काठमाडौंको मेयरमा 'गुट' बाहिरको उम्मेद्वार खोज्दै एमाले, गौरी प्रधानको सम्भावना

चुनाव
  • Get News Alerts

tata

एमाले काठमाडौं जिल्ला कमिटीको विवादले महानगरपालिकाको उम्मेद्वार छनोटमा समेत प्रभाव पारेको छ।

अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समूहका कार्यकर्ता एकले अर्को समूहको उम्मेद्वार स्वीकार नगर्ने भएपछि पार्टीले सर्वसम्मत उम्मेद्वारको खोजी गर्न थालेको छ। पार्टीमा अहिले क्रियाशील नभए पनि एमालेसँग कुनै न कुनै रुपमा जोडिने बाहिरका व्यक्तिलाई समेत उम्मेद्वार बनाउने विषयमा छलफल सुरू भएको हो।

एमाले स्रोतका अनुसार अनेरास्ववियुका पूर्व संयोजक तथा मानव अधिकारकर्मी गौरी प्रधानलाई काठमाडौंको मेयरमा उठाउने विषयमा छलफल भइरहेको छ।

एमालेका एक केन्द्रीय पदाधिकारीले पार्टीले विश्वास गर्न सक्ने तर विवादमा नमुछिकएको व्यक्तिलाई उठाउने विषयमा छलफल भइरहेको सेतोपाटीलाई जानकारी दिए। उनले भने, 'यसमा गौरी प्रधानको पनि सम्भवना छ। हामी छलफलमा छौं।'

प्रधानले भने आफूले यसबारे कुनै सोच नबनाएको बताए।

'सक्रिय राजनीति छोडेको दशकौं भइसक्यो, यता केही पनि सोचेको छैन,' उनले भने।

पार्टीमा एक मत भए र कुनै विरोध नभए आफू मेयरमा लड्न तयार हुने संकेत गरे पनि पार्टीमा त्यस्तो सम्भावना नरहेको बताए।

'१९ वर्षपछि चुनाव हुँदैछ,पार्टीमा काम गरेका धेरै नेताहरूको आकांक्षा हुन्छ,' उनले भने, 'यस्तो अवस्थामा सबैले पार्टी बाहिरको उम्मेद्वारलाई मानेर जाने सम्भावना म कम देख्छु।'

प्रधान अनेरास्ववियुको सातौं महाधिवेशन आयोजक कमिटीका संयोजक थिए। तर त्यसयता भने उनी सक्रिय राजनीतिमा छैनन्।

४६ सालपछि उनी राजनीति छोडेर मानवअधिकार तथा बालअधिकारको क्षेत्रमा काम गर्न थालेका थिए। उनले स्थापना गरेको 'सिविन' बालअधिकारका क्षेत्रमा काम गर्ने एक प्रमुख गैर-सरकारी संस्था बनेको छ।

उनले मानवअधिकार आयोगका सदस्य र प्रवक्ताको रूपमा पनि काम गरे। अहिले अल्पविकसित मुलुकहरूमा कार्यरत संस्था 'एलडीसी वाच' मा आबद्ध छन्।

उनले के गर्ने भन्ने निर्णय नगरे पनि पार्टीमा दुवै पक्षले अपनत्व महशुस गर्ने उम्मेद्वारको खोजी भइरहेकाले उनको सम्भावना बलियो भएको छ।

'अहिले जिल्ला कमिटी विवादले गर्दा एकले अर्को पक्षको उम्मेद्वार नस्वीकार्ने अवस्था छ,' ती पदाधिकारीले भने, 'यसले राम्रो जनमत रहेको काठमाडौं महानगरपालिकामा पार्टीकै विवादका कारण चुनाव हार्ने स्थिति आउन सक्छ। त्यो नहोस् भन्नेमा एमाले नेतृत्व सचेत छ। त्यसैले हामी सर्वस्वीकार्य उम्मेद्वारको खोजीमा छौं।'

एमाले काठमाडौं जिल्ला कमिटीको अधिवेशन नभएको सात वर्ष नाघिसकेको छ। पछिल्लो अधिवेशनबाट निर्वाचित अध्यक्ष निर्मल कुँइकेल कमिटीमा रहुन्जेल विवाद बाहिर देखिएको थिएन। तर, २०७० सालमा पशुपति क्षेत्र विकास कोषमा रहँदा भ्रष्टाचार गरेको अभियोग लागेपछि कुँइकेलले जिल्ला कमिटीको अध्यक्षबाट राजीनामा दिए।

उनले राजीनामा दिएपछि उपाध्यक्षका रूपमा रहेका कृष्ण राईले संयोजकको जिम्मेवारी पाए। यससँगै महाधिवेशन गर्नुपर्ने कुरा कमिटीमा उठ्न थाल्यो।

अध्यक्ष राई ओली पक्षका नेता हुन्। माधव नेपाल पक्षका कार्यकर्ताले तत्काल जिल्ला अधिवेशन गर्न माग गर्दै आए। तर संयोजक राईले अहिलेसम्म अधिवेशनको तयारी नथालेका कारण विवाद भएको हो।

तीन नम्बर प्रदेश समितिले समिति गठन हुनेबित्तिकै काठमाडौं जिल्ला कमिटीको विवाद मिलाउन अग्रसरता लियो। प्रदेश समितिले काशिनाथ अधिकारीलाई संयोजक बनाएर विवाद मिलाउने जिम्मेवारी दियो। यो समितिमा अरूण नेपाल र किरण न्यौपाने पनि थिए।

यो समितिले बसन्त मानन्धरलाई सहसंयोजक बनाएर ३८ जना सदस्य थप गरेर विवाद मिलाउन जिल्ला समितिलाई निर्देशन दियो। तर, अधिकारी नेतृत्वको समितिले दिएको निर्देशन विधान विपरित भएको भन्दै राई नेतृत्वको समितिले कार्यान्वयन गर्न अस्वीकार गर्‍यो। बरू चैत अन्तिम सता उल्टै सदस्यता वितरण सम्बन्धि निर्णय गर्‍यो र करिब १३ सय नयाँ पार्टी सदस्य थप गर्‍यो।

काठमाडौंको कार्की पार्टी प्यालेसमा भएको कार्यक्रममा सदस्यता वितरण कार्यक्रममा पार्टी अध्यक्ष ओली स्वयम् उपस्थित थिए।

यसको लगत्तै असन्तुष्ट पक्षले अर्को भेला बोलायो। यो भेलामा पूर्वमहासचिव माधवकुमार नेपाल,बरिष्ठ नेता झलनाथ खनाल र सचिव योगेश भट्टराई लगायतका नेताहरू सहभागी भए।

दुई समानान्तर कार्यक्रम भपछि यो विवाद छताछुल्ल भयो।

चैत २८ गते बसेको स्थायी समिति बैठकले यो विवाद मिलाउने जिम्मा उपाध्यक्ष बामदेव गौतमलाई दिएको छ। गौतमको संयोजकत्वमा बनेको समितिमा बरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल र उपाध्यक्ष अष्टलक्ष्मी शाक्य छन्।

यो समितिले कुनै निष्कर्ष दिइसकेको छैन।

समितिले काम गरिरहेकै बेला गुट विवादमा नमुछिएको र सबैपक्षलाई मान्य हुने व्यक्तिलाई मेयरमा उठाउने विषयमा छलफल सुर भएको हो। 

 

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार