब पर्न थाल्यो। पैसादेखि लिएर शक्तिसमेत खनिन सुरु भयो।

‘एकदिन चिताउँदै नचिताएको अचम्म भयो,’ उनी भन्छन्, ‘त्यतिबेलाका प्रधानमन्त्री कीर्तिनिधि विष्टले तत्कालीन शक्तिशाली सचिव सुरेन्द्रराज शर्मालाई फोन गरेर नरसिंहलाई अन्याय हुन नदिनु भनिदिनुभएछ।’

त्यसपछि नरसिंह व्यञ्जनकारको हौसला मात्र बढेन, सचिव शर्माले आफ्ना छोरा शैलेन्द्रराज शर्मा (पछि रेडियोका निर्देशक) नै उनलाई सहयोग गर्न पठाइदिए।

यसरी सम्पन्न भएको चुनावमा अघिल्ला वडाध्यक्षलाई लगभग दुई गुणा बढी मत ल्याएर व्यञ्जनकारले पराजित गरिदिए। त्यसपछि उनलाई जीवनमा कहिल्यै चुनाव लड्न गाह्रो भएन। ‘आजसम्म जनताले नै लडाइदिन्छन् र प्रायः निर्विरोधै जिताइदिन्छन्,’ उनी भन्छन्।

एकछत्र विजय हासिल गर्न तपाईंले यो वडामा त्यस्तो के गर्नुभएको छ र?

‘त्यो त मलाई सोध्ने होइन,’ उनले भने, ‘कुपण्डोलदेखि पुल्चोकसम्म मेरो वडा घुम्नुस् र थाहा पाउनुस्, त्यहाँ भएजति सबै काम मैले नै गरेको हुँ।’

यसो भन्दै गर्दा व्यञ्जनकारको छेवैमा एक तन्नेरी बसेका थिए।

‘तपाईंले त्यो छेउमा भएको फ्रेण्ड्स क्लबको नाम त पक्कै सुन्नुभएको होला?’ उनले सोधे।

‘सुन्ने मात्र के कुरा केटाकेटीदेखि फुटबल हेर्दै आइरहेकै छु,’ मैले भनेँ।

‘त्यो क्लबको संस्थापक अध्यक्ष नै उहाँ हो,’ ती तन्नेरीले थपे, ‘क्लबको भवन बनाइदिनेदेखि यहाँसम्म ल्याइपु¥याउन उहाँकै मुख्य योगदान छ।’ व्यञ्जनकार अहिले पनि क्लबको संरक्षक रहेको जानकारी ती तन्नेरीले दिएपछि युवा पुस्तामा उनको लोकप्रियताको कारण खोजिरहनै परेन।

यति कुरा गर्दागर्दै व्यञ्जनकारको मोबाइल फेरि बजिसकेको थियो।

‘हजुर बाबुसाहेब, मैले हजुरको परिवारैलाई भोट दिन आएको देखेको थिएँ, मबाहेक अरू कसले पाउँछ र? धन्यवाद, धन्यवाद। म गर्छु हजुर। म गर्छु,’
यति भनेर उनले फोन राखे।

‘म कहिल्यै माइकिङ, पोस्टर र हल्लाखल्ला गर्ने काम गर्दिनँ,’ उनले भने, ‘चुनावचिह्न भएको एउटा सानो कागज बोक्छु र एकपटक सबै वडाबासीको ढोकामा पुग्छु। त्यत्ति हो।’

यसपालि भने चुनाव लड्ने जाँगर पनि नभएर बसिरहँदा वडाभरिका मानिस आएर उनलाई जबर्जस्ती उठाइदिएको र जिताइदिएको उनले फेरि सुनाए। ‘वडाका एक जना पनि पाका मानिसको भोट सायदै अन्त गएको होला,’ उनले थपे, ‘त्यसबाहेक कांग्रेस, एमाले, माओवादी, राप्रपाका सम्पूर्ण मतदाताले वडामा मलाई नै भोट दिएका छन्।’

आफू जतिकै लोकप्रिय भए पनि आफूजस्तै वडाबासीको माया पाउने उत्तराधिकारी अर्को जन्मिन नसकेकोमा उनलाई दुःख लाग्छ। श्रीमती, दुई छोरा र चार छोरीका पिता नरसिंहले छोराहरूमा उत्तराधिकार जान्छ कि भनेर कोशिस पनि गरेका रहेछन्।

‘टाकटुके काम गरेर बसिरहेका छोराहरूलाई राजनीतिमा ल्याउन त खोजेको थिएँ,’ उनी भन्छन्, ‘तर, मेरा छोराहरूबाट राजनीति हुँदैन बाबु...’

