कसले जित्छ काठमाडौं महानगरको मेयर?

चुनाव
  • Get News Alerts

विश्लेषण
tata

तीन प्रदेशमा पहिलो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको छ। सबैको ध्यान अब चुनावको मत परिणाम कसको पक्षमा जान्छ भन्नेमा केन्द्रित छ। स्वाभाविक रुपले सबैभन्दा धेरै चासो मुलुकको राजधानी काठमाडौंमा कसले जित्ला भन्नेमा छ।

उम्मेद्वारी दर्ता भएदेखि नै सेतोपाटीले काठमाडौं महानगरको चुनावलाई सूक्ष्म रुपले हेरेको छ। त्यही आधारमा हामी काठमाडौंमा कस्तो मत परिणाम आउन सक्छ भन्ने विश्लेषण गर्दैछौं।

काठमाडौं महानगरमा मेयरका लागि एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुनेछ। यी दुई दलका उम्मेदवारबाट एक जना विजयी हुनेछन्। गत संविधानसभा चुनावलाई हेर्ने हो भने काठमाडौं महानगरमा कांग्रेस नै बलियो भएको देखिन्छ। त्यतिबेला काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये ८ वटामा कांग्रेसले जितेको थियो भने एमालेले दुई सिट ल्याएको थियो।

संसदीय निर्वाचनमा महानगर वरिपरिका क्षेत्र पनि समेटेर निर्वाचन क्षेत्र निर्धारण हुन्छ। कांग्रेस चक्रपथ बाहिरभन्दा भित्र बलियो हो। त्यस हिसाबले काठमाडौं महानगरको चुनावमा एमालेभन्दा कांग्रेस अगाडि हुनुपर्ने हो। तर, पछिल्लो चुनाव परिणाम नै यसपटक पनि कायम रहने भए निर्वाचनको अर्थ नै हुन्नथ्यो। पछिल्लोपटक र यसपटकमा काठमाडौं महानगरभित्रको निर्वाचनको परिदृश्यमा फेरबदल आएको छ।

यसपालि काठमाडौं महानगरको निर्वाचनको परिणाम मूलतः तीनवटा विषयले निर्धारित गर्नेछ। पहिलो, कांग्रेस र एमालेले आफ्ना कति परम्परागत मतदातालाई आफैंसँग राख्न सक्छन्? दोस्रो, विवेकशील र साझा पार्टीका उम्मेद्वारले कति मत ल्याउँछन्? कांग्रेस र एमालेमध्ये कसको मत खोस्छन्? र तेस्रो, माओवादी केन्द्र काठमाडौंमा एकदमै कमजोर देखिएको छ, पछिल्लो संविधानसभा निर्वाचन उसले ल्याएको मत कसलाई जान्छ?

पहिलो, हामीले मतदातासँग गरेको कुराकानीका आधारमा नेपाली कांग्रेसले अघिल्लोपटक आफूलाई मत दिएका सबै मतदाता आफैंसँग राख्न सक्ने छैन। कांग्रेसबाट एउटा हिस्सा विवेकशील र साझा पार्टीमा जानेछ। एमालेबाट पनि केही मत ती दुई दललाई जानेछ। तर, एमालेबाट जानेभन्दा कांग्रेसबाट यी दुई नयाँ दललाई जाने मतको हिस्सा ठूलो हुनेछ। यसले कांग्रेसलाई असर पर्नेछ। यसपालि स्थानीय चुनावमा गत संविधान सभा निर्वाचनभन्दा कम मत खसेको छ। यसपालि कांग्रेस समर्थित मतदाताको भन्दा एमाले समर्थित मतदाताको मनोबल उच्च देखिन्छ। त्यसैले कम मत खस्दा कांग्रेसलाई नै बढी घाटा हुन्छ।

दोस्रो, पहिलोपटक स्थानीय चुनाव लडेका विवेकशील र साझा पार्टीले आम अनुमानभन्दा धेरै मत ल्याउनेछन्। विवेकशील र साझा पार्टीबीच नै तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ। हाम्रो विश्लेषणमा विवेकशीलकी रञ्जु दर्शनाले काठमाडौंको मेयरमा तेस्रो ठूलो मत ल्याउने छिन्। उनको पछि साझा पार्टीका उम्मेदवार किशोर थापा रहनेछन्। पछिल्लो चुनावमा एमालेलाई मत दिएका कतिपय मतदाताले किशोर थापालाई मत दिने अाधारमा के भन्न सकिन्छ भने साझा पार्टीकी उपमेयरकी उम्मेदवार निरूपमा यादवले थापाको भन्दा एमाले मतदाताको धेरै भोट पाउन सक्छिन्।

तेस्रो, काठमाडौं महानगरको यसपालिको निर्वाचनमा सबैभन्दा ठूलो धक्का माओवादी केन्द्रले भोग्नेछ। माओवादी केन्द्रबाट फुटेर नयाँ शक्ति बनाएका बाबुराम भट्टराई र उपेन्द्र यादवको संघीय समाजवादी फोरमको पनि महानगरमा अवस्था नाजुक छ। यी दुवै पार्टीका उम्मेदवारलाई जमानत जोगाउन हम्मे पर्नेछ।

काठमाडौंमा अहिलेसम्म भएका संसद/संविधानसभा निर्वाचन परिणाम हेर्ने हो भने २०४८, ०५१ र ०५६ सालमा काठमाडौं एमालेको गढका रुपमा देखिन्छ। ०४८ सालमा काठमाडौंका पाँच निर्वाचन क्षेत्रमध्ये एमालेले चारवटा जितेको थियो। ०५१ को मध्यावधि निर्वाचनमा एमालेले सबै सात निर्वाचन क्षेत्रमा जितेको थियो। त्यसैगरी २०५६ को आमनिर्वाचनमा सात क्षेत्रमध्ये पाँचमा एमाले उम्मेदवार विजयी भएका थिए। ‘जनयुद्ध’ पछि काठमाडौंमा माओवादीले आफ्नो प्रभाव बढाउँदा त्यसको सबैभन्दा ठूलो धक्का एमालेलाई पुगेको हो। काठमाडौंको भित्री क्षेत्रको नेवार भोट माओवादीले खोसेपछि २०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमाले काठमाडौंबाट बढारिएको थियो।

पहिलो संविधानसभा निर्वाचनमा १० निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ६ र माओवादीले ४ क्षेत्र जितेको थियो। एमालेले काठमाडौं उपत्यकामा नै एउटा पनि सिट जित्न सकेको थिएन।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा आइपुग्दा माओवादी धेरै कमजोर भइसकेको थियो। त्यसको सबैभन्दा ठूलो लाभ कांग्रेसले लियो। दोस्रो संविधानसभामा कांग्रेसले काठमाडौंका १० मध्ये ८ क्षेत्र आफ्नो पोल्टामा पार्यो भने एमालेले २ सिटमात्र जित्यो। हामीले माथि नै लेखेका छौं, यसपालि माओवादीलाई काठमाडौं महानगरमा जमानत जोगाउनसमेत कठिन हुनेछ।

दोस्रो संविधानसभामा माओवादीले पाएको भोटको कति ठूलो हिस्सा कुन पार्टीलाई जान्छ? काठमाडौंको मेयर कसले जित्छ सम्भवतः त्यसैमा निर्भर हुनेछ।

हाम्रो विश्लेषण माओवादी भोटको सबैभन्दा ठूलो अंश एमालेले फिर्ता लैजाने छ। त्यसको अर्को कारण पनि छ, यसपालि एमालेले उम्मेदवार बनाएका विद्यासुन्दर शाक्य काठमाडौंको भित्री नेवार बस्तीका रैथाने हुन्। उनी यसअघि वडा नम्बर २१ मा लगातार दुईपटक वडाध्यक्ष रहिसकेका छन्। कांग्रेसका उम्मेदवार राजुराज जोशी पनि भित्री नेवार बस्तीका रैथाने भए पनि उनी नेवार होइनन्।

