मेयर पत्नी भन्छिन्- मिचेका सार्वजनिक जग्गामा पार्क बनाउन लगाउँछु

चुनाव
  • Get News Alerts

tata

गोकर्णेश्वर नगरपालिकाका नवनिर्वाचित मेयर सन्तोष चालिसे आफ्नो परिवारसँग। तस्बिर: अनिश रेग्मी/सेतोपाटी


बीस वर्षअघिको कुरा हो। बिहान ११ बजेको हुँदो हो। सन्तोष चालिसे बौद्धमा रहेको एउटा कार्पेट कारखाना छिर्नै आँटेका थिए। कारखाना मालिकसँग भेटघाट थियो। गेटबाहिरै सिकुटे ज्यान भएका र दु:खी लाग्ने मानिसलाई देखे।

उनको मन त्यहीँ अडियो।

कसलाई खोजेको भाइ?

उनको प्रश्न भुइँमा झर्न नपाउँदै ती मानिसले आफ्नो कथा सुनाए- 'भारतमा काम गर्थेँ। गाडी दुर्घटना हुँदा सिसा जति मेरो छातिमा रोपियो। कम्पनीको साहुले उपचार त गरिदिएको थियो। घाउ निको नहुँदै म घर आएँ तर केही सिसाहरु छातिमै छोडिएछन्। भारत जान पाए साहुले उपचार गरिदिने थियो। त्यहाँसम्म जान पाँच हजार भारु लाग्छ, मसँग छैन। यो कारखानाको साहुले सहयोग गर्थे कि भनेर आएको, गेटपालेले भित्र छिर्नै दिएनन्।'

सन्तोषले गोजी छामे, जम्मा सय रुपैयाँ रहेछ।

भनिहाले, ‘तिमी यहीँ बस, म पैसा लिएर आउँछु।’

भित्र पसेपछि गफ गरेरै एक घन्टा बित्यो। हिँड्ने बेला साहुसँग उनले गेटमा भेटेको कथा सुनाउँदै पाँच हजार भारु सापटी मागे। साहुले तुरुन्तै पैसा दिए।

बाहिर आउँदा ती मानिस गेटमा थिएनन्।

यत्रो कथा सुनिसकेपछि सहयोग नगरी सन्तोषको मन मानेन। उनले बौद्धभरी ती मानिसलाई खोज्दै फन्फनी घुमे। नभन्दै अर्को कारखानाको गेटमा उसैगरी उभिएको भेटे। पैसा दिए। ती मानिस मुस्कुराउँदै विदा भए।

अहिले पनि सन्तोषलाई याद आइरहन्छ, त्यो मानिसलाई सञ्चो भयो कि भएन होला भनेर।

दु:खमा परेका मानिसलाई सहयोग गर्नु आफ्नो रुचि भएको बताउने ५५ वर्षीय सन्तोष  ले गोकर्णेश्वर नगरपालिकाको मेयर पद जितेका छन्।

राजनीतिमा लागेको यो ३५ वर्ष उनले के मात्र गरेनन्? श्रीमान-श्रीमतीका झगडा सल्ट्याएनन् कि खेतआलीमा मारामार गर्नेलाई छुटाएनन्। अनेक ‘लफडा सल्ट्याउ र हिँड’ नै राजनीति रहेछ, उनलाई यस्तै लाग्छ अचेल।

‘यो राजनीति भनेको यस्तै लफडा रहेछ,’ उनले भने, ‘एकातिर यो लफडा छ, अर्को आफ्नो सोख त्यस्तो छ!’

