काठमाडौं, चैत २२ (सेतोपाटी)– निर्वाचन आयोगले चुनाव स्वच्छ बनाउन तयार पारेको कानुनका अध्यादेश मस्यौदाहरू भुत्ते पार्न माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित सानाठूला दलका नेताहरू अघि बढेका छन् ।
दलहरूसँग लामो छलफल गरी तयार गरेका छवटा अध्यादेशका सुधारोन्मुख कतिपय प्रावधानको पार्टीहरूले विरोध गरेपछि रेग्मी सरकारले बिहीबार दिउँसो ३३ दललाई छलफलका लागि बोलाएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित अधिकांश दलका नेताहरूले विभिन्न प्रावधानको सार्वजनिक विरोध गर्न थालेका छन् । दाहालको आग्रहअनुसार मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले छलफल डाकेका हुन् ।
फौजदारी अभियोगमा सजाय भोगेको छ वर्ष नपुगेकाहरूले निर्वाचन लड्न नपाउने प्रावधानले माओवादी सबैभन्दा झस्केको छ । दाहालले रेग्मीलाई भेटेरै मस्यौदाबाट त्यस्तो प्रावधान हटाएर मात्र अध्यादेश जारी गर्न दबाब दिइरहेका छन् ।
माओवादीका दर्जनौं नेता फौजदारी अभियोगमा सजाय पाएकाहरू छन् । कांग्रेसका केही नेता पनि यो प्रावधानको विरोधमा छन् । आयोगले मस्यौदामा प्रस्ताव गरेको प्रावधानअनुसार खुमबहादुर खड्का, चिरञ्जिवी वाग्ले, जयप्रकाश गुप्ताजस्ता प्रभावशाली नेताहरूले निर्वाचन लड्न पाउँदैनन् ।
साना दलको विरोधमा समर्थन गर्दै माओवादीले समेत समानुपातिकमा निर्वाचित हुन दलले १ प्रतिशत मत ल्याउनुपर्ने प्रावधानको पनि विरोध गर्न थालेको छ । ‘हामीले गरेको छलफलमा चार ठूला दलले कम्तीमा ३ प्रतिशतको थ्रेसहोल्ड राख्नुपर्ने माग गरेका थिए,’ एक निर्वाचन आयुक्तले भने, ‘मझौला दलललाई मर्का नपरोस् हामीले १ प्रतिशतमा झा¥यांै, तीन दिन नबित्दै प्रचण्डजी नै सबैभन्दा चर्को विरोधमा उत्रिएको देखियो ।’
आयोगले सुरुमा निर्वाचन स्वस्थ र कम खर्चिलो बनाउन एक जना एक निर्वाचन क्षेत्रबाट मात्र उठ्न पाउने व्यवस्था गरेको थियो । प्रमुख चार दलले विरोध गरेपछि त्यो प्रावधान हटाएर मस्यौदा फाइनल गरिएको थियो ।
साना दलले एकजना व्यक्ति जतिसुकै निर्वाचन क्षेत्रबाट उठेर ‘च्याँखे’ थाप्न पाउने अहिलेको व्यवस्था हटाउन माग गरेका छन् । एउटै व्यक्ति दुई निर्वाचन क्षेत्रबाट उठेर जितेमा पछि फेरि उपनिर्वाचनको झन्झट हुने हँुदा पनि त्यसमा बन्देज लगाउनुपर्ने तर्क समाजवादी दलका नेता प्रेमवहादुर सिंहलगायत नेताले गर्दै आएका छन् ।
नेपालको संसदीय निर्वाचनमा ठूला दलका ठूला नेता एकभन्दा बढी निर्वाचन क्षेत्रबाट विजयी हुने गरेका छन् । संविधान सभाको २०६४ सालको निर्वाचनमा माओवादीका पुष्पकमल दाहाल, कांग्रेसका शेरबहादुर देउवा, एमालेका माधव नेपाल, फोरमका उपेन्द्र यादव र विजयकुमार गच्छदारले दुई क्षेत्रवाट चुनाव उठेका थिए ।
प्रकाशित मिति: 2013-04-04 13:25:46