शाक्यले काठमाडौंको भित्री नेवार बस्तीको धेरै भोट पाउने हाम्रो विश्लेषण छ। उनले माओवादीले लगेको भोट मात्र फिर्ता ल्याउने छैनन्, अघिल्लो पटक कांग्रेसलाई गएको भोटको एउटा हिस्सा पनि आफूतिर तान्नेछन्।

यो भित्री नेवार बस्तीमा शाक्यले जोशीसँगको मत अन्तर धेरै बढाए भने शाक्य नै मेयरमा विजयी हुने सम्भावना बढ्छ। त्यस्तै, राप्रपासँगको तालमेलका कारण एमालेले राप्रपाको मत पाउनेछ। राष्ट्रवादी एजेन्डामा दुवै पार्टीको सहकार्यका कारण राप्रपाको धेरै मत एमालेलाई आउँछ।

यो विश्लेषणको अन्तिम निष्कर्षमा, विवेकशील र साझाले एमालेको भन्दा कांग्रेसको भोट काट्ने र एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले भित्री नेवार बस्तीमा कांग्रेसकै पनि केही भोट खोस्ने हुनाले पछिल्लो संविधानसभा निर्वाचनमा बलियो देखिएको कांग्रेसले काठमाडौं महानगरमा धक्का खाने सम्भावना छ।

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    जसरी उनले चुनाव जित्न सक्छन् कि सक्दैनन् भन्ने आशंका उनकै पार्टीका नेताहरूमा थियो, त्यसरी नै उनले पार्टी घोषणापत्रमा लेखिएका महत्वाकांक्षी योजना कार्यान्वयन गर्दै महानगरको विकासलाई गति दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न महानगरवासीमा छ। मेयर निर्वाचित भएसँगै उनको परीक्षा सुरु भइसकेको छ।

  • फेरि रोकियो भरतपुरको मतगणना, सर्वदलीय छलफल जारी

    भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो। मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ। यसबारे अहिले छलफल चलिरहेको छ।

  • मतदाताले हामीलाई भरपर्दो विकल्पका रुपमा लिएका छन्: साझा पार्टी

    साझा पार्टीले काठमाडौं महानगर निर्वाचनमा आफ्ना दुवै उम्मेदवार तेस्रो र चौथो आउनु भनेको मतदाताहरूले आफूलाई 'भरपर्दो विकल्पका रूपमा लिएको' भनी प्रतिक्रिया दिएको छ। साझाबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार किशोर थापाले चौथो र उपमेयर उम्मेदवार निरूपमा यादवले तेस्रो बढी मत ल्याएका छन्।

  • भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरको उपमेयरमा कांग्रेसकी शाहको जित सुनिश्चित

    भरतपुरका २९ मध्ये २७ वडाको गणना गर्दा शाह एमालेकी उम्मेदवार दिव्य शर्मा भन्दा ६ हजार ३९९ मतले अगाडि छन्। १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी छ। यी दुई वटा वडामा गरी ६ हजार २०५ मत खसेको छ।

  • आर्थिक सर्वेक्षण : विद्युत् चुहावट नियन्त्रण अभियानमा सफलता

    विराटनगर कोरिडोरका उद्योगमा चार घन्टा र वीरगन्ज कोरिडोरका उद्योगमा ६ घन्टा, भैरहवा कोरिडोरमा विद्युत् प्रसारण प्रणाली क्षमताको कारणले ६ घन्टाको आसपासमा विद्युत् कटौती हुने गरेको छ। अघिल्लो आवमा ती सबै औद्योगिक कोरिडोरमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुने गरेको थियो।