मानिसको मन जितेपछि मत त कुन ठूलो कुरा भयो र भन्ने शैलीमा उनले थपे, ‘मेयरको टिकट पनि मैले बाहेक अरुले जित्दैन भनेरै पार्टीले दिएको हो।’ नभए त मेयरको टिकेट पाउन करोड खर्च हुने उनको अनुमान रहेछ।

बुधबार मतगणना जारी रहँदा एमाले उम्मेद्वारलाई हजार मतले पछि छाडिरहेका सन्तोष दिउँसो ३ बजे बल्ल घर आइपुगेका थिए। ‘झन्डै आज घरमा भेट्न पाउनुभयो,’ उनकी श्रीमती मन्दिराले हाँस्दै भनिन्, ’म यो घर आएदेखि नै उहाँ खाली समाजको काम भन्दै बाहिरै हो। भात पकायो, सधैं गाईलाई हुन्छ।’

राजनीतिक गफ गर्न त उनलाई पनि आउने रहेछ। उनले सुरुमै चुनावी खर्चको छनक दिइन्।

चुनावताक बजार घुमेर फर्केपछि उनलाई छोराहरुले भनेछन्, ‘पैसा नबाँडी त बुवाले जित्नुहुन्नजस्तो छ, अरु सबैले भोट किनिसके।’

‘वर्षेनी छोराहरुकै बिहेमा पैसा धेरै खर्च भयो, हामीसँग बाँड्ने पैसा कहाँ छ त? बरु जेसुकै होस् भनेर बाबुहरुलाई मैले नै सम्झाएँ,’ उनले भनिन्, ‘कसैले भोट किनेर पनि राजनीति गर्छ?’

यति मात्रै होइन, पति मेयर भएपछि पूरा गर्नुपर्ने उनका केही माग रहेछन्।

‘अहिले त तिरो तिर्न गयो भने पनि पैसा नलिई काम गर्दैनन्, न छिटो काम हुन्छ, सरकारी काम पर्‍यो भने कति धेरै हैरानी बेहोर्नुपर्छ जनताले, सिटाँ जनताका मान्छे भए पो सबै समेट्न सक्थे अहिले त लथालिङ्गै छ,’ उनले आफ्ना पतितिर हेर्दै भनिन्, ’उहाँले जितेपछि यस्ता जनता पिर्ने काम बन्द हुनुपर्छ भनेकी छु मैले।’

नगरपालिकाभित्र रहेका सार्वजनिक जग्गा मिच्ने चलन बढेको छ। तिनलाई व्यक्तिको हुन नदिई सर्वसाधारणका लागि खुला राख्नुपर्ने उनको सुझाव रहेछ।

‘गुठी, मठ-मन्दिर लगायत सार्वजनिक जग्गा मिचिरहेका छन् मान्छेले, त्यो मलाई मन परेको छैन, त्यसमा बरु बूढाबूढी, केटाकेटी टहल्ने खेल्ने ठाउँ बनाउनुपर्छ। रुखबिरुवा र फूलहरु रोप्ने हो भने पनि नगर कति राम्रो हुन्थ्यो। मैले यस्तै कुरा धेरै सम्झाइराख्नुपर्ने छ अब,’ आफ्ना पतिलाई पुलुक्क हेर्दै उनी हाँसिन्।

पहिले पहिले त पतिले जागिर खाए पनि हुन्थ्यो भन्ने लाग्दो रहेछ उनलाई। तर, उनी पाएका जागिर पनि अरुलाई सिफारिस गरिदिँदा रहेछन्।

‘जागिर खाए नि हुन्थ्यो भन्ने लाग्थ्यो, उहाँले भने पाएको जागिरमा पनि अर्कैलाई पठाउने,’ उनले भनिन्, ‘त्यति मात्र हो र यहाँ घरमा भएको पैसा पनि कसैले माग्यो भने दिइहाल्नुहन्थ्यो। मलाई भने यत्रा छोराछोरी कसरी हुर्काउने होला, घर कसरी धान्ने होला भन्ने लाग्थ्यो।’