फुटबल प्रशिक्षकको काम पनि छाडेर बसेका ठूला छोरा त होइन, कान्छा छोरालाई चाहिँ अघि बढाउन सकिन्छ कि भनेर उनले इच्छा राखेका रहेछन्।
‘तर, छोरालाई उत्तराधिकार दिनसक्ने यो राणा र शाह शासन होइन बाबु,’ उनले भने, ‘जति गरे पनि मेरा छोराहरूमा त्यो गुणै आएन।’

यस्तो अवस्थामा अन्य तन्नेरीलाई पनि त विकास गर्न सक्थे नि?

‘हो, धेरै जनालाई मैले भावी वडाध्यक्षका लागि तयार पार्ने कोशिस गरेँ,’ उनले थपे, ‘सबै पानीमा अक्षर लेखेजस्तै भइदियो। मसँग कुरै मिलेन...’

उनी आफूले औपचारिक शिक्षा चाहिँ कति लिएका रहेछन्?

‘यो स्कुलमा पढेकै मानिसले कता कताको हावा ल्याएर बिगारेको देश हो बाबु,’ उनले भने, ‘सेवा गर्छु भनेर राम्रो मन बनाउन पढ्नै पर्दैन।’

आफूले आजसम्म यही वडाको चुनावमा लडेरै परीक्षा दिँदै आएको र यो परीक्षामा सदैव जनताबाट ठूलो नम्बरले पास हुँदै आएको उनले सुनाउँदा वरपरका सबै एकछिनसम्म हाँसे।

श्याममान बज्राचार्य व्यञ्जनकारकै वडावासी मात्र होइन, समकालीन पनि हुन्।

‘उहाँमा भएको मुख्य विशेषता नै यो मेरो र त्यो अरूको नभनेर हुने काम छ भने जसको पनि गरिदिने हो,’ उनले थपे, ‘आवश्यक परेछ भने जुनसुकै मन्त्री वा नेताको ढोकामा पुगेरै पनि उनीहरूलाई तत्काल रिझाएर जनताको काम गराइदिने खुबी उहाँमा छ।’

बज्राचार्यका अनुसार व्यञ्जनकारमा जोसुकैलाई तत्काल प्रभावित पार्नसक्ने कतिसम्म सरलता छ भने पञ्चायतभरि वडाध्यक्ष रहँदै आएका उनलाई बहुदललगत्तै २०४९ सालको चुनावमा नेपाली कांग्रेसले टिकट दियो। त्यतिबेला उनको विरुद्धमा लड्ने आँट पनि कसैले गरेनन् र उनी फेरि निर्विरोध वडाध्यक्ष भए। तर, लगत्तैको २०५४ को चुनावमा उनलाई कांग्रेसले टिकट दिएन। यस्तो अवस्थामा वडावासीले उनलाई फेरि उठ्न लगाए। उनले स्वतन्त्र उम्मेदवारी दिए। प्रत्युत्तरमा जनताले उनलाई यति धेरै मत दिए, बाँकी सबै उम्मेदवारको जमानतै जफत भयो।

कुराकानीका क्रममा उनले आफू बेग्लै वडाको अध्यक्ष रहे पनि ललितपुरका धेरै स्थानको विकासमा सरिक रहेको उल्लेख गरे। च्यासलको ढुँगेधारामा मूर्ति स्थापनादेखि अरू पनि थुप्रै काम सुनाए। ललितपुर महानगरपालिकाका घरघडेरीको त आफूजत्तिको रेकर्ड अरू कसैसँग नरहेको उनले बताए। अहिले मेयरमा उठेका कांग्रेसका चिरिबाबु महर्जन र नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकार पनि आफ्ना चेलाहरू भएको उनले जानकारी दिए।

यस्तो मानिसलाई जहिले पनि उही वडाध्यक्ष भइरहनुभन्दा मेयरमै उठ्ने इच्छा भएन?