झन्डै ३५ वर्ष लामो सहयात्रामा अनेकन गुनासा बिर्सेर पनि उनले पतिको राजनीतिक करिअरलाई स्वीकार गरिन्। बरु उल्टै उनले पनि राजनीति कस्तो हुनुपर्छ भन्ने जानिछन्। उनी बिहे गरेर आउँदा अहिले आरुबारीको मुख्य सडक भएको ठाउँमा काँडा पन्छाउँदै हिँड्नुपर्थ्यो। उनले सम्झिइन्, ‘माइत जाँदा घरबाट पुराना जुत्ता लगाएर जाने बौद्ध गएर नयाँ किनेर फेरेर जान्थ्यौँ।’

आफ्ना पति वडा अध्यक्ष भएपछि यो बाटोको ट्रयाक खुल्यो। यो बाटो बनाउने पति र उनका साथीहरुले गरेको मेहनत उनले आफ्नै आँखाले देखेकी छन्।

पहिले यो जोरपाटी गाविसमा पर्थ्यो। सन्तोष दुईपटक आरुवारीका वडा अध्यक्ष र एकपटक जोरपाटी गाविसका उपाध्यक्ष भैसकेका छन्। यी पदमा निर्वाचित भएपछि जनताको हितका लागि गरेको ठूलो काम यही आरुबारी आउने मूल सडक र यो क्षेत्रमा माथि शिवपुरीबाट खानेपानी ल्याएको सम्झिन्छन् उनले।

‘सानो गोरेटो थियो, २३ फिट भएको छ, अब त पिच गर्नकै लागि भनेर बजेट आइसक्यो, हामीले १२५ वटा धारा र ट्याङ्की फिट गरेर माथि शिवपुरीबाट खानेपानी ल्याएका थियौँ,’ उनले भने, ‘त्यो त एक दुईवटा काम हो। मैले त यो क्षेत्रका लागि भनेर आफ्नो पूरै जिन्दगी दिएको छु।’

दुईपटक वडा अध्यक्ष र एकपटक उपाध्यक्ष निर्वाचित उनी २० वर्षअघिको स्थानीय चुनावमा भने थोरै मतले हारेछन्। त्यसको दोष उनले उतिबेलाका गृहमन्त्री वामदेवलाई दिए।

‘यहाँ २५ जना गुण्डा आएर खुकुरी नचाए, आएका मतदाताको पनि भागाभाग भयो, त्यसमाथि बुथ कब्जा गरे,’ उनले सानोतिनो भाषण नै गरे, ‘वामदेव गृहमन्त्री हुँदाको त्यो चुनावमा निकै धाँधली भएको थियो। तर पनि मैले जम्मा सय मतले मात्र हारेको हुँ। हारेर पनि यो ठाउँको सेवा गर्न मैले छोडिन। आज मलाई सबैले मत दिएका छन्, त्यो मप्रतिको विश्वास हो।’

राजनीतिको चस्का लागेको उनलाई २०३६ सालदेखि हो। जनमत संग्रहको बेला गाउँका साथीहरुले उनमा यसको हावा भरिदिएका हुन्। त्यसको तीन वर्षपछि ०३८ सालतिर चक्रबहादुर ठकुरी उनी नजिक आएर भने, ‘वडा नम्बर ९ को वडा अध्यक्षमा तपाईं नै लड्दिनुपर्‍यो।’

आरुबारीका चालिसे खानदानको नाम काँठ क्षेत्रमा निकै चलेको थियो। प्रशस्तै खेतबारी भएका ब्राह्मण परिवार भएकाले उनीहरुको इज्जत थियो। उनी उम्मेद्वार उठेदेखि सिङ्गो बस्तीले भोट हाल्थ्यो। त्यस्तो परिवारबाट कसैले राजनीति गरिदिए जनसमर्थन मिल्थ्यो भन्ने चाह पनि थियो होला उनको।

ठकुरीको आग्रह टार्न नसकेर चालिसेले २०३८ सालको स्थानीय निर्वाचनमा उम्मेद्वारी दिए। पञ्चायतको जगजगी भएको जमानामा चालिसे कांग्रेसको कित्ताबाट उभिए। परिवारले उनलाई जागिर खा भन्न समेत पाएन।

‘त्यसपछि राजनीतिमा यसरी दिमाग घुम्यो कि जागिर को दरखास्त त मैले कहीँ हालिन,’ उनले केही सम्झिएर भने, ‘नभए त म गितार हातमा लिएर गीत गाउँदै हिँड्न रुचाउँथेँ।’

आफ्नो व्यक्तिगत जीवन, रुचि र लक्ष्यहरु सबै त्यही एकपलको निर्णयले बदलिदियो जस्तो लाग्छ उनलाई। त्यो बेला उनको बिहे भएकै थिएन। ०३९ सालमा मात्र बिहे भयो, जवलाखेलकी मन्दिरा ढकालसँग।

‘चालिसे खलकमा छोरी दिने पाएपछि आँखा चिम्लेर दिन्थे नि उबेला पनि,’ उनले ठट्टा गरे, ‘चालिसेको छोरो त्यहाँ माथि वडा अध्यक्ष, चल्तापुर्ता मान्छे देखेपछि छोरी कसले नदिनु र?’

मन्दिरा मुस्कुराइरहिन्।

अहिले उनीहरुका ३ छोरा र एक छोरी छन्। सबैको बिहे भैसक्यो। छोराहरु भने सगोलमै बस्छन्। छोरी बिहेवारी भएर गैसकेकी छन्। जेठा छोरा कन्सट्रक्सन कम्पनीमा काम गर्छन्। कान्छाले भने घरकै काममा हात बटाउँछन्। नेपाल मेडिकल कलेजमा सन्तोसको ठूलो फार्मेसी छ। त्यो उनका माइला छोराले सम्हालेका छन्। राजनीति आफ्नो रुचि भए पनि परिवार धान्न फार्मेसी चलाएको उनले बताए।

छेउमै बसेकी श्रीमतीले थपिन्, ‘उहाँ त राजनीतिमा हिँड्नुहुन्छ। यति धेरै खेतबारी छ, त्यो सम्हाल्न पनि निकै गाह्रो थियो मलाई। अब त छोराछोरी ठूला भैसके, यिनीहरुले नै गर्लान्।’

आरुबारीको बीचैमा उनीहरुको तीनतले घर छ। उनीहरु यहाँका रैथाने ब्राम्हण हुन्। यहीँ उनीहरुको पुर्खौली जमिन हो। अझै पनि उनीहरुले आफ्नै खेतबारीको उब्जनी खान्छन्। सन्तोष भने आफ्नी श्रीमतीको सहयोग नभएको भए आफूले समाजका लागि अहिलेसम्म गरेकोमध्ये केही काम गर्न नसक्ने बताउँछन्।

'श्रीमती र परिवारबाट सहयोग नपाउने हो भने त राजनीतिमा पाँच मिनेट टिक्न पनि गाह्रो हुन्छ,' उनले भने।

राजनीतिमा लागेपछि परिवारलाई पर्याप्त समय उनले दिन पाउने कुरै भएन। व्यक्तिगत जीवनका कयौँ रहर कयौँ परिस्थितिलाई कुल्चेर बल्ल सार्वजनिक व्यक्तित्व बन्न सकिने रहेछ। आफ्ना बच्चाहरु हुर्किएको उनले थाहै पाएनन्। उनीहरुका जीवनका एकएक पाइलाको साक्षी बस्न नपाएकोमा उनलाई थकथकी भने लागिरहन्छ।

यसरी आफ्नो जीवनको युवाकाल र उर्जावान समय राजनीतिमै लगाएका सन्तोषलाई यहाँका जनताको सुखदुखमा हातेमालो गर्न पाए पुग्छ। उनले भनेका छन् यसपछि कुनै पनि चुनाव लड्दिन भनेर। तर उनलाई सांसद-मन्त्री हुने रहर चाहिँ रहेछ।