जवाफमा व्यञ्जनकारले २०२९ सालमा वडाध्यक्ष जित्दाको अनुभव फेरि सम्झे।

‘त्योताका वडाध्यक्षमध्येबाटै प्रधानपञ्च छान्ने प्रचलन थियो,’ उनले थपे, ‘म प्रधानपञ्चमा उठेको थिएँ। तर, २० वडाध्यक्षमध्ये पाँच जनाको मात्र भोट पाएर हारेँ।’

पहिलोपटकै नगरपालिकामा पुग्दा यसरी प्रमुखको दाबेदारी गरेका उनले त्यसपछि चाहिँ कहिल्यै प्रमुख पदमा पुग्ने इच्छा राखेनछन्। त्यसको पनि रोचक कारण बताए।

‘नगरप्रमुखको काम भनेकै जितेदेखि पाँच वर्षसम्मै आफ्नो पक्षमा बहुमत पु¥याउन अनेक तिकडम गरिरहनुपर्ने रहेछ,’ उनले भने, ‘यस्तोमा असाध्यै धेरै पैसाको खेल पनि देखेँ।’

पैसाको घिनलाग्दो खेल देखेपछि उनलाइ सुरुमै नगरप्रमुख भनेको जनताको काम गर्ने पद होइन रहेछ भन्ने लाग्यो। ‘इमानदारीपूर्वक भन्ने हो भने जनताको काम वडाध्यक्षले मात्र गर्छ,’ उनले थपे, ‘त्यसैले मलाई यो वडाध्यक्ष छाडेर अरू पदमा उठ्ने इच्छा कहिल्यै भएन।’

उनले माथिल्लो पदमा धेरैलाई जिताउने काम भने गर्दै आएका छन्। उदाहरणमा त फेरि २०२९ सालको पहिलो चुनाव नै आइपुग्यो।

‘तत्कालीन मेयर डा. बुद्धिधरले मलाई सुरुमै हराउने सबै उपाय अपनाएका थिए,’ उनले भने, ‘जितिसकेपछि उनैलाई जिल्ला पञ्चायतको सभापति बनाइदिएँ।’

किन यस्तो गरेको त?

‘मसँग दुश्मनी गरे पनि आखिरमा उनि जत्तिको सही मान्छे अरू थिएनन्,’ व्यञ्जनकारले थपे, ‘त्यसैले मैले मेरो कुरा बिर्सेर उनलाई सघाएको थिएँ।’

उनले हेर्दा मुलुकको राजनीतिक अवस्थामा पहिले र अहिलेमा के अन्तर आएको छ? यो प्रश्नको जवाफमा उनले निराश अनुहार लगाए।

‘२०४६ सालमा के के पाइन्छ भनियो, ०६२ साल अगाडि त त्यत्रो मारामारै गरेर के के हुन्छ भनियो,’ उनले सोधे, ‘तर, मलाई बताइदिनुस् त, जनताले के पाए?’

उनले यी दुवै परिवर्तनबाट हालसम्म नेताहरूले मात्र पाउने काम गरिरहेको र त्यो आफूलाई मन नपरेको उल्लेख गरे। ‘जे जस्तो परिवर्तन भने पनि यसलाई जनताले पाउने सिस्टम बनाउनु प¥यो,’ उनले थपे, ‘नेताले पाउने सिस्टमको म विरोधी हुँ।’

४५ वर्षदेखि हरेक स्थानीय निर्वाचनमा भाग लिँदै र जित्दै आएका उनले उहिले र अहिलेको चुनावमा के फरक देखे?

‘चुनाव त उस्तै हो,’ उनले भने, ‘मेयरले यति र वडाध्यक्षले यति तलब पाउने भनेर हल्ला गरिदिएकाले पैसा कमाउने फटाहाहरू धेरै यसपाला यता राजनीतिमा आएर चुनाव जितिदिएका छन्।’

राजनीतिलाई यसले थप फोहोर र पैसामुखी बनाउने उनलाई लागिरहेको छ।
फेरि वडाध्यक्ष जितेपछि वडाको विकासमा उनको भिजन के रहेछ?

‘भिजन म एक्लैले बसेर बनाउने होइन,’ उनले भने, ‘सबैभन्दा पहिले जनताको बीचमा जान्छु, उनका कुरा सुन्छु र बल्ल भिजन बनाउने काम गर्छु।’

अन्तिममा एउटा प्रश्न बाँकी थियो। के उनी चर्चामा आएजस्तो साझा पार्टीको समर्थनमा उठेका वडाध्यक्ष थिए?

जवाफमा उनी अलिक कूटनीतिक बने।

‘साझा मात्र होइन, म सबै पार्टीको समर्थनमा उठेको वडाध्यक्ष थिएँ,’ उनले भने, ‘हो, साझाका प्रमुख र उपप्रमुखका उम्मेदवारले घरघरै गएर मेरोनिम्ति भोट चाहिँ मागिदिएका थिए।’

यसो भन्दै गर्दा उनले फेरि २०४६ सालपछिको एउटा घटना सुनाए।

‘मलाई गणेशमानजीले माया गरेको देख्नेबित्तिकै फलानो कांग्रेसी भयो भनेर हल्ला फैलियो,’ उनले थपे, ‘अर्कोपटक मनमोहनजीले त्योभन्दा बढी अपनत्व देखाएपछि फेरि सबैले एमाले भयो भनेर चर्चा गर्न थालेका थिए।’

कुरा यतिमा मात्र सीमित भएनछ। उनले थपे, ‘झन्, सूर्यबहादुरजी त पहिल्यैदेखिका अन्तरंग।’

त्यसो भए उनी कसका मान्छे हुन् त?