चुनाव साह्रै खर्चिलो पनि हुन्छ। उनलाई चुनाव लडेर आउन भन्दा मनोनयनबाट सांसद हुन पाए पनि पुग्थ्यो। मेयरको टिकट पाउँदा उनीसँगका प्रतिस्पर्धी ९ जना थिए। पार्टीले उनलाई विश्वास गर्‍यो।

कतिले त माथि पैसा बुझाएर उम्मेद्वारी पाएको पनि उनले हल्ला सुनेका छन्। आफूले भने सजिलै जित्न सक्ने भएर टिकट पाएको उनी बताउँछन्।

त्यति हुँदा हुँदै यो चुनावमा उनले २५ लाख खर्च गरिसके। अझै १० लाख जति त चुनाव जितेपछिको भोजमा जाने उनले अनुमान गरेका छन्।

चुनावमा कसरी र किन सकिन्छ त्यत्रो पैसा?

'चुनाव प्रचार र मत माग्न हिँड्नेहरुलाई खुवाउनु परेन?' उनले भने, 'आफ्नै लागि हिँड्नेहरुलाई भोकभोकै पनि त पार्नुभएन। त्यसबाहेक प्रचारप्रसारका सामाग्रीमा पनि पैसा जाने रहेछ।'

उनको अनुभवमा चुनाव निकै महंगो भैसक्यो। अब पैसा नहुनेले राजनीति गर्न धेरै गाह्रो हुने उनले बताए। 'मेरो पो पैसा छ खर्च गर्न सक्छु, तर अब त पैसा नहुनेलाई राजनीति धेरै महङ्गो परिसकेको छ,' उनले भने।

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    जसरी उनले चुनाव जित्न सक्छन् कि सक्दैनन् भन्ने आशंका उनकै पार्टीका नेताहरूमा थियो, त्यसरी नै उनले पार्टी घोषणापत्रमा लेखिएका महत्वाकांक्षी योजना कार्यान्वयन गर्दै महानगरको विकासलाई गति दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न महानगरवासीमा छ। मेयर निर्वाचित भएसँगै उनको परीक्षा सुरु भइसकेको छ।

  • फेरि रोकियो भरतपुरको मतगणना, सर्वदलीय छलफल जारी

    भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो। मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ। यसबारे अहिले छलफल चलिरहेको छ।

  • मतदाताले हामीलाई भरपर्दो विकल्पका रुपमा लिएका छन्: साझा पार्टी

    साझा पार्टीले काठमाडौं महानगर निर्वाचनमा आफ्ना दुवै उम्मेदवार तेस्रो र चौथो आउनु भनेको मतदाताहरूले आफूलाई 'भरपर्दो विकल्पका रूपमा लिएको' भनी प्रतिक्रिया दिएको छ। साझाबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार किशोर थापाले चौथो र उपमेयर उम्मेदवार निरूपमा यादवले तेस्रो बढी मत ल्याएका छन्।

  • भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरका २९ मध्ये २७ वडाको गणना गर्दा शाह एमालेकी उम्मेदवार दिव्य शर्मा भन्दा ६ हजार ३९९ मतले अगाडि छन्। १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी छ। यी दुई वटा वडामा गरी ६ हजार २०५ मत खसेको छ।

  • आर्थिक सर्वेक्षण : विद्युत् चुहावट नियन्त्रण अभियानमा सफलता

    विराटनगर कोरिडोरका उद्योगमा चार घन्टा र वीरगन्ज कोरिडोरका उद्योगमा ६ घन्टा, भैरहवा कोरिडोरमा विद्युत् प्रसारण प्रणाली क्षमताको कारणले ६ घन्टाको आसपासमा विद्युत् कटौती हुने गरेको छ। अघिल्लो आवमा ती सबै औद्योगिक कोरिडोरमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुने गरेको थियो।