‘म केवल जनताको मान्छे हुँ,’ उनले भने, ‘त्यसैले साझा पार्टी मात्र होइन, भएभरका सबै पार्टीसँग मेरो उस्तै सम्बन्ध छ।’

व्यञ्जनकारका अनुसार उनले २०२९, २०३४ (गाउँफर्क) र २०३९ सालमा (निर्विरोध) चुनाव जितेका थिए। २०३९ सालमा तत्कालीन नगरप्रमुखसँग विवाद भएपछि राजीनामा गरे। लगत्तै २०४१ सालमा उपचुनाव हुँदा फेरि जनताले उनलाई कर गरेरै उठ्न लगाएर जिताइदिए। २०४३ सालमा उनले निर्विरोध जिते। प्रजातन्त्र आउनासाथ कांग्रेसले उम्मेदवार बनाएपछि उनी २०४९ सालमा फेरि निर्विरोध विजयी भए। २०५४ सालको चुनावमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेका थिए। त्यतिबेला बाँकी सबै उम्मेदवारको जमानत जफत गराइदिए।

‘बीचमा एकपटक कमल थापाले मनोनित गरेर वडाध्यक्ष बनाएका थिए,’ उनी भन्छन्, ‘त्यसपछि राजाले चुनाव गराउँदा निर्विरोध जितेपछि फेरि चुनाव लडेको यसैपाला हो।’

यसरी दसपटक वडाध्यक्ष भइसकेका असाध्यै सरल र असल व्यञ्जनकारसँग लामो कुराकानी गरिसकेपछि छुट्टिने बेला केही थप भन्न मन थियो कि भनेर सोधियो।

‘हिजोआज पत्रपत्रिका र प्रचारप्रसारको जमानामा म बोल्ने होइन, काम गर्नुपर्छ भन्ने मान्छे परेँ,’ उनले थपे, ‘जे जति भनेको छु, त्यसैलाई मिलाएर लेखिदिनुस्। थप भन्नु केही छैन।’

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    जसरी उनले चुनाव जित्न सक्छन् कि सक्दैनन् भन्ने आशंका उनकै पार्टीका नेताहरूमा थियो, त्यसरी नै उनले पार्टी घोषणापत्रमा लेखिएका महत्वाकांक्षी योजना कार्यान्वयन गर्दै महानगरको विकासलाई गति दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न महानगरवासीमा छ। मेयर निर्वाचित भएसँगै उनको परीक्षा सुरु भइसकेको छ।

  • फेरि रोकियो भरतपुरको मतगणना, सर्वदलीय छलफल जारी

    भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो। मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ। यसबारे अहिले छलफल चलिरहेको छ।

  • मतदाताले हामीलाई भरपर्दो विकल्पका रुपमा लिएका छन्: साझा पार्टी

    साझा पार्टीले काठमाडौं महानगर निर्वाचनमा आफ्ना दुवै उम्मेदवार तेस्रो र चौथो आउनु भनेको मतदाताहरूले आफूलाई 'भरपर्दो विकल्पका रूपमा लिएको' भनी प्रतिक्रिया दिएको छ। साझाबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार किशोर थापाले चौथो र उपमेयर उम्मेदवार निरूपमा यादवले तेस्रो बढी मत ल्याएका छन्।

  • भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरका २९ मध्ये २७ वडाको गणना गर्दा शाह एमालेकी उम्मेदवार दिव्य शर्मा भन्दा ६ हजार ३९९ मतले अगाडि छन्। १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी छ। यी दुई वटा वडामा गरी ६ हजार २०५ मत खसेको छ।

  • आर्थिक सर्वेक्षण : विद्युत् चुहावट नियन्त्रण अभियानमा सफलता

    विराटनगर कोरिडोरका उद्योगमा चार घन्टा र वीरगन्ज कोरिडोरका उद्योगमा ६ घन्टा, भैरहवा कोरिडोरमा विद्युत् प्रसारण प्रणाली क्षमताको कारणले ६ घन्टाको आसपासमा विद्युत् कटौती हुने गरेको छ। अघिल्लो आवमा ती सबै औद्योगिक कोरिडोरमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुने गरेको थियो।